मोदीको बुद्ध मोह
बिमस्टेक सम्मेलनमा भाग लिन चौथो पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको अन्तिम दिन (भाद्र १५ गते) पशुपतिनाथस्थित नवनिर्मित नेपाल– भारतमैत्री धर्मशालाको उद्घाटन पनि गरे । उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले नेपालको लुम्बिनीले गौतम जन्मायो, भारतको बोधगयाले बुद्ध जन्मायो भनेर गौतम बुद्धप्रतिको मोह पुनः प्रकट गरेका छन् । सरसर्ती हेर्दा मोदीको भनाइ स्वभाविक जस्तो देखिए पनि मोदीको अभिव्यक्तिको आसय दुरासयपूर्ण छ । बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर खुलेर व्यक्त गर्न मोदीलाई सकस भएको कुरा उनको अभिव्यक्तिले प्रष्ट पार्दछ । विगतमा मोदीले नेपालमा आउँदा बुद्ध र शान्तिको देश भनेर नेपालीलाई फुक्र्याउने भारत फर्केपछि भारतीयहरू सामु र अन्तर्राष्ट्रिय फोरमहरूमा समेत गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्न अभिव्यक्ति दिँदै आएका थिए । बुद्ध जन्मेकै देशमा खुलेर गौतम बुद्ध भारतमा जन्मेका हुन् भनी अभिव्यक्ति दिँदा कूटनीतिक मर्यादा विपरीत हुने ठानी चलाखीपूर्ण भाषा प्रयोग गरेर मोदीले गौतम बुद्धप्रतिको पुरानो धारणालाई निरन्तरता दिएका हुन् ।
आजभन्दा २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । उनले भारतको बुद्धगयामा बुद्धत्व (ज्ञान) प्राप्त गरी सारनाथमा आफ्ना उपदेशहरू चारै दिशामा पुगून् भनेर केही शिष्यहरूलाई माध्यम बनाई धर्मचक्र प्रर्वतन गरेका थिए । सोही धर्मलाई ४५ वर्षसम्म विभिन्न स्थानहरूमा प्रचार प्रसार गर्दागर्दै ८० वर्षको उमेरमा भारतको कुशिनगरमा महावीर निर्वाण (मृत्यु) भएको थियो । अहिंसाका पुजारी शान्तिका अग्रदूत बुद्ध आफ्नो धर्म, कर्म, खोज, अनुभव, विचार र व्यवहारले गर्दा सिद्धार्थ गौतम बुद्ध भई विश्वविख्यात भएका हुन् । खेमराज आत्रेयको “बुद्धम् सरणम् गच्छामी” भन्ने कविता सङ्ग्रह (२०६९) मा बुद्ध दर्शनको महत्वलाई यसरी प्रष्ट पारेकाछन्– मानव सभ्यताको विकासको एक अवस्थामा मान्छेमा विभेद र छुवाछूतको भद्दा कलङ्क आएको बेलामा बुद्धको अवतार हत्या र हिंसा समाप्त गर्नका लागि महत्वपूर्ण औजार सावित भएको थियो ।
गौतम बुद्ध नाम, थर, जात, कुलका कारण प्रख्यात भएका होइनन् । बुद्धले आफ्नो समयमा प्रचलित दर्शन, सामाजिक मूल्य मान्यतालाई अस्वीकार गर्दै सामाजिक रूपान्तरण र व्यापक मानव हितका निमित्त कठोरतापूर्वक समर्पित भई खोज–अन्वेषण परीक्षण गरी नवीन मूल्य मान्यता र दर्शनको प्रतिपादन गरेका कारण प्रख्यात भएका हुन । बुद्धत्व भनेको ज्ञान हो । बुद्धले प्राप्त गरेको ज्ञान लामो त्याग कठोरताको अनुभवबाट सिद्ध वा प्रमाणित भएको ज्ञान थियो । गौतमबाट बुद्धलाई अलग गर्ने हो भने गौतम सामान्य तथा औसत मानिस मात्र हुन्छन् । औसत वा सामान्य मानिसको पहिचान सामान्य हुन्छ । भारतको बुद्धगयामा लामो ध्यान, योग र तपश्या गरी गौतमले बुद्धत्व प्राप्त गरेका थिए । बुद्धले भारतमा ज्ञान आर्जन गरे । त्यो ज्ञान कुनै पुस्तक, कुनै भारतीय पाण्डाको प्रवचन वा शिक्षण संस्थाबाट प्राप्त भएको ज्ञान थिएन । त्यो कठोर ध्यान योगबाट स्वतस्फूर्त रूपमा प्रकट भएको दिव्य ज्ञान थियो । कुन भूगोल र कस्तो ठाउँमा बसेर ज्ञान प्राप्त भयो भन्ने आधारमा व्यक्तिको जन्मस्थललाई विवादमा ल्याउनु उचित होइन । नेपालबाट बर्सेनि लाखौं युवाहरू भारत, अमेरिका र युरोपलगायत विभिन्न देशहरूमा अध्ययन (ज्ञान आर्जन) र रोजगारीका लागि जाने गर्दछन् के ती विदेशिने युवाहरू नेपाली होइनन् ?
नेपाल हिन्दू र बौद्धधर्मालम्बीहरूको सङ्गमस्थल र ज्ञान र सभ्यताको उद्गमस्थल मानिन्छ । नेपाल सयौं ऋषिमुनिहरूको जन्मस्थल, ज्ञान र तपश्यास्थल पनि मानिन्छ । नेपालका हिमाल र पहाडहरू ऋषिमुनिहरूका ज्ञान आर्जनका स्रोतहरू मानिन्छन् । विभिन्न धार्मिक साहित्यहरूको अध्ययनले नेपाललाई ज्ञानभूमि र तपोभूमिको रूपमा चित्रण गरेको देखिन्छ । ज्ञान प्राप्तीका दृष्टिले नेपाल–भारतबीचको सम्बन्धलाई मानिसको शारीरिक बनोटसँग पनि तुलना गरेको देखिन्छ । नेपाल शिर वा टाउको हो भने भारत शिरदेखि तलको भाग हो । जसरी शिर वा टाउकोको महत्व हुन्छ, त्यसको तुलनामा शरीरका अन्य भागको कम महत्व हुन्छ । आदिम युगमा नेपाल ज्ञान आर्जन र प्रसारणको केन्द्रबिन्दु थियो । नेपाल सबै धर्म र सम्प्रदायका लागि प्रेरणाको स्रोत थियो । त्यसमा पनि हिन्दू र बौद्ध धर्मका लागि त उद्गमस्थल नै हो ।
मोदीको यसअघिको तेस्रो नेपाल भ्रमण जनकपुर– अयोध्या बस सेवा सञ्चालनको उद्घाटन गरेर चर्चामा आएका थिए । मुक्तिनाथ दर्शनले पनि चर्चा पायो । मोदीले यसलाई विशुद्ध धार्मिक पर्यटकका रूपमा उभ्याएका थिए । जनकपुर– अयोध्या बस सेवा सञ्चालनलाई रामायण सर्किटको संज्ञा दिएका थिए । बिमस्टेक सम्मेलनमा चौथो पटक नेपाल आउँदा बौद्ध सर्किटको कुरा गरेका छन् । बिमस्टेक सम्मेलनको १८ बुँदे काठमाडाँै घोषणापत्रमा बिमस्टेक सदस्य राष्ट्रहरूका जनता–जनता बीचको सम्बन्ध स्थापित गर्ने कुरा उल्लेख गरिएको छ । बिमस्टेकका ७ राष्ट्रहरू मध्ये श्रीलङ्का, थाइल्यान्ड र म्यानमारमा बुद्ध धर्मप्रति अगाथ आस्था राख्ने बहुसङ्ख्यक बौध धर्मावलम्बीहरू छन् । ती देशका जनताहरूको मन जित्नका लागि पनि बुद्धको विषयमा भ्रामक शब्द प्रयोग गरेको हुन् सक्दछन् मोदीले ।
विश्वमा दिनानुदिन हत्या, हिंसा र द्वन्द्वका कारण मानव मूल्य सङ्कटमा पर्दै गएको छ । मानवता कमजोर हुँदै गैरहेको सन्दर्भमा बुद्धको मानवतावादी दर्शनको महत्व बढ्दै गएको छ । विश्वका धेरै देशहरूमा बुद्ध र बौद्ध दर्शनको प्रभाव र छाप बढ्दै गएको छ । पश्चिमा देशहरूमा हिन्दूहरूको पवित्र पुस्तक वेद र मृतभाषा भनिएको संस्कृत भाषाप्रति खोज र अनुसन्धानहरूलाई तीव्र पारिएको छ । जर्मन लगायत केही युरोपियन देशहरूले संस्कृत भाषा र वेदलाई विद्यालयको पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराउन सुरु गरिएको छ । हिन्दू दर्शनले परलौकितामा विश्वास गर्दछ । यसले सबै वर्ग र समुदायको मन जित्न सक्दैन । तर बौद्ध दर्शन भौतिकवादी दर्शन भएकाले यो दर्शनले युवा, वृद्ध सबैको मन जित्न सक्दछ । बौद्ध दर्शनको आधार स्वयम् बुद्धले भोगेका अनुभव र अन्वेषणमा आधारित भएकाले यो दर्शन विश्वव्यापी हुँदैछ । धार्मिक आस्थाका चतुर नरेन्द्र मोदीले बौद्ध दर्शनको प्रभाव र महत्वलाई राम्रोसँग बुझेका छन् । त्यसकारण नरेन्द्र मोदीको बुद्धप्रतिको मोह भङ्ग हुन सकेको छैन ।
बुद्ध दर्शनको प्रभाव र महत्व विश्वव्यापीकरण हुँदैजाँदा धार्मिक पर्यटनको महत्व पनि दिनानुदिन बढ्दै गएको छ । बर्सेनि धार्मिक पर्यटकहरूको सङ्ख्या लाखौँका दरले वृद्धि भइरहेको छ । पर्यटन व्यवसाय अर्थतन्त्रको भरपर्दो आधार हो । देशको अर्थतन्त्र सुदृढ गर्नका लागि पनि मोदीले बुद्धप्रतिको मोहलाई विश्वसामु सशक्त रूपमा राख्दै आएका छन् । बिमस्टेक राष्ट्रहरू मध्ये श्रीलङ्का, थाइल्याड र म्यान्मारमा बुद्ध धर्म मान्ने ठूलो जनसङ्ख्या छ । त्यो जनसङ्ख्यालाई भारतप्रति आकर्षित गर्न पनि बिमस्टेक सम्मेलनको अवसर पारेर मोदीले नेपालको लुम्बिनीले गौतम जन्मायो, भारतको बोधगयाले बुद्ध जन्मायो भनेर घुमाउरो पाराले बुद्धप्रतिको पुरातन धारणालाई पुनरपुष्टि गर्न पछि परेनन् । बुद्धले बुद्धत्व प्राप्त गरेको वोधगयाप्रति विश्वजनमतलाई आकर्षित गर्न पनि मोदीले राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरम उपयोग गर्दै आएका छन् ।
मोदी तथा भारतीय शासकहरूले गौतमबुद्धको जन्मस्थलको विषयमा फैलाएको भ्रामक र दुरासयपूर्ण अभिव्यक्तिको नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ । शासकको तहबाट गरिएको अनुरोध र प्रतिवादलाई भारतले बेवास्ता गरे जनस्तरबाट समेत प्रतिवाद गर्न नेपाली जनता पछि पर्नु हुँदैन । विद्यालय तहको पाठ्यक्रमदेखि विभिन्न फोरम र माध्यमबाट बुद्ध दर्शन र बुद्धको जन्म, जीवनी, साहित्य, कला र संस्कृतिको प्रचार प्रसार गर्न आवस्यक छ । गौतम बुद्धको जन्मस्थानको विषयमा भारतले गर्ने बेलबखतको हर्कतलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालका शासकहरूले प्रतिवाद गर्न नसक्दा बारम्बार नेपालीहरूले अपमान र हिनताबोधको अनुभूति गर्नु परेको छ । तसर्थ मोदीको बुद्धप्रतिको दुरासयुक्त मोह भङ्ग गर्न सबै क्षेत्रबाट सचेत नागरिकहरू एकजुट भई लाग्न जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति