ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले
काठमाडौं झरीले भिजेको थियो । बाटो उस्तै हिलो । त्यसैले दिनभर कतै गएको थिइनँ । मोबाइल पनि साइलेन्समा राखेको थिएँ । निकैवटा कल आएका रहेछन् । फर्काउने जाँगर पनि चलेको थिएन । जाने जाँगर नलागे पनि पशुपतिले जसरी पनि जानुपर्छ है भनेर अघिल्लै दिन भनेकाले साँझ भरतजीको भाइको बिहे भोजतिर हिँडे ।
मलाई बियरको रन्कोले छोइसकेको थियो । चर्किएर बजिरहेको पञ्चेबाजाले कान मात्र होइन, मुटु नै हल्लाइरहेको थियो । रक्सीको रन्कोमा चर्को सङ्गीतबीच चर्किंदै कसैसँग गफिँदै थिएँ म ।
‘ओहो ! अशोकजी । के छ हालखबर ?’, इको ट्रेकका मित्र विमलजीले हात बढाए ।
‘मेरो ठीक छ । तपाईंको के छ ?’, हात मिलाउँदै मैले सोधेँ ।
‘मेरो पनि सब ठीक छ । ग्रुप लिएर १२ जुलाईमा मानसरोवर र कैलाश जाँदै छु’, उनले हालखबर मात्र सोधेनन्, प्रस्ताव पनि गरे, ‘तपाईं पनि जाने हो ? तपाईंलाई पहिल्यै सोध्न कस्तो बिर्सेछु !’
‘ह्वाई नट ?’, सोच्दै नसोची मैले फ्याट्टै भनें ।
‘ग्रुपका सबैको सबै प्रोसेसिङ भइसक्यो । तपार्इंको हुन्छ– हुँदैन म यकिन भन्न सक्दिनँ । तर म अहिले एक मिनेट पनि ढिला नगरी तिब्बतको मेरो एजेन्टलाई फोन गर्छु’, त्यति भनेर उनले मलाई अँगालो हालेर हल्लाभन्दा अलि पर लगँे । तिब्बतमा फोन लगाएँ ।
‘हलो ! जिमिला । हेयर आइ ह्याभ माई फ्रेन्ड । हिज नेम इज अशोक सिलवाल । टुमरो मर्निङ आई विल सेन्ड हिज पासपोर्ट फोटोकपी टु यु एन्ड प्लिज सेन्ड नेसेसरी डकुमेन्ट फर हिम टिल टुमरो इभिनिङ’, उनले एक सासमै भने ।
भोलिपल्ट बिहान मैले विमलजीलाई पासपोर्टको फोटोकपी भाइबरमा पठाइदिएँ । उनले त्यसलाई तत्कालै तिब्बत पठाइदिएछन् ।
फोटोकपी नै सही, मेरो पासपोर्ट डिटेल चीनको स्वशासित क्षेत्र तिब्बत पुग्यो । ल्हासा पुग्यो । ओहो ! म त्यतिले मात्र पनि रोमाञ्चित भएँ ।
तर भोलिपल्ट साँझ मेरा लागि तिब्बतको ल्हासाबाट काठमाडौंमा डकुमेन्ट आएनछ । पर्सिपल्ट पनि आएनछ । निकोपर्सि आउन त आएछ तर नाम र थर दुवैमा स्पेलिङ मिस्टेक भएर ।
भाइवरबाट मलाई फरवार्ड गरिएको डकुमेन्टमा भेटिएको गल्ती जानकारी गराएपछि सच्चिएको कपी एकाध घन्टापछि मैले फेरि पाएँ । त्यसपछि बल्ल ‘अब त कैलाश कोरा’ गरिने नै भयो भन्ने लाग्यो ।
त्यति बेलासम्म पनि मलाई कैलाश वा मानसरोवरको महत्ताले भन्दा पनि तिब्बतको तिर्सनाले मात्र तानिरहेको थियो । मलाई कैलाश जाँदैछु भन्दा पनि तिब्बत जाँदै छु भन्ने भइरहेको थियो ।
‘तिब्बत’ नामको भूगोल र शब्द मेरा लागि जप वा मन्त्र जस्तो थियो ।
जब म पर्यटनमा लागेँ, अनेक देशका मान्छेलाई नेपालका अनेक भूमि र सम्पदामा घुमाउन थालेँ । ती प्रत्येकजसोसँग तिब्बतको कुरा हुन्थ्यो । तिब्बेतीयन रिफ्युजी क्याम्पमा जाँदा होस् वा बौद्धनाथ परिसर पुग्दा तिब्बत, तिब्बेतियन बुद्धिजम, दलाई लामा र दलाई दर्शनबारे कुरा नभएको अवसर हुन्थेन । पशुपतिनाथ जाँदा जब जलिरहेका शव हेर्दै दाहसंस्कारका प्रकारबारे कुरा हुन्थे, तिब्बतमा कसरी दाहसंस्कार गरिन्छ भनेर निकै गहिरा छलफल हुन्थे । नेपाल वा काठमाडौंका कुरा गर्दा पनि म अनेक देशका मानिसलाई भन्थें, ‘इतिहासमा हामी धनी थियौं । तिब्बत र युरोप जोड्ने सेतु थियो काठमाडौं । तर, अहिले ...’
पत्रकारितामा सक्रिय रहँदाका दिनहरूमा पनि तिब्बतका कुरा हुन्थे । एक चीन नीतिको प्रसङ्गमा तिब्बतको कुरा आइहाल्थ्यो । इतिहासको कुरा गर्दा पनि नेपाल–तिब्बत युद्ध, सन्धि र सम्बन्धबारे विमर्श हुन्थे । भृकुटी र स्रङचङगोम्पाका विवाह प्रसँग आउँथे ।
करिब पन्ध्र शताब्दीअघि सन् ६३९ मा राजा स्रङचङगोम्पासँग विवाह गरिएकी नेपाली राजकन्या भृकुटीले तिब्बतमा बौद्ध धर्म फैलाएकी हुन् । राजा स्रङचङगोम्पाले सन् ६४१ मा चिनियाँ राजकुमारी वेनचन गन्चुसँग विवाह गरे । उनी बौद्धमार्गी थिइन् । दुवै राजकन्या सौता सौता भए पनि जीवनपर्यन्त साख्खै दिदीबहिनी जसरी मिलेर बसे । तिब्बतमा आज पनि भृकुटीलाई हरित तारा र वेनचनलाई श्वेत तारा भनेर पुकारिन्छ, पुजिन्छ ।
तिब्बत भन्नेबित्तिकै मानिस ल्हासा र विश्वप्रसिद्ध पोताला दरबार सम्झन्छन् । त्यहाँको वास्तु र बौद्ध संस्कति सम्झन्छन् । मलाई भृकुटी जीवनकालमा बन्न सुरु भएको पोतला दरबार र उनी रानीका रूपमा भित्रिएको जोखान मन्दिर र हेर्न जाने मन थियो । तर, म तिब्बत गए पनि ल्हासा जाँदै थिइनँ । पोताला जाँदै थिइन् । म त मानसरोबर जाँदै थिएँ । कैलाश जाँदै थिएँ । कैलाश कोरा गर्न जाँदै थिएँ ।
म संसारको उच्च भूभागमा जाँदै थिएँ । जसका लागि मन त तयार थियो । शरीर तयार थियो कि थिएन, थाहा थिएन । हरेक दिनजसो रक्सी खाने बानी परिसकेको जस्तो भइसकेको थिएँ म । चुरोट त दिनमा बट्टै लाग्न थालिसकेको थियो । म चाहेर–नचाहेर त्यस्तो भइसकेको थिएँ । मनमा अनेक तर्कना खेलाउँदै रातरातभर ननिदाउनु अनि बिहान धेरै बेरसम्म सुत्नु मेरो दैनिकी भइरहेको थियो । त्यसको कारण तिब्बत थिएन । त्यसको कारण काठमाडौं पनि थिएन । कारण म आफै थिएँ । कति त्यस्ता कारण हुन्छन्, जो लेखिँदैनन् । म यहाँ मेरा अनिदा रातहरूका काला कथा लेख्दिनँ । कुनै दिन लेखे अर्कै कुरा ।
त्यस्तो मनोपरिस्थितिमा म तिब्बत जाँदै थिएँ । ममा एउटा भित्री विश्वास र योजना थियो, ‘तिब्बत छिरेपछि चुरोट कम गर्दै जाने र रक्सी त खाँदै नखाने । पुरै फ्रेस भएर नेपाल फर्कने ।’ त्यसैले तिब्बत मेरा लागि साङ्ग्रिला मात्र थिएन, सुधारकेन्द्र पनि हुनेवाला थियो ।
जानुभन्दा दुई दिनअघि मैले यात्राको आइटेनरी पाएँ ।
– पहिलो दिन काठमाडौंबाट हिँड्ने र स्याफ्रुबेंसीमा रात बिताउने ।
– दोस्रो दिन नेपाल–चीन सीमाना रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (३००० मि.) पुग्ने र शरीरलाई उच्च भूभागमैत्री बनाउन केरुङमा दुई रात बिताउने ।
– चौथो दिन केरुङबाट सागा (४२०० मि.) पुग्ने ।
– पाँचाँै दिन सागाबाट मानसरोवर (४५६० मि.) पुग्ने ।
– छैटौँ दिन बिहान मानसरोवरमा स्नान र विधिविधानपूर्वक पूजा गरेर त्यहाँबाट दार्चेन (४६६३ मि.) पुग्ने ।
– सातौँ दिन दार्चेनबाट देरापुक (४९२० मि.) पुग्ने । देरापुकमा दुई रात बिताउने । देरापुक पुगेको भोलिपल्ट कैलाशको नर्थबेस छुन जाने ।
– नवौँ दिन देरापुकबाट हाइपास डोल्माला (५६४५ मि.) हुँदै जुटुलपुक (४७६० मि.) पुग्ने ।
– दशौं दिन जुटुलपुकबाट दार्चेन फर्कने ।
– एघारौं दिन दार्चेनबाट सागा आइपुग्ने ।
– बाह्रौं दिन सागाबाट केरुङ र तेह्रौं दिन केरुङबाट सीधै काठमाडौं आउने ।
१३ दिनको यात्रामा कैलाश कोरा (परिक्रमा) र कैलाश टच पनि समेटिएको थियो । त्यसका लागि हामीले झन्डै ५५ किलोमिटर पैदल यात्रा गर्नुपर्नेछ ।
यात्रामा ४४ विदेशी र १२ नेपाली गरी नेपालबाट जाने हामी ५६ जना हुनेछौं । त्यसमध्ये मलगायत केहीसँग एक महिनाको भिसा थियो । अरूको भिसा त्यस्तै पन्ध्र दिनको मात्र थियो । लामो अवधिका लागि भिसा लिएका हामी चाहेमा अरू केही दिन त्यहीँ बस्न सक्नेछौं । एघारौं दिन दार्चेनबाट सागा आइपुग्नुको सट्टा फेरि इनर कैलाश परिक्रमा गर्ने विकल्प छ ।
थप दिन तिब्बतमा बस्ने कि नबस्ने भनेर कैलाशको आउटर परिक्रमा सकेर दार्चेन फर्केपछि मात्र निधो गर्ने निणर्य गरेँ । कारण म त्यहाँ फिट हुनसक्छु कि सक्दिनँ भन्ने नै थियो । लेक लागेमा सयौंसयौँ किलोमिटरसम्मको उच्च समतल भूगोलबाट तत्काल तल ओर्लन सम्भव नहुने भएकाले यात्रामा रोमाञ्चकतासँगै समस्या आउला भन्ने पनि उत्तिकै आशङका थियो । तर, आशङ्कालाई मनले जित्दै मैले तिब्बतका लागि खुट्टा उचालिसकेको थिएँ ।
म लाङटाङको क्यान्जिङ री (४७७३ मि.) र गोसाईंकुन्ड (४३८० मि.) गइसकेको थिएँ । क्यान्जिङ रीमा केही समस्या नभए पनि गोसाईंकुन्डमा मलाई निकै गाह्रो भएको थियोे । मध्यरातमा पिसाब फेरिरहँदा कुन्ड छेउको होटलमा लेक लागेर म झन्डै ढलेको थिएँ । यदि म त्यहाँ ढलेको भए ढलेकोढल्यै हुनसक्थें । त्यसैले उचाइ मेरो लागि रहर र सकस दुवै हो भन्ने मलाई थाहा थियो । तर म पछि हट्नेवाला थिइनँ ।
खासमा यो यात्रा तिब्बतको यात्रा भए पनि कैलाश र मानसरोवरको यात्रा थियो । यो एउटा तीर्थयात्रा थियो । तर मेरा लागि त्यसभन्दा बढी यो संस्कृति, जीवन र प्रकृतिको यात्रा थियो ।
तिब्बती जीवन । तिब्बती जीवनका सीमा, सङ्कुचन र सपना । त्यहाँको संस्कृति । त्यहाँको चीसो । त्यहाँको उचाइ । त्यहाँको माटो र माटोको रङ्ग । त्यहाँको आकाश । त्यहाँको दिन । त्यहाँको रात । त्यहाँको हावा । त्यहाँ पुग्दाको म र मेरो अनुभव । ती सबले मलाई तानिरहेका थिए तिब्बततिर ।
ल्हासासँग आशक्त मलाई डोल्मालाले पो बोलाइछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना