मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी नेताहरुले समीक्षा गर्नुपर्ने विषय

बुधबार, ०४ साउन २०७४, १४ : ५५
बुधबार, ०४ साउन २०७४

नेपालको कम्युनिष्ट आन्दोलनमा बेग्लै पहिचान बनाएको माओवादी केन्द्र कति संकटग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने झलक दिने गरी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तुति राख्नुभएको कुरा समाचारका रुपमा बाहिर आयो । कम्युनिष्ट पार्टीभित्र भएका गम्भीर खालका छलफलहरु बैठक कक्षबाट बाहिर निस्कनासाथ सार्वजनिक हुनु दुर्भाग्यपूर्ण हो । प्रचण्डले पार्टीमा विकसित भएको गुटबन्दीप्रति आक्रोश व्यक्त गर्दै पार्टी भंग गर्ने चेतावनीसमेत दिनुभएको कुरा समाचारका रुपमा बाहिर छरपष्ट भएको छ । यो स्थितिले माओवादी केन्द्रभित्र रहेको अराजकतालाई संकेत गरेको छ । 


माओवादी कुन शक्तिमा थियो ? र आज कुन अवस्थाबीच गुज्रिँदै छ ? यी प्रश्न सबैका लागि आश्चर्यजनक छन् । युद्धकालमा लौह अनुशासनमा रहेको पार्टी देशव्यापी रुपमा लोकप्रिय पनि बनेको थियो । नेताहरु सबैले देश र जनताको पक्षमा काम गर्नुपर्छ भन्ने भावनाका साथ आपूmलाई प्रस्तुत गर्दथे । दश वर्षसम्म चलेको सशस्त्र युद्धकाल माओवादी नेताहरुका लागि निश्चय पनि कष्टकर थियो । तमाम कष्टहरु भोग्दै पार्टीलाई सशक्त जनाधारयुक्त पार्टी बनाएर शान्तिप्रक्रियामा प्रवेश गरेपछि पार्टीले जनअपेक्षित कामहरु गर्न सकेन । नेताहरुका कष्टकर दिनहरु समाप्त हुँदै जानु र जनताका अपेक्षाहरु पूरा हुँदैनन् भन्ने सन्देश जनमानसमा पुग्नु माओवादीको ओरालो लाग्ने अवस्थाको प्रमुख कारण बन्न पुगेको हो । 


माओवादी नेताहरु युद्धबाट जसरी आएका थिए, त्यो बेला जनताले निकै ठूलो आशा गरेका थिए । विश्वजगत्ले पनि माओवादीको शान्तिप्रक्रियाको रुपान्तरणलाई निकै चासोका साथ हेरेको थियो । दश वर्षसम्म उठाएका हतियारहरु शिविरहरुमा थन्काएर शान्तिप्रक्रियामा सजिलै प्रवेश गर्नु माओवादी नेताहरुको एक किसिमको विजयोत्सव नै थियो । त्यसपछिका दिनहरुमा माओवादी नेताहरुले युद्धकालको प्रतिबद्धता र जनतामा बाँडिएका आश्वासनहरुलाई स्मरण गर्न सकेनन् । युद्ध स्थगनपछिको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीप्रति जनताको अपेक्षा टुटेको थिएन । संविधानसभाको निर्वाचनमा पहिलो पार्टी बन्ने अवसर पनि माओवादीले प्राप्त ग¥यो । पहिलो पार्टी बनेको अवस्थामा माओवादी नेताहरुले युद्धकालका प्रतिबद्धताविपरीत कामहरु गर्दै गएपछि क्रमिक रुपमा जनतामा निराशा देखापर्न थालेको हो । जनताले चाहेको जस्तो माओवादी बन्न सकेन भन्ने चर्चा सर्वत्र सुन्न थालियो । यो वास्तवमै दुर्भाग्य थियो । 


कम्युनिष्टहरु विलासी हुँदैनन् भन्ने सन्देश माओवादी नेताहरुले दिन सकेनन् । माओवादी एमालेकरण हुने खतरातर्पm लेखक टिप्पणीकारहरुले निरन्तर रुपमा सचेत गराउने काम गरिरहेका थिए । सुझावहरुलाई नेतृत्ववर्गले पटक्कै सुन्ने काम गरेन । सोही कारणबाट पार्टीको शाख गिर्दै गएको बुझ्न सकिन्छ । माओवादी नेताहरु वर्गसंघर्षको निकै कष्टपूर्ण अनुभव बटुलेर शान्तिप्रक्रियामा रुपान्तरित भएका हुन् । यो कुरा सबैलाई थाहा छ । शान्तिप्रक्रियामा रुपान्तरित भइसकेपछि माओवादीले लचकताको नाममा आफ्ना एजेण्डाहरु छोड्दै गयो । युद्धकालका सबै एजेण्डाहरुले शान्तिप्रक्रियामा रुपान्तरित भइसकेपछि पनि निरन्तरता पाउनुपर्छ भन्ने आग्रह यहाँ राख्न खोजिएको होइन । युद्धकालले निर्देशित गरेका केही जनअपेक्षित विषयहरु निश्चय पनि निरन्तरताका लागि आवश्यक थिए । ती जनअपेक्षित विषयहरुले निरन्तरता नपाउँदा नै माओवादी विभाजनको अवस्थामा पुग्यो । यो तीतो यथार्थ हो । 


माओवादी पार्टी विभाजित भइसकेपछि पनि नेतृत्ववर्ग गम्भीर बनेको पाइएन । विभाजित नेताहरु सबैले आ–आफ्नो डम्पूm बजाउने काम गरिरहे । जुँगाको लडाइँजस्तो देखिने माओवादी नेताहरुबीचको विवादका विषयहरु जनताका बीचमा स्वीकार्य हुने अवस्था रहेन । जनताले अपेक्षा गरेविपरीत नेताहरुका गतिविधि हुन थालेपछि माओवादीको लोकप्रियता कायम रहने कुरा पनि भएन । त्यसैले नै संविधानसभाको दोस्रो निर्वाचनमा माओवादीले पराजय बेहोर्दै पहिलो स्थानमा तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो । माओवादी नेतृत्वमा क्रान्तिकारिता कायमै छ भन्ने सन्देश पनि नेताहरुले दिन सकेनन् । पञ्च, कांग्रेस र एमालेभन्दा पृथक् कार्यशैली माओवादी नेताहरुले देखाउन सकेनन् । आर्थिक अनियमिततामा माओवादी नेताहरु अरुभन्दा फरक हुनुपर्दथ्यो ।

त्यो देख्न पाइएन । विकास र निर्माणका सवालमा अरु नेताहरुभन्दा माओवादी नेताहरु फरक छन् भनेर जनताले बुझ्न पाउने अवस्था रहेन । राष्ट्रिय स्वाधीनताको सवालमा माओवादी नेताहरु अरुभन्दा ठीक छन् भन्ने ठाउँ पनि रहेको छैन । कुनै कारणबाट माओवादी नेताहरुका कार्यशैली अन्य पार्टीका नेताहरुको कार्यशैलीभन्दा भन्न नदेखिनु नै चुनावमा पराजय हुनुको कारण हो ।

यो बाहेक अरु पनि हो भन्ने कुरा बुझ्नुपर्छ भने जनताले युद्धकालमा पाएका आश्वासनहरु किन कार्यान्वयन हुन सकेनन् भनेर जनतालाई बुझाउन माओवादी नेतृत्वले आवश्यक ठानेन । जनताले युद्धकालमा आफ्ना परिवारका सदस्यहरु गुमाएर पनि युद्ध सफलताको सपना देखेका थिए । परिवारका सदस्यहरु गुमाउँदै स्थानीय निकायमा कब्जा गरिएका सामन्तहरुका घरजग्गाहरु धमाधम फिर्ता गर्ने अभियानको नेतृत्व गर्दै युद्धकालका कमाण्डर नेताहरु गाउँमा कुद्न थालेपछि जनतामा माओवादीप्रति मोहभंग हुनु स्वाभाविक हो । आखिर जनताले युद्धबाट के पाए ? यो प्रश्न आम जनतामा मनमा रहनु स्वाभाविक हो । माओवादी नेताहरुले छुट्टाछुट्टै पार्टी गठन गरेका भए पनि सबैले समीक्षा गर्नुपर्दछ कि– जनताले युद्धबाट के गुमाए के पाए ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप