वर्तमानका जिज्ञासामय कथाहरु
१) कथारम्भ गरौं गाइजात्राबाट ।
धेरैले टिप्पणी गर,े यसपालाको गाइजात्रा गाइजात्रा जस्तै रहेन । यसको अर्थ यो भैंसी जात्रा हुन गएको पनि होइन । शहरका फराक फराक सडकहरुमा अनगिन्ती अहालहरु भएर पनि जात्रा भर्ने भैंसीहरु देखिएनन् । उपत्यकामा कताकतै गाइपालन छ, भैंसीपालन छैन । यद्यपि अहिले गोपाल र महिषपालहरुको राज्यव्यवस्था पनि होइन । अहिले मुलुकमा गणतान्त्रिक लोकतन्त्रको राज छ । राज्यका उच्चासनहरुमा नेकपा नामक गणका नायक सहनायक उपनायकहरु विराजमान छन् । चोकचोकमा समृद्धिका भजन बालनहरु घन्केका छन् । तर पनि यसपाली गाइजात्रा पर्वमा विगतमा जसरी जनउत्सुकता जगाउने गरी गाइजात्रा आएन । कलाकारका कलाकर्ममय कार्यक्रमहरुमा पनि पहिले आउने गरेको जस्तो जीवन्त गाइजात्रा आएन । दर्शकहरु पेट मिचीमिची हाँस्न पाएनन् । हाँस्न चाहेर पनि हाँस्नै सकेनन् । पत्रपत्रिकामा हल्ला मच्चाउँदै आउँथ्यो गाइजात्रा । यसपाली त्यहाँ पनि आएन । परम्परागत गाइजात्राका पदचिन्हगत अनुकृतिहरुमा पनि गाइजात्रा आएन । आयो त हारेथाकेको झण्डै मृतवत् जात्रा आकृति मात्र आयो । प्राणवान् गाइजात्रा आएन ।
भुक्तभोगी बुढापाकाहरु भन्छन्,, वर्षमा ३६५ दिन हुन्छ । दिनदिनै जसो आएको छ नेपालमा गाइजात्रा । सधैं आएको गाइजात्रा गाइजात्राकै पर्वदिनमा किन आउँछ ? आएन !! आउँदाआउँदा हारथाक भएर आएन ! लाज लागेर पनि आएन !!! जहिलेसुकै र जताततै गाइजात्राकै उपस्थिति देख्दा स्वयम् गाइजात्रालाई पनि त लाज लाग्छ । अतिशय लज्जाकै कारण यसपालि गाइजात्राका दिन गाइजात्रा आएन ।
२) रक्षावन्धन र रक्षा
यसपाली पनि बाहुनहरुले जजमानहरुका हात हातमा रक्षाबन्धन बाँधे । ‘रक्षे माचल माचल अर्थात् हे रक्षे तिमी यताउति नचलिकन यसको रक्षा गर’ भन्दै रक्षाबन्धन बाँधे । छिमेकी मुलुक भारतमा बहिनीहरुले दाजुभाइका नाडीमा राखी बाँधे । नेपालमै पनि कतिले बाँधे । बाहुनहरुले संस्कृतमा बर्बराउने रक्षा कस्तो रक्षा हो ? त्यसले चल्दै नचली कसबाट कसको रक्षा गर्छ ? जजमानले सेध्दैन । रक्षाका ठेकेदारहरुबाट रक्षाको अनुभूति गर्न नपाएका नेपाली जनता रातोपहेँलो काँचो धागोबाट रक्षा पाउनेमा आशावान् छन् । डूबतेका तिनका सहारा । आशा बलवती राजन् शल्यो जयति पाण्डवान् । साँच्चै हो , आशा बलवान् छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने संस्कृति पनि रक्षाकै भर विश्वासमा आधारित छ । आशामा आधारित छ । दाजुभाइ रक्षक हुनुपर्छ । अभर पर्दा दाजुभाइले ज्यानको बाजी लगाएर पनि दिदीबहिनीको रक्षा गर्नु पर्छ भन्ने परम्परागत संस्कृतिमा आधारित चलन हो राखीको चलन । परम्परागत चलनलाई निष्ठा मानेर रक्षाबन्धन र राखीका सूत्रधारहरुले सम्बन्धित श्रद्धावान्लाई रक्षा दिएको छ त ? यस सम्बन्धमा भारतकी एक जना वौद्धिक महिला भन्छिन्, ‘हाम्रो सुरक्षा रक्षाबन्धन र राखीका धागोले होइन समाजको व्यवस्था र राज्यको चरित्रले निर्धारित गर्छ ।’ राज्य फितलो हुँदा जनताका सुरक्षाको अवस्था कस्तो हुन्छ हामी आज यत्रतत्र देखिरहेका छौं । रक्षाबन्धन र राखीका कर्मकाण्ड पनि देखिरहेका छौं । लाग्छ यहाँ पनि मौनताको गाइजात्रा फलित छ ।
३) कथा पुराणतिर फर्केर हेर्दा
एउटा पुराण कथामा आफ्ना शिष्यलाई व्यवहार शिक्षा दिने क्रममा एक जना वृद्ध गुरु भन्छन्, “दूरस्थाः पर्बता रम्या वेश्या च मुखमण्डने । युद्धस्य वार्ता रम्या च त्रीणि रम्याणि दूरतः । अर्थात् पहाड टाढाबाट हेर्दा रमाइलो देखिन्छ । नगरवधूका अनुहार पनि अलि टाढैबाट हेर्दा मात्र सुन्दर देखिन्छन् । किन भने त्यहाँ सुन्दरताको कृत्रिम जलप हुन्छ, सौन्दर्य हुँदैन । युद्ध त अझ कुरा सुन्दा मात्र रमाइलो लाग्न सक्छ । यी टाढैबाट देख्ने बुझ्ने कुरा हुन् ।”
यसपाली बिमस्टेकका सन्दर्भमा काठमाडौ आउने विदेशी राष्ट्राध्यक्ष हरुलाई देखाउन कथाकी बुढी नगरबधूलाई आवश्यकताले सिँगारे जस्तै गरी काठमाडौलाई सिँगारियो । सडकको अस्थायी लिपघस गरियो । तीनकुने चोकमा कथाका इन्द्रको सजिसजाउ नन्दन बन नै उतारुँला जसरी अस्थायी र कृत्रिम उपायहरु प्रयोग गर्नमा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उछिन्ने जमर्को गरियो । अथवा हूबहू नक्कल गरियो । सडकहरु र सम्बन्धित सभासम्मेलन शालाहरु अतिशय रुपमै चिरिच्याट्ट पारिए । संक्षेपमा भन्नुपर्दा काठमाडौको एउटा पाटो दुलही सिँगारेजसरी सिँगारियो ।( जव कि यसैको अर्को पाटो खाडलमय, हिलोमय र जलमय नै थियो ।) गरीब जनताका पसिनाबाट बनेको राष्ट्रिय ढुकुटीबाट कृत्रिम र अस्वाभाविक परिधानका लागि हतार हतार यसरी कराडौं रकम अपव्यय गर्नु अत्यावश्यक कर्तव्य नै थियो त ?
एक जना साथी यस्तै प्रसङ्गहरु जुटाएर नयाँ नेपाल पुराण लेख्दै हुनुहुन्छ । त्यसको एउटा अंश यस्तो छ —
“जिज्ञासुर्गणतन्त्रस्य नेपालस्य विशेषतः । सम्बोध्य नारदं पुत्रं पप्रच्छ चतुराननः ।। अर्थात् नेपालमा गणतन्त्र कस्तो छ ? जिज्ञासाले कुतकुतिएका चारमुखे व्रह्माले आफ्ना पर्यटनप्रेमी छोरा नारदलाई सोधे ।”
“दृष्ट्वा कान्तिपुरीरुपम्ं वृद्धावारवधोरिव । अत्यलंकारभारेण विरूपमवलोकने । किमूचुः स्वागताः सभ्याः सभायां च प्रतिष्ठिताः । किमुवाच तदा मोदी ओलिभि श्चाभिनन्दितः । सम्माननीयो खड्गश्च किमुवाच तदुत्तरे । किदृशी श्रूयते तत्र जनताकृतटिप्पणी ? अर्थात् बुढी वारवधूलाई जसरी कृत्रिम अलङ्कार भारले सिँगारेर विरुप बनाइएको कान्तिपुरी नगरीको रुप देखेर सभा सम्मेलनका लागि जुटेका प्रतिष्ठित विदेशी व्यक्तित्वहरुले के भने ? सम्माननीय अोली लगायतका नेपालका उच्च पदस्थहरुबाट स्वागत अभिनन्दन पाएका भारतका माननीय प्रधानमन्त्री मोदीले के भने ? स्वयम् सम्माननीय प्रधानमन्त्री आलीले प्रत्युत्तरमा के भने ? अनि यस विषयमा नेपालका जनताको टिप्पणी कस्तो सुनिन्छ ?”
कथालाई सवै उद्धृत गर्न यहाँ सम्भव छैन । सङ्क्षेपमा कति मात्र भन्न खोजिएको हो भने कथाको सत्यलोकमा बसेका व्रह्माका मनमा पनि यत्रो खुल्दुली जगाउने गरी ओलीसरकारले उपयोगमा ल्याएको जलपमय नगरश्रृङ्गार सहितको स्वागत अभिनन्दनको तदर्थ शैली कम पौराणिक छैन । आंशिक रुपले हामी आज पनि पुराणकै युगमा छौं ।
४) अव पुनः सिण्डिकेटका कुरा
कुनै एक कार्यक्रममा नेकपाका शीर्षद्वयमध्येका एक शीर्ष कमरेड अध्यक्ष प्रचण्डले प्रसङ्गवस निर्माण व्यवसायीहरुको सिण्डिकेट र कर्मचारीतन्त्रको सिण्डिकेट अभेद्य रहको चर्चा गर्नु भयो भन्ने सुनेर मौन रोदन गरिरहेका एक जना क्रान्तिकारी कमरेडको गुनासोले मलाई हँसायो । कसैको गुनासो सुनेर हाँस्नु भावसम्वेदनाको अभाव प्रदर्शन गर्नु हो । म आफ्नो हाँसोप्रति आंशिक रुपमा लज्जित पनि छु । हाँसोको समर्थनमा पनि मेरा तर्कहरु छन् । कालो सूचीका ठेकेदारहरुमाथि कार्बाही अघि बढाउँदा कसैलाई आफ्नो घरपेटी त कसैलाई मित्र भनेर संरक्षण गर्ने अनि सिण्डिकेट तोड्न सकिएन भनेर भाषण छाँट्ने यो राजनीतिक प्रहसन होइन र ? प्रहसन त हाँसो ठट्टाकै लागि हो नि ।
इतिहासमा मोलाहिचाले गल्ने कमजोर शासक मात्र भएका छैनन्, अपराधबापत आफ्नै छोरालाई समेत मृत्युदण्ड दिन पछि नपरेका दृढ र निष्ठावान् शासकहरु पनि भएका छन् । न्यायिक सन्दर्भमा निष्पक्ष हुनुको तात्पर्य न्यायका पक्षमा अडिग रहनु हो । आफन्तवाद र दण्डहीनताको संस्कृतिले समाजका विषाक्त रोगाणुहरु बलिया हुन्छन् । सिण्डिकेट तोड्न सकिएन भन्नु पनि रोगाणुहरु बलिया भए भन्नु नै हो । आफै विषवृक्ष हुर्काउने, आफै उखेल्न सकिन भनेर गुनासो गर्ने प्रवृत्ति न्यायिक, विवेकशील र सृजेता किसिमको नेतृत्वकारी प्रवृत्ति हुन कसरी सक्छ ? क्रान्तिकारी नेतृत्व कसरी हुन सक्छ ? विषवृक्ष उम्रेको देखेपछि समयमै उखेलेर फ्याँक्न सक्नुपर्छ । यही नै नेतृत्वको दूरदर्शिता हो । यहाँनिर अर्को प्रश्न पनि छ । दश वर्षसम्म सन्चालनमा रहेको सशस्त्र विद्रोहका कमाण्डरले घातक विकृति विसङ्गतिका सूत्रधारहरुलाई जनताभन्दा पनि बलिया र अभेद्य ठान्न मिल्छ र ? जनताले भेदन गर्न नसक्ने चक्रव्यूह अद्यावधि कसैले कल्पना गर्न सकेका छैनन् । जनता कहिल्यै कमजोर हुँदैन । जनताको भर पर्न छाडेपछि र जनताबाट टाढिएपछि जननेताहरु भने स्वतः कमजोर हुन्छन् ।
कमरेड प्रचण्ड अहिले भूमिस्थ जनताबाट टाढिएकै हुन् ? टाढिएकै हुन् भने उनको मातहतमा काम गरिआएका क्रान्तिकारी कार्यकर्ताको दुखेसोमा हामी जनसाधारणले हाँस्न मिल्दैन । सँगसँगै लागेर रुन पनि मिल्दैन ।
५) अव हाम्रा शीर्ष राजनेताहरुको ‘म’ र ‘सुपर म’ का कुरा ।
‘म’ भन्नुपर्दा पुरानो भाषामा ‘अहम’् भनिन्छ । अहम्बाट अहङ्कार बन्छ । अहङ्कार हाम्रो संस्कृतिमा ग्राह्य चरित्र होइन । अहङ्कारमा ‘म सवैभन्दा ठुलो हूँ’ भन्ने भाव अन्तर्निहित रहन्छ । उच्चस्थहरुको अधोयात्रा त्यही भावबाट शुरु हुन्छ । यसै भएर हाम्रो परम्परागत व्याकरणले वार्तालापमा पनि म शव्दको प्रयोग निषेध गरेको छ । आफुलाई वहुवचनमा प्रस्तुत गर्न निर्देश गरेको छ । ‘म’ नभन ‘हामी’ भन भन्छ नम्रताको शिष्ट संस्कृति । अझ राजनीतिक दलका नेता, सरकारका उच्च पदस्थ व्यक्तित्व र समाजवादी जनवादी सोच समझका मानिसले त झुक्किएर पनि ‘म’ भन्न मिल्दैन । त्यहाँ एक्लो ‘म’ छैन नीति नैतिकता र दायित्वबोधसहितको सामूहिक प्रतिनिधि छ । ‘हामी’ छ । राजनीतिक नेताले राजनीतिक दलको प्रतिनिधित्व गर्छ । नेता दलपतिहो, गणपति हो । उसले सिङ्गै गणको प्रतिनिधित्व गर्छ । समूह, समुदाय, दल, गण सवै समष्ठिवाची शब्दहरु हुन् । समष्ठिको प्रतिनिधिले समष्ठिकै भाषा बोल्न सक्नु पर्छ । अझ प्रधानमन्त्रीले त सबै जनताको जिम्मेवार प्रतिनिधि बनेर बोल्न सक्नुपर्ने हुन्छ । जनताप्रति इमानदार हुन सकेको स्थितिमा जनतामै एकाकार भएको मनोभावसाथ पनि बोल्न सकिन्छ । त्यहाँ ‘म’ होइन ‘हामी’ हुन्छ । नेताले सम्यक् बोधका साथ हामी भन्न सक्नु पर्छ । जनताका पुरोधा बनेर हामी भन्न नसके सिङ्गो पार्टी बोले जसरी हामी भन्न त सकिन्छ नि । समाजमा धेरै तल उभिएका छन् र नै कोही माथि उक्लेको देखिएको छ । धेरै पछाडि छन् र नै कोही अगाडि पुगेको देखिएको छ । अन्यथा को कहाँ को कहाँ ? यहाँ एक्ला वृहस्पतिले केही गर्न सकेनन् । एक्ला राजनेता तथा एक्ला मन्त्री, प्रधानमन्त्रीले के गर्न सक्छन् ? आखिर काम गर्ने त पार्टीको बलमा हो । जनताको बलमा हो । राजनेताहरु, मन्त्री, प्रधानमन्त्रीहरु एक्ला होइनन् । निरपेक्ष्य ‘म’ होइनन् । सापेक्ष्य ‘हामी’ हुन् । एकताका ‘झापा र सुपर मानव’को सन्दर्भ पनि आएको थियो । सुनियो, पचाइयो । सधैँ मौसम उस्तैरहन्छ भन्न सकिँदैन । कति मात्र भन्न सकिन्छ भने विशिष्टहरुको अभिव्यक्तिमा वैज्ञानिकता हुनुपर्छ । विनम्रता हुनुपर्छ । अन्यथा शोभनीय नहुन सक्छ । जनतालाई त नेताहरुले ‘हामी’ भनेको सुन्न सहज लाग्छ । पार्टीका कार्यकर्ता र सदस्यहरुलाई कस्तो लाग्छ थाहा छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?