सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा गीतको : म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु

शनिबार, १६ भदौ २०७५, १० : ३५
शनिबार, १६ भदौ २०७५

‘म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु,
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।’

यो गीत नसुन्ने सायदै होलान् । स्वर्गीय सङ्गीतकार नातिकाजी श्रेष्ठको सङ्गीत र प्रदीपराज पाण्डेको स्वरले सजिएको यो गीत अहिले पनि उतिकै लोकप्रिय छ । ‘तिम्रो सहर’ एल्बममा समावेश गीत अहिले पनि मिडियाको प्रथामिकतामा पर्ने गरेका छ । यो चर्चित गीत कसले लेखे धेरैलाई थाहा नहुन पनि सक्छ । यो गीतका गीतकार हुन्– बीबी थापा । बीबी ती व्यक्ति हुन् । जसले नेपाली सङ्गीतिक आकाशका लागि थुप्रै कालजयी गीत सिर्जना गरेका छन् । 

विसं ०४० बाट गीत लेखनमा सक्रिय रहँदै आएका उनलाई साङ्गीतिक आकाशमा उचाइ दिने र सर्वत्र चिनाउने काम भने २०४७ मा रेकर्ड भएको यो गीतले गर्यो । यो समय उनी आरएनएसी अर्थात अहिलेको एनएसीमा जागिरे थिए । सानैदेखि लेखनतिर रुचि रहेका उनको साे समय सङ्गत पनि यस्तै साथीभाइसँग थियो ।

त्यसो त यो गीत अगाडि ०४४ तिर उनको ‘तमासा भएछु म मायाको बजारमा’ गीत चर्चामा थियो । विजय सिंह मुनालको सङ्गीत रहेको यो गीत रेडियो नेपालले बजाउँथ्यो । गीतको चर्चाले उनलाई एल्बम गर्न मन लाग्यो । साथीभाइले पनि यही सुझाए । त्यसकारण उनी ०४६ बाट एल्बमको तयारीतिर लागे । 

एल्बमको तयारी गर्दै गर्दा उनको मनमा केही फरक किसिमको गीत सिर्जना गर्ने सोचले डेरा जमायो । त्यही सोचमा उनी हातमा कपी र कलम लिएर लेख्न थोले– 

म यो सहर छोडी टाढा टाढा जाँदैछु,
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।

जब गीतको शब्द पूरा भयो । सङ्गीतका लागि तत्कालै नातिकाजीलाई दिए । नातिकाजी उनका सङ्गीत गुरु पनि थिए । नातिकाजीले तयार गरेको मीठो सङ्गीतमा यो गीत प्रदीपराज पाण्डेले गाएका थिए । प्रेममा धोका खाएका प्रेमी सहर छोड्दै गरेको गीतले आभास दिन्छ । ‘गीत सुन्ने सबैले सोच्ने र गेस गर्ने कुरो यही’ बीबीले भने ‘धेरैले यो गीत आफ्नै कथामा हो । भनेर समेत मलाई सोधे ।’ 

‘प्रेम गर्नुपर्छ । प्रेममा खटपट पनि हुन्छ । सफल वा असफलता मिल्न सक्छ ।  प्रेम त प्रेम हुन्छ’ भन्ने भावनमा मनमा उब्जिएको क्षण उनले यो गीत कोरेका थिए । ‘लेख्दै जाँदा मनमा प्रेमी प्रेमीको बीच उब्जिने टसनले सहर छोडेर जाने प्रसङ्ग आएको हो’, गीत सिर्जनाको क्षणमा उनी पुगे ।

सहर छाड्ने च्यालेन्ज त थिएन

भोगाइमा, देखाइ र रोजाइको आधारमा गीत सिर्जना गर्ने बीबीको यो गीत  आफ्नै भोगाइ भने पक्कै होइन । किनभने उनी त्यति बेला भर्खर २५ वर्षका थिए । जवानीको जोस थियो । जवानीको जोसमा च्यालेन्जका कुरा त आउने भयो नै । त्यही च्यालेन्ज थियो यो गीत । उनले भने ‘म एक प्रेमी पनि हुनसक्छु । अथवा मलाई कसैले प्रेम गरेको हुनसक्छ ।’ भन्ने माहोलको कल्पनाले गीत सिर्जना भयो ।’

गीत जब बाहिर आयो । आफ्नो जीवनकथासँग मिलेको धेरैले उनलाई सुनाए । यो गीत नयाँ प्याटर्नमा पनि थियो । यो प्याटर्नमा ट्र्याजेडी थिममा गीत लेखेकाले पनि धेरैले उनलाई घायल प्रेमी भनेर गेस गरे । कतिले त प्रेमिकासँग ट्रयाजेटी परेर लेखेको हो ? प्रश्न गरे । ‘होइन किनभन्नु । मैले आफ्नो भोगाइ लेखेको हो’, उनी ती दिनतिर फर्किए’ उक्त समय मेरो माहोल पनि यस्तै थियो । मलाई सहर नै छाड्ने च्यालेन्ज भने थिएन । तर गीतमा भने च्यालेन्ज राखे ।’

एउटै प्रश्न– गीत कसरी बन्यो ?

जतिबेला यो गीत आएको थियो । सो समय गीत बज्ने रेडियो नेपाल बाहेका सञ्चार माध्यम थिएन । नेपाल टेलिभिजन भए पनि त्यसमा भिडियो बिना गीत बज्दैन थियो । गीत रेकर्ड सकेर उनी बाहिर ल्याउने तरताम्य मिलाउँदै थिए । सोही समय उनी जापान उड्नुपर्ने अवस्था आयो । साँझको ९ बजे गीत पहिलो पटक रेडियो नेपालबाट अनएयर गराएर उनी सोही दिन राति १२ बजेको जापान उडे ।

जब ३ वर्ष जापान बसेर उनी फर्किए, गीत हिट भइसकेको थियो । उनी पनि सेलिब्रेटी भइसकेका थिए । उनको खोजी चौतर्फी भइरहेको थियो । ‘उहिले अहिलेका जस्ता सञ्चार माध्यम, सामाजिक सञ्जाल थिएनन्’– उनले ती दिन बताए– ‘मेरो खुबै खोजी भएछ । फर्किएपछि धेरैले भेटे ।’ भेटमा उनलाई धेरैको एउटै प्रश्न हुन्थ्यो । गीत कसरी बन्यो । रियालटी के थियो । गीत किन र कसका लागि लेखियो । लेख्नै पर्ने कारण के थियो । आदि इत्यादि । गीत मिडियामा आउनु र उनी जापान उड्नु परिस्थिति एउटा संयोग थियो । ‘यही संयोगले गीत र मप्रति सबैमा कौतुहलता पैदा गरिदियो’, उनले थपे ।

०४० बाट लेखन थालेका उनको लेखन यात्राले अहिले ३५औं वसन्त पार गरिसकेको छ । यो अवधिमा उनले १७ सय भन्दा बढी गीत कोरिसकेका छन् । ५ सयका हाराहारी रेकर्ड भएका भए पनि अन्य नोटबुकमा थन्किएर रहेका छन् । आधुनिक गीत लेख्न मन पराउने उनका गीत मानव सेन्टिमेन्टलले परै भरिएको हुन्छ । मानिसको भोगाइ र व्यावहारिक पक्षबाट नै उनको गीत बन्ने गरेको छ । टची र काल्पनिक नलाग्ने गीत बनाउने उनी रियालटी बेसमा जीवनसँग नजिक भएर गीत लेख्ने गर्दछन् । यसरी लेखिएका गीत नै लोकप्रिय हुने उनको बुझाइ छ । 

फिल्ममा गीत लेखिनँ
आधुनिक गीत लेखनमा एउटा अध्यान कोर्न सफल उनले ०४७ मा गोपीकृष्ण चलचित्रमार्फत फिल्मी यात्रा पनि सुरु गरे । पहिले पूरै भनिए पनि अन्तिम समयमा यो चलचित्रमा उनका दुई गीत मात्र अटाए । यो हुनुको अर्काे कारण उनको विदेश यात्रा पनि थियो । भूपेन्द्र रायमाझीको सङ्गीत रहेको उनले लेखेको चलचित्रको ‘सिउँदो भरी...’ गीतले चर्चा त पायो नै, गीतमा ‘आइ लभ यु’ भनेर शब्द राख्ने पहिलो गीतकारको श्रेय पनि उनको भागमा पर्यो ।

गोपीकृष्ण पछि उनले ‘दोधार’ चलचित्रको ‘जन्मेको ठाउँको हुर्केको गाउँको सम्झना..’ गीत केरे । चलचित्रको कथा अनुसार तयार पारेको यो गीत पनि हिट भयो । त्यसपछि उनी चलचित्रको गीत लेखनबाट हराए । करिब १० वर्षपछि ‘एउटा यस्तो प्रेम कहानी’सहित अहिले ५, ६ वटा चलचित्रमा एकसाथ गीत लेखेका छन् । नाम चेन्ज हुन सक्ने निर्माता निर्देशकले भनाइका कारण सबै चलचित्रको नाम आफूले लिन नसक्ने उनले सुनाए । 

आधुनिक गीत लेखनमा धेरै अगाडि उनको चलचित्रका गीत धेरै छैनन् । यसो हुनुको कारण पनि छ । ‘अप्ठ्यारा धेरै छन् । गीत लेख्न निर्माता निर्देशकसँग पटक पटक सिटिङ गर्नुपर्छ । उनीहरूले यो भएन । त्यो भएन । फलानाको जस्तो चाहिन्छ भन्छन्’, उनले अनुभव सुनाए । भने ‘फोटोकपी गर्न लगाउने निर्माता निर्देशकको बानी मन पर्दैन । गीत कथा अनुसार भएन भने सङ्गीतकारले करेक्सन गर्ने हो । निर्माता निर्देशक ठूलो पल्टिने होइन ।’ चलचित्र बनाउन तम्सिने निर्माता निर्देशकसँग गीतकारको हैसियत बुझ्ने, सम्मान गर्ने प्रवृत्ति नभएको पाएका उनले पेलान प्रवृत्तिमा गीत लेख्दा राम्रो सिर्जना हुन नसक्ने बुझाइ रहेको छ ।

अनि फुर्यो ‘पुरानो डुङ्गा पानीको छालमा ...’   

थुप्रै हिट गीत सिर्जना गरेका उनको अहिलेसम्मकै सर्वाधिक हिट गीत ‘पुरानो डुङ्गा पानीको छालमा..’ हो । ०६० सालमा गायक कर्ण दाशको स्वरमा रेकर्ड भएको यो गीत बन्नुको पछाडि पनि एउटा बेग्लै कथा छ । कथा ०४६ तिरको हो । त्यतिबेला उनी पोखरा गएका थिए । घुम्ने क्रममा उनी फेवाताल पुगे । ताल नियाल्दै जाँदा उनको नजर मोटर ग्यारेजमा मोटर पार्क गरेझैं राखिएको पुरानो डुङ्गाहरूका चाङमाथि पर्यो ।  बिग्रिएका, भाँचिएका र थोत्रा डुङ्गा किनारमा राखिएका थिए । उनले सो डुङ्गा वरिपरि घुमेर हेर । सोही क्रममा उनको नजर नजिक आउँदै गरेकी लगभग ६० नाघेकी बुढी महिलामाथि पर्यो । ती महिलाको साथमा झोला पनि थियो ।

कानका ठूलाठूला गहना लगाएकी महिला गुरुङ समुदायको भएको अनुमान देख्ने जोकोहीले पनि गर्न सक्थे । गाला चाउरी परेको ती महिला आइपुग्दा दिनको ३ बजेको थियो । ‘यो समय तालको पानीमा छाल पर्ने भएकाले डुङ्गा पनि बन्द हुँदो रहेछ’ बीबी सुनाउँदै थिए ‘ती महिलालाई देखेर मैले गेस गरेँ । उनी डुङ्गा नचढी पारि जान सक्दिनन् । पारि उनलाई केही त पर्खिएर बसेको होला ।’ ‘मैले तालको पारिपाटी धमिलो आकृति निर्माण गरे, जो ती महिलाई पर्खिरहेको छ ।’ उनले थपे ।

ताल कसरी तर्ने भन्ने सोच्दै गर्दा उनलाई शब्द फुर्यो...

‘पुरानो डुङ्गा पानीको छालमा पार गरौँ कसरी,
उनी छिन् पारि तरेर लैन भेटौँ म कसरी । 

ट्र्याजेडी मुडमा समय र परिस्थितिलाई लिएर उनले यो गीत लेखेका थिए । ०६० सालमा यो गीत रेकर्डको साइत पर्यो ।

नयाँ प्याटर्नको सङ्गीत 
०६० मा उनी दोस्रो पटक जापान भ्रमणमा थिए । सो समय विदेशमा नेपालीको एल्बम पाउन गाह्रै थियो । तर सुन्दर थापा भन्ने गायक तथा सङ्गीतकारको एल्बम उनको हात पर्यो । एल्बमका गीत तथा सङ्गीत उनले सबै सुने । मन पनि पर्यो । उनले एल्बमको पछाडि हेरे । धेरै एल्बमको पछाडि गायक तथा सङ्गीतकारको सम्पर्क नम्बर हुँदैन थियो । सुन्दरले भने राखेका रहेछन् । नम्बर पाएपछि उनले सुन्दरलाई फोन गरे । बधाई दिँदै गीत मन परेको सुनाए । आफ्नो परिचय पनि दिए । बसेको ठाउँ बताए । सुन्दरले पनि उनको केही गीत गाउने मनसाय राखे । उनले १० गीत तुरुन्तै पठाए । गीत पठाएको ५ दिनमै उनलाई फोन आयो । ‘सबै गीतमध्ये पुरानो डुङ्गा तयार भयो । राम्रो बन्यो । कर्ण दाशले गाउँछ’ उनलाई सुन्दरले भनेका शब्द हुन् यी ।

उनले फोनबाटै हार्माेनियको साथमा गीत सुने । उनलाई पनि गीतमा सिर्जना गरिएको नयाँ प्याटनको सङ्गीत राम्रो लाग्यो । गीतको भिडियो बन्यो । गीत बजारमा आएपछि यसले चर्चा पनि पायो । यो गीतले सो समय बाँडिएका धेरै अवार्डमा बेस्ट गायक, सङ अफ दी इयर, उत्कृष्ट शब्दलगायत हात पर्यो । उनले लेखेका सबै गीत रेकर्ड भएका पनि छैनन् । 


  
मौसमे गीत काम छैन
अहिले एकसाथ ८ एल्बम एकसाथ तयारीमा छन् उनी । किशोर खतिवडा, निखिता थापा, राज सिग्देल, दीपक सिल्वाललगायतको गायक गायिकाले उनको एकल शब्दमा एल्बम ल्याउने तयारी गर्दैछन् । यसको अलवा मेनुका पौडेलको ‘सुरसङ्गम’, रूपक डोटेलको ‘लभ गुरु’, कौसल राज खड्काको ‘मायाको डुङ्गा’ पनि आउँदैछ । यी सबै एल्बम दसैं आगाडि ल्याउने उनको टार्गेट रहेको छ ।

पुरस्कारका लागि सेटिङ जान्नुपर्ने बुझेका उनको ‘पुरानो डुङ्गा..’ पछि धेरै गीत हिट भएका छन् । तर अवार्ड भने उनले थाप्न पाएका छैनन् । आयोजकको पछि लागेर, फर्म भरेर अवार्ड लिनेमा नपर्ने उनका प्रत्येक गीतमा फरक कथा र सन्देश हुन्छन् । देखाइ, भोगाइका आधारमा तयार गरिएको गीत कल्पनिक भन्दा हेर्न लाएका हुने उनको तर्क छ । पछिल्लो समय चलेको ट्रेनलाई फलो गरेर गीत बन्ने गरेको ट्रेन्ड देखेका उनी ट्रेन्डको फलो गर्नेभन्दा पनि ट्रेन भित्र्याउनेमा पर्दछन् । उनको एउटै भनाइ रहेको छ, ‘नेपाली सुगम सङ्गीतमा मौसमी गीत दिनु हुँदैन ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप