काममा जिरो प्रगति, गफमा शतप्रतिशत अग्रगति
प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको पूर्वसन्ध्यामा पत्रकार भेटघाट गरेर सबै (आलोचनाका) कुरा लेख्नोस् तर जनतामा निराशा फैलाउने कुरा नगर्नोस् भनेर आग्रह गर्नु भएछ । उहाँले निराशा फैलँदाको परिणाम राष्ट्रलाई नै नराम्रो पर्ने कुरातर्फ पनि ध्यानाकृष्ट गराउनु भएछ, जुन बडो बुद्धिमत्तापूर्ण कुरा उठाउनु भएछ । त्यसो त कामरेड ओली बुद्धिमत्ताका कुरामा देशका करिब तीन करोड मानिस मात्र होइन कामरेड प्रचण्डभन्दा पनि बढी नै चलाख भएर नै राष्ट्रको सर्वोच्च कार्यकारी पदको हकदार बन्न सफल हुनु भएको छ । त्यस्तो व्यक्तिलाई एक दुई कुरामा मात्र बुद्धिमान भनिदिँदा चित्त दुख्न पनि सक्छ । अफसोच के भने नेपालका तीन करोड मानिसमध्ये धेरैजसो प्रधानमन्त्री ओलीजस्तो बुद्धिमान नभएर हो कि कसो हो उहाँले जस्तो आशावादी भएर बाँच्न सकिरहेका छैनन् । जनता निराश भइरहेका छन् । ओलीजीलेजस्तो १४ वर्ष जेल नेल खप्दा पनि धैर्य गरेर आशावादी रहिरहने क्षमता आमजनतामा हुँदो रहेनछ । बिमस्टेक शिखर सम्मेलनकै सन्दर्भमा म सधँै हिँड्ने बाटोमा पर्ने काठमाडौँको तीनकुनेमा टिन र पेन्टिङ गरेका कपडाका पर्दाले विदेशी अतिथिका आँखामा नेपालको वास्तविकतामाथि पर्दा हालिएको रहेछ । म एकछिन त्यो देखेर हाँसेको मनमा धित मरेकै थिएन । उपेन्द्र यादवका डिफेक्टो कोषाध्यक्ष पप्पु कन्स्ट्रक्सनले भत्काएर विरूप पारेको र वर्षौंदेखि सडक जामको कारण बनेको वागमतीको पुलमा धरो झुण्डेको देखेर मलाई लाज लागेर आयो । ओलीजीले तीनकुनेमा गरेको बठ््याइँ बागमती पुलमा आएर शतचूर्ण भएछ । अनि म ओली सरकारका ६, ७ महिना सम्झेर निराश भएँ । उहाँ निराश नबन्नु भन्नुहुन्छ तर ओलीजीको धैर्य मजस्तो बबुरो सर्वसाधारणलाई कसरी प्राप्त हुन्थ्यो र ? मैले एक पटक त प्रधानमन्त्रीसँग सीधा कुरामा प्रश्न राखौं कि भन्ने पनि सोचेँ तर ओलीजीको बानी अलिअलि भए पनि थाहा भएकाले मैले आफैले जवाफ तयार गरेँ– ए पहिलेको सरकारले लगाएको ठेक्काको दोष पनि मैलाई दिने ?
हो, प्रधानमन्त्रीज्यू, तपाईंसँग सबै कुराको जवाफ नहुन सक्छ, किनभने अहिले तपाईंसँग सरकार बनाउने दुई तिहाई बहुमत छ । तपाईंसँग मन्त्रीको तलब खाने धुरन्धर सल्लाहकार सचिव छन् । त्यसमाथि तपाईंले राज्यको ढुकुटीबाट करोडौँ लुटाइएका सहायताका भोगीहरूले तपाईंका बातैपिच्छै पररर ताली बजाइदिनसक्छन् तर चुनावका बेला ठूलो आशा गरेर तपाईंको पार्टीलाई भोट हालेर अहिले निराश बनेका बहुसङ्ख्यक जनताको मनमा पलाएको निराशा र अविश्वासलाई आशा र विश्वासमा परिणत गर्न भरौटेहरूका कुरौटे योग्यताले सम्भव हुँदैन । जनताको सेवा गर्नुपर्ने राजनीतिक कार्यकर्तालाई तलब खुवाएर लोभी पापी र भ्रष्ट बनाउन, भ्रष्टाचारलाई संस्थागत गर्न तपार्इंंहरूले साविकभन्दा बढी कर असुल्ने व्यवस्था गर्नुभयो तर जनताले के पायो सरकार, निराशा बाहेक । तपाईंहरूले के गर्न सक्नुभयो ? सय दिन र पाँच महिनाका कार्य प्रगति जुन अखबारमा आए ती पञ्चायती शैलीका शाब्दिक लफ्फाजीबाहेक के छन् त्यहाँ । काममा जिरो प्रगति अनि गफमा शतप्रतिशत अग्रगतिले जनताको मन झन् कुडिँदै गएको छ, हेक्का राख्नुहोस ?
प्रधानमन्त्री ओलीजीको बोलीअनुसारको काम भएन, प्रशासन चलेन । जेजे गरेको विज्ञापन गरियो, त्यसको प्रतिफल जनताले भोग्न पाएन । यो जालझेल र घुमाइ कहिलेसम्म । राजधानीमा सडकको बेथिति बीसको उन्नाइस भएन । विकल्प हुँदाहुँदै पनि त्यतातिर चासो छैन । ओलीजी जनताकै छोरा हो नि कहिले कहीँ त राजधानीमा धुपौरेहरू पछि नलगाई पैदलै हिँडेर जनताको मनस्थिति बुझे पनि त हुन्छ नि । महाराजाले जस्तो बालुवाटार दरबारमै कुहिरहनुपर्छ र ? तपाईं शब्द त जति पनि खर्च गर्न सक्नुहुन्छ तर मनको निराशा काम नगरी कहाँ मेटिन्छ ? विकास गर्ने भन्नुहुन्छ तर कुन विकास कहाँ कसरी गर्ने जनताले सरकारलाई कहाँ के गरेर साथ दिने खै कामरेड ? तपाइंले कुन जनतासँग के मद्दत माग्नु भयो ?
जनतालाई सबभन्दा ठूलो भय अहिले निराशाकै छ । जति ठूलो आशा गरेर बामपन्थीलाई जिताइयो यो त पहिलेको दक्षिणपन्थीभन्दा पनि गएगुज्रेको पो निस्केछ भनेर नै जनता निराश भएका हुन् । केके न हुन्छ भनेर गणतन्त्रको समर्थन गरियो तर राजतन्त्रले जति पनि स्थिरता विकास न गरेपछि पूर्वराजाले पनि खुच्चिङ गर्ने भए । त्यति मात्र हो र फेरि राजाका तिनै भाइभारदार शासनमा फिर्ने भए भनेर पनि जनता निराश बनेका छन् । राजा त अलिक परेको कुरा भयो, बामपन्थीको नजिकको विकल्प बनेको तर राज्यको ढुकुटीको रकम कार्यकर्ताको नाममा बाँडेर कमिसन खान पनि लाज नमान्ने, गर्न नहुने काम पनि तत्काल गर्न पछि नपर्ने, लोकतन्त्र र प्रजातन्त्रका नाममा गुण्डा, दलाल, पैसावाल र ठेकेदारको मात्र हित हेर्ने अघिल्ला भालुभुत्ते नेताले चलाएका सरकार फेरि दुईतिहाई बहुमतले स्थापित गराउने वातावरण प्रधानमन्त्री ओलीबाटै तयार हुँदैछ भनेर नै मानिस निराश भएका छन् । त्यति मात्र हो र ? जनयुद्धका नाममा हजारौँ लाखौँलाई बर्बाद पारेर पानीमाथिको ओभानो बनेर असरवादी शक्तिको नेता बनिहिँडेका एक्लो बृहस्पतिको जति पनि आइडिया खियाउन नसकेको ओली सरकारलाई तिनले अर्ती उपदेश गरेको देखेपछि जनताको मन न हो, त्यसैत्यसै निराश भएर आइसकेको छ । एकातिर कम्युनिस्ट सरकार भनेर गैरकम्युनिस्टहरू तर्सने र सकेसम्म तत्कालीन फाइदा उठाउन मात्र खोज्ने अर्कातिर आफ्ना शुभचिन्तक मतदातालाई पनि निराश तुल्याउँदै जाने हो भने ओली सरकार घरको न घाटको भएर पछारिने सम्भावनाले पनि जनतामा निराशा छाएको छ । यो निराशाको कारण ओली सरकारले काम गरेन भन्ने मात्र होइन, यसले गर्दा भविष्यमा जनताको पक्षका पार्टी र राजनीति पनि रसातलमा भासिने भए भन्ने पनि हो । त्यसैले यो निराशा ओलीको र जनताको भविष्यका लागि पनि हो । यो निराशाको निराकरणको जिम्मेवारी पनि ओली सरकारकै हो । पत्रकारहरूले निराशा फैलाउने हाइनन्, पत्रकार त समाजको प्रतिविम्ब मात्र हुन् । उनीहरूले निराशा फैलाउने होइनन्, निराशालाई देखाइदिने मात्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक