ओलीको ओरालो यात्रा
प्रकाश भुजेल
धेरै दिनदेखि धैर्य गरेर मन बाँधेर बस्दाबस्दै आज अकास्मत एकाएक मनभित्र केही उद्वेलित भावनाले यी पङ्क्ति लेख्न बाध्य बनायो । विन्ती छ सरकार रिसानी माफ होला !
नेपालको राजनीतिक इतिहास र घटना शृङ्खला हेर्ने हो भने आज हामी एउटा निकै गम्भीर र महत्वपूर्ण मोडमा आइपुगेको छौं । करिब आधा शताब्दी समय र दुई तीनवटा पुस्ताको योगदान, क्षति र बलिदानले हामी इतिहासकै अत्यन्तै अनुकूल स्थितिमा आइपुगेका छौँ । आज हामीसँग दोष दिनलाई न त राजा नै छन् वा राजतन्त्र, काम गर्नलाई छेक्ने नियम, ऐन, कानुन र संविधान पनि छैन । किनकि आज हामी सत्ता सञ्चालन जसले गर्दैछ, उसैको नेतृत्वले नै हालको संविधान जारी गरेको हो ।
यसैगरी जतिबेला पनि भाँजो हाल्न सक्ने अङ्कगणितीय हिसाबले बलियो प्रतिपक्ष पनि हामीसँग छैन । साथै सडकमा अराजक र असहज अवरोध स्थिति पदै गर्न विभिन्न सशस्त्र अतिवादी र अराजक समूह पनि त्यत्रो औकात र हैसियतमा छैन । काम गर्नलाई गाउँगाउँमा सिंहदरबार पुगेको छ । केन्द्रीकृत र एकात्मक राज्य प्रणाली पनि हामीसँग छैन । सत्तासिन दलको पकडमा स्थानीय सरकार ठूलो मात्रामा छ । यसैगरी प्रदेश सरकारमा पनि सत्तासीन दलको एकलौटी र शतप्रतिशत कब्जा छ र सङ्घीय सरकार त इतिहासकै शक्तिशाली अवस्थामा छ ।
सत्तासीन पार्टीको पार्टी जीवन समेत विगतको सापेक्षतामा सबैभन्दा एक ढिक्का र एक मतमा छ । हामी यस्तो व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा पाएका छौं वा स्वयम्ले स्वीकार्नुभएको छ कि यो उहाँले प्राप्त गरेका नयाँ जीवन देश र जनताको खातिर समर्पण गर्नेछु । ‘मेरो निजी र व्यक्तिगत कुनै आकाङ्क्षा छैन बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु’ प्रधानमन्त्री स्वयम् सार्वजनिक रूपमा यसो भन्दै हुनुहुन्छ । त्यस्तै अन्तर्राष्ट्रिय वा छिमेक सम्बन्धमा हेर्ने हो भने पनि हाम्रा दुई विशाल छिमेकी शक्ति राष्ट्रसमेत विगतको हस्तक्षेपकारी भूमिका, दबाब र प्रभाव तुलनात्मकरूपमा सरकार सापेक्षित, सन्तुलित, सहज र सहयोगी जस्तो अवस्थामा देखिएका छन् । आधा प्रधानमन्त्रीको रूपमा हेरिने अर्थमन्त्रीको जिम्मेवारीमा समकालीन अवस्थाका सबैभन्दा बढी अब्बल मानिएका विज्ञको रूपमा परिचित र दुई महत्वपूर्ण, गभर्नर र रायोआको अनुभवसहितको सुविधा पनि यो सरकारलाई छ ।
यति धेरै सुअवसर, अनुकूलता र जनादेशसहितको सरकार किन चुकिरहेको छ ? किन आफैले निम्त्याएको झमेलामा फसिरहेको छ ? किन बदनाम जस्तो देखिएको छ ? विगतका अन्य सरकार जस्तो आफ्नो अकर्मण्यता अरूलाई लगाउने आफ्नो असफलता र कमजोरीको भारी अरूको काखमा बिसाउने अनि ओठेजवाफ दिने यो सरकारलाई छुट छ ? लोकतान्त्रिक प्रक्रियाको भीमकाय पहाड पार गरेर असाधरण क्षमता देखाउँदै यहाँसम्म आइपुगेको सत्तासीन दल एकाएक अपरेटिङ सिस्टम गुमाएको स्मार्ट फोन जस्तै लाग्दैछ ।
यसका बाबजुद पनि सरकार बाटो बिराएको यात्रीजस्तो भएको छ । केही लर्बराएको छ । सत्ता जहिले पनि चर्को हुन्छ । रुखो, तीखो र अन्धो हुन्छ भन्ने युक्तिबाट यो सरकार पनि अछुतो रहन सकेन ।
सत्ता सञ्चालनका लागि पाँच महिना भनेको केही माने राख्दैन, यो एक निमेष जत्तिकै हो तर एक निमेषमै पनि केही झल्को दिन सकिन्छ । एक सय चार वर्षे राणा शासन, तीस वर्षे काल रात्री, दश वर्षे कहाली लाग्दो अवस्था र ज्ञानेन्द्रसमेतको सन्काहपन र कुदृष्टिको शिकार भएर थिलोथिलो भएको मेरो देश सडक दुर्घटनाबाट एक्कसि उद्धार गरेर सुविधा सम्पन्न अस्पतालको उपचार कक्षसम्म आइपुगेको अवस्था अवश्य हो । तर अब अस्पतालको शैयामा र डाक्टरको निगरानी, उपकरण र औषधिको सहज पहुँचमा पुगेपछि पनि प्राथमिक उपचारसमेत नपाएको र सबै उपचारमा खटिनुपर्ने रमिते भएको बिरामी भने अलाप गरिरहे जस्तो स्थिति छ ।
सुरुका केही दिनमा आक्रमक सुधारको सङ्केत, जोसिलो र उत्साहित एवम् उच्च मानेबलका साथ प्रस्तुत गरेको सरकारले अवश्य जनतामा उत्साह, आशा र भरोसा जगाएको थियो । यातायात सिन्डिकेड, सुनकाण्ड, गैरसरकारी संस्था, अमर्यादित र अनुशासनहीन कूटनैतिक नियोगहरुमाथि कडा निगरानी, कामचोर निर्माण व्यवसायी माथिको कार्वाही, वैदेशिक रोजगारी व्यवस्थापन, बजार अनुगमन, कृषि उत्पादनमा गम्भीर, ट्राफिक जाम मुक्त उपत्यकाको परिकल्पनालगायत विषयमा सरकारको आक्रम प्रारम्भिक भूमिकाको जनताले केही आशा गरेका थिए । तर यी विषयमा सरकार एकाएक अस्थिर देखिन थाल्यो । सुरु गरेका कारवाहीप्रति जनताले प्रश्न गर्दा जवाफदेही हुनुको साटो उल्टै आठेजवाफ फर्काउने, जनताको मान मर्दन गर्ने विरोध गर्नेप्रति आक्रमक देखिन थाल्यो । सामाजिक सञ्जालमा लेख्नेहरूप्रति आक्रोशित हँुदै लोकतान्त्रिक चरित्रसमेत गुमायो ।
दुई तिहाइको आधार तयार गरिदिएको आफ्नै घोषणापत्र, प्रतिबद्धता र आस्वसन लत्याउँदै विपरीत दिशा हिँड्न खोज्ने दुस्साहस गर्दै छ । सत्याग्रह र शान्तिपूर्ण आन्दोलनको विरुद्धमा जाने दुस्साहस विश्व इतिहासमा विरलै भेटिन्छ तर स्वास्थ्य जस्तो आम जनसरोकार विषय एक त्यागी सत्याग्रहीले आवाज उठाउँदा चरित्र हत्या गर्नेदेखि निर्मम ढङ्गले उनको हुर्मत लिने कार्य भयो । जुम्ला घटना सरकारको सङ्कीण सोचको प्रतीक हो ।
स्वास्थ्य र शिक्षाबारे सत्तासीन दलको घोषणा पत्रमा चाहिँ शिक्षा र स्वास्थ्यमा सर्वसुलभ र निःशुल्कको प्रत्याभूति दिने भनेको छ । तर कसरी दिन सकिन्छ भन्ने मौन बसेको छ ?
यो सरकार नेपालको लोकतान्त्रिक इतिहासमा दोस्रो दुई तिहाई बहुमतको सर्वशक्तिमान सरकार हो । पहिलो दुईतिहाई बहुमतको शक्तिशाली सरकार राजा महेन्द्रद्वारा अपदस्थ भएको थियो । यो सरकार त्यही रीतबाट अपदस्थ हुने कुनै परिस्थिति छैन । तथापि अनियन्त्रित बोली र लुरे खुट्टाले गर्दा स्वयम् नै दुर्घटनामा पर्ने त होइन, के समाजवादको दिशा भनेको यही हो ? यी र यस्तै प्रश्न सर्वसाधरणको मानमा उठिरहेका छन् । यसको सही विधि र न्यायोचित नीति यो सरकारले पनि लिन सकेन भने दुई तिहाइको तरबारविरुद्ध पनि जनता उठ्नेछन् । यस्तै गरी जनताका आधारभूत अधिकारमाथि बेवास्ता हुँदै गए अभूतपूर्व जनमतसहित सिंहदरबार छिरेको शक्तिलाई एकाएक सडकमा ल्याउन जनता पछि पर्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)