शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सवारी साहित्य : निःशुल्क पढ्न पाइने मायाप्रेमका कुरादेखि उखान–टुक्कासम्म

शनिबार, ०९ भदौ २०७५, १४ : २१
शनिबार, ०९ भदौ २०७५

‘म मरेपछि मेरो लासको पोस्टमार्टम गर्न नदिनू है प्रिय
मुटुमा तिम्रो नाम भेटिँदा अनुसन्धानमा फसौली ।’

‘मलाई त बचाउन सकेनौ 
कमसेकम डुब्न लागेको आफ्नो देश त बचाऊ ।’

उल्लिखित फरक–फरक अभिव्यक्ति कुनै कवि, लेखकका होइनन् । त्यसो हो भने कसका हुन् त ? त्यो पनि थाहा छैन । सार्वजनिक सवारीसाधनमा कोरिएका यस्ता अर्ती उपदेशसहितका अभिव्यक्ति पढ्न पाइन्छन् ।

‘कलम रोए अक्षर बन्छ, कवि रोए कविता
धनी मरे श्रद्धाञ्जली गरिब मरे रमिता ।’

कतै अर्ती उपेदश, कतै मायाप्रेम त कतै चरम गरिबीको अभिव्यक्तिसमेत कोरिएका हुन्छन् ।

सवारीसाधनमा यस्ता अभिव्यक्ति प्रशस्त पढ्न पाइन्छन् । सवारीसाधनमा कोरिएका यस्ता अभिव्यक्तिमा मायाप्रेमले प्रशस्त ठाउँ पाएका हुन्छन् भने अर्ती–उपदेश, जागरण गीत, आग्रह, सन्देश, आक्रोश, उखान–टुक्का र धार्मिक अभिव्यक्ति पनि पढ्न पाइन्छन् । साहित्यिक पत्रपत्रिकाको अलावा हामीले सवारी साहित्य पनि पढ्न पाएका छौं । जुन साहित्य पढ्नलाई रुपियाँ खर्चिनु पर्दैन । केवल सार्वजनिक सवारीसाधनमा यात्रा गरे पुग्छ ।

सवारी साहित्य पढ्दा साहित्यक अभिव्यक्तिसँगै मानवीय अवयवका कुरा पढ्न पाइन्छ । ‘धुम्रपान, मदिरापान गर्ने पैसाले छोराछोरी पढाउन र बिहान–बेलुकाको छाक टार्न सकिन्छ ।’ उक्त भनाइ पनि सार्वजनिक सवारीसाधनमै कोरिएको हो । उल्लिखित अभिव्यक्तिले मदिरा पिउनेलाई राम्रो सवक सिकाएको छ । जसले सामान्य रूपमै भए पनि सामाजिक जागरणको काम गरेको छ ।

‘सभ्यता नै परिचय हो, साँचो परिचय दिनुहोला
आफू बाँच्नका लागि अरूलाई नमार्नुहोला ।’

‘अरूलाई दुःख दिने असत्ती,
दैवले छाड्दैन तँलाई एकरत्ति ।’

उल्लिखित अभिव्यक्तिले अरूलाई दुःख दिने अनि थिचोमिचो गरी आनन्दले बाँच्न खोज्नेलाई गाली गरेको छ । जसले आफू बाँचौं र अरूलाई पनि बाँच्न दिऊँ भन्ने समभावको पाठ सिकाएको छ ।

‘सवारीसाधनमा कोरिएका अभिव्यक्तिले खासै मान्यता नराखे पनि यो एककिसिमको साहित्य हो । जहाँ वैचारिक अभिव्यक्ति सहज, सरल, रसिलो पारामा प्रस्तुत गरिएको हुन्छ,’ प्रकाश सायमीले सुनाए, ‘नर्वे, डेनमार्क र फिन्ल्यान्डमा पनि सवारीसाधनमा यस्ता अभिव्यक्ति कोरिएका हुन्छन् । त्यहाँ यस्ता साहित्यलाई ट्राभल पोयट्री भन्दारहेछन् ।’ भारतीत प्रतिष्ठित कवि श्रीलाल शुक्लले त सवारीसाधनमा कोरिएका कतिपय अभिव्यक्ति आफ्ना सिर्जनामा थोर–बहुत उतारेका थिए । उनको ‘आधागाउँ’ नामक कविता त्यसको प्रमाण हो ।

‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ –थोरो ।

सवारी साधनमा समेत थोरोको यो अभिव्यक्ति कोरिएका छन् । जुन अभिव्यक्ति पढ्नेलाई सोचमग्न बनाउँछ ।

‘क, ख, ग, पढेर के हुन्छ
ट्रकड्राइभर भएमा पेट भर्छ ।’

उच्चशिक्षा हासिल गर्नेले सानातिना काम गर्न लाज मानी विदेश जान हौसिनेका लागि उल्लिखित अधिव्यक्तिले शालीन व्यंग्य गरेको छ । उल्लिखित अभिव्यक्तिले भनेको छ, ‘काम भनेको सानो र ठूलो हुँदैन ।’
सवारी चालक बेसारे हुन्छन् । जहाँ गयो त्यहीँ मायापिरतीमा लहसिन्छन् भन्ने अभिव्यक्ति पनि सवारीसाधनमा पढ्न पाइन्छ । अनि त्यति नै सजिलै उनीहरूको बिर्सने प्रवृत्तिले आफ्ना मान्छे (सवारी चालक) लाई आग्रह गरिन्छ, ‘आँखामा आँसु भए नि ओठमा मुस्कान छरिदेऊ, बिर्सने बानी भए पनि सम्झिने कोसिस गरिदेऊ ।’

‘माया बसालेर छाडी नजाऊ
अलपत्र पारी मेरो प्राण नलेऊ ।’

यत्रो अनुनय विनय गर्दा पनि केही नलागेपछि उनीहरू भन्न बाध्य हुन्छन्, ‘चाहिँदैन माया कसैको ।’ आफ्ना मान्छेसँग अघाएको यस्तो अभिव्यक्ति पनि सवारीसाधनमै पढ्न पाइन्छ । कतिपयलाई घुर्की लगाउँदै उनीहरू सवारीचालकलाई आग्रह गर्छन्– 
सडक छेउ बसेर नगर है हाई
कन्डम छैन भने आजलाई बाई ।

सवारीसाधनमा यात्रा गर्ने कतिपयले लागेको भाडा लिन करकर गर्नुपर्ने, त्यति गर्दा पनि लागेको भाडा तिर्न कन्जुस गर्ने यात्रुलाई यसरी गाली गरिन्छ, ‘घडीको दोष छैन समय पापी हो, बसमा चढेर भाडा नतिर्ने अपराधी हो ।’

भाडा तिर्न आनाकानी गर्नेलाई अपराधी भनिए पनि यात्रुलाई उस्तै माया गर्छाैं भन्ने अभिव्यक्ति पनि पढ्न पाइन्छ । सवारी चालक आफूले गुडाएको सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई माया पनि गर्न जानेका हुन्छन् । उदाहरणका लागि–

‘पूर्णेको जून प्यारो लाग्छ, ज्योति झनै प्यारो लाग्छ
जे–जे देख्छु त्यो सबैभन्दा पेसेन्जरको माया प्यारो लाग्छ ।’

विद्यार्थीलाई सवारीसाधनमा छुट दिने व्यवस्था छ । तर, तीनपाङ्ग्रे सवारीसाधनमा भने होइन । तीनपाङ्ग्रे सवारीसाधनमा पनि विद्यार्थी सहुलियत मागेर हैरान बनाएकाले कतिपय सवारीसाधनमा लेखिएको पढ्न पाइन्छ :

‘सरी ल विद्यार्थी सहुलियत छैन ।’
‘नक्कली कार्ड देखाएर लज्जित नहुनुहोला ।’

विद्यार्थी सहुलियत पाउने भएपछि सबैले नक्कली कार्ड बनाइएकोमा उनीहरू पनि जानकार छन् । त्यसैले उनीहरूको आग्रह छ, ‘फूल हो गुलाफको बासना छर्दै जानुहोस्, गाडी हो गरिब ड्राइभरको भाडा दिन नभुल्नुहोस् ।’

त्यसो त सवारी चालकलाई पनि मादक पदार्थ पिए भनेर यात्रुले आक्षेप लगाउने गर्छन् । त्यही आक्षेपको प्रतिउत्तरस्वरूप उनीहरू सवारीसाधनकै माध्यम बनाएर भन्छन्–

भमराले रस पिउँछ मौरी बद्नाम हुन्छ
दुनियाँ सबै रक्सी पिउँछ ड्राइभर बद्नाम हुन्छ ।

अधिकांश सवारीचालक मालिकको गाडी सवारीसाधन चलाउँछन् । सबैको अवस्था सधैं एउटै हुँदैन । मालिकले सवारीसाधन गुडाउन दिए पनि कतिपय अवस्थामा उनीहरू आफूलाई रोजीरोटी दिने मालिक र पसिनाको गीत गाएर खाने आफूबीच यसरी तुलना गर्छन् :

मालिकको जिन्दगी दूध र केक
ड्राइभरको जिन्दगी स्टेरिङ र ब्रेक ।

पछिल्लो समयमा सार्वजनिक सवारीसाधनमा विभिन्न किसिमका विज्ञापन गर्ने उपर्युक्त माध्यम पनि बनेको छ । सवारीसाधनमा यात्रारत यात्रुलाई आफ्नो सामान छुट्यो कि भनेर सचेत गराइएको पाइन्छ । जहाँ लेखिएको हुन्छ– तपाईंको सामान छुट्यो कि ? पाकेटमारदेखि सावधानजस्ता भनाइले सार्वजनिक सवारीसाधनमा यात्रारत यात्रुलाई सतर्क गराइएको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप