‘नेपालमा हिरो थिएँ, अमेरिकामा केही नजानेको जिरो’
२०६२/०६३ को जनआन्दोलन भर्खर सुरु भएको थियो । दिन प्रतिदिन आन्दोलन चर्किदो थियो । आन्दोलको प्रकृति हेर्दा २०–२२ दिन चल्ने छाँटकाँट देखिन्थ्यो । चौतर्फी बन्दका समाचार देश–विदेशसम्म फैलिसकेका थिए । अहिले देशमा हडताल छ । केही समय काम हुँदैन, घुम्न आऊ भनेर तारम्तार फोन, इमेलबाट अमेरिकामा रहेका साथीहरुले मलाई बोलाउन थाले ।
देशको अवस्था पनि ठीक थिएन । काम गरेर खाने वातावरण थिएन । जताततै चन्दा आतंक थियो । बन्दले घरमा बस्दा बस्दा दिक्क भइसकेको थिएँ । त्यसैले आन्दोलले जे नतिजा ल्याए पनि स्वीकार्ने मनसायले अमेरिका उडेँ । म बिदेशिनुको पछाडी राजनैतिक कारण छ । अमेरिका उड्दा मेरो हातमा चलचित्रको ताती थियो । काम नपाएर म विदेश भाँसिएको थिइनँ ।
म पलाएन भएको होइन
१९ दिनको जनआन्दोलनपछि देशमा लोकतन्त्र आयो । यो जनताको चाहना पनि थियो वा कुनै पार्टीको, म भन्न सक्दिन । तर देशको अवस्था निकै नाजुक भएको समाचारबाट थाहा हुन्थ्यो । समाचारमा देशको अवस्था सुन्दा नेपाल फर्किहाल्न मन लागेन । ७ वर्ष अमेरिकामै बसे । मेरो अमेरिका बसाईंलाई अरु कलाकारको जस्तो पलाएन भन्न मिल्दैन । किनभने मेरो कहिलै पनि पलाएन हुने सोच थिएन । कलाकारलाई पलाएन भए भनेर अहिले लाल्छना लगाउँछन् । म ती व्यक्तिलाई लाज लाग्दैन भन्न चाहन्छु । किनभने पचासौँ लाख नेपाली युवा विदेशिएका छन् । देशको अवस्था राम्रो भएको किन विदेशिन्थे र ? वर्षमा १०–१५ वटा चलचित्र खेल्ने मानिस म किन विदेश हानिन्थे ? देशको राजनीतिक अस्थिरताले मलाई बाध्य बनायो ।
वास्तविक जीवन त अमेरिकामा बाँचे
१९ वर्षको थिए म त्यति बेला । ‘जीवन एक पटक पाइने हो, फेरि पाइँदैन’ भन्ने ममा सोच थियो । कसैलाई केही असर नपुर्याई आफ्नो जीवन बिताउनु पर्छ भन्ने मान्यता पनि थियो । तर ७ वर्ष अमेरिका बसाई मेरो लागि नौलो जीवनको भोगाइ भयो । सिधै भन्नुपर्दा मैले वास्तविक जीवन त अमेरिकामा बाँचे । अमेरिका बसाइको सुरुको २ वर्ष मैले निकै दुःख भोग्नुपर्यो । ६ महिना त्यहाँको भाषा सिक्न लाग्यो । म आफ्नो देशको हिरो थिए । तर अमेरिकामा भने केही नजानेको जिरो । जिरोबाट नै मैले करियर सुरु गरे । अमेरिका पहिले पनि घुमेकोले यहाँका बारेमा केही जानकारी थियो मलाई । अमेरिका बसाइका लागि यो केही हदसम्म सहयोगी बन्यो । जीवन बाँच्न कति गाह्रो छ । समयको कति महत्व हुन्छ । लगायत सबै कुरा अमेरिकामा बुझेँ । अमेरिकामा म घन्टा सिस्टममा काम गर्थे । कहिल्यै नगरेका काम अमेरिकामा गर्नुपर्यो । त्यहाँको भोगाइले मलाई ‘पर्फेक्ट म्यान’ बनायो । जुनै देशमा, जस्तो अवस्थामा पनि अब बाँच्न सक्छु ।
स्वदेशको योग्यताको भ्यालु छैन
अमेरिका मेरो जीवनको ट्रनिङ प्वाइन्ट बन्यो । लिकर सप, ग्रोसरी सप, ग्याँस स्टेसनदेखि ओल्ड केयर सेन्टरसम्म काम गरे । म मात्र होइन । नेपाली कलाकार सबैले गर्ने काम यही हो अमेरिकामा । स्वदेशको योग्यताको अमेरिकामा केही भ्यालु छैन । मसँग कामको एक्सपेरेन्स पनि थिएन । म टेक्निसियन पनि थिइन । त्यहाँको फिल्ममा चान्स मिल्ने कुरै थिएन । त्यसैले जे पाए, त्यो काम गर्न थाले । एउटा कुरो के हो भने जे काम गरेपनि अमेरिकामा सम्मान छ । मसँग काम छ भन्दा गर्व महसुस हुन्छ । काम नभएको व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ । तर के काम गर्छस् भनेर कसैले–कसैलाई सोध्दैन । अमेरिकामा समय र कामको महत्वका साथै मानिसलाई गर्नुपर्ने व्यवहार समेत मैले सिके ।
इस्र्या गर्ने, अरुको कुरा काटेर बस्ने, सफलतामा जल्ने हामी नेपालीको बानी छ । अमेरिकामा त कसैलाई कसैको मतलब छैन । जीवनमा संघर्ष गर्न जो सक्दैन । त्यो मानिस रहँदैन । अमेरिका बसाइको हरेक क्षण केही न केही सिके मैले । म यस्तो देशमा बसेर फर्किए । जुन देशमा दुई कार्यकाल राष्ट्रपति भएको मानिस अवकाश पछि अर्काे ठाउँमा काम गरेको हेर्न पाइन्छ । हाम्रो देशमा सन्ततिसम्मको ठेक्का सरकाले लियोस् भन्ने छन् ।
कमब्याक मान्दिन
स्वदेश फर्किए पछि मैले फेरि चलचित्र क्षेत्र नै रोजे । यसलाई धेरैले मेरो कमब्याक भने । अभिनयमा फर्किनुलाई म कमब्याक मान्दिन । यसलाई म फेरि पनि फिल्ममा काम गर्न चाहेको भन्न रुचाउँछु । हिजो पनि चलचित्रमा काम गर्दागर्दै गएको थिए । सो समय अभिनय गरेको सबै चलचित्र हिट थियो ।
जब मैले ब्रासलेट चलचित्र खेलेँ । चलचित्र यात्राको दोस्रो पाटोलाई मिडियाका साथीभाइले कमब्याक भनिदिए । मैले केही बोलिन । कमब्याक, सेकेन्ड इन्डिङ जे भने पनि मैले फेरि चलचित्र अभिनयमा पाइला चालेको हुँ ।
फिल्म नचल्नुमा हिरो दोषी ?
म खेल्दैमा चलचित्र हिट हुन्छ भन्ने मान्यता मेरो कहिलै छैन । चलचित्र हिट बनाउने मेकरले हो । राम्रो कन्सेप्टले हो । रामो चलचित्र बनाउन टिम नै राम्रो हुनुपर्छ । चलचित्रको मुख्य हिरो भनेको विषयवस्तु मात्र हो भन्ने मेरो मान्यता छ । जानेर हो वा नजानेर हो । म चलचित्रमा जोडिएपछि मेकर, मिडियाले मबारे एउटा समाचार बनाए । रमेश उप्रेती आउने बितिकै जस्तो पनि चलचित्र खेल्दैन भन्ने अपेक्षा राखियो । हप्तामा चार चलचित्र फ्लप भइरहेको समयमा मलाई विशेष तरिकाले हेरियो । म यसलाई नराम्रो पनि भन्दिन । किनभने मैले राम्ररी बुझेको थिएँ, यो मेरो पहिलाको क्रेज हो । सबैको माया हो । रमेश उप्रेतीले चलचित्र खेलेपछि हिट हुन्छ भन्ने । तर मलाई ‘ब्रासलेट’ ले राम्रो व्यापार भन्ने थियो । हिट हुन चलचित्र राम्रो हुनुपर्छ भन्ने पहिले देखिकै बुझाइ हो । धेरै स्टारको चलचित्र फ्लप हुन्छ । फ्लप हुनु, नचल्नुमा हिरोको दोष हुँदैन ।
युवाले उद्योग धन्न सक्दैन
जब म फर्किए, मभन्दा पछि उदाएका धेरै नयाँ कलाकार स्टार भइसकेका थिए । उनीहरु न मेरो चुनौती थिए न मेरो उनीहरुसँग प्रतिस्पर्धा नै थियो । किनभने मेरा आफ्नै फ्यान थिए । मेरो जुन क्रेज थियो, त्यो छँदै थियो । चलचित्र उद्योग एक–दुई हिरोले चल्ने पनि होइन । थुप्रै स्टार र मेकर चाहिन्छ । उमेरले केही फरक पार्दैन ।संसारको चलचित्र उद्योग नियाल्ने हो भनेपनि म्याचुअरले कलाकारले लिड गरेको देख्न सकिन्छ । योङस्टरले संसारको कुनैपनि चलचित्र उद्योग चलेको छैन । नेपालमा हुन्छ भने म भन्न सक्दिन । हलिउड र बलिउडलाई हेर्ने हो भने म्याचुअर हिरोले नै लिड गरेको देख्न सकिन्छ ।
मैले रेकर्ड तोडे
अमेरिकाबाट फर्किएपछिको पहिलो चलचित्र ‘ब्रासलेट’ चलेन । त्यसपछि मेरा चुनौतीहरु धेरै थपिए । राम्रो चलचित्र बनाउने मेरो चाहना पनि ब्रासलेटले पुर्याएको थिएन । त्यसैले ऐश्वर्य निर्माण गरे । ऐश्वर्यमा पनि मेरो सोचको ४० प्रतिशत काम पनि भएन । डरैडरमा चलचित्रको गीत रिलिज गरियो । गीतको धेरैले खुलेर तारिफ गरे । ट्रेलर रिलिजपछि चलचित्रले चौतफी तारिफ पायो । चलचित्र पनि चल्यो । चलचित्रकाबाट दुई कलाकार प्रशान्त ताम्राकार र दीपिका प्रसाइँ पनि स्थापित भए । धेरै मेकरले चलचित्र चल्छ भनेर सोचेको पनि थिएनौँ भनेर मलाई भन्ने गर्नुभएको छ । सातामा ३–४ वटा चलचित्र रिलिज हुने समय कसैलाई अन्य चलचित्रको चासो थिए । मैले अमेरिकाबाट फर्किए पछि चलचित्र निर्माणमा हात हालेको भएर होला, सबैलाई रमेश उपे्रतीको चलचित्र चल्छ, कि चल्दैन भन्ने चासो थियो । रिलिजको समय पुरानो हिरोको चलचित्र मल्टिप्लेक्समा चल्दैन भन्ने मान्यता थियो । मल्टिप्लेक्समा पुराना हिरोको चलचित्र नै लाग्दैन थिए । मेरो चलचित्रले यो ट्रेन्ड तोडेको मात्र होइन, मल्टिप्लेक्सबाट राम्रो आम्दानी पनि गर्यो । हिरो–हिरोइनले चलचित्र चल्ने होइन, कन्टेन्टले चल्ने हो भन्ने मान्यता समेत स्थापित गरिदियो ।
हिरोको खोजीमा छु
अहिले म दैनिक ८–१० जनासँग भेटेर कथा सुन्ने काम गरिरहेको छु । मनपर्ने कथा पाएको छैन । चलचित्र बनाउने काम क्रिएटिभ काम हो । समय लाग्छ । यो मलाई थाहा छ । त्यसैले चित्त बुझ्दो कन्टेटमा दर्शकका लागि उत्कृष्ट चलचित्र बनाउने प्रयासमा छु । यो काम गर्न ६ महिना, एक वर्ष वा यो भन्दा बढी समय पनि लाग्न सक्छ । अहिले मलाई बाहिरको चलचित्र अभिनय गर्ने प्रेसर पनि आएको छ । खेल्छु पनि होला । अब मैले बनाउने चलचित्रले कति व्यवसाय गर्छ भनेर भन्न सक्दिँन । तर दर्शक हलबाट निस्कदा रमेश उप्रेतीले चलचित्र फेरि राम्रो बनाएछ भन्ने पार्छु । यो नै मेरो लागि करोडौँको आम्दानी हुनेछ ।
प्रस्तुति : कुबेर गिरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
-
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’
-
कपिलवस्तुबाट पाटेबाघको छालासहित एकजना पक्राउ
-
विवाह गर्दै गायिका स्मिता दाहाल