बाबा मर्दा खुसी भएकी छोरी

ऊ बच्चाजस्तै सुन्दर स्वरकी थिई । नगरकोटको भ्यु ग्राउन्डमा संगीतबिनै नाचेकी थिई ऊ । रातो ज्याकेटमा चीसो सिरेटोसँग ऊ नाच्दा नगरकोट नै नाचेको थियो ।
म जाडोले लुगलुग काम्दै थिएँ । पछाडिपट्टिबाट मेरो दुवै पाखुरामा उसले आफ्ना दुवै हत्केला निकै बेर रगडेर मलाई तातो बनाउने प्रयत्न गरी । तर, मेरो दाँतको किट्किट् त्यसपछि पनि रोकिएन । म कारभित्र आएँ ।
एक छिनमा ऊ पनि कारभित्र आई । अस्ताउन लागेको सूर्य पश्चिम पहाडको टुप्पो नजिक आइसकेको थियो । पहाडहरुले रङ बदल्दै थिए । सुर्यको प्रकाशमा आकाश र आकाशतिर यत्रतत्र फैलिएको बादलको रङ पनि बदलिरहेको थियो । ती रङहरुमा उसको अनुहारको मुस्कान अझ रङ्गिन भएको थियो ।
‘अग्लो पहाडमा उभिएर डुब्न लागेको घामसँगै वातावरणको बदलिँदो रङ हेर्न औधी मन पर्छ’, उज्यालो अनुहार बनाएर उसले भनी ।
नेपाल आउनुअघि ऊ इन्डियामा निकै दिन घुमेकी रहिछ । उसले इन्डियाको ताजमल अगाडि उभिएर खिचेको सामान्य फोटो देखाई । औंलाहरुले ताजमलको शिरलाई समाए झैं देखिने फोटो पनि देखाई । हाँसिरहेका अति सामान्य स्थानीय बच्चाहरुसँगका सेल्फी देखाई । उसले मलाई मनपर्ने खालका अरु थुप्रै तस्विरमात्र देखाइन, त्यसको सुक्ष्म व्याख्या पनि गरी ।
उसले इन्डियाको मर्निङ लाइफ झल्कने अनेक तस्विर देखाई । उठ्नेबित्तिकै मुख धुन लाग्दै गर्दाका स्थानीयका कपाल नमिलेका अनुहारहरु देखाई । दाँत माझिरहेका मानिसका हाउभाउ र आगो बाल्न अंगेना खोस्रिरहेका मानिसका प्रयासहरु देखाई । प्रभाती शान्तिबीच मन्दिरमा हल्लिरहे झैं लाग्ने घन्टाहरु पनि देखाई ।
त्यसपछि दिउँसोका पनि त्यस्तै प्रकृतिका अनेक तस्विरहरु देखाई । हतारमा कतै गइरहेका मानिसको भीड र चर्को घाममा असिनपसिन जीवन देखाई ।
साँझ कार्यालबाट घर फर्किरहेका मानिस, तरकारी बजार, सागरमा अस्ताउँदै गरेको सूर्यको छाया आदि देखाएर उसले साँझकालीन फोटोग्राफीको पनि चर्चा गरी ।
‘म प्रभात र सन्ध्यामा सूर्यको प्रकाश ठोक्किएर बनेका अनेक रङहरुलाई अनुभुत गर्न मन पराउँछु’, उसले थपी, ‘तर, पचास हजार जनसँख्या भएको फेरो (जहाँ जम्माजम्मी १८ वटा स–साना टापुहरु छन्)मा जहिल्यै बादल र कुहिरो लाग्छ । आकाश धमिलो देखिन्छ । बादलबिनाको आकाश झन्डै असम्भव छ । तर, मलाई त्यो पनि प्रिय लाग्छ । मेरो जीवनको यात्रा त्यहीँबाट सुरु भएको हो । त्यो मेरो जग हो ।’
‘तर, तिमी भाग्यमानी छौ । तिम्रो देशमा मैले सूर्योदय र सूर्यास्तलाई मजाले देख्न पाएँ’, मेरो कुममा औंलाले छोएर भनी, ‘पहाडहरुसहितका सुर्यास्त र सुर्योदयलाई जति हेरे पनि म अघाउँदिन ।’
अँध्यारिदै गएको झयाँउकिरीको वातावरणमा झ्यालबाट बाहिरको फोटो खिच्दै उसले भनी, ‘तस्विर खिच्नु मेरा लागि पलहरुले पोतेको परिवेशको रङलाई कैद गर्नु हो । र, प्रकृति मिसिएको समयको सुक्ष्म रङलाई मसँगै राख्नु हो ।’
म थाकिसकेको थिएँ । दिउँसो मैले खाजा खाएको थिइन । पानी पिउन पनि बिर्सेछु । डिहाइड्रेसन उत्कर्षमा पुगेकोले मलाई चक्करमात्र लागिरहेको थिएन, उल्टी होला झैं भइरहेको थियो ।
ओरालो लाग्दै गरेको कारको झ्यालबाट काठमान्डु उपत्यकाको भक्तपुर साइड झिलिमिली देखिन थालिसकेको थियो । तर, शरिरमा बिसञ्चो भएपछि झिलीमिली पनि इरिटेटिङ लाग्दै थियो । मैले आँखा चिम्लें । ऊ मीठा र मार्मिक कुरा गर्दै थिई तर सुन्ने मेरो कुनै मन थिएन । कान आँखा जसरी बन्द नहुने रहेछ ।
ऊ भने निकै भावुक भएर आफ्ना जीवनका पानाहरु पल्टाउँदै थिई, ‘म एक्ली छोरीमात्र होइन, एक्लो सन्तान पनि । १२ बर्षकी हुँदा पहिलो पटक म प्लेन चढेकी थिएँ । खराब मौसमका कारण फेरोबाट उडेको प्लेन अर्कै शहरमा पटक पटक ल्यान्ड भई दुई दिनपछि मात्र डेनमार्कको कोपेनहेगनमा ल्यान्ड भएको थियो । म प्लेनमा रोइरहेको थिएँ । म एक्लै थिएँ । मैले मेरो बाल्यकाल त्यसरी बिताएको थिएँ ।’
‘म त्यस्तो देशमा जन्में जो नेपालजसरी जंगल र रुखहरुले छोपिएको छैन । जहाँ यहाँका जस्ता जंगल र रुखहरु छैनन्’, जंगलको बीचबाट काठमान्डु सोझिएको नगरकोटको सडकमा गुडिरहेको कारको पछिल्लो सीटमा कहिले यता त कहिले उता गर्दै ऊ भन्दै थिई, ‘केही मानवनिर्मित स–साना जंगल नभएका भने होइनन् ।’
मान्छेभन्दा बढी भेंडा भएको ठाउँबाट आएकी थिई ऊ । त्यति बेला मलाई ऊ पनि भेंडाजस्तै लाग्दै थिई । साँच्चै भने हो भने मैले मेरो गाह्रो उसलाई नभनेर म पनि भेंडा नै भएको थिएँ ।
‘घरनजिकै बाबाको कपडा पसल थियो । सानो बस्ती भएकोले सबैले उहाँलाई चिन्थे । समाजले उहाँलाई सोझो, मिलनसार र सहयोगी मानिसको रुपमा चिन्थे’, ऊ रेडियो झैं बोलिरहेकी थिई, ‘तर, घरमा उहाँको अर्कै अवतार थियो । उहाँले आमासँग राम्रोसँग बोलेको मैले कहिल्यै सुनिनँ । मसँग पनि उहाँले राम्ररी बोलेको म सम्झन्नँ । मैले सधैं उहाँको अनुहारमा आक्रोश, निराशा र उदासीनतामात्र देखें । मेरोे पढाई कस्तो छ भनेर बुझ्न बाबा कहिल्यै स्कुल जानुभएन । स्कुलबाट अतिरिक्त कृयाकलापमा भाग लिएर घर फर्कंदा मैले ल्याएको मेडल देखेर उहाँले कहिल्यै स्याबासी दिनुभएन । त्यसरीले उहाँले मरो खुशीलाई कुल्चनुभयो ।’
‘हाइस्कुल सकिएपछि मैले एउटा डिपार्टमेन्टल स्टोरमा केही दिन काम गरेर पाएको पहिलो कमाई उहाँलाई दिँदा उहाँले ती सबै पैसा च्यातिदिदै भन्नुभयो, तिमीले काम गर्ने होइन । त्यसरी म बाबाको प्रेम नपाएकी छोरी थिएँ । उहाँमा के समस्या थियो ? न आमाले कहिल्यै भन्नुभयो न मैले थाहा पाएँ’, उसले रुन्चे स्वरमा भनी ।
मलाई निकै गाह्रो भइरहेको थियो । त्यसको कारण उसको मनै चुँडाउने बाल्यकालको स्मृति थिएन । उल्टी होला झैं भइरहेको थियो । ड्राइभरले निकै सानो आवाजमा गीत बजाइरहेको थियो । गीतले पनि मलाई कुनै शान्ति मिलिरहेको थिएन । तर, ऊ गीतजसरी नै बजिरहेकी थिई, ‘म २० बर्षकी हुँदा क्यान्सरबाट मेरी आमाको मृत्यु भयो । म त्यति बेलादेखि एक्लो भएँ । म बाबासँग नजिक थिइनँ । त्यसको दुई बर्षपछि बाबाको पनि मृत्यु भयो । बाबाको मृत्यु भएको कुरा मलाई कलेजकी मेरी साथीले सुनाउँदा सुरुमा त खुशी भएँ । मलाई त्यस्तो लाग्यो, अब म साँच्चै स्वतन्त्र भएँ । अब मेरो वास्तविक जीवन मैले बाँच्न पाउँछु । केही क्षणपछि मात्र मैले सम्झें, निर्दयी भए पनि उहाँ मेरो बाबा हुनहुन्थ्यो ।’
आमाको अभावमा ऊ भावनात्मक रुपमा एक्लो भइसकेकी थिई । बाबा गएपछि प्राविधिक हिसाबले पनि ऊ एक्ली भई । त्यही एक्लोपनबाट भाग्न ऊ केही दिनको लागि इजरायल गई । उसले एडमलाई त्यहीँ भेटेकी हो । त्यो भेटले निरन्तरता पाइरह्यो । त्यसपछि उनीहरु दुवै सँगै डेनमार्क आए । एडमको भिषा सकिनै लागेको थियो ।
अकस्मात उनीहरुले बिहे गरे । त्यो बिहे खासमा एडमको भिषा अवधि तन्काउनका लागि थियो ।
‘एक मिनेटमा हामीले बिहेको निणर्य गरेका थियौं । अर्को दिन विहे दर्ता अफिसमा गयौं । पाँच मिनेटमा हामी बदलियौं । हामी त्यति बेलासम्म पति पत्नी भइसकेका थियौं’, उसले भनी ।
‘फिनिस्ड्’, मैले भनें ।
‘नो आइ एम नट् फिनिस्ड । आइ एम डेनिस’, उसले भनी ।
ऊ डेनमार्कबाट आएकी थिई । तर, उसले दिउँसो भनी, ‘म डेनमार्कबाट आएकी होइन ।’ त्यसपछि उसले फेरोको कुरा गरेकी हो । धेरैलाई फेरो आफ्नै अस्तित्वसहित उभिएको एउटा भुगोल हो भन्ने थाहा नहुनसक्छ । डेनमार्कसँग फेरोलाई छुट्याएर हेर्न सकिन्न तर फेरोको आफ्नै पासपोर्ट छ । आफ्नै इतिहास र वर्तमान पनि छ ।
ऊ फेरोको सेरोफेरो बताइरहेकी थिई, ‘चार वटा ट्राफिक लाइट छन् । ८८२ मिटरको पहाड छ । एउटा टापुमा त जम्मा एउटा परिवार मात्र बस्छन्’, एउटा गीतका शब्दलाई सापट माग्दै ऊ थप्दै थिई, ‘फेरो जहाँ प्रकृतिले शासन गर्छ । जो जति खुला छ, उति रहस्यमयी पनि । जहाँ तिमी भारी दिमाग बिसाएर हलुका हुनसक्छौ । जब प्रदुषणबाट आजित हुन्छौ, जब थकित हुन्छौ, जब कोलाहालबाट उम्केर शान्ति अनुभव गर्न चाहन्छौ, स्वच्छ स्वतन्त्रताको स्थान फेरोमा आऊ । शान्त टापुको हरियो चौरमा उभिएर असल मानिसको रङहरुले भरिएको बस्ती हेर्दै पानी बगेको मसिनो आवाज निरन्तर सुन्दा तिमीलाई लाग्नेछ, समय तिम्रै लागि रोकिएको छ । जहाँ घडीले होइन, प्रकृतिले शासन गर्छ ।’
दुइटी छोरीकी आमा ऊ । उसले देखाएका परिवारको फोटोमा उसकी छोरीहरु मोडलजस्ता देखिन्थे । । कान्छीचाहिँ साँच्चै मोडल नै रहिछ ।
‘दिने हो ?’, अलि सञ्चिएर मैले सोधें ।
‘के ?’, उसले सोधी ।
‘के होइन । को भनेर सोध’, मैले भनें ।
‘को ?’, उसले सोधी ।
‘मोडल । तिम्री कान्छी छोरी क्या !’ मैले हाँसेर भनें ।
‘म पनि मोडलकी आमा हुँ । के म मोडलभन्दा कम छु !’ उसले पनि हाँसेरै भनी ।
हामी दुवै हास्यौं ।
इजरायली मुलको पछिल्लो निकै बर्षदेखि डेनिस नागरिक भइसकेको उसको पति कम्प्युटर मेकानिक हो । ‘उसलाई यात्रामा त्यति सोख छैन, अझ नेपालजस्तो पहाडी मुलुकमा त उसलाई रुचि नै छैन । बरु कतै जानै परे युरोपका अत्यधिक विकसित देश वा अमेरिका जान मन गर्छ रे । ऊ लक्जुरियस ट्राभलर हो । उसलाई रक्सी र संगीत भएपछि अरु केही चाँहिदैन’, भन्दै थिई, ‘सामान्यतया ऊ यात्रा गर्दैन किनकी ऊ कम्युटरलाई नै विश्व भन्ठान्छ र त्यहीँ विश्वयात्रा गर्छ ।’
जब ऊ एडमसँग डेनमार्क आई, केही बर्ष फेरो फर्किन । दिन रमाइला थिए । उसले हाँस्न थालेकी थिई । एक्लोपन पर भाग्दै थियो । छोरीहरु एकपछि अर्को गर्दै जन्मे । तर, सपना र विपना दुवैमा उसले फेरि फेरोलाई गहिरो गरी सम्झन थाली । फेरोका भेंडाहरु सम्झी । त्यहाँको शान्ति सम्झी । र, हरेक बर्ष फेरोमा गएर कम्तीमा एक महिना बिताउन थाली ।
डेनमार्क आएपछि सुरुका केही बर्ष उसले बैंकमा एकाउन्टेन्ट भएर काम गरी । पैसा पनि राम्रो कमाउँथी । पतिको पनि कमाई नराम्रो थिएन । उसको प्रमोसन नभएको पनि होइन तर ऊ बैंकमा चाहेर पनि खुशी हुन सकिन । उसलाई लाग्थ्यो, ‘म बैंकमा फिट छैन । यो मेरो ठाउँ होइन ।’
एक दिन उसले बैंकको काम छाडिदिई । त्यसपछि उसले आफ्नै एउटा डिपार्टमेन्टल स्टोर सुरु गरी । केही बर्ष बल्लतल्ल त्यसमा अडिई । तर, त्यसमा पनि ऊ खुशी हुन सकिरहेकी थिइन । एक दिन त्यो पनि बन्द गरिदिई ।
अल्जाइमर्सका विरामीलाई रेखदेख र सेवा गर्न मानिस आवश्यक रहेको र त्यसको लाागि सुरुमा तलवसहितको तालिम र तालिम सकिएपछि काम पनि दिने सरकारी प्रस्ताव पत्रिकामा पढी । उसलाई लाग्यो, ‘मैले थाहा नपाएको तर गर्न खोजेको काम त यो पो हो ।’ उसले एक मिनेट पनि नसोची त्यसमा आवेदन दिई ।
ऊ छानिई । केही बर्षको तालिमपछि ऊ अल्जाइमर्स्को बिरामीको सेवामा लगातार तल्लीन छ ।
‘अल्जाइमर्सको पनि विभिन्न तह हुन्छ । केहिले कहिलेकाहीँ विर्सन्छन् । कतिले आँशिक विर्सन्छन् । कतिलाई केही पनि थाहा हुन्न । उनीहरुले कस्तो कस्तो जीवन बाँचे होला । संकट, संघर्ष र सफलताका कथा कति रोचक होलान् तर विस्मृति तिनको जीवनको यथार्थ हो’, ऊ भन्दै थिई, ‘म सोच्छु, कम्तीमा मेरो कालो अतीत मेरो स्मृतिमा सुरक्षित छ । यो पनि ठुलो भाग्य हो । म धन्य छु ।’
‘म मेरो पेसेन्टको त्यो बिर्सिएका अतीत र मैले नबिर्सिएको मेरो अतीतले दुखेर यहाँ आइरहेको छु । यसपटक म दोस्रो पटक आएको हुँ । म यहाँ शान्तिको खोजमा आएको अनुभुति गर्छु’, नेपाल आउनुको भावनात्मक कारण खोल्दै पतिलाई सम्झी ।
‘डेनमार्कमा एडम मलाई सम्झेर गीतार बजाएर हिब्रु गीत गाउँदै होला’, त्यति भन्दै काठमान्डुको त्यो रात संगै बस्ने प्रस्ताव गर्दै उसले भनी, ‘नो बडी नोज्, नो बडी हाम्र्स् ।’
उसले एडमलाई फोन गरेर यताको हालखबर वेश भएको बताउँदै काठमान्डुको झिलीमिली फोनमै उपहार पठाई ।
उता एडम गीत गाउँदै थियो होला, ऊ यता सुस्केरा हाल्न थालेकी थिई ।
‘नो बडी नोज्, नो बडी हाम्र्स् ।’
(टुर र ट्रेकिङ गाइडसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल लाङटाङ सद्भावना दुत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्रीले टीओडी जाँच गर्न बनाएको समितिले काम गर्न नपाउने गरी अन्तरिम आदेश
-
ओलम्पिक कमिटीको कार्यालयमा सरकारले लगायो ताला
-
‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’
-
निजीकरण विधेयक सार्वजनिक संस्थानहरूलाई कौडीको भाउमा बेच्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
-
अस्पतालबाट डिस्चार्ज भए एआर रहमान
-
सरकारसमक्ष पेस गरेको राप्रपाको ४० बुँदे माग अलपत्र