सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

बामदेव र झलनाथ कमरेडलाई चेतना भया

बिहीबार, ०७ भदौ २०७५, ०९ : ४४
बिहीबार, ०७ भदौ २०७५

ओली सरकारका कामको विगत सरकारका कामको सापेक्ष मूल्याङ्कनबाट मात्र सही ठाउँमा पुगिन्छ नत्र भड्खालामा पुरिने खतरा हुन्छ ।

यसमा नेकपा पार्टीभित्रको तप्काको के कस्तो भूमिका हुन्छ, त्यो चाहिँ पछि हेरेर नै भन्न सकिन्छ । नेकपाका नेता झलनाथ खनाल पार्टी र सरकारका वर्तमान महत्वपूर्ण सवालमा खासै चासो, चिन्ता र तत्परता नदेखाई  एकीकृत पार्टीमा आफू षडयन्त्रपूर्वक  तेस्रो बरियताबाट पनि हटाइएको विषयमा मिडियामा  मनोगत धारा प्रवाह रोइलो गरिरहेको देख्दा सुन्नेलाई सरम लागेको छ ।

खनाल जस्ता  एक अनुभवी ज्येष्ठ र वरिष्ठ नेताले  यस्ता जग हँसाउने बेहोरा देखाउँछन्  भने अरू सामान्य नेता र कार्यकर्ता मन्त्री नपाएर र भनेअनुसारको महत्वपूर्ण मौका नपाएर ठुस्किएकाहरू कति होलान् ? 

तर अनेक प्रतिकूलताका अतिरिक्त ओली सरकार चाहेर पनि गतिशील हुन सकेको छैन र यसका आन्तरिक र बाह्य कारणहरू पनि कम महत्वपूर्ण छैनन् । 

तथापि धीमा गतिमा नै भए पनि यो सरकार बढिरहेको कुरा सरकारलाई उत्तीर्णाङ्क दिन बाध्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको औपचारिक प्रेस विज्ञप्तिबाट अवगत हुन्छ । तथापि त्यस वृत्तका कतिपय बुद्धिजीवीहरू सरकारका कामहरूको विवरण पुस्तिका रङ्गीन आवरणमा प्रकाशित गरेकामा चीनको नक्कल गरेको भन्दै सस्ता अति सामान्य विषयमा भद्दा आलोचना गरिरहेका छन् ।

आगामी दिनमा सरकारले जति राम्रा र दूरगामी काम गर्न खोज्छ,  त्यति मात्रामा प्रतिपक्षी पार्टीबाट अत्यन्त प्रतिकूल स्थितिलाई  अझ जटिल बनाउन खोजिन्छ भन्ने कुरा  निश्चित जस्तै देखिन्छ । 
हिजो र आजको सरकारका कामहरूसित तुलना नगर्ने हो भने यो सरकारका काम खासै उल्लेख्य हुँदैनन् । तर पार्टीका नेताहरूले  जोणकोण मिलाएर जटिल परिस्थितिलाई गम्भीर रूपमा मनन गरेर   सरकारका सकारात्मक कामको ओड लिइरहेको देखिँदैन ।

ती कुनै न कुनै मात्राको गुटगत सङ्कीर्ण चेतबाट ग्रसित देखिन्छन् । यस खालको सङ्कीर्णता केही  प्राज्ञ, स्रष्टा र प्राध्यापकले हिमवत् खण्ड कला साहित्य सम्मिलनमा समेत प्रदर्शन गरे । 

नेकपाका नेताहरूले अब पनि विगत कोट्याएर मात्र बसे भने र जनताको सरकारलाई जनता र यसका पक्षधर शक्तिहरूले जोगाएनन् भने प्रा. डा. युवराज सङ्ग्रौलाले भनेझैँ बाम राजनीतिको अवसान हुने निश्चित जस्तै देखिन्छ । 

पार्टीमा विगतमा आपसी गुटगत गम्भीर आरोप प्रत्यारोपको थिगर उपल्लै तहमा देख्दा अचम्म लाग्छ ।  विगतमा ओलीविरुद्ध अति निकृष्ट तहको सुलसुले प्रचारको साक्षी यही लेखक रहेको छ । सिन्धुपाल्चोक लगायत जिल्लामा यसका अवशेष माथिल्लै तहका नेतामा अझै झल्किने गर्छ । 

गुटगत सङ्कीर्णताका कारण केशव स्थापित जस्ता बहुआयामिक नेता काठमाडौँको मेयर बन्न सकेनन् । अहिलेका मेयरको यस्तै चालाले भोलिका दिनमा कम्युनिस्टको साख बचाउन कठिन हुने निश्चित छ ।  

अब पनि  नेता, कार्यकर्ता र बौद्धिक व्यक्तित्वलाई गुणगत होइन, गुटगत विषयलाई  जिम्मेवार नेताले परोक्ष रूपमा पनि प्रोत्साहित गरिरहे भने निकृष्ट  गुटगत लाभ त होला तर त्यो खै केको न्यानो जस्तो मात्र हुने निश्चित देखिन्छ ।

गुटका नामको गलत स्कुलिङले नेपाल, खनाल, पुष्पकमल र ओली कसैलाई बाँकी राख्ने छैन । क्षयरोगले कसैलाई मायाँ गर्दैन ।  

नेकपाका नेताहरूले अब पनि विगत कोट्याएर मात्र बसे भने र जनताको सरकारलाई जनता र यसका पक्षधर शक्तिहरूले जोगाएनन् भने प्रा. डा. युवराज सङ्ग्रौलाले भनेझैँ बाम राजनीतिको अवसान हुने निश्चित जस्तै देखिन्छ । 

२०७५ साउन ३१ गते प्रकाशित वर्तमान सरकारका  आन्तरिक र बाह्य स्तरका गम्भीर प्रतिकूलताका विषयक डा. युवराज सङ्ग्रौलाले  सविस्तार एक लेख लेखेका थिए । उनले ओली सरकारका विरुद्धमा पश्चिमा शक्तिहरू अहिले र भोलिका दिनमा पनि निरन्तर अनेक तरिकाले लगन र लगानीसहित  लागिरहेको यो जटिल अवस्थामा नेकपा पार्टीले नै बाह्य रूपमा सरकारका सकारहरूको दृढ समर्थन नगर्ने हो भने बाम राजनीतिको सद्गत हुने निश्चित रहेको उल्लेख गरेका हुन् । तर समर्थन गर्दागर्दै पनि सरकारलाई आन्तरिक रूपमा अझ देश र जनताका हितका लागि दूरगामी काम गर्न निरन्तर दबाब भने दिनुपर्छ  र सरकारका जटिलता समाधान गर्न पनि गम्भीर प्रयत्न जारी राख्नुपर्छ । 

उनले  यसका लागि ओली सरकार पार्टी मैत्री, नेतामैत्री भावको हुनु अपरिहार्य छ । 

एकातिर आफ्ना कमजोरीहरू यथाशीघ्र सच्याउँदै जान जरुरी छ भने अर्कातिर  पार्टीले देशव्यापी र  जनव्यापी अभियानका साथ पार्टी र जन सङ्गठन सुदृढीकरण अभियानसहित जनताको सरकारका सकारात्मक पक्षहरूलाई आम देशवासीमा प्रवाह गरेर मात्र सरकार पार्टी दुवै सफल हुनसक्छन् । अहिले बाह्य रूपमा ओली केन्द्रित कटु आलोचना गरे पनि विरोधीहरू निदानमा कम्युनिस्ट पार्टी विरुद्ध रहेको वास्तविकता सबैले  बुझिराखे हुन्छ । 

नेपालमा संसारको तेस्रो ठूलो कम्युनिस्ट पार्टी भएकामा र यसले करिब दुई तिहाई नजिकको सरकार बनेपछि प्रतिक्रियावादी शिविरमा नौ रेक्टरको भुइँचालो गएको देखिन्छ । तर नेपालका कम्युनिस्टले यो सुनौलो अवसर गुमाउने हुन् कि भन्ने चिन्ता जनताको सचेत पङ्क्तिमा विद्यमान छ । 

अधिकांश कम्युनिस्ट नेता र कार्यकर्ता ब्वाइलर कुखुरा जस्ता लाग्छन् । यी कार्यकर्ताहरू आफैँ निधार खुम्च्याएर पार्टी र सरकारका सकार पत्ता लगाउन सक्तैनन् । अनि बुद्धिजीवी सत्य कुरा पटक्क बोल्दैनन् । 
किनभने सकार बोल्दा पनि अमुक नेता र गुट  रिसाउने हो कि भन्ने विगतको तीतो अनुभव तिनलाई छ । 

बामदेव गौतम आफ्ना बेहोराका कारण सङ्घीय सभासद्मा विगतमा  हारे तर तिनले मदन भण्डारी फाउन्डेसन सम्बद्ध नेता र कार्यकर्तालाई कारयबाही गराउन मरिमेटेर प्रायोजित भूमिका खेले आफ्नो, पराजयको सबै दोष तिनैमाथि  थुपारे ।

अहिले पनि उनी त्यही तुस साँचेर र पालेर बसेको बताइन्छ । पार्टीको मुहानमा नै यस खालको स्तर विहीन चिन्तन र चरित्र हाबी भएपछि तल सङ्लो पानी र बानीको आशा गर्नु बेकार देखिन्छ ।  

एक होइन दुई वरिष्ठ र अनुभवी शीर्षस्थ नेताको यस खालको चालामाला भएपछि पार्टी भित्रभित्रै गुदी रहित हुनलागेको त होइन ? झलनाथ र कामदेव कमरेडलाई चेतना भया । यस खालका हर्कत तुरुन्त बन्द गर्नु जाती होला । नत्र सबै नेता र कार्यकर्ता जसोजसो बराजु उसैउसै स्वाहा भन्ने छैनन् । पदमा हुन्जेल त ठाँटबाँठ होला तर भोलिका दिन कन्तबिजोक हुने निश्चित छ ।

त्यसैले गुटगत अति सङ्कीर्णताका कारण पार्टीको सामूहिक आदेश र उपस्थितिबिना सरकारकै राम्रा कामको समर्थनमा आम नेता र कार्यकर्ताले  मुख खोल्दैनन् । जब एउटै मञ्चमा सबै गुटहरू एक जुट र एक मुख हुन्छन्, तब ती कार्यकर्ता र नेताहरू भेडिया धसान सरह काममा लस्कर लाग्छन्  ।  

कुनै पनि  आश, त्रास र बतासमा नपरी चिन्तन गर्ने बहुतै कम्ती बौद्धिक व्यक्तित्व सङ््ग्रौला पक्षधरतालाई पनि सुपाच्य हुने गरी बोल्न काविल देखिन्छन् । उनले आफ्नो  लेखमा मन्त्रीहरू नै प्रधान मन्त्री सरहको अहंवादी शैलीमा रहेका भन्नेसम्मका टिप्पणी गरेका छन् ।   

पठन चेत शून्य र सांस्कृतिक चेतनाका अभावमा  कतिपय मन्त्रीहरू मात्र होइन, नेता नै अहङ्कारी हुन गएका  हुन्  । 

मन्त्री रघुवीर महसेठले सरकारको छविमा पहिलो गाँसमै ढुङ्गा पारिदिएका हुन् । अर्थमन्त्री लगायत कतिपय मन्त्रीहरू विज्ञ व्यक्तिको सरसल्लाह लिन पनि कन्जुस्याइँ गर्छन् भन्ने चर्चा छ ।  

आफूलाई ओली निकट ठान्नेहरू अधिकांशमा ओली गुण भने प्रायः अत्यन्त कमजोर मात्रै होइन  निख्लाम नै देखिन्छ । कुनै पनि नेता अमुक गुटको हुने वित्तिकै गुणको हुँदो रहेनछ । 
नत्र ओलीका विविध विषयगत मन्तव्यलाई नै पनि निरन्तर पछ्याउने हो भने धेरै ज्ञान हासिल गर्न सकिन्छ । अहिले एकीकृत हुँदा मनोनित एकाध केन्द्रीय सदस्य औकातभन्दा माथि पुगेका छन् । तिनको हालत के होला चिन्ता गर्नुपर्नेले बेलैमा चासो राखिदिए हुन्थ्यो । 

पक्षधरता प्रस्तुत गर्न सिपालु सङ्ग्रौलाले  पार्टी र सरकारका बीचको दूरी घटाउनुपर्ने विषयमा जोड दिएको देखिन्छ । पश्चिमा शक्तिहरू जीवन पर्यन्त  तिब्बत हुँदै  चीनलाई क्रमशः कमजोर र ध्वस्त बनाउने कामको अवरोध ओली सरकार हुने निश्चित हुने देखेर अनेक भित्री र बाहिरी षडयन्त्रमा लागेका छन् । 

अधिनायकवादको हल्ला अन्तर्राष्ट्रिय खपतका लागि हो भन्ने त स्पष्ट भयो ।  योग्यता र अनुभव भएका सारा कर्मचारीलाई सेवा निवृत्त हुन भारी आर्थिक सहुलियतसहित  घोषणा गर्नु, सरकारी ढिकुटी रित्तो पार्न डप्फाका डप्फा कर्मचारीहरूलाई विश्व भ्रमण गर्ने छुट दिनु, आर्थिक सहायता प्रदान गर्ने नाममा सरकारी धन स्वाहा पार्नु, निर्वाचन आचार संहिता विपरीत कर्मचारी भर्ती गरेर ऐन मौकामा सरकारका काममा अवरोध सिर्जनाको पूर्व प्रायोजन गर्नु, आफ्ना पालामा गर्नै पर्ने कानुन, ऐन नियम र कानुन बनाउन फिटिक्कै ध्यान नदिनु आदि प्रत्यक्ष देखिने प्रतिकूलता शेरबहादुर देउवा सरकारका पूर्वप्रयोजित कृत्य हुन् । 
रक्षा मन्त्री ईश्वर पोखरेलले  ओली सरकार सिंहदरबार छिर्दा त्यहाँभित्रको स्थिति  कवाडखाना जस्तो रहेको दर्दनाक अवस्था एक टिभी कार्यक्रमको अन्तरवार्तामा उल्लेख गरेका थिए । उनका अनुसार मन्त्रालय र मन्त्री परिषद् र मन्त्री क्वाटरहरूमा नयाँ सजावट अथवा  बन्दोबस्त गर्नु पर्ने अवस्था थियो भन्ने बुझिन्थ्यो ।  

नेपालमा संसारको तेस्रो ठूलो कम्युनिस्ट पार्टी भएकामा र यसले करिब दुई तिहाई नजिकको सरकार बनेपछि प्रतिक्रियावादी शिविरमा नौ रेक्टरको भुइँचालो गएको देखिन्छ । तर नेपालका कम्युनिस्टले यो सुनौलो अवसर गुमाउने हुन् कि भन्ने चिन्ता जनताको सचेत पङ्क्तिमा विद्यमान छ । 

ओली सरकार  ढिकुटी लगभग रित्तो रहेको हुनाले श्वेतपत्र जारी गर्नुपर्ने अवस्थाबाट अघि बढ्नुपर्ने जटिल अवस्था पुग्यो  । 

सरकार र कर्मचारी संयन्त्रलाई  देश, जनता र जनजीविकाका सवालमा सेवा भावबाट उत्प्रेरित गर्ने सबाल जटिल तर अहिलेको सर्वोपरि महत्वको विषय हो । किन भने कर्मचारीलाई अदृश्य शक्ति र व्यक्तिबाट निर्देशित हुने गरेको विषय पहिले पनि आएकै हो । 

जनताको सरकार र सत्ता जनताले नै जोगाउने हो । यसका कममा पार्टी, सरकार र सम्बन्धित सबै माथिल्लो स्तरका नेताको बेलैमा ध्यान र मन जाओस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप