सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

१२ लाखले गराए स्वास्थ्य बिमा,  ३ नम्बर प्रदेशमा सबैभन्दा बढी

सोमबार, ०४ भदौ २०७५, ११ : १५
सोमबार, ०४ भदौ २०७५

काठमाडौँ । सरकारले आ.व. २०७२ बाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा  अहिले (भदौँ ३ गते) सम्म ११ लाख ६७ हजार  ४ सय ४ जना सदस्य बनेका छन् । 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर मदनकुमार उपाध्ययका अनुसार ३ जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिले ४२ जिल्लामा फैलिसकेको छ ।

तर कार्यक्रम ४२ जिल्ला पुगे पनि स्वास्थ्य सेवाको सुरुवात भने ३६ जिल्लामा मात्रै सञ्चालन भइसकेको छ । ६ जिल्लाका नागरिकले स्वास्थ्य बिमा गरिसके पनि स्वास्थ्य सेवा भने प्रप्त गरेका छैनन् । हुम्ला, मुगु, डोल्पा, सिराहा, स्याङ्जा र सङ्खुवासभामा बिमा गरिसके पनि बिमितले सेवा प्रप्त गर्न पाएका छैनन् ।

यी जिल्लाहरूमा बिमा कार्यक्रमबाट सेवा उपलब्ध गराउने काम अन्तिम चरणमा  पुगेको बोर्डले जनाएको छ ।

कुन प्रदेशमा कतिले गराए स्वास्थ्य बिमा 

यीमध्ये ६ लाख १४ हजार ६ सय ६६ महिला र ५ लाख ४७ हजार ९ सय ६६ पुरुषले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा गराउनेमा ६६ हजार ७ सयले महिलाको सङ्ख्या बढी रहेको छ । ४२ जिल्लाको कुल जनसङ्ख्यामध्ये ८ प्रतिशतले मात्रै बिमा गराउन सफल भएका छन् ।

यस्तै प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश नम्बर ३ मा बिमा गराउनेको सङ्ख्या सबैभन्दा बढी छ । भदौ ३ गते साँझ ५ः२० सम्म बिमा गराउनेको तथ्याङ्क हेर्ने हो भने चितवन जिल्लाबाट मात्रै १ लाख ४८ हजार ३ सय ३५ नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।

२ देखि ३ लाखले लिए सेवा 

बिमा गराएका मध्ये २ देखि ३ लाख बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा लिइसकेका स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक उपाध्यायले बताए । एक जना नागरिकले वर्षमा २ देखि ३ पटकसम्म सेवा लिने गरेका छन् । यसले गर्दा सेवा लिनेको सङ्ख्या झण्डै ६ देखि ७ लाख पुग्ने गरेका छन् । बिमा गर्ने व्यक्ति जुनसुकै प्रकृतिको बिरामी भए पनि ५० हजारभन्दा बढीको सेवा पाउने छैनन् । जस्तै दुर्घटनामा भएको खण्डमा पनि ५० हजारभन्दा धेरै उपचार खर्च पाइने छैन ।

जहाँ बिमा त्यही उपचार 

यस आर्थिक वर्षमा ७७ वटा जिल्लामा बिमा कार्यक्रम लागू गर्ने बोर्डको लक्ष्य हो । तर बजेट विनियोजन ६० वटा जिल्लालाई लक्षित गरिएको छ । बजेटलाई आधार मान्दै सरकारको लक्ष्य पूरा गर्नका लागि एक वर्षभित्रमा थप १८ वटा जिल्लामा स्वास्थ्य बिमाको कार्यक्रम पुर्याउनुपर्ने छ । यस आर्थिक वर्षमा स्वास्थ्य बिमाको लागि सरकारले ६ अर्ब बजेट विनियोजन गरेको थियो । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन चाहने पाँच जना सदस्यसहितको परिवारले बिमा शुल्कबापत  प्रत्येक वर्ष २ हजार ५ सय रुपियाँका बुझाउनुपर्नेछ । व्यक्तिगत सदस्यले ४२५ रुपियाँँ दरले शुल्क बुझाउनुपर्नेछ । ५ जना परिवारको सदस्यले नै बिमा गरेको परिचयपत्र पाउनेछन् । बिमा गरेको १ महिनापछि स्वास्थ्य सेवा पाउनेछन् । बिमा बोर्डका निर्देशक उपाध्यायका अनुसार ‘स्वास्थ्य बिमा गरेर पनि सेवा पाइएन भन्ने गुनासा आइरहेका छन् तर नागरिकलाई बिमा गरेको १ महिनापछि मात्रै सेवा पाइन्छ भन्ने जानकारी नहँुदा यस्तो जनगुनासो आएको हो ।’ बिमा गरेपछि सिस्टम बसाल्नको लागि पनि समय लाग्ने उनले बताए । 

एक वर्षसम्म एउटा परिवारले नेपाल सरकारको तर्फबाट ५० हजार बराबरको स्वास्थ्य सुविधा प्राप्त गर्न सक्छन् । ५० हजारभित्रमा बिमित परिवारले स्वास्थ्य सेवा लिन सक्छन् ।   

बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ । अहिलेसम्म १ लाख ३५ हजार विपन्न नागरिकको स्वास्थ्य बिमाको रकम सरकारले दिएको बोर्डले जनाएको छ ।  

जुन जिल्लामा बिमा गरिएको छ, सोही जिल्लाबाट स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ । निर्देशक डाक्टर उपाध्यायका अनुसार ‘यदि बिमा गरेको जिल्लामा उपचार नभएको खण्डमा अस्पतालले रेफर लेटर बनाएपछि मात्रै बाहिरको अस्पतालबाट पनि सेवा लिन सकिन्छ । तर नागरिकले भने स्थानीय स्वास्थ्य संस्थामा नदेखाई रेफर लेटरबिना नै आफै काठमाडौँ आएर सेवा लिन खोज्दा सेवा पाउनबाट वञ्चित भएका छन्  । अनि बिमा गरे पनि सेवा पाइएन भन्ने गुनासो गर्छन् ।’

 बिमा एक वर्षका लागि मात्र मान्य हुने भएकाले अर्काे वर्षका लागि फेरि रकम बुझाएर सदस्यता नवीकरण गर्नुपर्छ । स्वास्थ्य बिमा कार्यक्रमबाट हामीलाई दैनिक देखिने सामान्य रोगहरू उच्च रक्तचाप, पेट, ग्यास्ट्राटिक, दाँत, नियमित चेकअप, मधुमेह र श्वासप्रश्वास, सामान्य सबै जसो रोगको उपचार गर्न सकिन्छ । बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवाका अतिरिक्त कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि उपलब्ध गराउँछ । अन्तरङ्ग सेवातर्फ परीक्षण, ल्याब, एक्स–रे, अल्ट्रासाउन्डलगायतका सेवासुविधा बिमितले पाउँछन् । बिमा बोर्डले साधरणतया आम नागरिकलाई बढी प्रयोग हुने औषधि राखेको जनाएको छ । 

उपाध्ययका अनुसार सरकाले ठूला ७ रोगलाई सहयोग गरेको कारण साना रोगहरूलाई स्वास्थ्य बिमा कार्यक्रमले समेट्ने र नियमित स्वास्थ्य परीक्षण गर्ने हो भने ठूला रोग लाग्नबाट बच्नसकिने बताए । 

बिमाबाट कुन सेवा पाउने/कुन नपाउने   

योग, पोषण शिक्षा, बानी बेहोरा सुधार, मनोसामाजिक परामर्श जस्ता प्रवद्र्धनात्मक सेवा, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता सेवा, बहिरङ, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण, निदानात्मक तथा पुनस्र्थापनासम्बन्धी सेवा, हवाई एम्बुलेन्सबाहेकको एम्बुलेन्स सेवा र तोकिए बमोजिमका अन्य  सेवा । यस्तै स्वास्थ्य बिमाले प्लास्टिक सर्जरी, महँगा चस्माको खरिद र कानमा लगाउने सुन्ने मेसिनलाई समेट्दैन । यस्तै रक्सी खाएर कुटाकुट गरी घाइते भएकालाई पनि सेवा प्रदान गर्दैन । बिमित व्यक्तिले नेपाल सरकारबाट सञ्चालित, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित अस्पताल, स्वास्थ्य प्रतिष्ठान, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिक तथा सामुदायिक स्वास्थ्य एकाई, निजीस्तरबाट सञ्चालित अस्पताल,  शिक्षण अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक तथा क्लिनिक, सामुदायिक, सहकारी, गैरसरकारी सङ्घ संस्थाबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक र क्लिनिक, फार्मेसी तथा निदानात्मक स्वास्थ्य सेवा प्रदान गर्ने संस्था, आयुर्वेद अस्पताल, होमियोप्याथी, अक्युपन्चर उपचारका अस्पताल तथा प्राकृतिक चिकित्सालय  आदिबाट सेवा प्राप्त गर्न सक्छन् ।

दरबन्दीअनुसार कर्मचारीको अभाव 

बोर्डका अनुसार स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्नका लागि दरबन्दीअनुसार कर्मचारी नहुनु मुख्य चुनौती देखिएको छ । सेवा प्रदायक संस्थामा कर्मचारी नहुँदा बिमित नागरिक सेवा पाउनबाट वञ्चित हुनुपरेको छ । निर्देशक डा. उपाध्यायका अनुसार एक जना चिकित्सकको दरबन्दी त्यो पनि खाली देखिन्छ । चिकित्सक भए पनि तालिम लिन जाँदा, बिदामा बस्दा बिमा गरेका नागरिकहरू सेवा पाउनबाट वञ्चित हुनुपरेको बताए । उनी भन्छन्, ‘यस्तो समस्या यस स्थानमा छ भन्न सक्ने अवस्था नै छैन, सरकारी संरचना भएको सबै तहहरूमा समस्या देखिएको छ ।’ २०३२–०३३ सालको दरबन्दी रहेको हुँदा नेपालको जनसङ्ख्याअनुसार चिकित्सक नभएको उपाध्यायले बताए । बिमा कार्यक्रमभन्दा पनि सेवा प्रदान गर्ने संस्थाहरूबाट नै चुनौती देखिएको बोर्डको भनाइ छ ।

यस्तै बिरामी नभएका व्यक्तिहरू पनि आफ्नो स्वास्थ्यमा खासै केही रोग छैन भन्दै बिमा गर्दैनन्– डा. उपाध्याय भन्छन्– ‘जब बिरामी पर्छन् अनि बिमा गर्न आउँछन् तर तत्काल सेवा त पाइन्न सेवा पाउनका लागि त एक महिना नै कुर्नुपर्छ । मैले भन्न खोजेको स्वास्थ्य बिमा स्वस्थ्य, अस्वस्थ्य सबैले बिमा गर्दा राम्रो हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप