स्थानीय तह निर्वाचनमा माओवादी हार्नुका दस कारण
पछिल्लो समय नेपाली सञ्चार माध्यममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हार्नुका कारणहरूको बारेमा विभिन्न प्रकारका टीका टिप्पणी आइरहेका छन् । यसैलाई लिएर अहिले माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित वैठक पनि बसिरहेको छ । केन्द्रीय समितिको वैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि लिएर विभिन्न प्रदेशका इन्चार्जहरू र जिल्लाका संयोजकहरूले रिपोर्टिङ गर्ने काम गरिरहेका छन् । हुन त माओवादीको विस्तारित वैठकले हार्नुका कारणहरू त पत्ता लगाउला नै तर माओवादी पार्टी आफैमा यो हारका कारणहरू खोज्दा–खोज्दै फेरि अर्को हारको समीक्षा गर्नुपर्ने दिन आउन सक्छ ? त्यसैले माओवादी हार्नुका दस कारणहरू यस लेखमा प्रष्ट पार्न खोजिएको छ । जसले माओवादी केन्द्रको विस्तारीत वैठकमा हारका कारण पत्ता लगाउन थप सहज हुनेछ ।
पहिलो, राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिनु : माओवादी केन्द्रले चुनाव आउनुभन्दा निकै अगाडि नै चुनाव लागिसकेको थियो । यस प्रकारको चुनाव अन्य दलहरूमा आएको नै थिएन । तर माओवादी केन्द्रमा भने प्रष्ट रूपमा चुनावको हावाले छोइसकेको थियो । हावा यस्ता भयो कि जसले आफ्नो पार्टीलाई भन्दा पनि अरू पार्टीलाई बढी टेवा दिएको पाइयो ।
यसका साथै माओवादी केन्द्रले उम्मेदवारहरूको छनोट गर्दा सिद्धान्त र व्यवहारभन्दा पनि आफ्ना मान्छेलाई बढी प्राथामिकता दिइयो । नेताको पिछलग्गु बन्ने व्यक्तिलाई मात्र उम्मेदवार बनाउने काम भयो । अनि नेताको तुमसरण नगर्ने सही व्यक्ति भए पनि राम्रा व्यक्तिले उम्मेदवार बन्न पाएनन् । जसको कारण चुनाव हार्न पुग्यो । राम्रा व्यक्तिलाई उम्मेदवार बनाएको स्थानीय तहमा माओवादीले सानदार जित हासिल गरेको छ । यस्तो हुनुको मुख्य कारण भनेको नै राम्रालाई भन्दा पनि हाम्रालाई र नेताको चाकडी गर्नेलाई बढी प्राथामिकता दिनु ।
दोस्रो, सिद्धान्तभन्दा पनि पैसाको पछि कुद्नु
दस वर्षसम्म महान जनयुद्ध लडेको माओवादी पार्टीमा यति छिटो विभाजन र सैद्धान्तिक रूपमा विचलन आउला भनेर कसैले पनि कल्पना गर्न सकेका थिएनन् । तर, यस्तोसम्म अवस्था आयो माओवादी शान्ति प्रत्रियामा आएको दस वर्षमा टुक्रा टुक्रामा विभाजन हुन पुग्यो । फलस्वरूप दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीले नराम्ररी पराजय भोग्नुपर्यो ।
दोस्रो संविधानसभाको निर्वाचनको विरोध गर्दे आएको माओवादीको विभाजित घटकहरू बीच एकता त भयो तर त्यो सैद्धान्तिक रूपमा र भावनात्मक रूपमा हुन सकेन । व्यावहारिक रूपमा एकता भए जस्तो देखिए पनि मनमा विभिन्न प्रकारका कुण्ठाहरू यथावत रहन गयो । जसको कारण माओवादीको सिद्धान्तभन्दा पनि पैसाको पछि कुद्ने व्यक्तिको हावि हुन थाल्यो ।
फलस्वरूप माओवादी पार्टीको चार हजारको हाराहारीको केन्द्रीय समिति बन्न पुग्यो । जसको व्यवस्थापन गर्न नसक्दा पैसा र पहँुच भएको व्यक्तिले पार्टीलाई आफ्नो अनुकुलमा चलाउन थाले । यसले सिङ्गो पार्टी नै बदनाम हुन पुग्यो । जुन स्थानीय तहको निर्वाचनमा सतहमा देखियो । कर्तव्यनिष्ठ व्यक्तिलाई पार्टीको उम्मेदवार बनाउनेभन्दा पनि खराब आचरण र पैसाको प्रदर्शन गर्न सक्ने व्यक्ति उम्मेदवार बने । यसलाई इमानदार कार्यकर्ताले सही ठानेनन् । जुन कारण कार्यकर्ता निर्वाचनको काममा भन्दा पनि अन्य काममा बढी खटेको देखियो । यसको सही तरिकाले व्यवस्थापन गर्न नसक्दा पार्टीले नराम्रो तरिकाले हार व्यहोर्न पर्यो ।
तेस्रो, नेतृत्वले गलत रिपोर्ट गर्नु
पार्टीले चुनावका लागि स्थानीय तह तथा जिल्ला जिल्लामा चुनावी कमान्डर तोकेर पठायो । यसरी पार्टीले चुनावको कमान्डर तोकेर पठाएका व्यक्तिहरूले पार्टीको माथिल्लो निकायमा रिपोर्टिङ गर्दा मनोगढन्ते तरिकाले रिपोर्ट गरे । जसलाई पार्टी केन्द्रीय कार्यालयले अनुसरण गर्दा गलत निणर्य गर्नुपर्ने बाध्यता भयो, यसको कारण माओवादील हार बेहोर्नु पर्यो । माओवादी केन्द्रका स्थानीय नेताहरूले यस्तोसम्म रिपोर्ट गरे मानौं : ‘कुनै वडामा ७५० मतदाता रहेका छन् भने माओवादी पार्टीमा २८५ मत खस्ने र एमालेलाई १५० र काङ्ग्रेसलाई २०० खस्ने र केही मत अन्यलाई जाने तथा ५० जना मतदाताले मत नै नहाल्ने भनी रिपोर्टिङ गर्दथे ।’ यसरी रिपोर्टिङ गरिएको वडामा माओवादीलाई जम्मा १०० मा मत मात्र आएपछि अहिले माओवादी नेताहरू हसिया र ताराले हामीलाई दुःख दियो भनिरहेका छन् । यस प्रकारका हास्यस्पद रिपोर्टिङ गर्नुभन्दा सत्यतथ्यमा आधारित भएर रिपोर्टिङ गरे माओवादीले आगामी चुनावमा बढी स्थानमा जित हासिल गर्दथ्यो कि ? होइन भने गलत रिपोर्टका कारण नै माओवादीले थप हार व्याहोर्दै जाने निश्चित छ ।
चौथो, उम्मेदवारले आफ्नो विकल्प नै छैन भन्नु
माओवादीबाट उम्मेदवारका रूपमा घोषणा भइसकेपछि माओवादीको उम्मेदवारहरूले आफूले जिति नै सके जस्तो महसुस गर्नु पनि माओवादी हार्नुका कारण हो । माओवादीले उम्मेदवार छनोट गर्दा अन्य पार्टीभन्दा छिटो त छनोट गर्यो अरू पार्टीमा भन्दा अलिक कम विवादित तरिकाले उम्मेदवार छनोट त गर्यो । तर, माओवादीले सही के हो ? गलत के हो ? भनेर छुट्याउन नसक्दा सही उम्मेदवार छनोट गर्न सकेन ।
यसका साथै उम्मेदवारले माओवादी पार्टी आफू मात्र भएको र आफूले भनेको सबै कुरा लागू हुनपर्ने जस्तो कुराहरू गर्न थाले, जसलाई पार्टीको सबै कार्यकर्ताले सही रूपमा लिन सकेनन् । यस्तो अवस्था आयो कि माओवादीले कुनै पार्टीसँग सहकार्य गर्दा जित निश्चित हुने स्थानीय तहमा समेत उम्मेदवारको हठमा कारण सहकार्य हुन नसक्दा विपक्षीले जित हासिल गर्यो भने यस्तो ठाउँमा माओवादीका उम्मेदवारको जमानत जफत नै भयो ।
पाचौँ, जनतामाझ झुटा बाचा बढी गर्नु
माओवादीले मतदातालाई आश्वासन पार्ने काममा पनि बढी नै चुकेको देखियो । वर्षौंसम्म नभएको काम माओवादीले स्थानीय सरकारको नेतृत्व लिएको खण्डमा जादुको छडी जस्तो केही वर्षमा नै सबै काम गरिसक्ने बाचा बाँढ्दै हिँड्यो । जसको कारण माओवादीले पराजय भोग्नुपर्यो । जनतालाई के थाहा छ भने माओवादी देशको पहिलो पार्टी भएको अवस्थामा दुई वर्षमा संविधान बनाउने भने पनि संविधान चार वर्षमा समेत निर्माण हुन नसकेको तीतो यथार्थ भोगेका छन् । यसलाई माओवादीले आत्मसाथ गर्न सकेन ।
माओवादीले आफ्नो एजेन्डामा जनतालाई निःशुल्क आवासदेखि लिएर निःशुल्क पानी, बिजुली जस्ता धेरै प्रकारका एजेन्डा जनतासामु ल्याए पनि सही रूपमा यसलाई व्यवस्थपान गर्न नसक्दा यसको बढी आलोचना हुन पुग्यो । जसलाई जनताले विश्वास गरेनन् । यस प्रकारको एजेन्डालाई जनताले बेवास्ता गर्दा माओवादीको धेरै स्थानीय तहमा पराजय हुन पुग्यो ।
छैटौँ, विकासवादीभन्दा पनि सुविधाभोगी एजेन्डालाई प्राथमिकता दिनु
माओवादीले सबैभन्दा पहिला आफ्नो चुनावी रणनीति सार्वजनिक गर्दै आफ्नो एजेन्डा जनतामा खोल्यो । जसलाई नेपालको पुँजीवादी मिडियाले प्रोपोगान्डा नै बनायो । माओवादीले फ्री वाइफाई दिने रे । वास्तवमा यो एजेन्डा माओवादीले ल्याउनु नै पर्ने थिएन । कार्यकर्ता पङ्क्तिबाट नै यसको विरोध भयो, माओवादीको शीर्षस्थ नेताहरूले यसलाई कुनै वास्ता गरेनन् । तर, माओवादी हार्नुको एउटा कारण यो पनि बन्यो ।
विश्वका विभिन्न देशमा इन्टरनेट तथा टेलिफोन सेवा निःशुल्क गरिएका उदाहरणहरू पनि हामी माझ छन् । तर, माओवादी केन्द्रका नेतृत्वको अदुरदर्शीताका कारण देशको विकासमा भन्दा पनि सुविधाभोगी एजेन्डा बढी आए । जसलाई आम जनताले पत्याएनन् । अहिले नेपाली जनताकाको प्रमुख आवश्यकता भने रोजगारी हो । यसमा माओवादी एजेन्डामा उल्लेख्य रूपमा स्वदेशी रोजगारीको बारेमा स्पष्ट खाका आउन सकेन । जनताले वास्तवमा माओवादीसँग देशको स्वरूप कस्तो बनाउने भनेर खाका ल्याउने आशा गरेका थिए । त्यो माओवादीबाट पूरा हुन सकेन । माओवादीको केन्द्रीय समितिले स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र सार्वजनिक गर्दा सबै स्थानीय तहलाई एकै डालोमा राखेर हेर्ने काम भयो । यो पनि माओवादी हार्नुको कारण हो भन्न सकिन्छ । माओवादीको एजेन्डालाई सूक्ष्म तरिकाले अध्ययन गर्दा अन्य पार्टीभन्दा माओवादीमा विलासिताको मोह बढी देखियो । जसलाई आधारभूत जनताले सही मान्न सकेनन् ।
सातौँ, आलोचना सहने क्षमतामा कमी, गुटबन्दीमा जोड :
जनताको मुक्तिका लागि जीवन र मृत्युको कसम खाएको माओवादी नेताहरूमा यस्तो संस्कृति मौलायो, जहाँ अरूको आलोचना गर्न पाइयो भने खुसी हुने अनि आफ्नो आलोचना हुँदा चाहिँ रिसाउने । यो परिपाटी माओवादीमा यसरी झाँगियो कि विकराल रूप लिन गयो । जसको परिणाम स्वरूप गुट तथा उपगुटहरू सिर्जना भए । आफूले मनले खाएको नेतालाई पार्टीभित्रबाट नै आलोचना हुँदा आरोप प्रत्योरोपमा उत्रिए तर अरूको पार्टीले आफ्नो पार्टीे नेतृत्वको बारेमा खैरो खन्दासमेत एक शव्द नबोल्ने नेताहरू पनि पनि भेटियो ।
पछिल्लो समय यस प्रकारको परिपार्टी यसरी मौलाउँदै गयो । जुन स्थानीय तहको चुनावसम्म आउँदा चरम गुठबन्दीमा हुन गयो । पार्टीभित्र आलोचना हुने र त्यसको समाधानको विकल्पहरू नखोजिने संस्कारको विकास भयो । कुनै पनि विषयमा भएको विवादलाई गुमनाम तरिकाले मिलाउने कोसिस भयो । विवादमा संलग्न भएका व्यक्तिहरूलाई समेत त्यसबारेमा थाहा दिइएन । थप नेताहरूको गलत आचरणको विरोध गर्दै गएमा पार्टीबाट निष्काशन गर्ने र भौतिक कारवाही गर्र्ने खालको धम्कीको भाषासमेत बोल्ने बानीको विकास भयो । अनि चुनावमा मुखैमा आउँदा माअोवादी केन्द्रका नेताहरूमा एकरूपता देखिएन । सकेसम्म एकले अर्कोको चर्को विरोध गर्ने । चाकडी गर्ने प्रथा हावी हुन गयो । जुन कारणले गर्दा माओवादी केन्द्रमा आलोचना सहने प्रवृत्ति हराउँदै गयो भने गुटगत स्वार्थ मौलाउँदै गयो । परिणाम स्वरूप नराम्ररी हार खानुपर्ने अवस्था आयो ।
आठौँ, सहानुभूतिवाद र अवसरवाद हावी हुनु :
माओवादी केन्द्रमा नातावाद र क्षेत्रीयवाद त हावी भएको नै थियो । त्यसमा थप सहानुभूतिवाद र अवसरवाद हावी हुन पुग्यो । जहाँ माओवादी केन्द्रबाट कुनै पनि सदस्यमा उम्मेदवार बन्नका लागि नेताको पिछलग्गु बन्नुपर्ने कि पैसा देखाउन सक्नु पर्ने अवस्था सिर्जना भयो । जसको कारण माओवादीबाट उम्मेदवार बन्नका लागि नेताको सहानुभूति पाउनुपर्ने वा अवसरवादी भएर लाग्नुपर्ने हुन्थ्यो । यतिले नभए नेतालाई मोटो रकम हस्तान्तरण गर्न सकिएको खण्डमा मात्र माओवादी पार्टीको तर्फबाट उम्मेदवार बन्न पाउने अवस्था आयो । यो त नेपाली काङ्ग्रेस र एमालेमा मात्र देखिएको थियो तर, पछिल्लो समय माओवादीमा समेत यस विषय हावी भएका कारण माओवादीले सही उम्मेदवार खडा गर्न नसक्नु हारको कारक हुन पुग्यो ।
नवौँ, कार्यकर्ताको सही परिचालन नहुन :
माओवादीमा जिम्मेवारी पाउनका लागि पन नेताहरूको पुच्छर बन्नुु पर्दथ्यो । जो नेताहरूको पुच्छर बन्न सक्दथ्यो उसले मात्र विभिन्न प्रकारको जिम्मेवारी लिन पाउँथ्यो । तर, आजको दिनमा माओवादीले सही तरिकाले कार्यकर्ताको परिचालन गर्न नसक्दा माओवादीले स्थानीय तहको चुनावमा परजय भोग्नुपर्यो । माओवादीले स्थानीय स्तरको चुनाव भए पनि कसरी स्थानीय स्तरको नेताहरूलाई परिचालन गर्ने सो विषयमा सही तरिकाले नसोच्दा स्थानीय स्तरमा नेता तथा कार्यकर्ता परिचालनमा समस्या देखियो । यस्तोसम्म समस्या देखियो की गाउँमा बसेर काम गरेका नेता तथा कार्यकर्ताले जिल्ला बाहिर रहेर पार्टीको विभिन्न तह तप्कामा काम गर्ने व्यक्तिहरूलाई कुनै पनि तरिकाले नसमेट्ने प्रकारको परिपाटी विकास भयो ।
माओवादी आन्दोलनमा लामोसमयदेखि प्रतिबद्ध रहको व्यक्तिहरूलाई गाउँमा लगेर चिनाउने काम भएन । ती व्यक्ति गाउँमा जाँदासमेत पार्टीको गाउँ स्तरका नेतृत्वहरूले परिचय गराउनेभन्दा पनि ‘भाग खान आएछ’ भन्ने जसरी हेर्ने पद्धतिको विकास भयो । जसको कारण पार्टीको नेता तथा कार्यकर्तामा सहकार्य देखिएन । पार्टीका उम्मेदवारहरूलाई सहयोग गर्न गएको आफ्नो गाउँभन्दा बाहिर बसेर काम गरेको नेतृत्व र स्थानीय तहका पार्टी नेतृत्व बीचमा तालमेल नहुँदा विपक्षीले मौकाको फाइदा लिने अवसर पाए । परिणाम स्वरूप स्थानीय तहको निर्वाचनमा माओवादीले धेरै ठाउँमा दोस्रो र तेस्रो दलको रूपमा बस्नुपर्ने बाध्यता पैदा भयो ।
दसौँ, सङ्गठन निर्माणभन्दा पनि गफ बढी
माओवादीमा सङ्गठन निर्माण गर्ने परिपार्टीभन्दा पनि गफ गर्ने संस्कारको बढी विकास भयो । कसरी हुन्छ, पार्टीको माथिल्लो नेतृत्वसँग पहुँच विस्तार गर्नका लागि एक दुई जना नेताहरूको चम्चे भएर अरूले गरेको कामलाई समेत आफैले गरेको भनी जस लिने प्रवृत्तिको विकास भयो । यसरी कुनै नेतृत्वलाई प्रभावमा पारेर जस लिने प्रवृत्तिका कारण सही व्यक्तिले अवसर पाउनेभन्दा पनि गलत व्यक्तिको हातमा पार्टी नेतृत्व हस्तान्तरण हुने संस्कारको विकास भयो ।
पार्टीको नेताको विश्वास पात्र भएपछि सङ्गठन निर्माण गरिरहनु नपर्ने बनावटी कुरा गरे पनि भइहाल्यो । वास्तविक रूपमा आफ्नो पार्टीमा प्रतिबद्ध व्यक्ति के कति छन् । ती व्यक्तिहरूलाई खोजविन गरी पार्टी निर्माणमा लगाउनेतर्फ नेतृत्वको ध्यान कम गएको पाइयो । पार्टीभित्रका सङ्गठकका रूपमा चिनिएका व्यक्तिलाई नै पार्टीको माथिल्लो निकायका नेतृत्वहरूबाट अविश्वास गरिँदा सही तरिकाले पार्टीले गति लिन सकेन । पार्टीभित्र सङ्गठक व्यक्तिहरूभन्दा पनि गफ गर्ने व्यक्तिहरूको समूहलाई नेतृत्वबाट विश्वास लिने अन्ध–विश्वासवादी तथा व्यक्तिवादी संस्कार हावी हुँदा पार्टीभित्र गफ गर्ने र कुरा काट्ने प्रवृत्तिको विकास भयो । फलस्वरूप स्थानीय तहको निर्वाचनमा नराम्ररी पराजय भोग्नुपर्यो ।
निष्कर्ष
लामो समयसम्म मुक्ति या मृत्युका कसम खाएको योद्धाहरूको निकै ठूलो उपस्थिति रहेको माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा हार खानु चानचुने कुरा होइन । दस वर्षसम्म जनताको मुक्तिका लागि जनयुद्ध लडेको पार्टी शान्ति प्रक्रियामा आएको दस वर्षको छोटो अवधिमा नै जनताबाट यसरी विस्थापित हुनु भनेको पार्टी नेतृत्व पङ्क्तिबाट निकै ठूलो गल्ती भएको समीक्षा गर्न आवश्यक भएको छ । पार्टी शान्ति प्रक्रियामा आएपछि झुण्ड–झुण्डमा विभाजन भएर फेरि एकताको नाम दिएर एक ठाउँमा त आएका छन् नेताहरू । तर, त्यो एकताले के वास्तविक रूपमा माओवादी आन्दोलनलाई जोड्ने काम गर्यो कि गरेन सो विषयमा समेत समीक्षा गर्ने बेला भएको छ । अनि पार्टीका नेतृत्वहरूले पनि हिजोको दिनमा समाजमा रहेको आफ्नो छविलाई फेरि सही तरिकाबाट विकास गरी नेतृत्वदावी कदम लिन आवश्यक छ । होइन भने नेपालमा माओवादी आन्दोलनको विरासतलाई इतिहासको पानामा खोज्नु पर्ने दिन आउन सक्छ ?
केन्द्रीय सदस्य, प्रेस सेन्टर नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो