प्रनयनाको प्राप्ति : अस्ट्रेलिया छाडेर स्वदेशमै सफलता
आवश्यकता र त्यसलाई पूरा गर्नुपर्ने बाध्यताले मान्छेलाई हरेक काम गर्न राजी गराउँछ । बाध्यताको नजरमा यो राम्रो काम र यो नराम्रो काम भन्नेनै हुँदैन, त्यहाँ मात्र काम हुन्छ । त्यही कामबाट आएको पैसाले आवश्यकता पूरा गर्नुपर्ने हुन्छ ।
त्यही आवश्यकता पूरा गर्नुपर्ने बाध्यताले प्रनयना केसीलाई कुनै बेला बाथरुम सफा गर्ने काम गर्नुपर्यो । कहिले चर्को गर्मीमा लगातार ८ घण्टा घरघरको ढोका ढक्ढक्याउँदै पैसा मागेर हिँड्नुपर्ने बनायो । कतिपयको नराम्रो बचन सुनेर सहन सक्नेसम्म पनि बनायो ।
तर समय फेरिइसकेको छ । अब प्रनयनालाई त्यही सङ्घर्षले परिपक्व र सफल बनाएको छ । आफ्नै उद्यमशीलतामा रमाउन सक्ने बनाएको छ ।
‘म हरेक दिन उत्साह लिएर उठ्न चाहन्छु, थाहा छैन म के बन्न चाहन्छु । तर मलाई यो थाहा छ, म मिहिनेत गर्न डराउँदिनँ’, उनी भन्छिन्, ‘मिहिनेतले एक दिन सबैलाई सफलता दिलाउँछ भन्नेमा विश्वस्त छु ।’ यो प्रनयना केसीको उद्यमशीलताको मन्त्र हो ।
दिनभरी कामबाट थाकेर आएको मान्छे भोलिपल्ट फेरि काममा जानेबेला भएछ भनेर दिक्क मान्दै जिउ तन्काउने पनि गर्नछन् । तर प्रनयतालाई दिक्क होइन, हरेक बिहानले उत्साहित बनाउँछ ।
‘हरेक दिन नयाँ उत्साह लिएर उठ्न नसक्ने मानिसले गर्ने कामको गुणस्तर कस्तो हुन्छ र उसले सुत्नेबेला आफूलाई कसरी जवाफ दिन्छ ?’ उनी प्रश्न गर्छिन् । मान्छेभित्र हुने उत्साह र लगनशीलताले नै मान्छेको कामको सफलताको निर्धारण गर्ने उनको बुझाइ छ ।
प्रनयना केसी, जो ३० वर्षभन्दा कम उमेरकी हुन् तर उनीसँग ११ वर्षको कामको अनुभव छ । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर हुँदै फेरि नेपाल फर्किइन् र आफ्नो व्यवसाय गरेर बस्न थालिन् ।
उनको कम्पनी इको इन्फिनिटी यस्तो कम्पनी हो जसले नेपालमै पहिलो पटक नम्बरप्लेटसहितको लाइसेन्स लिएर मात्र चलाउन मिल्ने एनआईयू विद्युतीय दुईपाङ्ग्रे सवारी भित्र्याएको छ । उनीसँगै उनका ३ जना पुरुष व्यावसायी पार्टनर पनि छन् । त्यति मात्रै होइन अन्य ८ वटा कम्पनीमा कन्सल्ट्यान्टको काम गर्छिन् ।
उमेरले ३० वर्षभन्दा कम तर अनुभव कुनै पाको मान्छेको भन्दा कम छैन । उनी अहिले मासिक २ लाखभन्दा बढी कमाउँछिन् । अहिले सर्सर्ती हेर्दा उनको जिन्दगीमा सुखसयलबाहेक केही छैन जस्तो देखिए पनि सङ्घर्षको कथा भने लामो छ ।
विदेशमा शिक्षा र अनुभव, स्वदेशमा उद्यमशीलता
सात कक्षासम्म सेन्टमेरिज स्कुलमा अध्ययन गरेकी कामाडौंकी प्रनयना त्यसपछि माध्यमिक शिक्षाका लागि भारततर्फ लागिन् । भारतको देहरादुनमा १० कक्षासम्म पढेपछि शतप्रतिशत छात्रवृत्ति पाएर अमेरिका उडिन् । तर एक वर्ष अमेरिकामा पढेपछि फेरि अस्ट्रेलिया लागिन् । कारण थियो, आत्मनिर्भर बन्ने रहर । उनलाई पैसा कमाउन कतिको गाह्रो हुन्छ भन्ने सिक्नुथियो र आफ्नो कमाइमा बाँच्नु थियो । अमेरिकाको छात्रवृत्ति छाडेर अस्ट्रेलिया आएकी उनलाई अब अध्ययनकै लागि हरेक सङ्घर्ष मञ्जुर भयो ।
उनले भोडाफोन अस्ट्रेलियामा ग्राहक सेवा एजेन्टको रूपमा स्टोरमा काम गर्न थालिन् । अस्ट्रेलियाको महँगीमा उनको एउटा मात्र कामले पुग्नोवाला थिएन । उनले त्योबाहेक पिज्जा बनाउने, बाथरुम तथा कार्यालय सफा गर्ने काम पनि गरिन् । बिहान १० देखि ५ बजेसम्म भोडाफोनको काम सकेर फेरि ५ बजेदेखि १० बजेसम्म पिज्जा बनाउँथिन् । त्यसपछि रातको १० देखि ११ बजेसम्म विभिन्न कार्यालय र त्यहाँको बाथरुम सफा गर्न जान थालिन् । हप्ताको अन्त्यमा घरघरमा आफूले पकाएको पिज्जा लगेर बेच्न थालिन् । हप्तैभरी काममा पेलिने प्रनयनाले बल्ल बुझिन्, पसिनाको कमाइको महत्व र कमाउन गरिने सङ्घर्ष ।
गफिँदै गर्दा भावुक बनेकी उनले भनिन्, ‘अस्ट्रेलियामा पढ्न र बस्न निकै महँगो छ । ९ घण्टा पैदल हिँडेर चर्को गर्मीमा असिन पसिन गर्दै रेडक्रसको च्यारिटीको टिकट बेच्न पुगेँ । अस्ट्रेलियामा डिसेम्बरमा निकै गर्मी हुन्छ । घर घरमा ढोका ढकढक्याउँदै च्यारिटीका लागि पैसा माग्नुपथ्र्यो । धेरैजसोले जथाभावी भनेर गाली गर्थे । रङ्ग विभेद अस्ट्रेलियामा निकै छ । म काली देखेर कुन देशबाट आएको हो, आफ्नै देश गइहाल समेत भन्थे । आफ्नै कमाइमा बाँच्न सिक्दा धेरै हण्डर खाएको छु । त्यही हण्डरले आज मलाई परिपक्व बनाएको छ ।’
मान्छेहरू विदेशमा जस्तोसुकै दुःख गर्न पनि तयार हुन्छन् तर स्वदेशमा काम गर्न लजाउने प्रवृत्ति छ । प्रनयना आफू अनुभव र शिक्षाका लागि विदेशिएको र दिमागमा जहिले पनि नेपाल फर्केरै केही गर्छु भन्ने अठोट राखेको बताउँछिन् । त्यसैले त अहिले नेपालमै उद्यमशीलतातर्फ लम्किरहेको उनी बताउँछिन् । उनले सिङ्गापुरबाट सार्वजनिक प्रशासनमा एक्जुकेटिभ मास्टर्स गरेकी छन् ।
स्वदेशमै पैसा कमाउन सहज छ
नेपाली भूमिमा पैसा कमाउन गाह्रो छैन । विदेशिएका धेरैजसो नेपालीको पीडा दर्दनाक देखेको स्मरण गर्दै प्रनयना भन्छिन्, धेरैजसो नेपालीहरूले विदेशमा गरिरहेको दुःख नेपालमा गर्ने हो भने कमाउन गाह्रो छैन । हरेक मान्छेले आफ्नो कामप्रति सम्मान राख्न जरुरी छ । केही वर्षको अनुभवले नेपालमै आएर केही गर्न सकिन्छ । म नेपाल फर्केपछि भेस्पाको मार्केटिङ प्रमुख भएर काम गरेँ । त्यहाँ काम गर्दा गर्दै एनआईयूमा पार्टनरसिपमा काम गर्ने अफर आएपछि लगानीहालेर यता आएँ । अहिले सन्तुष्ट छु ।’
उनी थप्छिन्, ‘बाहिर कमाउन जति मिहिनेत गर्नुहुन्छ । त्यति मिहिनेत यहाँ गर्ने हो भने त्योभन्दा बढी कमाइन्छ ।’
घमण्ड त्यागौँ, स्वदेशमै केही गरौँ
सफलताका लागि घमण्ड र अहम् त्याग्नुपर्ने उनको बुझाइ छ । ‘कुनै पनि काम गर्नु छ भने तपाईं आफूभित्र भएको घमण्डलाई ढोका बाहिर फाल्नुस् । सबैसँग सहज बनेको खण्डमा सफलता हात पार्न सकिन्छ ।’
अब उनलाई अरूलाई पनि आत्मनिर्भर र देशमै केही गर्न प्रेरित गर्न मन छ । त्यसैले त हरेक युवालाई स्किल डेभलपमेन्टको लागि सघाउने योजना बुन्दैछिन् उनी ।
२०१४ को मिस नेपालको मिस पर्सनालिटीको ताजसमेत जितेकी उनी भन्छिन्, ‘जहिले पनि नेपालको कम्प्लेन गरेर मात्र हँुदैन । देश समृद्ध भएको हेर्न चाहने र देशको माया भएको जोकोहीले विदेशमा केही समय बसेर अनुभव लिएर नेपाल फर्कनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’
-
खाल्डोमा डुबेर बालकको मृत्यु
-
सामाजिक सुरक्षाले श्रमिकहरूलाई उत्साहित तुल्याएको छ : मन्त्री पौडेल