कृषि पेसामा किन झमेला ?
नेपाल कृषिप्रधान देश हो । अझै पनि नेपालमा आधाभन्दा बढी जनता कृषिमा आश्रित रहेका छन् । तर यसको विकास र विस्तारमा भने कसैको आँखा पुग्न सकेको देखिँदैन । विश्व बजारमा विज्ञान र प्रविधिले यति धेरै फड्को मारेको भए पनि हाम्रो देशको हालत भने जस्ताको तस्तै रहेको छ । हलो, कुटो र कोदालोले धानेको हाम्रो देशको कृषि प्रणाली ती साधन चलाउने हातहरू खाडीको मरुभूमिमा बालुवा चाल्दै गर्दा अलपत्र अवस्थामा छ । यसरी देशका सबै युवाहरू विदेशी भूमिमा पलायन हुँदा गाउँघरमा बुढाबुढी र बालबालिका मात्र रहेका छन् । बिरामी पर्दा पानी दिने र मर्दा मलामी जाने मान्छेसमेत पाउन अहिले गाउँघरमा गाह्रो छ । वर्तमान अवस्थामा विदेशबाट आएको रेमिट्यान्सले सबैको मुहारमा उज्यालो छाएको देखिए पनि यसको दीर्घकालीन असरबारे सबै बेखबर छन् । केही वर्ष विदेश बसेर यही देशमा केही गर्छु भनेर जोस र जाँगरसहित आएका युवाहरूलाई पनि आकर्षण गर्ने केही योजना देखिँदैन भने अर्कोतर्फ यस क्षेत्रको विकृति अनि विभिन्न समस्याले गर्दा काम सुरु गर्ने, डराउने अनि गरिहाले पनि सुरु गर्नबित्तिकै पलायनको सिकार हुनुपरेको छ ।
जलस्रोतको दोस्रो धनी देश नेपाल भौगोलिक विविधताको साथै हावापानीमा पनि विविधताले भरिपूर्ण रहेको छ । यसको उचित सदुपयोग गर्नसके कृषि क्षेत्रसँगै समग्र नेपाल र नेपालीकै लागि बरदान सावित हुन सक्छ । यहाँको हावापानी र वातावरण अनुकुलका कृषिजन्य उत्पादनमा मात्र जोड दिने हो भने पनि हामीले आर्थिक उन्नति खोज्न धेरै पर जान पर्दैन । प्रशस्त सम्भावना हुँदाहुँदै पनि कृषिसम्बन्धी ज्ञान र सीपको अभावले हामी निर्वाहमुखी प्रणालीबाट माथि उठ्न सकिरहेका छैनौँ । आधुनिक प्रविधिमा पहुँच नहुनु र भए पनि ज्ञानको अभाव हुनु, सिंचाइको अभाव, उचित बजार व्यवस्थाको अभाव, विचौलियाहरूको दादागिरी अनि बजारमा सिन्डिकेटजस्ता कुराहरू अहिलसम्म पनि यस क्षेत्रमा विद्यमान समस्याको रूपमा रही आएका छन् ।
२, ४ कक्षा पढ्ेबित्तिकै जागिर नै खानुपर्छ भन्ने सोच र पढेलेखेका मान्छेले खेतीपातीको काम गर्नै हुन्न भन्ने मान्यताले गाँजेको हाम्रो समाजमा जबसम्म यो कमजोर मानसिकता हट्दैन तबसम्म कृषिको विकास पनि हुनसक्ने स्थिति देखिँदैन । अनि कृषिको राम्ररी विकास र यस क्षेत्रमा आधुनिकीकरण नभएसम्म नेपालजस्तो कृषिप्रधान देशको विकास हुन्छ भन्नु पनि उही कुलो र कुरो जता लगे पनि जान्छ भन्नु जस्तै मात्र हो । त्यसैले जबसम्म यो क्षेत्रप्रतिको नकरात्मक धारणा बदलिएर शिक्षित मान्छे यहाँ प्रवेश गर्दैनन् तबसम्म नेपालको कृषिमा देखिएका समस्या नहट्ने र कृषिक्षेत्रको विकास नहुने पक्का छ ।
फेरिइरहने सरकारसँगै आएका नारा र भाषणमा युवा र कृषिलाई लक्षित गरेर विभिन्न कार्यक्रम नआएका हैनन् । कुरामा र नारामा आए पनि कार्यान्वयनको पाटो भने सधैँ ओझेलमा परेको छ । आखिर केले छेक्छ यी सारा योजनाका कार्यान्वयको पाटोलाई ?
अहिले तीनै तहको निर्वाचन सकेर देशले बहुमतसहितको स्थायी सरकार पाएको छ । कम्तीमा पनि पाँच वर्षका लागि काम गर्ने जनादेश पाएको यो सरकारले जनअपेक्षाबमोजिम काम गर्ने हो भने यति लामो समयसम्मको अस्थिरताबाट पिल्सिएका नेपाली जनताले केही राहतको सास फेर्न पाउँथे । यसका लागि नेपालको आर्थिक उन्नतिका लागि अहिलेसम्म भएका विभिन्न अध्ययन, अनुसन्धान र विज्ञहरूले देखाएको बाटोमा अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ ।
कृषि गणना २०६८ ले नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार रहेको तथ्याङ्क सार्वजानिक गरेको छ । तीमध्ये एक लाख १६ हजारले खेतीपाती नै गरेका छैनन् र यो सङ्ख्या अझै बढ्दो क्रममा देखिन्छ । विकसित देशहरूको तुलनामा हेर्ने हो भने क्षेत्रफलको हिसाबमा यो सङ्ख्या कृषि पेसाका लागि पर्याप्त देखिन्छ । तर विभिन्न समस्यामा जेलिएर रुमलिइएकाले बर्सेनि अर्बौं रुपियाँ बराबरको खाद्यान्नलगायत कृषिजन्य वस्तु छिमेकी मुलुकबाट आयात गर्नुपर्ने तीतो यथार्थ हामीमाझ नै रहेको छ । देशको दुई तिहाइभन्दा बढी जनसङ्ख्या यस क्षेत्रमा लागेर पनि यहाँको उत्पादनले केही समयका लागि मात्र धानेको छ । अरू बाँकी सबै छिमेकी मुलुक भारत र चीनको भरमा बस्नुपरेको छ । यसको मूल कारण हाम्रै अदूरदर्शी नीति र नेतृत्व नै हो ।
भर्खरै गरिएको आर्थिक सर्वेक्षणअनुसार नेपालमा कृषि क्षेत्रले कुल गर्हास्थ उत्पादनमा २७ प्रतिशत योगदान पु¥याएको छ । यो २०६८ सालको कृषि गणनाभन्दा पाँच प्रतिशतले कम हो । यस क्षेत्रमा बढ्दो विकर्षणको कारणले एकातिर यसले दिने योगदान घट्दैछ भने अर्कोतर्फ हरेक युवाहरूको वैदेशिक रोजगारप्रतिको मोहले विकराल रूप लिँदैछ । यसको प्रत्यक्ष असर नेपालको कृषि प्रणलीमा परेको छ । सरकारले विभिन्न समयमा ल्याएका कृषिलक्षित योजना र कार्यक्रम पनि वास्तविक कृषकलाई आकासको फल आँखा तरी मर भनेझैँ भएको छ । यस्ता कार्यक्रम पार्टीका नेता, कार्यकर्ता र पहुँचवालाहरूको हातबाट फुत्कन सक्ने स्थिति छैन ।
विदेश गएर खुरुखुरु मासिक आम्दानी गर्ने बानी परेका युवाहरूलाई एकैचोटि यस क्षेत्रमा ल्याएर काम लगाउन त्यति सजिलो नभए पनि सरकारले समयमै समुचित प्रयास गर्नुपर्छ । यसो नगरेमा यो झन् समस्याका रूपमा फैलने निश्चित छ । तीनवटै तहका सरकारले युवालाई लक्षित गरेर कृषिसम्बन्धी विभिन्न आकर्षक कार्यक्रम र तालिमको व्यवस्था गर्नुपर्छ । बाहिर गएकालाई फर्काउनुभन्दा पनि अहिले यहाँ भएकाहरूलाई रोक्न सकेमा पनि केही उपलब्धि भएको मान्न सकिन्छ । अनि सरकारले बोकेको युवा स्वरोजगारको नाराले पनि केही सार्थकता पाउन सक्छ । जिन्दगीको डुङ्गा कता बगाउने भन्दै यता न उताको स्थितिमा अलमलिइरहेका लाखौँ युवाहरूलाई लगानीको सुरक्षा र बजारको ग्यारेन्टीसहित यस क्षेत्रमा आकर्षित गर्न सके खाडीका मरुभूमिलाई हराभरा बनाउन सक्ने यति धेरै नेपाली युवाहरूको रगत मिसिएको पसिनाले सही सम्मान हुन्थ्यो कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’