शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

वैकल्पिक राजनीतिलाई अवसर

बुधबार, ३१ जेठ २०७४, १२ : ०५
बुधबार, ३१ जेठ २०७४

अस्थिर राजनीतिक अवस्थाबाट आजित भएका जनतालाई भर्खरै सम्पन्न स्थानीय चुनावमा साझा र विवेकशील जस्ता पार्टी नयाँ रुपमा देखापरे । यी नयाँ पार्टीका अगुवाले पटक पटक राजनीतिमा चुनौतीका कुरा उठाएका छन् । नयाँ जोससहित अएका परिवर्तनका पक्षधरहरुले चुनौतीलाई  अवसरमा बदल्न सक्छन् । यहाँ सुधारका लागि राजनीति गर्ने हो नेपाली राजनीतिमा अवसर नै अवसर छन् ।


सुरक्षा, सुगमता र पहँुचको हिसाबले राजनीति धेरै सजिलो भएको छ भन्ने कुरा एउटा सामान्य व्यक्तिले अनुमान लगाउन सक्छ । २००७ सालको अवस्था र अहिलेको अवस्थामा आकाश पातालको फरक छ ।


२००७ सालमा प्रजातन्त्र ल्याउन भूमिका खेल्ने नेताहरुको आँट र हिम्मतले राणाविरुद्ध विद्रोह गरे । उनीहरुले आफ्नो जीवनलाई प्रजातन्त्र प्राप्तीका लागि चक्कुको धारमा राखेका थिए । एक अर्थले प्रजातन्त्रका लागि राणाराजको पतनसँगै उनीहरु सती जान तयार थिए ।  उनीहरुको व्यक्तिगत सुरक्षाविरुद्ध राज्य थियो । त्यो समयलाई इतिहासकारहरुको आँखाबाट नियाल्दा अहिले कडिकडाउ आवाजमा मिजासको राजनीति गर्न लागिपरेका रवीन्द्रजीको भन्दा निकै जोखिम बोकेर चरम निरङ्कुशताका बाबजुद प्रजातन्त्रको सपना देख्न थालिएको थियो । इतिहासको मानकलाई स्वीकारेर राजनीतिक पदयात्राको थालनी गर्ने हो भने  भर्खरै सकिएको पहिलो चरणको स्थानीय चुनाव प्रचारका क्रममा विपक्षी पार्टीका प्रचार र्यालीमा हिँडेका मानिसहरुलाई आफ्ना घोषणापत्र थमाउने नयाँ पार्टीहरुलाई के नै चुनौती छन् र ? विपक्षी पार्टीबाट चुनाव लडेर जितेका, समाज सेवा र राजनीतिमा नाम बनाइसकेका मानिसहरुलाई भर्खर जन्मेको पार्टीका कोरा तर सचेत प्रचारकहरुले तपाईंहरुले देश बर्बाद पार्नु भो भनेर कड्किँदा पनि सहानुभूति नै पाए, मुक्का खाएनन् ।

कतै विपक्षीका चियाको अनुरोध स्वीकारेर शुभकामना आदानप्रदान गरे त कतै संयुक्त सेल्फी खिचे । विचार गर्नुस्, उतिबेला राणाहरुविरुद्ध उत्रिनेहरुको हविगत के थियो होला ? सुनसान रातमा चप्पल बजेको आवाज  छुसीले श्री ३ का कानमा पु¥याइदेलान भनेर चप्पल फुकालेर सङ्गठन गर्न हिँडेको कुरा इतिहासमा पढ्न पाइन्छ । अहिले त न कोसौँ हिँडेर सङ्गठन गर्न जानु पर्छ न आफूले गर्न खोजेको परिवर्तनको गाम्भीर्यता बोध गर्न सक्ने साथीको अभावमा तड्पिनुपर्छ । पठाएको खबरको  महिनौँ उत्तर नआउने  अवस्थालाई अब मोबाइल फोन र कन्फरेन्स कलका सुुविधाले सुगम बनाएका छन्  । यति सहज र सुगम भौतिक धरातलको विचारै नगरी कसैले वैकल्पिक शक्ति निमार्ण प्रक्रियामा चुनौती मात्र देख्छ भने ऊ कि त भोगी हो कि त ढोगी हो । वैकल्पिक शक्ति निर्माण गर्न कम्मर कसेका नेतृत्वजनले मात्र होइन कार्यकर्ता वृत्तमा पनि यो कुराको हेक्का हुनुपर्छ । 
 २००७ सालको आन्दोलनलाई दबाउन लागिपरेका राणाहरुले पनि जित्न सक्ने आन्दोलनको नेतृत्व गरेका थिए बीपीहरुले । प्रजातन्त्रवादीहरुले न प्रतिशोधको राजनीति गरे न राजनीतिलाई कुण्ठाबाट निर्देशित गरे । जब २०४६ सालमा सही मानेमा प्रजातन्त्र स्थापना भयो तब राजा र राजनीतिक पार्टीका नेतामा जसले सक्यो ऊ राजा बन्ने होडबाजी चल्यो । माओवादी विद्रोहको सुरुवात पनि राजा हटाएर आफू प्रमुख बन्ने होडबाजीको निरन्तरताबाहेक अन्यथा केही थिएन भन्ने कुराको उसका नेता कार्यकर्ताका क्रियाकलापले पुष्टि गरि नै रहेका छन् ।  

काङ्गे्रस एमालेको सत्तामोहले स्थापना गरेको सत्ता केन्द्रित  विकृत राजनीतिको कला कौशलले निपुण माओवादीलाई आज सम्पूर्ण विचार त्यागेर वा छोटो इतिहासलाई भुल्दै गएको छ । उसले जुन प्रकारले सत्ता समीकरण बनाउँदै जसरी पनि सरकारमा जाने र  विराजमान हुने  भूत चढेको छ, त्यो व्यवहारले  न सशस्त्र द्वन्द्वको नाममा भएको वीभत्स घटनाहरुको औचित्यलाई पुष्टि गर्छ न त क्षेत्रीय र जातीय अहंकारलाई बढाएर देशलाई विखण्डनतिर धकेल्न खेलेको भूमिकाको नै पश्चातप छ । झण्डै सत्तरी वर्षको अनवरत सङ्घर्षपछि प्राप्त नेपालको संविधान २०७२ लाई जीवन्त राख्न परिकल्पना गरिएको लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्न छोटो अवधिमै सरकारी स्तरबाट कैयौं पटक माओवादीकै नेतृत्वमा आक्रमण भएको छ । कहिले न्यायलय, कहिले प्रहरी, कहिले सेनालाई विवादमा तानेर यी संस्था संवैधानिक सर्वोच्चताका लागि संविधानले व्यवस्था गरेका संविधानकै अङ्ग हुन भनेर हेक्का राख्न नसक्ने सरकार सङ्कीर्णताको शिकार भएको हो कि  सत्ता उन्मादले मात्तिएको हो बुभ्न कठिन भएको छ । जनता कतिसम्म वाक्क भएका छन् भने यो देशमा लोकतन्त्रको अति नै दुरुपयोग भयो । अब सैनिक शासनविना देश चल्दैन भन्नेदेखि अहिले लोकतान्त्रिक गणतन्त्रभन्दा एकदलीय पञ्चायत नै सही रहेछ भन्नेसम्म तर्क भएको सुनिन्छन् । वैकल्पिक शक्तिका स्रोत बन्न खोजेका डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक पृष्ठभूमिलाई बेवास्था गर्दा पत्तासाफ हुने स्थितिमा पुगेका छन् ।

आज उनको पार्टीलाई नयाँ शक्तिभन्दा पनि माओवादीबाट फुटेको एउटा सानो पार्टीको रुपमा बुझ्न थालिएको छ । पुराना पार्टीको नेतृत्वमा जनताले ल्याएको प्रजातन्त्रको सही मानेमा स्याहार र सम्भार गर्ने सस्कृतिको अभाव तीनै पार्टीमा खड्केकाले नै माओवादीसहित मिलेर अर्काे ऐतिहासिक जनआन्दोलन गुर्नपर्यो । अब फेरि २०६२÷२०६३ को एैतिहासिक जनआन्दोलनका उपलब्धि काङ्ग्रेस, एमाले र माओवादीकै मिलोमतोमा गुम्ने खतराहरु टड्कारो बनिरहेका छन् । यस्ता तमाम जनविरोधी क्रियाकलाप अन्त्य गर्न र जनचाहना बमोजिम विकासका परियोजनालाई अघि बढाउन सरलता र सदाचारिता जस्ता विश्व प्रख्यात राजनीतिक लक्षणले युक्त राजनीतिज्ञले पनि नेतृत्व लिन सुनामी पैदा गर्न सक्ने राजनीतिक कम्पन गराउन सक्नुपर्छ । यसो गर्न पारदर्शिताको नाममा नाङ्गिनु पर्दैन । इमानदारिताको नाममा तामाको खड्कुलोमा बसेर बके झैँ बक्नुपर्दैन । विनापूर्वाग्रह आम जनजिब्रोको  राष्ट्रियता, संवैधानिक सर्वोच्चता र विकासको दूत बन्नुपर्छ ।

अन्याय र अत्याचारका विरुद्ध एक्लै लड्ने डा. गोविन्द केसी र सुशीला कार्कीहरुलाई सङ्गठित् गर्नुपर्छ । उच्च तहमा हुने व्यापक भ्रष्टाचारको खेतीलाई निमिट्यान्न पार्न कानुनी किटनासकको प्रयोग गर्नुपर्छ ।  कर्मचारीतन्त्रलाई जनउत्तरदायी बनाउन नसक्ने, सरकारी शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क मात्र बनाउने र सस्तो लोकप्रियता कमाउनेहरुलाई सेवामा गुणस्तर सिकाउने नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ ।  पचास लाख विदेशिएका युवालाई कसरी उनीहरुकै जन्मथलोमा फर्काउने र उद्यमशील बनाउने, सगरमाथादेखि लुम्बिनी सम्मको अनुपम प्राकृतिक विरासतलाई कसरी हाम्रो हितानुकुल संरक्षण र उपयोग गर्ने ? जलविद्युतको विकास गरेर निर्यात गर्र्ने कि विचौलियालाई लाइसेन्स मात्र बेच्ने ? यी र यस्तै कुराको उत्तर कुनै पनि पुराना राजनीतिक पार्टीसँग छैन । नयाँसँग उत्तर मात्रै हैन, काम गरेर देखाउन सक्ने क्षमता हुनुपर्छ । जनसरोकारका विषयमा जनता विश्वस्त हुने गरी जुन पार्टीले सत्तासिन हुने र जनताको पक्षमा इन्च पनि डगमग नगरी काम गर्ने महत्वकाङ्क्षा राख्छ त्यही पार्टी जसरी पनि नेतृत्वमा पुग्नुपर्छ । नयाँ पार्टीहरुका लागि यो चुनौती होइन, अवसर हो । 


राज्यको हरेक तहमा व्यापक सेवाप्रतिको निरक्षरता, आनाकानी र कानेखुशीलाई चिर्न नसकेर पुराना पार्टीहरु आफै राज्य दोहनको चक्रव्युहमा फस्न पुगेका छन् । भ्रष्ट कार्यकर्ता पाल्न नेता भ्रष्ट बन्नुुपर्ने र भ्रष्ट नेताको चरित्र छोपछाप गर्न सयौं किलोका माला लिएर प्रायोजित कार्यकर्ता लामबद्ध हुनुपर्ने दोहोरो फोहोरी खेलमा जनता च्यापिनुपरेको छ ।  हरेक पार्टीको सत्ता यात्रालाई आम नागरिकले देश र जनतालाई हराउने षडयन्त्रका रुपमा लिन थालेका छन्  । स्थानीय चुनाव करोडौँ खर्च भएको दखिएको छ । संसद विकास कोषको रकम पार्टीगत राजनीतिका लागि कार्यकर्ता पाल्ने हिसाबले नै बाँडचुँड गर्न थालिएको छ । यो अवस्थालाई उल्ट्याउन सक्ने सत्तायात्रा उदाउँदै गरेका पार्टीहरुको गन्तव्य हुनुपर्छ । जनमुखी सत्तालाई साझा र विवेकशील जस्ता पार्टीले आफ्नो घोषित लक्ष्य बनाउनुपर्छ । राजनीतिलाई सुधार गर्ने भनेको सत्ताकोे बागडोर समातेर आफ्नो सत्ता यात्रालाई लम्ब्याउने होइन, देश र जनताको वृहत्तर हितका लागि काम गर्ने हो ।   
 
परिवर्तन अनिवार्य भएको अनुभूति चेतनाको स्तर अनुुसार व्यक्ति विशेषमा फरक हुने गर्दछ । राजनीतिक पार्टीलाई विकासका संवाहक मानेर हेर्नेहरु अहिले नेपालमा राजनीतिक पार्टीका क्रियाकलापलाई हेरेर वा भोगेर वाक्क भएको अवस्था हो । व्यवस्थाको कुरा गर्ने हो पुर्वमा जापानदेखि पश्चिममा बेलायतसम्म राजतन्त्रात्मक व्यवस्था भएका देश कैयौं विकसित देश छन् । उत्तरमा चीनदेखि दक्षिणमा साउथ अफ्रिकासम्म गणतन्त्रात्मक व्यवस्था अँगालेका देशले पनि प्रशस्त प्रगति गरेका उदाहरण छन् । हामी सबैलाई थाहा छ, देश विकासका लागि राजनीतिक व्यवस्था सँगसँगै त्यस देशका राजनीतिक कर्मीको योग्यता र क्षमता र कामप्रतिको लगनशीलताको महत्वपूर्ण भुमिका हुन्छ । 


इमानदारीता र जनउत्तरदायित्वबाट विमुख सीके राउत प्रवृत्तिको मनपरीदेखि माओवादी नेता बालकृष्ण ढुङ्गेलसम्म अदालतको आदेश विपरीत खुलेआम भाषण गर्दै हिँड्ने देशका नागरिकले विकासको भोक मेटाउने कहिलेसम्म परदेश धाउने ? विद्यमान परिस्थितिलाई  उल्टाउन  कम्तीमा मुद्दाका हिसाबले एउटै झैँ लाग्ने विवेकशील र साझा  जस्ता पार्टीबीच कार्यगत एकता अनिवार्य बन्न आउँछ ।  


 फेरि पनि राजनीतिक बेथितिलाई रोक्न जनता स्वतस्फूर्त रुपमा विकल्पको खोजी गरिरहेको समयमा विकल्पको राजनीति गर्न सडक झरेका नेताहरुले वैकल्पिक राजनीतिमा चुनौती होइन, अवसर देख्न सक्नुपर्छ । आफ्नै तलब खर्चेर गरिबको घाउमा मलम लगाउने डाक्टरलाई पागल भन्ने, एउटा कर्तव्यनिष्ठ न्यायमूर्तिलाई महाअभियोग लगाउने अनि लोकमानसिंह जस्ता व्यक्तिलाई चाहिँ रातारात नियुक्ति गर्नेहरुलाई कुनै कारवाही नहुने हाम्रो देश आज यही देशमा स्थापित राजनीतिक नेतृत्वबाटै संरक्षित अराजकताको असह्य प्रसव वेदनाबाट उकुसमुकुस भएर गुज्रिरहेको छ । यो अवस्थाको गाम्भीर्यतालाई बोध गर्न सक्ने सबै नेपाली जनता परिवर्तनका लागि आतुर छन् ।

नेपाली जनताले दिएको मतको अवमूल्याङ्कन गर्नेहरुलाई जनता दण्डित गर्न चाहन्छन् ।  लगनकी दुलही झैँ प्राकृतिक छटाले सिँगारिएको देशमा सौन्दर्यले भरिपूर्ण राजनीति गर्नेहरुका लागि सबैतिरबाट अनुकुल वातावरण बनिरहेको महसुस हुन्छ । यहाँ त जानिनजानी सघाउनेहरुको ठूलै भीड छ । यहाँ रन्जु दर्शनाहरुको ऊर्जालाई किशोर थापाहरुहरुको विज्ञता र अनुभवले सिँगार्ने अवसर छ । राजनीतिका लागि म त कुनै चुनौती नै देख्दिनँ ।

एउटा स्वस्तिक छापले पुस्तौपुस्ताको भविष्य खाडलमा हाल्न नचाहनेहरुले परिवर्तनकारीहरुलाई भोट खसाली सके तर रवीन्द्र मिश्र भने राजनीतिमा चुनौतीको निकै खुलेर कुरा गर्छन् । यो स्वभाविक भएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीपकुमार थापा
प्रदीपकुमार थापा
लेखकबाट थप