मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

यसकारण अझै घटेन ब्याजदर : कुन बैंकको कति छ ब्याजदर ?

आइतबार, २० साउन २०७५, १३ : ५२
आइतबार, २० साउन २०७५

काठमाडौं–बैंक तथा वित्तीय संस्थाको ब्याजदर अझै घटेको छैन । निक्षेपमा दिने ब्याजदर ७ प्रतिशतदेखि ११ प्रतिशतसम्म रहेको विभिन्न बैंकहरुले आफ्नो वेभसाइटमा राखेको ब्याजदरले  देखाउछ । बैंकर्सहरुले अब ब्याजदर घट्दै जाने भने पनि अझै  निक्षेपको ब्याजदर घट्न सकेको छैन । निक्षेपको ब्याजदर बढी हुँदा ऋणको ब्याजदर पनि स्वतः बढ्छ । 

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तिलक रावलले बैंकहरु अहिले सहज अवस्थामा रहेकाले ढिला नगरी ब्याजदर घटाउनुपर्ने बताए ।  उनले भने, ‘अहिले बैंकहरुको ब्याजदर निकै उच्च छ । तर आर्थिक वर्षको अन्त्यमा धेरै पुँजीगत खर्च भएको र रकमान्तरण भएकाले  अहिले बैंकहरुसँग लगानी गर्ने रकम बढ्दै गएको छ । बढी ब्याजदरले आक्रान्त बनेका उद्यमी व्यवसायीलाई ढिला नगरी बैंकहरुले राहत दिन ब्याजदर घटाउनुपर्छ ।’

तर, भर्खरै मात्र ब्याजदर सार्वजनिक गरेका बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरिरहेको छैनन् । ग्लोबल आइएमइ बैंकले  ६ प्रतिशतदेखि साढे १० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।  ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले  अहिले निक्षेपको मार्केट सहज रहेकाले बैंकहरुले विस्तारै ब्याजदर घटाउँदै जाने बताए  । उनका अनुसार केही बैंकले ब्याजदर घटाएका छन् । 
एनआइसी एसियाको निक्षेपमा  ७ प्रतिशतदेखि साढे १० प्रतिशतसम्म छ । एनएमबी बैंकको साढे १० प्रतिशतसम्म ब्याजदर छ भने नबिल बैंकको ११ प्रतिशतसम्म ब्याजदर रहेको छ । 

नबिल बम्पर मुद्दतीमा मासिक ११ प्रतिशत ब्याज भुक्तानी हुनेगरी ब्याजदर तोकिएको छ । यता माछापुछ्र्रे बैंकले बचत मात्र होइन स्मार्ट बचत गरौं भन्दै साढे १० प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेको छ  ।
बैंकहरुले यसअघि तरलता अभाव (लगानी योग्य रकमको अभाव) देखाउँदै निक्षेप तान्न मनोमानी ढंगले ब्याजदर बढाउन थालेपछि बैंकहरुको छाता संगठन बैंकर्स एसोसियसनले बचतमा ८ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा माथि नजाने बनाएको थियो । केही समय कायम भएको यो ब्याजदरको सहमति बीचमा भंग भएसँगै पुनः बैंकहरु ब्याजदर बढाउन आक्रामक देखिएपछि अहिले पनि बैंकर्स एसोसियसनले ब्याजदरमा ७ प्रतिशत र ११ प्रतिशत भन्दा माथि नजाने लगाम लगाएको छ ।  


बेसरेट बढी हुँदा ऋणको ब्याज महंगो, अधिकांशको ११ प्रतिशतभन्दा बढी 
अधिकांश बैंकहरुको बेसरेट नै   ११ प्रतिशतभन्दा बढी देखिएको छ । बेसरेट (आधारमूल्य) बढी रहेको अवस्थामा यसले ऋणको ब्याजदरमा सहजता ल्याउन सक्दैन । माछापुछ्रे बैंकको बेसरेट ११.०६ प्रतिशत छ । बेसरेट प्लस अधिकतम ८ प्रतिशतसम्म ऋणको ब्याजदर  रहेको छ । यो भनेको ऋणको ब्याजदर १९.०६ प्रतिशतसम्म हुन जान्छ । अटोलोन, होमलोन र कर्मसियल भेइकल लोनमा बेसरेट प्लस ५ प्रतिशत रहेको छ । यो भनेको साढे १६ प्रतिशत ब्याजदर हुन जान्छ । 

यता सिभिल बैंक, सिटिजन्स बैंक, जनता बैंकको पनि आधारमूल्य  (बेस रेट) ११ प्रतिशत भन्दा माथि छ । 

ग्लोबल आइएमइ बैंकका सिइओ जनक शर्मा पौडेल बेस रेटनै बढी भएको बैंकको ऋणको ब्याजदर घटाउन कठिन हुने बताउँछन्  । बेस रेट बढी भएपछि ब्याजदर थोरै भनेपनि बढ्न जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप