मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

यी पाँच वटा वाणिज्य बैंकमा कुन अब्बल, यस्तो छ चौथो त्रैमासको प्रतिवेदन

शुक्रबार, १८ साउन २०७५, १३ : ५६
शुक्रबार, १८ साउन २०७५

काठमाडौँ । नयाँ लेखा प्रणाली नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार बैंकहरुले धमाधम वित्तिय विवरण सार्वजनिक गरिरहेका छन् । पुरानो लेखा प्रणाली भन्दा फरक तरिकाबाट प्रतिवेदन ल्याउनुपर्ने भएकाले पनि नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई एनएफआरएस अनुसार प्रतिवेदन सार्वजनिक गर्न १५ दिनको समय थप गरेको छ । 

एनएफआरएस अनुसार एभरेष्ट बैंक, एनआइसी एसिया बैंकले प्रतिवेदन सार्वजनिक गरेका छन् भने पुरानै प्रणालीबाट प्रतिवेदन सार्वजनिक गर्ने सिटिजन्स बैंकले पनि एनएफआरएस अनुसार नै पुन प्रतिवेदन सार्वजनिक गरिसकेको छ । ग्लोबल आइएमइ बैंकले पनि एनएफआरएस अनुसार नै प्रतिवेदन सार्वजनिक गरेको छ । 

पुरानो प्रणालीबाट प्रतिवेदन सार्वजनिक गरेको नेपाल बैंकले पुन एनएफआरएस अनुसार प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हुन्छ । पुरानो प्रणाली र नयाँ प्रणालीमा फरक देखिएको छ । नाफा लगायत सबैजसो सुचकमा भिन्नता देखिन्छ । 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले २ अर्ब ७० करोड ४७ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १७.९० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब २९ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । एनएफआरएस अनुसार बैंकको नाफा पुरानो वित्तीय प्रणालीको प्रतिवेदनमा भन्दा बढेको  देखिएको छ । 

एभरेष्टले असार मासान्तसम्म १ खर्ब १४ अर्ब ८५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ९५ अर्ब  ९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले असारमसान्तसम्म ९२ अर्ब ७७  करोड ७४ लाख रुपैयाँ ऋणमा लगानी गरेको छ ।  ब्याज आम्दानीबाट ४ अर्ब ९२ करोड ४७ रुपैयाँ कमाएको छ ।  यसको प्रतिसेयर आम्दानी ३४.३७ रुपैयाँ छ ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा एक अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । यो एनएफआरएस अनुसार देखिएको नाफा हो । पुरानो प्रणाली अनुसार १ अर्ब १९ करोड रुपैयाँ नाफा देखिन्छ । गत वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो ।  यस बैंकले असार मासन्तसम्म १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस बैंकले १ खर्ब २१ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । एनआइसीले ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ ब्याजबाट आम्दानी गरेको छ ।  असारमसान्त सम्म बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँ छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । यसले नाफामा ३०.२१ प्रतिशतले बृद्धि गरेको हो । अघिल्लो बर्ष १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ६७ लाख रुपैयाँ गरेको छ । ६१ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकको ५७ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ । 

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमइ बैंकको नाफामा ४.८९ प्रतिशतको बृद्धि देखिएको छ । यस बैंकले एक अर्ब ९८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले १ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९३ अर्ब ३७ करोड रुपैयाा कर्जा लगानी गरेको छ । ब्याजबाट ३ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३० पैसा (वार्षिक) रहेको छ । 

नेपाल बैंक
पुरानै लेखा प्रणाली अनुसार वित्तिय विवरण सार्वजनिक गरेको नेपाल बैंकको नाफा ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाा पुगेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले बढेको हो । ब्याज आम्दानीबाट बैंकले ६ अर्ब ३६ करोड रुपैयाँ कमाएको छ । यस बैंकले ९९ अर्ब ८३ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७९ अर्ब ६३ करोड ऋण प्रवाह गरेको छ । यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ २७ पैसा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप