जुन गाउँमा एउटा यस्ता छोरा जन्मिए
गुल्मी– करिब दुई दशकअघिसम्म अरू समुदायबाट ‘खाई पिई गरेरै सक्किएका मगरहरू’को उपमा पाएको गाउँ हो त्यो ।
घरमा खाद्यन्न नभएर तीन चार दिनसम्मको बाटो हिँडेर टाढाका गाउँमा बेसाहा (अन्न) खोज्न जाने गर्दथे उनीहरू ।
हुन त भारतीय सेनाका लाहुरेहरू पनि थिए गाउँमा ।
तर खाईपिई गर्दागर्दै जोरजाममा उनीहरूको ध्यान जाँदैनथ्यो ।
गाउँमा ससाना खरका झुपडी हुन्थे ।
ती झुपडीहरूमा दैनिकजसो रक्सीका बान बसालिन्थ्यो ।
‘बिहानैदेखि रक्सीले मातेर टिल्ल हुन्थे पुरुषहरू । घरघरमा सुँगुर हुन्थे । बाटादेखि घरको दलानसम्म सुँगुरको दिसाले पाइला हाल्न गाह्रो हुन्थ्यो ।’ गाँउका बुढापाकाहरु सम्झन्छन् ।
अझ वर्षायाममा त झनै समस्या हुन्थ्यो । यो कथा हो–हालको मुसिकोट नगरपालिका वडानम्बर ४ दजाकोट गाउँको ।
स्थानीयले तल्ला गाउँ भन्ने दजाकोट एकाध बाहेक पूरै मगर समुदाय रहेको गाउँ हो ।
जुन गाउँमा एउटा छोरा यस्तो जन्मिए–जसले उच्च शिक्षा अध्ययन गरी स्थानीय विद्यालयमा अध्यापन गर्न थाले ।
त्यस गाउँको फोहोर, असचेत मानिस र खर्चिलो बानी व्यवहारप्रति उनी चिन्तित हुन थाले ।
उनीहरूलाई सङ्गठित र सुसूचित गर्न उनलाई धौधौ नै भयो ।
‘यसो गरौँ, उसोगरौँ’ भनेर उनले सम्झाउँदा ‘बाठो हुन्छस्’ भनेर उनलाई कुट्नसमेत आइलाग्थे ।
तर उनी २०५१ सालमा भने गाउँबासीलाई सङ्गठित गर्न सफल भए । उनले त्यस वर्ष ‘गाउँ सुधार समिति’ गठन गर्न सफल भए ।
पहिला घरघरका सुँगुर विस्थापति गर्ने अभियानमा लागे ।
गाउँवासीको त्यही सुँगुर र घरेलु मदिरा मुख्य आयआर्जनको माध्यम थियो । जसलाई विस्थापित गर्न उनलाई ठूलै चुनौती थियो ।
दिनहुँ जाँड रक्सीमा मास्ने पैसा बचत
खल्तीमा पैसा भयो कि रक्सीमा खर्च गर्ने बानी । लाहुरे घर आयो कि जुवातास, खानपिन र अनेक भड्काइँ । यस्तै चल्दै थियो–त्यति बेलासम्म त्यस गाउँमा ।
गाँउका हरि छन्त्यालले त्यसरी खर्च हुने पैसा प्रत्येक घरधुरीबाट बचत अभियान चलाए ।
जतिबेला उनलाई यसले पैसा उठाएर खानलाग्यो भन्ने आरोप पनि लाग्यो ।
बचत सङ्कलनसँगै सुँगुर विस्थापित र बाख्रापालन अभियान सुरु गरे । पछिल्लो दुई दशकदेखि हालसम्म उक्त गाउँ सुधारका अभियान्ता हुन् हरिप्रसाद छन्त्याल ।
जतिवेला राज्य र जिल्लाले समेत खुल्ला दिशामुक्त गाउँको परिकल्पना गर्न सकेको थिएन ।
उनले त्यस गाउँलाई २०५१ सालमै खुला दिसामुक्त गाउँ घोषणा गरेर देखाइदिए ।
स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयका प्रधानध्यापकको जागिर छाडेर हाल उनी त्यस नगरपालिका कार्यसमतिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक छन् ।
८५ घरधुरीमध्ये ५८ वटा अव्यवस्थित घर, गोठ र शौचालयलाई व्यवस्थित घर, गोठ र शौचालय निर्माण गराए ।
सुखद् क्षणमा अकल्पनीय विपद्
लामो प्रयासपछि गाउँमा आएको सुधारले छन्त्याल र उनका सहयोगी अभियान्ताहरू सुखद् क्षणमा थिए ।
दुर्भाग्य !
२०७३ वैशाख १८ गते गाउँ नजिकैको जङ्गलमा भीषण आगलागी भयो ।
अकल्पनीय रूपमा आगो पस्यो गाउँमा ।
५७ वटा घर र त्यति नै मात्रमा गोठहरू जलेर त्यो गाउँ भग्नावशेष जस्तै बन्यो ।
सयौँ चौपाया र चराचुरुङ्गी मरे ।
एक जनाको जलेर ज्यान गयो ।
करोडौँको क्षति भयो ।
त्यतिबेलाको विपद्लाई स्थानीय सञ्चारकर्मीहरूले संसारभर फैलाए ।
एकपछि अर्को हुँदै सहयोग ओइरिन थाल्यो ।
अहिलेसम्म १ करोड ८२ लाख सहयोग भइसकेको छन्त्याल बताउँछन् ।
जापानको हिरोसिमामा जस्तै अहिले फेरि शून्यबाट गाउँको विकासमा सक्रिय छन् उनी ।
आगलागीपछि नमुना घर, गोठ र शौचालय धमाधम बन्दैछन् ।
तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेत, हालका श्रम रोजगार मन्त्री गोकर्ण विष्ट, तत्कालीन सांसद चन्द्र भण्डारीलगायतका नेताहरू पुगे त्यतिबेला ।
मन्त्री बस्नेतले पानीको अभावकै कारण ती घरहरू जल्नबाट बचाउन नसकिएको बुझेर सरकारको तर्फबाट त्यहाँ लिफ्टिङ सिस्टम खानेपानी योजना घोषणा गरेर गए ।
तत्कालीन सांसद विष्टले अस्थायी बसोबास छाउने जस्तापाता, खाने पकाउने भाँडा कुँडा उपल्ब्ध गराए ।
प्रत्येक राजनीतिक दलका युवाहरू महिनौँ त्यही शिविर राखेर बसोबास निर्माण र सामूहिक भोजन गराए ।
कैयौँ सङ्घ संस्था व्यक्तिले त्यस गाउँलाई प्रयाप्त जिन्सी समेत प्रदान गरे ।
पश्चिममा आगो लाग्दा पूर्वी नेपाल पनि सहयोगका लागि आइपुग्यो ।
घरघरमा कम्तीमा पनि पाँचवटा बाख्रा अनिवार्य पालिँँदा अहिले हरेक घरधुरी आत्मानिर्भर भएका छन् ।
शिक्षित हुनेको सङ्ख्या पनि बढ्दो छ ।
घर घरमा टेलिभिजन र इन्टरनेट चलाइन्छ ।
प्रायः धेरैले मोटरसाइकल सुविधा लिएका छन् ।
सदरमुकामबाट त्यो गाउँसम्मै यातायातको सुविधा छ ।
वर्षौं अघिदेखि गाउँमै अदालत
अहिले स्थानीय तहको निर्वाचनपछि मात्र न्यायिक समितिको परिकल्पना बाहिर आयो ।
तर दजाकोट गाउँमा आजभन्दा २५ वर्षअघि नै अदालत थियो ।
कुनै समय दजाकोटका झगडालु मगरको उपमा समेत पाएका दजाकोटेहरू जुन ठाउँमा रामरमिता भयो, त्यही ठाउँमा अरू गाउँका मानिस कुटेर फर्कन्थे ।
एक जनाले कुट्न थाल्यो कि सबै दजाकोटेहरू ओइरिन्थे ।
हातहातमा लाठी बोकेर रामरमितामा आउने गरेपछि धेरैजसो गाउँका मानिसहरू उनीहरूसँग नडराई बस्न सक्दैनथिए ।
त्यो दादागिरी नियन्त्रण गर्न छन्त्याल र उनक सहयोगीहरूलाई निकै गाह्रो भयो ।
तर विस्तारै प्रशिक्षित गर्दै गए ।
झगडा गर्नेहरूलाई तह लगाउन २०५१ सालमै न्यायिक समिति गठन गरियो ।
त्यसले झन्डै झन्डै ‘जनअदालत’को काम गर्दै आयो ।
कोही कसैबाट कुटिए धमाधम कारवाही गरियो ।
अहिले पूर्णतः शान्त र सभ्य गाउँ बनेको छ दजाकोट ।
उठेको सहयोगबाट चिटिक्क परेका पक्की घर बन्दै छन् ।
त्यतिबेला सांसद विष्टले सरकारबाट एक एक लाख दिलाउने घोषणा गरेअनुरूप हिजो मात्र मुसिकोट नगरपालिकाले ३० घरलाई एक एक लाख दियो भने बाँकी २७ घरलाई भदौभित्रमा उपलब्ध गराउने मेयर सोमनाथ सापकोटाले प्रतिबद्धता जनाए ।
उनले अभियान्ता छन्त्यालले गाउँ सुधारमा खेलेको भूमिकाको सह्रना गर्दै अन्य गाउँबासीले पनि उनको जस्तै कार्यलाई शिरोधार्य गर्न सके विकास र सुधार नागरिक आफ्नै हातमा पनि हुने सुझाव दिए ।
राजनीति गर्नेहरू पहिला आफ्नो गाउँ सुधार गर
छन्त्याल भने त्यसको श्रेय आफूले मात्र लिन नसक्ने बताउँछन् ।
उनले भने– ‘मेरो त पहल मात्रै हो । मजस्ता थुप्रै साथीहरूले अगुवाइ गर्नु भयो । दिदीबहिनी आमाहरूले निकै साथ दिनु भयो । यसको श्रेय हालसम्म त्यहाँका शिक्षित र सचेत वर्ग सबैलाई जान्छ ।’
गाउँमा हरि सरका नामले चिनिने छन्त्याल अति सीमान्तकृत समुदायका व्यक्ति हुन् ।
अन्य गाउँमा बस्ने उनी जस्तै छन्त्याल समुदायका कैयाँै मानिसहरूले अहिलेसम्म उचित शिक्षा र बसोबास पाउन सकेका छैनन् ।
स्थानीय अगुवाहरू भन्छन्–‘उनलाई यहाँसम्म ल्याउने राजनीति हो ।’
उनी स्कुले जीवनदेखिनै तत्कालीन नेकपा मालेको विद्यार्थी सङ्गठनमा आबद्ध भए ।
हाल तत्कलीन एमालेको जिल्ला सचिवालय सदस्य रहेका छन्त्याल पहिला आफू र आफ्नो गाउँ नसुधारेसम्म राजनीति गर्नुको अर्थ नरहेकोे बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा