सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

घट्दै छ नेपालमा स्तनपान गराउने आमाको संख्या

बुधबार, १६ साउन २०७५, १३ : ४३
बुधबार, १६ साउन २०७५

काठमाडौँ । ‘स्तनपान जीवनको आधार’ भन्ने मुल नाराका साथ यस वर्षको स्तनपान दिवस मनाइँदैछ । साउन १६ देखि २२ सम्मसंचालन हुने स्तनपान सप्ताहमा स्तनपानका विभिन्न विषयको बारेमा नागरिकलाई जानकारी गराइने छ । 

विश्व स्तनपान सप्ताह तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर गुणराज लोहनीले विभाग अन्तर्गत स्वीकृत हुने अस्पतालले स्तनपान कक्ष नबनाएसम्म स्वीकृती नदिने बताए । आज विभागमा स्तनपान कक्षको पनि शुभारम्भ गरिएको छ ।

कार्यक्रममा सार्वजनिक गराइएको जानकारी अनुसार नेपाल जनसांख्यीक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत रहेको छ । यो शिशु जन्मेको ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या हो । यस्तै शिशु जन्मेको १ घण्टा भित्रमा स्तनपान गराउने आमाको संख्या ५५ प्रतिशत रहेको छ । 

स्तनपानले शिशुलाई चौतर्फी बृद्घि—विकासका लागि चाहिने कार्बोहाईड्रेड, प्रोटिन, बोसो, भिटामीन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा प्रदान गर्दछ । तयारी अवस्थाको, सजिलै पाउन सकिने, शिशुले चाहेमा जुनसुकै वेला ख्वाउन सकिने आमाको दुध अत्यन्त पोषिलो पदार्थ हो । 

स्न २००१ देखि अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको देखिन्छ । सन् २००१ मा ६८.३ प्रतिशत ,२००६ मा ५३, सन् २०११ सम्म ६९.९ प्रतिशत आमाले ६ महिनासम्म स्तनपान गराएका थिए भने सन् २०१६ मा घटेर ६६.१ प्रतिशतमा पुगेको देखिन्छ । 

यस्तै शिशु जन्मेको १ घण्टा भित्रमा स्तनपान गराउने आमाको संख्या भने झनै घट्दै गइरहेको छ ।

काठमाडौँ उपत्यकामा सन् २०१४ को सरकारी तथ्याङ्क अनुसार शिशु जन्मेको १ घण्टाभित्रमा स्तनपान गराउनेको संख्या ४१ प्रतिशत रहेको छ । 

स्तनपानसम्बन्धी परामर्श ११ प्रतिशत, शिशु जन्मे बित्तिकै आमाको नाङ्गो छातीमा टसाएर राख्नेको संख्या ९ प्रतिशत, शिशु जन्मेको ३ दिन भित्र दूधको प्रयोग गर्नेको संख्या ५७ प्रतिशत रहेको छ । 
यसैगरी सरकारी तथ्याङ्क अनुसार स्तनपान गराउनुअघि १० जना नवजात शिशुमध्ये ३ जना शिशुलाई घ्यू, मह, चिनी चटाउने गरेको जनाइएको छ ।

तथापि शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाका दूधलाई प्रतिस्थापन गर्ने फर्मुलाहरु खुवाइने गरिएको छ । यस्ता फर्मुलाहरुको बिक्री वितरण र नियमन गर्न ल्याएको आमाको दूधलाई पतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ को कडा कायान्वयनका लागि सरकारले हालै मात्र ६ वटा प्रदेशमा निरिक्षणको तालिम सम्पन्न गरेको पनि कार्यक्रममा जानकारी दिइयो । जसको लागि प्रदेशस्तरकमा स्तनपान सम्बर्धन र संरक्षण उपसमिति गठन गरी त्यसका सदस्य तथा प्रदेशस्तरीय निरिक्षणहरुको क्षमता अभिबृद्धि गर्दै निरिक्षणमा परिचालन गर्ने पनि कार्यक्रममा जानकारी गराइएको छ । 

यस वर्षको स्तनपान प्रवद्र्धन कार्यक्रम

—आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तु (बिक्री वितरण नियन्त्रण ) ऐन ,२०४९ लाई पुनरावलोक गरी संशोधन गर्ने । 

— प्रदेशस्तरमा स्तनपान संबद्र्धन,प्रबद्र्धन तथा संरक्षण उपसमिति गठन गरी त्यसका सदस्य तथा प्रदेशस्तरीय निरीक्षक तोक्ने तथा निरिक्षकहरुको क्षमत अभिबृद्धि गर्दै अनुगमन गर्ने । 

— ३० वटा सार्वजनिक स्थल तथा वालमैत्री अस्पतालमा स्तनपान कक्ष स्थापना गर्ने ।

— ३० वटा स्वास्थ्य संस्थाहरुलाई मातृ तथा वाल मैत्री अस्पतालको रुपमा विकास गर्ने ।

— प्रदेश तथा स्थानियस्तरका स्वास्थ्य संस्थाहरु तथा सार्वजनिक स्थलहरुमा स्तनपानसम्बन्धी पोस्टर, क्यालेन्डर तथा संचार सामाग्री बितरण गर्ने ।

—समुदाय स्तरमा महिला स्वास्थ्य स्वंयसेविका,आमा समुहरुलाई स्तनपाको महत्व एवं स्तनपानसम्बन्धी आसनबारे अभ्यास प्रदर्शन गर्ने ,शिशु तथा वाल्यकालिन पोषणबाररे बताउने र स्तनपान गराउदाको फाईदा बेफाईदाको बारेमा जानकारी गराउने ।

— फार्मेसी तथा बजार अनुगमन समिति तथा विभिन्न  सरोकारवाला निकायहरुसँग समन्वय गरी यस ऐनको बारेमा ब्यापक जनचेतना गर्ने । 

१ प्रतिशतले स्तनपाननै गराउँदैनन्

स्तनपानको साथसाथै अरु थप आहार खुवाइएको संख्या भने १२ प्रतिशत रहेका छन् । स्तनपानको संगै झोलिलो खाना खुवाइएको संख्या २२ प्रतिशत रहेको छ भने शिशुलाई कहिले पनि स्तनपान नगराउने आमाको संख्या १ प्रतिशत रहेको छ । स्तनपान अभ्यासलाई सुधार गरिएमा वार्षिक विश्वभरी ८ लाख २० हजार बालबालिकको ज्यान जोगाउन सकिने जनाइएको छ । 

स्तनपान गराउने हो भने बालबालिकामा देखिने ख्याउटोपन, कम तौल र पुड्कोपन पनि कम हुने सरकारी निकायको अनुमान रहेको छ ।

शिशुको गर्भमा हुदा ३० प्रतिशत, १ वर्षभित्र २५ प्रतिशत, २ वर्षभित्रमा पनि २५ प्रतिशत ,५ वर्षम भित्रमा १० र ५ वर्ष पछि १० प्रतिशत बौद्धिक विकास हुन्छ ।  

हालको श्रम ऐन, २०७४ ले स्तनपान गराउने महिलाहरुलाई ९८ दिन सुत्केरी बिदा दिने प्रवधानको पनि व्यवस्था गरेको छ । 

कानुनी व्यवस्था र मापदण्ड 

महिला कर्मचारीहरुलाई प्रसूति बिदाको सुविधा ६० दिनसम्म दिइरहेको व्यवस्थालाई बढाई अन्तर्राष्ट्रिय श्रम ऐन अनुसार ६ महिना हुनुपर्ने महिला बालबालिका तथा समाजकल्याणमार्फत बहसपैरवी गरी स्न २०२० सम्ममा विद्यमान कानुन संसोधनगर्न पहल गरिने जनाउँदै आइरहेको छ । 

आईएलओ सन्धीमा सुत्केरी महिलाले कम्तिमा ९८ दिन प्रसूति बिदा पाउनेछन् भने पुरुष कर्मचारीले पारिश्रमिकसहित दुई हप्ता सुत्केरी विदा पाउने प्रावधान रहेको छ । यस्तै सार्क राष्ट्रहरुको सवालमा कुरा गर्ने हो भने  बंगलादेश र भारतमा ६ महिनासम्म प्रसूति बिदा दिने प्रवधान रहेको छ । 

विश्वको तथ्याङ्क हेर्ने हो भने आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा अत्याधिक बृद्धि भइरहेको छ । सन् २०१४ मा यस्ता वस्तुमा विश्वभर ४५ खर्ब खर्च भएको थियो भने स्न २०१९ सयमा अनुमानित रु ७२ खर्ब खर्च हुने जनाइएको छ । आमाको स्तनपानलाई प्राथमकिता दिने हो भने विश्वभर ३ सय खर्ब वार्षिक जोगाउन सकिने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप