शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरियामा नेपाली विद्यार्थी : कन्सल्टेन्सीको ललिपप, डिप्रेसनमा विद्यार्थी

मङ्गलबार, १५ साउन २०७५, ११ : ४३
मङ्गलबार, १५ साउन २०७५

नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य हो दक्षिण कोरिया । कोरियन भाषा पढेर ईपीएस परीक्षा उत्तीर्ण गरेपछि कोरियामा रोजगारीमा जान पाइन्छ । कोरिया पुगेकाहरूले मासिक करिब २ लाखको हाराहारीमा बचत गरेको धेरै नेपालीले देखेका छन् । आकर्षक कमाइ हुने सपना देखेका नेपालीहरू इपीएस परीक्षामा उत्तीर्ण हुन नसके विद्यार्थी भिसामै भए पनि कोरिया जान थालेका छन् । 

७, ८ वर्षअघिसम्म कोरियामा उच्च शिक्षाका बारेमा कुनै जानकारीसम्म नभएको नेपालमा पछिल्लो ५ वर्षमा भने यसले छलाङ नै मारेको छ । पछिल्लो ५ वर्षमा करिब ३ हजार ५ सय नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि भन्दै दक्षिण कोरिया पुगेका छन् ।

गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७४/७५ मा मात्रै नेपालबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएर दक्षिण कोरियामा उच्च शिक्षाका लागि पुग्ने विद्यार्थीको सङ्ख्या १ हजार २९ जना पुगेको छ । दक्षिण कोरिया जाने विद्यार्थीको चाप दैनिक रूपमा बढ्न थालेको छ । तर के दक्षिण कोरिया अध्ययनसँगै रोजगारीका लागि आकर्षक मुलुक हो त ?

केही समयअघि दक्षिण कोरियास्थित नेपाली राजदूतावासले काठमाडौँस्थित परराष्ट्र मन्त्रालयलाई एउटा पत्र पठायो । उक्त पत्रमा दक्षिण कोरियाको विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आर्थिक र मानसिक अवस्था तथा उनीहरूले भोग्नुपरेको पीडा र डिप्रेसनबारे उल्लेख गरिएको छ । दूतावासको उक्त पत्रमा कोरियाको कुङसुङ विश्वविद्यालय, कुङदोङ विश्वविद्यालय, जेजु हाल्ला विश्वविद्यालय र सोल ब्रिज कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाबारे उल्लेख गर्दै अध्ययनका लागि दक्षिण कोरियामा विद्यार्थी पठाउँदा सोच्नुपर्ने बेला आएको बारे उल्लेख गरिएको छ ।

दूतावासको उक्त पत्रमा नेपालका कन्सल्टेन्सीहरूले झुटो आश्वासन र झुटो डिलिङ गरेर नेपाली विद्यार्थीलाई कोरिया पठाएको तर कोरियामा खाने, बस्ने तथा रोजगारीको उचित व्यवस्था नहुँदा विद्यार्थी डिप्रेसनको सिकार भएको उल्लेख गरिएको छ । 

सोलस्थित नेपाली दूतावासले परराष्ट्रमा पठाएको उक्त पत्रकै आधारमा परराष्ट्र मन्त्रालयले यसबारे थप निर्णय लिन भन्दै पत्रसहित शिक्षा मन्त्रालयमा पठाएको छ । शिक्षा मन्त्रालयमा यसबारे अहिले छलफल चलिरहेको छ । 

काम छैन, विद्यार्थी डिप्रेसनमा छन् : दूतावास

सोलस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) किरण शाक्यका अनुसार विद्यार्थीका समस्याबारे आफूहरूले परराष्ट्र मन्त्रालयमा जानकारी गराएका छन् । नेपालबाट विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि आएका विद्यार्थीहरूले इमेल तथा फोनमार्फत् आफूहरू नेपालको कन्सल्टेन्सीको ठगीमा परेको र बिचल्ली भएको भन्दै गुनासो र उजुरी गरेका थिए । त्यही गुनासो तथा उजुरीका आधारमा सोलस्थित दूतावासले कोरियाको विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा गएर नेपाली विद्यार्थीलाई भेटेको थियो । 

जब दूतावास आफैले कोरियाका विभिन्न कलेजहरूमा गएर नेपाली विद्यार्थीलाई भेट्यो, स्थिति झनै भयावह देखियो । अध्ययनका लागि आएका अधिकांश विद्यार्थी डिप्रेसनमा परेको भेटियो । कतिपय विद्यार्थीले आफूलाई उद्धार गरी नेपाल पुर्याइदिन आग्रहसमेत गरे । कलेजको भाषा नबुझ्ने, भाषा नहुँदा काम नपाउने छोटो समय काम पाए पनि पूरा तलब नपाउने, काम लगाइदिने एजेन्टले कमिसन लिनेलगायतको समस्या विद्यार्थीले भोगिरहेका रहेछन् । 

त्यति मात्रै होइन, नेपालका कन्सल्टेन्सीले प्रतिविद्यार्थी कम्तीमा १ लाखदेखि २ लाखासम्म नाफा राखेर कोरिया पठाएका छन्, मासिक २ लाखसम्म कमाइ हुने भनेर । तर त्यहाँ मासिक २ लाख त के २० हजार कमाउन पनि धौ–धौ भएको भेटिएको छ । 

कन्सल्टेन्सीको यस्तै झुट र आश्वासनका कारण नेपाली विद्यार्थीहरू १४ लाखसम्म तिरेर कोरिया आएको तर भनेजस्तो कलेज नहुने, काम नपाउने र पासपोर्टसमेत कलेजले जफत गर्ने समस्याका कारण आफूहरू डिप्रेसनमा पुगेको विद्यार्थीले बताए । त्यही अनुसार दूतावासले परराष्ट्र र परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयमा अहिले सो ब्यहोराको पत्र पठाएको छ । 

सोमबार साँझ रातोपाटीसँगको कुराकानीका क्रममा पनि सोलस्थित डेपुटी चिफ अफ मिसन किरण शाक्यले विद्यार्थीहरू डिप्रेसनमा परेको तथा विद्यार्थी भिसामा  कोरिया आउनेले काम पाउन ज्यादै मुस्किल भएको बताए । 

कन्सल्टेन्सीको झुट र लुट 

अहिले काठमाडौँ र पोखरामा गरी दक्षिण कोरियामा विद्यार्थी पठाउने कन्सल्टेन्सीको सङ्ख्या २० भन्दा माथि रहेको छ । यी कन्सल्टेन्सीहरूले ‘युरोपभन्दा पनि राम्रो’ भन्दै विद्यार्थीलाई दक्षिण कोरियामा बिक्री गरिरहेका छन् । यस्ता कन्सल्टेन्सीहरूले नेपाली विद्यार्थीबाटै कमिसन वा सर्भिस चार्ज भन्दै प्रतिविद्यार्थी १ लाखदेखि २ लाखसम्म शुल्क लिएका छन् । कन्सल्टेन्सीले नेपालबाट मात्रै होइन, दक्षिण कोरियाका कलेजबाटसमेत विद्यार्थी पठाएबापत कमिसन लिने गरेका छन् । जसबाट कन्सल्टेन्सी मालामाल हुँदा विद्यार्थीको भने बेहाल हुने गरेको छ ।

कुन कुन कन्सल्टेन्सीले पठाउँछन् कोरियामा विद्यार्थी ? 

दक्षिण कोरियामा विद्यार्थी पठाउनेमध्ये प्रमुख कन्सल्टेन्सी भनेको बागबजारस्थित एसडी मिराकल कन्सल्टेन्सी नै हो । गत वर्षको एक सिजनमा मात्रै यस कन्सल्टेन्सीले ७० जना विद्यार्थीलाई कोरिया पठाएको कोरियास्थित नेपाली विद्यार्थीले बताएका छन् । त्यसैगरी अर्को ठूलो कन्सल्टेन्सी भनेको बानेश्वरको थापागाउँस्थित प्रोप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी हो । कोरियामा विद्यार्थी पठाउने प्रमुख दुई कन्सल्टेन्सी यिनीहरू नै हुन् । त्यसबाहेक सिल्भर एजुकेसन, सेभेन एजुकेसन, सिलिकन एजुकेसन आदि कन्सल्टेन्सीहरूले पनि दक्षिण कोरियामा अध्ययन तथा कामका लागि भन्दै विद्यार्थी पठाउने गरेका छन् ।

गर्नुपर्ने आइएलट्स, पढ्नेचाहिँ कोरियन भाषामा !

अध्ययनका लागि दक्षिण कोरियामा जान चाहने विद्यार्थीले पहिले अङ्ग्रेजी भाषा परीक्षा अर्थात् आइएलट्सको परीक्षा उत्तीर्ण हुनुपर्छ । नेपालमै आइएलट्सको परीक्षा दिई कम्तीमा ५ दशमलब ५ अङ्क ल्याउने विद्यार्थीले मात्रै कोरियामा आवेदन दिन पाउँछन् । कलेजले अफर लेटर पठाउँदा पनि पढ्ने भाषाको छनोट गर्न पाउँछन् । भाषाको छनोट गर्दा अङ्ग्रेजी भाषा छनोट गरे पनि कोरियामा आएपछि भने कोरियन भाषामै अध्ययन गर्नुपरेको जेजुमा अध्ययनरत विद्यार्थी समिर थापा (नाम परिवर्तन)ले बताए । उनले सुरुमा अङ्ग्रेजी भाषामै अध्ययन गर्ने भनेर छनोट गरेका थिए । तर कोरियामा अङ्ग्रेजी भाषा भनेको अतिरिक्त अर्थात् मेजर विषय मात्रै रहेछ । अन्य सबै विषयमा कोरियन भाषामै अध्ययन गर्नुपर्ने बाध्यता रहेको थापा बताउँछन् । 
छात्रवृत्ति पहिलो महिना मात्रै !

कोरियास्थित कुङसुङ विश्वविद्यालय, कुङदोङ विश्वविद्यालय, जेजु हाल्ला विश्वविद्यालय आदि विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनका लागि आउने कतिपय विद्यार्थीलाई आंशिक छात्रवृत्ति दिइएको थियो । छात्रवृत्ति भनेकाले केही सर्भिस चार्ज र ६ महिनाको शुल्क तिरेर आएका विद्यार्थीलाई पनि पहिलो महिना मात्रै छात्रवृत्ति दिइएको त्यहाँ अध्ययनरत विद्यार्थीले गुनासो गरेका छन् । दोस्रो महिनादेखि कलेजले शुल्क माग्न थालेको तर कन्सल्टेन्सीमा कुरा गर्दा छात्रवृत्तिको व्यवस्था कलेजले गर्ने भएकाले कलेजसँग नै कुरा गर्न भन्दै पन्छिएको अर्का विद्यार्थी रमेश सापकाेटा (नाम परिवर्तन) ले बताए ।

काम पाउनै मुस्किल

काठमाडौँमा कन्सल्टेन्सीले विद्यार्थीलाई काउन्सेलिङ गर्दा कोरियामा काम पाउन कुनै समस्या नभएको भन्दै ‘डिल’ गर्छन् । अमेरिकापछिको राम्रो देश भन्दै कोरियाबारे बढाईचढाई गर्छन् । तर कोरियाको यथार्थ भने त्योभन्दा विल्कुल फरक छ । कोरियाकै कुङसुङ विश्वविद्यालय, कुङदोङ विश्वविद्यालय, जेजु हाल्ला विश्वविद्यालय र सोल ब्रिज कलेजमा अध्ययनरत करिब ३ सय विद्यार्थीमध्ये आधा विद्यार्थीले पनि काम पाएका छैनन् । भाषाको समस्या, विश्वविद्यालयले पासपोर्ट र एलिएन कार्ड (बसोबास गर्ने परिचयपत्र) जफत गरेर राख्ने हुँदा काम पाउन ज्यादै मुस्किल हुने गरेको छ । 

केही विद्यार्थीले काम पाए पनि पूरा तलब पाउन सक्दैनन् । काम पाउनका लागि नेपाली दलालहरूलाई सम्पर्क गर्नुपर्छ । दलालले प्रत्येक महिना तलबको २० प्रतिशत कमिसन भन्दै खाइदिन्छन् ।

सातामा २० घण्टा मात्रै काम, उद्योगमा विद्यार्थीलाई ‘नो इन्ट्री’

कोरियामा काम पाउने स्थान भनेको मुख्यतः उत्पादनमूलक उद्योगहरूमा नै हो । अहिले पनि कोरियाका उद्योगहरूमा कामको खासै समस्या छैन । औद्योगिक क्षेत्रहरूमा काम पाउन कुनै समस्या छैन । 

तर कोरियामा अध्ययनका लागि गएका विद्यार्थीले उद्योगमा काम गर्न पाउँदैनन् । उनीहरूलाई सेवामुखी व्यवसायमा मात्रै काम गर्ने छुट छ । सेवामुखी व्यवसाय भन्नाले होटल, रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, क्याटेरिङ आदि स्थानमा मात्रै काम दिइन्छ । सस्तो मूल्यको यस्तो काम पनि दैनिक ४ घण्टाभन्दा बढी पाउनै मुस्किल छ । त्यसकारण कोरियामा विद्यार्थीले काम पाउने सम्भावना न्यून छ भने कनाम पाए पनि पूरा तलब पाउन सक्दैनन् । जसका कारण कोरियामा पढेर कमाउन टाढै जाओस्, बाँच्न पनि मुस्किल छ ।

‘प्लिज कोरियामा पढ्न भनेर नआउनुस्’

दक्षिण कोरियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत विद्यार्थी कोरियामा पढ्नका लागि नआउन अनुरोध गरिरहेका छन् । ईपीएस प्रणालीबाट कामका लागि कोरिया आउनु राम्रो भए पनि विद्यार्थी भिसामा आउनेको बिजोग भएको उनीहरू बताउँछन् । कोरियामा काम र माम होइन, तनाव र डिप्रेसन मात्रै हुने गरेको त्यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । उनीहरू भन्छन्, ‘प्लिज कोरियामा पढ्न भनेर नआउनुस् । अन्ततः फ्रस्टेसन र डिप्रेसनको शिकार हुनुभन्दा बढी केही पाइँदैन ।’

कोरियास्थित नेपाली विद्यार्थीको संस्था सोन्सिकले तयार पारेको एक भिडियोमा पनि त्यहाँ अध्ययनरत विद्यार्थीले कोरियाका समस्याबारे बोल्दै कोरियामा अध्ययनका लागि नआउन आग्रह गरेका छन् । 

दूतावासलाई विद्यार्थीको मार्मिक पत्र : बाकस बोकेर विश्वविद्यालयमा आउनु नपरोस्

कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले केही समयअगाडि सोलस्थित नेपाली दूतावासमा पत्र लेखे । धेरै विद्यार्थीले दैनिकरूपमा फोन वा इमेलमार्फत् दूतावासमा गुनासो र उजुरी गर्ने गरेका छन् । तिनै विद्यार्थीले पठाएकामध्ये रातोपाटीलाई एउटा मार्मिक पत्र प्राप्त भएको छ । पत्रमा आफूहरू फ्रस्टेसन र डिप्रेसनको शिकार भएको भन्दै चाँडै नै नेपाली विद्यार्थी कोरिया आउनबाट रोक्न नसके भविष्यमा दूतावासका कर्मचारी बाकस बोकेर विश्वविद्यालयमा आउनुपर्ने दिन आउने चेतावानीसमेत दिएका छन् । 

विद्यार्थीको पत्र जस्ताको तस्तै :


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप