मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गुरु पूर्णिमा, आस्तिक कि नास्तिक

सोमबार, १४ साउन २०७५, २२ : २६
सोमबार, १४ साउन २०७५

शालिक सुवेदी

गुरु पूर्णिमा आयो, गयो, जसरी आयो त्यसरी गएन । आश लिएर आयो, निराशा दिएर गयो । गुरु पूर्णिमा मेरो लागि अलि विशिष्ठ महत्वको दिन हो । मातृदेवो भवः पितृ देवो भवः गुरुर्देवो भवः मैले पठनपाठन सुरु गर्दा नगर्दै मेरो आदि गुरु पितामाताको गुरुर्वचन थिए यी । क ख चिनेकै थिइनँ । एबीसीडी त परै जावस् १, २, ३, ४ पनि जानेको थिइनँ । लेख्न मात्रै होइन, अक्षर पनि चिन्दैन थिएँ । तर गुरुर्देवो भवः चाहिं सुनेको थिएँ । अबोध नाबालक मनमा बढी श्रद्धा भक्ति भावना अमिट बनिसकेको थियो ।

आउ निदरी आउन, छुनुमुनु गर्दै आउन, मेरो बावुको आँखामा अप्सराहरु ल्याउन जस्ता निद्रादेवीलाई निम्तो दिएर लोरी भन्दा अगाडि सुनाउने कथा असाध्यै भक्तिरसमय हुन्थ्यो । त्यहाँ राम हुन्थे, भरत हुन्थे, लक्ष्मण र सत्रुघ्न हुन्थे, त्यहाँ ऋषि वसिष्ठ हुन्थे । लव र कुश हुन्थे, वाल्मिकी पनि हुन्थे । पाँच पाण्डव, युधिष्ठिर, भिम, अर्जुन, नहकुल र सहदेव हुन्थे । दोर्णाचार्य हुन्थे । दुर्योधन, दुस्शासन पनि हुन्थे । कर्ण र अस्वत्थामा अनी एकलव्य पनि कथामा हुन्थे । घटोत्कच, अभिमन्यु पनि हुन्थे, सँगै श्रीकृष्ण र वारवरिक पनि । बडो विचित्रको नीति कथा हुन्थ्यो । कथामा आमाबाबुको आज्ञा र गुरुको वचन सदाहिते हुन्छ भन्ने नै हुन्थ्यो । म यस्तै यस्तै कोखे र काखे शिक्षावाट आल्हादित भएँ । यस्तै यस्तै घरालय र शिक्षालयवाट अनुवन्धित पनि । कस्तो संयोग । पिता शिक्षक, दाजु शिक्षक र दिदी पनि । घरको सवै भन्दा कनिष्ठ म सवै अभिभावकको विद्यार्थी थिए । चार कक्षामा पढ्दा पढ्दै १२ बर्षको उमेरमा मेरी आमाको विहे भएको रहेछ वुवासँग । वुवा १६ बर्षको मात्र हुनुहुन्थ्यो रे । विहेपछि आमाले पढाइ छोड्नु भएछ । वुवा मेट्रिक पास गरेपछि उच्च शिक्षाका लागि हिन्दुस्तानको वनारस जानु भयो । घर आमाले सम्हाल्नु पर्ने भो । चार कक्षा मात्र पढेकी मेरी आमाले दिदी, दाई र मलाई विओवाइयस् (व्याइज) र जिआइआरएलएस् (गर्लस) भनी सिकाउनु भयो । उहाँ नै हामी सवैको आदि गुरु हुनुहुन्छ । मेरो पढाइको आदिदेखि हालसम्म पनी दाइ दिदी, वुवा र आमा अविछिन्न गुरु वन्नु भयो । सँगसगै कक्षाहरुमा पिताम्वर सर, ठाकुर शर, जलेश्वर पाण्डे, जनक पंगेनी, हिमनीधि पंगेनी, बसन्त गौतम, यी सवै मेरा गुरु हुन् । यी सवै गुरुहरु प्रति मेरो हार्दिक नमन छ । कखरा सिकाउने गुरु, हिड्न, खान, रुन र हाँस्न अनी नाच्न सिकाउने गुरु, मेरी आमादेखि वाँच्न सिकाउने बुवा अनी सोच्न सिकाउने सम्मका गुरुहरु मेरो जिवनका अविश्मरणिय निधी हुन् । संयोग नै होला म पनि एक शिक्षक वने । एउटा गुरु ।

निस्वार्थ गुरु । मलाइ लाग्थ्यो म एक अवैतनिक गुरु हुँ । कक्षा कोठामा रहँदा मनका पँखेटाले संसार विचरण गर्ने स्वतन्त्र र स्वच्छन्द गुरु हुँ । अनैतिकताले जेलिएको सामाजिक संरचना भत्काउने र अचेतनलाइ चेतन, अमानसलाइ मानस, असहिष्णुलाइ सहिष्णु र अधर्मलाइ धर्म पथमा लैजान खोज्ने अनवरत अभिष्ठ हुँ ।

जिवनका करिव १० बर्ष यसरी नै विते । विभिन्न कलेजमा पढाए । आइडिएल, सेन्ट लरेन्स, एसपी, आरआर, पद्मकन्या, पव्लिक युथदेखि पशुपति क्याम्पसका विद्यार्थिलाइ नैतिकता र नैतिक शिक्षाको विषय पढाएँ । विवेक र विधि, जिम्मेवारी र कर्तव्य, व्यवसायिकता र जवाफदेहिता अनी पारदर्शिता कै बिषयमा बढि केन्दित रह्यो मेरो अध्यापन । मैले त सुकरात र प्लेटो, प्लेटो र अरस्तु, कृष्ण र वारवरिक, कर्ण र परशुराम, मशिह र सन्तपाल, गेव्राइल र मोहम्मद जस्तै हुन्छ भन्ने ठानेको थिए गुरु चेलाको सम्वन्ध । मेरी आमा र म, अन्य गुरुहरु र म ।

तर त्यसो हैन रहेछ । कलेजमा रहँदा जहिले पनि गुरु पुर्णिमाको दिन ह्याप्पी टिचर्स डे भन्दै चक्लेट, कार्ड र अन्य सामान सम्झनाका कोशेलीका रुपमा सम्मानका सम्वेदना वोकेर आउने विद्यार्थीहरु हराएछन् । सम्झेँ चन्दनलाइ, रवि र सुजनलाइ, रविना र विनीलाइ, रेणुका, सोभा र रञ्जितालाइ । र उनीहरुको असिम स्नेहलाइ । सवैले वारम्वार भन्थे हामी सरलाइ कहिले पनि विर्सँदैनौ ।

गुरु पुर्णिमा सकियो । सम्झना मात्रै छ । विद्यार्थीले गुरुलाइ विर्सिए तर गुरुले विद्यार्थीहरु चाँही सम्झिएका छन् । शिक्षामा विषयगत फेरवदल त्यति छैन । मानिस मानिस नै छ । तर गुरु चेलाको सम्वन्धमा ठूलो परिवर्तन भएछ, मैले जे बुझे । हाम्रो पालामा आस्तिक थियो सम्वन्ध । आदर्शको, सामाजिकताको र धर्मको तर अहिले गुरु चेलाको सम्वन्ध त छ तर व्यवसायिकताको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप