मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकार ढाल्ने दाउले फेल खायो !

सोमबार, १४ साउन २०७५, ११ : ५४
सोमबार, १४ साउन २०७५

‘वि.सं. २००८ सालमा केआई सिंहको नेतृत्वमा रक्षा दलले सिंहदरबार कब्जा गर्ने प्रयास गरेको थियो तर त्यो सफल भएन । त्यसपछि सोही काण्डमा नेकपामाथि प्रतिबन्ध लगाइयो । तर रक्षा दलको विद्रोहमा नेकपाको संलग्नता थिएन । अहिले नेपाली  काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ठ्याक्कै त्यही गल्ती दोहो¥याउन ज्यान फालेर लागेका छन् । गत चुनावमा माके–एमाले मिलेर लड्ने घोषणा गरेदेखि नै देउवाजी ‘अधिनायक वादका विरुद्ध’ सम्पूर्ण शक्ति परिचालन गर्दैछन् । डा. गोविन्द केसी प्रकरणमा त्यो विरोधको ‘शक्ति’ राम्रै झल्कियो । रश्मि आचार्यले एक अनलाइनमा  ‘सरकारको विरुद्ध विपक्षी शक्तिलाई कसरी उतार्ने ? यसमा नै काङ्ग्रेसको सम्पूर्ण ध्यान केन्द्रित छ !’ भन्ने बारे लेखे । 

गङ्गामाया अर्थात् ‘फुजेल मुद्दा’मा पनि लामो अन्तरालपछि केही सत्य प्रष्टिएका छन् । वयोवृद्ध छविलाल पौडेलको बली चढाएर डलर खेती गर्ने बुद्धिजीवी र नेपाली काङ्ग्रेस आत्मरतिमा रमाउँदैछ । छविलालका छोरीहरू भन्छन्, ‘बाबा सामाजिक काममा हुनुहुन्थ्यो । नन्दप्रसादको जग्गामा बिजुलीका कर्मचारीहरूले पोल गाडे । फुजेलहरूले विरोध गरे । ‘विकास निर्माणको कुरो’ भनेर बाबाले सम्झाउनुभयो । त्यही पोल गाडिएको रिसमा हत्याको बापत झेल्नुप¥यो । नन्दरामहरूलाई गाउँबाट काठमाडौँ लगियो । फेरि लखेटेको दोष बाबाकै थाप्लोमा थोपरियो ।’ यसरी मानवीय समवेदनामा अति धेरै राजनीति भएको छ ।  यस्तै घटनाले हो मान्छेले मानवता गुमाउने  । 

बीपीको साहित्य र लोकतान्त्रिक छविलाई धमिलो पार्ने काम बीपीकै नाम भँजाएर खानेहरूले गरेका छन् । देउवा ‘बीपीले कम्युनिष्टहरूसँग मिल्नु हुँदैन भनेको बल्ल बुझ्दैछु !’ भन्दैछन् ।

बीपीले झेलेको समय र परिस्थिति बारे अहिले बहस हुनु आवश्यक छ । कम्युनिस्ट मूलतः चार धारका छन् ः १) लेनिन, स्टालिन र माओवादी धार, २)  अराजकतावादी धार, ३) माक्र्सवादी धार र ४) सामाजिक जनवादी अर्थात् लोकतान्त्रिक धार । 

बीपीको समयमा लेनिन्, स्टालिन र मूलतः माओवादी धार प्रभावशाली थियो । बीपीले त्यही कुरा देखे, भोगे र सामना गरे । मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’लाई स्थापित गर्ने प्रयास गरेपछि काङ्ग्रेसीहरू ‘विरोधका लागि विरोध’ मा लागेका हुन् । बीपीका विश्वासपात्र गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईले जनताको बहुदलीय जनवादलाई स्वीकार गरे । उनीहरुले बीपीका विचारहरुलाई इमानका साथ कार्यान्वयन गरेका थिए । मदन भण्डारीको अवसानको बेला सबैभन्दा बढी शोकमा डुबेका राजनेता गणेशमान नै हुन् भन्ने पढ्न पाइन्छ । यही समयदेखि काङ्ग्रेसले कम्युनिस्टसँगको सहकार्यलाई अघि बढाएका हुन् । शेरबहादुर देउवा माओवादीसित नजिकिएरै प्रधानमन्त्री भएका थिए । पछि गिरिजाबाबुले माओवादीसित गहिरो दोस्ती बढाए । 

हाल नेकपाले सामाजिक जनवादी धार अर्थात् लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गरेको छ । अब त नेपाली काङ्ग्रेसले झनै घनिभूत ढङ्गले कम्युनिस्टसँग सहकार्य र प्रतिस्पर्धा गर्नु बाहेक अर्को विकल्प छैन । सायद यही बुझेर शेखर कोइराला भन्दैछन् ‘केपीजीले बीपीकै बाटो समाइदिए हुन्थ्यो ....!’ 

यस्ता टड्कारा सत्य देखिँदा–देखिँदै शेरबहादुरजी यसरी बिच्किँदा नेपाली काङ्ग्रेस अझै पतनको खाल्डोमा जाकिने सम्भावना बढेको छ । यसले देशको विकासमा बाधा पार्ने देखिन्छ । डा. गोविन्द केसीको अनशनलाई जसरी देउवाले कम्युनिस्टको सरकार ढाल्ने अवसरका रूपमा हेरे । यसले सामाजिक मनोदशालाई झनै हुँडल्यो । समाजका असल–असल मान्छेकै बीचमा नमिठो कित्ताकाट गरायो । एकले अर्कालाई दलाल देख्ने मनोविज्ञान बढ्यो । खगेन्द्र सङ्ग्रौलालाई गाली गरिँदा मेरा आँखा निचोरिए, बोल्न सकिनँ ।

साउन ८ मा  फणिन्द्र नेपालले ‘सत्तापक्ष र प्रतिपक्षको टकरावले कहाँ पुग्ला समृद्धि ?’ भन्ने विचार प्रकट गरे । डा. गोविन्द केसीको समर्थनमा खुल्न नसक्ने निमुखा जनतालाई पनि आन्दोलनकारीहरूले ‘मेडिकल माफिया’ देखे । २०४२ सालमै नेपाली काङ्ग्रेसको ‘सत्याग्रह आन्दोलन’ बारे कुवेर शर्माले भनेका छन्– ‘सत्याग्रहलाई कुनै विदेशी सरकार वा नेपालस्थित दूतावासले समर्थन् गर्नु त परै जाओस् चासोसम्म राखेनन् ।’ यस्तो ताजा इतिहास छँदाछँदै असल चरित्रको एकजना व्यक्ति बोकेर नेपाली काङ्ग्रेसले जँघार तर्ने कुरा पटक्कै पत्यारिलो थिएन । यो नेपाली जनताको भावनासितको निर्लज्ज राजनीतिक खेलबाड थियो । विधि र पद्धतिलाई सम्पूर्णरूपमा लत्याइएको थियो ।  डरलाग्दो नजिर स्थापित गर्न खोजिएको थियो । कृष्ण पहाडीले ‘यही तेस्रो जनआन्दोलनले नेकपाको अधिनायकवादी सरकार ढल्ने !’ बताएका थिए । 

अधिनायकवादका कतिपय पक्ष राम्रै हुन्छन् । ग्रीसको प्राचीन सभ्यता पढ्न सकिन्छ । प्लेटो आदर्श राजा खोज्थे । हजुरबाहरू भन्छन्, ‘सरकार ! अन्याय भयो’ भन्दा राणाजीहरू प्रत्यक्ष न्याय दिन्थे । भारत जाँदा कारसम्म कार्पेट नविच्छ्याइञ्जेल मोहन शमशेर कारबाट उत्रेनछन् । उनले स्वतन्त्र देशको प्रधानमन्त्रीको हैसियत देखाएछन् । बीपी कोइरालाले आफू प्रधानमन्त्री छँदा अरू मन्त्रीलाई क्वाटरमा झण्डा राख्न दिएनछन् । ज्ञानेन्द्रले भ्रष्टाचार विरुद्ध काम गर्न चाहेका थिए । राजा वीरेन्द्रको अधिनायकत्व काङ्ग्रेसको लोकतन्त्रभन्दा उन्नत थियो । जहाँसुकै केही मान्छे थुप्रिएर जनतालाई चौपट दुःख दिने राजनीति अन्त्यको केपी सरकारको ‘अधिनायकवाद’ पनि जनतालाई अपाच्य छैन । 

अहिलेको बामपन्थी सरकारलाई नेपाली काङ्ग्रेस कस्तो अधिनायकवाद देख्दैछ ? स्थानीय तहको चर्को कर, महँगी र अड्डा–अड्डाका घुसखोरीमा काङ्ग्रेस पटक्कै वास्ता गर्दैन । गोविन्द केसीको व्यक्तित्वको वैशाखीमा झुण्डिएर वैतरणी तर्न खोज्दैछ । के यो लासको राजनीतिको रहर थिएन ? यसबारे प्रचण्ड–अभिव्यक्ति आएपछि मात्रै शेखर कोइरालाले मुख खोले । विन–विनमा जाने उनको सल्लाह सही थियो, त्यही गर्नै पथ्र्यो । 

ओली सरकारले यो छोटो अवधिमा निकै उल्लेखनीय काम गरेको छ । उसले भारतसँग जुध्न खोजेन, स्वाभिमान जोगाएर कुरा ग¥यो । बजेट सन्तुलित ल्यायो । सिन्डिकेट तोड्ने कोसिस देखाएकै छ । चीनसित नजिकिँदा भारतलाई चिड्याएन । यी काम प्रधानमन्त्री ओलीका दोष दबाउने रश्मि हुन् ।  रश्मि आचार्यले प्रधानमन्त्रीको दोष दबाउन खोजे, ‘काङ्ग्रेस नेतृत्वको सरकारको बेला नन्दप्रसादको निधन भयो । बरु ओली सरकारको अथक मिहिनेतपछि गङ्गामायाले अनशन तोडिन् । सरकारको अगाडि गर या मरको विकल्प मात्र छ ।’

यस्तो विकल्पको खोजमा केही ढिलो भए पनि जनताका नजरमा राम्रै काम पनि भएका छन् । बोल्न भेउ नपुर्याउने  मन्त्रीलाई राजीनामा गराइयो । जनतामाथि चर्को करको भार थोपर्ने प्रदेश र स्थानीय सरकारलाई केन्द्रले त्यसो नगर्न सुझायो । इन्टरनेट सेवाको मूल्यवृद्धि रोकियो । 

यसैगरी १० गते बिहीबार चिकित्सा शिक्षाको सुधारका लागि आन्दोलनरत डा. केसीसँग घनिभूत वार्ता भयो र सकरात्मक परिणाम निकाल्यो । प्रधानमन्त्री केपी ओलीज्यू स्वयम्को पहलमा डा. केसीलाई नेकपाका नेता सुवास नेम्वाङ र प्रा. केदारभक्त माथेमाले जुस खुवाएर अनशन तोडाए । 

अनशन तोडिँदा काङ्ग्रेसको सरकार ढाल्ने कुत्सित दाउले फेल खायो । डा. गोविन्द केसी मृत्युको मुखैमा पुगेर फर्केका छन् । यस कार्यले सरकारको पनि नाक ठडिएको छ । सबैको हितका लागि झुक्नु राम्रो हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला न्यौपाने
निर्मला न्यौपाने
लेखकबाट थप