शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मेयर साप, शौचालयमा राजनीति नहोस् है !

बुधबार, ०९ साउन २०७५, ०८ : ४९
बुधबार, ०९ साउन २०७५

मान्यवर मेयर, विद्यासुन्दर शाक्यज्यू,
काठमाडौं महानगरपालिका, काठमाडौं ।

आराम छौं । आरामको कामना गर्छौं । भन्न त आराम छौं भनें तर आरामै भए पनि बिरामीजस्तै छौं । बिरामी भनेर दीर्घरोगले समातेको होइन । ज्वरो आएको छैन । खोकी लागेको छैन । तर, आराम रहे पनि हामी बिरामी छौं जस्तै लाग्छ । 

कारण ?

मेयर साप, कारण थुप्रै छन् । तपाईंको ‘स्मार्ट सिटी’ ले विनाकारण हामीलाई बिरामी बनाउँदोरहेछ । पत्याउनुहुन्छ मान्यवरज्यू, तपाईंको ‘स्मार्ट सिटी’ मा हामी ‘स्मार्ट’ बन्ने कल्पनासमेत गरेका छैनौं । तर, घरबाहिर निस्केपछि सुरक्षित घर फर्कन सकौं भन्ने लोभ छ । त्योभन्दा अर्को स्वार्थ छैन ।

हामी जागिरे होइनौं । व्यापार, व्यवसाय पनि गर्दैनौं । तर, विविध कारणले तपाईंको ‘स्मार्ट सिटी’ मा बस्न बाध्य छौं । कामविशेषले कहिलेकाहीं घरबाहिर निस्कनुपर्छ । घरबाहिर निस्केपछि कहिलेकाहीं त्यत्तिकै आपत पर्छ । समस्या ठूलो होइन । सानै समस्या भए पनि हजुरसमक्ष राखौं भन्ने लाग्यो । 

हजुरले संवत् २०७४ मंसिर ३ गते काठमाडौंमा तीन सय सार्वजनिक शौचालय बनाउने अभिव्यक्ति दिनुभएको थियो । वर्ष दिन बित्न लाग्दा कति शौचालय बने होलान् ? बनेको हो भने नयाँबानेश्वरमा शौच गर्न मन लाग्दा सहिदगेट, सुन्धारा वा रत्नपार्कका शौचालय पुग्नुपर्ने बाध्यता हुँदैनथ्यो होला । नयाँबानेश्वरमा पिसाब लाग्नेलाई सहिदगेट पुग्नुपर्ने बाध्यता कहिले अन्त्य होला ? मेयर साप, ठाउँ–ठाउँमा सार्वजनिक शौचालय नहुँदा दिसा, पिसाब लागे पनि रोक्नुपर्ने बाध्यता छँदै छ । हामीजस्ता सर्वसाधारणले काठमाडौंमा झेल्दै आएका समस्यामध्ये यो पनि त्यत्तिकै चर्को लाग्छ । दिसा रोक्नाले पायल्स, एनाल फिस्टुला, एयर लक, बेर्नो निस्कने, कोलाइटिस, एनाल फिसर र आन्द्राको शोषण प्रक्रिया बिग्रन्छ भनेर चिकित्सकले सुझाएका छन् । चिकित्सकका अनुसार, पिसाब रोक्नाले पिसाबथैली संक्रमण, मुत्रनली संक्रमण, नेफ्रोटिस सिन्ड्रोम, पिसाबथैलीमा ट्युमर, मानसिक तनाव र युरेनिया हुन्छ । सार्वजनिक शौचालय प्रयोग गर्दा हामीमध्ये कतिपयलाई यस्ता रोगले समातेका होलान् । भन्नुहोस् न मेयर साप, हामी के गरौं ।  

दिसा, पिसाब लाग्दा गर्न नपाउनुको विडम्बना खनिखोस्री साध्य छैन । स्थानाभावले शौचालय बनाउन नसकिएको भए काठमाडौंको ठाउँ–ठाउँमा घुम्ती, पोर्टेबल र हलुका किसिमका शौचालय बनाउँदा हामीजस्ता सर्वसाधारणका समस्यामध्येका एक समस्या समाधान हुन्थ्यो होला कि । हामीले भनिरहन पर्दैन, हजुर जानकार हुनुहुन्छ । शौचालयमा पनि राजनीति नहोस् है हजुर ।
ठाउँ–ठाउँमा सार्वजनिक शौचालय नहुँदा ‘गु’ र ‘सु’मय काठमाडौं बन्ने खतरा छ । शौचालय अभावमा शौच गर्न मन लागेकाले घोसेमुन्टो लगाएर जथाभावी दिसा, पिसाब गर्न थाले ‘गु’ र ‘सु’मय काठमाडौं नहोला भन्न सकिँदैन । 

शौचालय अभाव एउटा समस्या हो । भएका सार्वजनिक शौचालय त्यत्तिकै फोहोर छन् । त्यो अर्को समस्या छँदै छ । विश्व स्वास्थ्य संगठनले सन् २००८ मै सम्बन्धित मुलुक र मुलुकवासीलाई शौचालय प्राथमिकतामा राख्न सुझाएको थियो । उसले सुझाए पनि हामीले वास्ता गरेजस्तो लाग्दैन । एक मानिसले उसको जीवनकालमा २ हजार ३ सयपटक शौचालय जान्छ । यो उसको जीवनकालको तीन वर्ष हो । त्यसो हो भने हामीले शौचालयलाई प्राथमिकतामा किन नराखेको होला ? घरको शौचालय सफा राख्ने प्रयास गरिए पनि सार्वजनिक शौचालय बस्दाको पीडा हजुरलाई कत्तिको जानकारी होला ? काठमाडौंका सार्वजनिक शौचालय किन अस्त–व्यस्त हजुर ? आखिर दिसा, पिसाब गर्नेले शुल्क बुझाएकै छन् । त्यसो हो भने शौचालय पस्दा, निस्कँदामात्रै होइन, शौच गरिन्जेल नाक थुन्नुपर्ने अवस्था कहिले अन्त्य होला ? फोहोर शौचालय प्रयोग गर्दा धेरै किसिमका रोग लाग्ने त्यत्तिकै सम्भावना हुन्छ । ‘स्मार्ट सिटी’ का फोहोर शौचालयले सद्देलाई समेत बिरामी बनाइरहेको छ । ज्ञात होस् है मेयर साप । 
एक संस्थाले गरेको तथ्यांकअनुसार, ६० प्रतिशत बटुवा, २० प्रतिशत सडक व्यापारी, १० प्रतिशत वरिपरिका पसले र १० प्रतिशत सहरी गरिबले सार्वजनिक शौचालय प्रयोग गर्छन् । उनीहरूका पीडा कसले बुझिदिने । 

विकसित देशका शौचालयलाई विश्राम गर्ने उपयुक्त स्थलका रूपमा लिइन्छ । तर, काठमाडौंको शौचालयका धारामा पानी आउँदैन । पान खानेले जथाभावी थुकेर भित्ता रंगाइदिएका हुन्छन् । शौचालयभित्रका भित्तामा अश्लील शब्द लेखिएकै छन् । शौचालयमा चुकुल नहुनु पनि त समस्या नै हो । शौचालयको प्यानमा खाली बोतल, कपडा, चुरोटको ठुटो र ढुंगा फालिँदासमेत शौचालय सञ्चालकले वास्ता गरेका हुँदैनन् । दुव्र्यसनीले शौचालयभित्रै घन्टौं बिताउँदा अन्य सेवाग्राहीलाई त्यत्तिकै असर परेको छ । 
पुरुषमात्रै होइन, महिला शौचालय पनि त्यत्तिकै विकृत छन् । महिला शौचालयभित्रै धूमपान गर्नेहरू पनि नभएका होइनन् । उनीहरूले महिनावारी हुँदा प्रयोग गर्ने प्याडसमेत प्यानभित्रै फालेका भेटिन्छन् । एकले गरेको फोहोरको सजाय अर्कोले भोग्नुपर्ने बाध्यता छँदै छ । 

सार्वजनिक शौचालय खुल्ने र बन्द गर्ने समय तोकिएको छ । त्यसबाहेकको समय दिसा, पिसाब कहाँ गर्ने होला ? आपत परेपछि दायाँबायाँ नहेरी घोसेमुन्टो लगाएर दिसा, पिसाब गरेको यदाकदा देखिन्छ । त्यो रहर नभएर बाध्यता हो । 

शौचालयसम्बन्धी किस्सा–१
प्राचीनकालमा राजा, महाराजा र समाजका गन्नेमान्यले मात्रै शौचालय प्रयोग गर्थे । उनीहरूले प्रयोग गर्ने शौचालय सुन, चाँदी, हीरा र रत्नजडित हुन्थ्यो । सुन, चाँदी, हीरा र रत्नजडित शौचालय भव्य र त्यत्तिकै आकर्षक हुन्थ्यो । 
शौचालयसम्बन्धी किस्सा–२
बेलायतका रानी एलिजावेथपुत्र हैरी ग्रीनद्वारा निर्मित शौचालय आधुनिक शौचालयको जनक मानिन्छ ।

शौचालयसम्बन्धी किस्सा–३
भारतको मध्येप्रदेश सरकारले प्रत्येक जनप्रतिनिधिको घरमा आधुनिक शौचालय हुनुपर्ने उर्दी गरेको थियो । निर्वाचित भएको वर्ष दिनभित्र आधुनिक शौचालय नबनाए ऊ स्वतः पदमुक्त हुने प्रावधान छ । 

शौचालयसम्बन्धी किस्सा–४
अरब पुगेका चर्चित नेपाली कलाकारले सडकमा पिसाब गर्दा जेलको हावा खानुपरेको थियो । उनलाई छुटाउन कूटनीतिक अधिकारीले दौडधुप गर्नुपरेको समाचार सार्वजनिक भएको धेरै भएको छैन ।

शौचालयसम्बन्धी किस्सा–५
ताइवानको एक शौचालयमा आठ जोडीले बिहे गरेका थिए । उनीहरू शौचालय बनाउँदा–बनाउँदै प्रेममा परेका थिए । शौचालय निर्माण कम्पनी म्यानेजर ली वाङ सोङ र डिजाइनर यियु कुईले विवाह समारोह आयोजना गरेर उनीहरूको विहे गरिदिएका थिए ।

शौचालयसम्बन्धी किस्सा थुप्रै सुनिन्छन् । मेयर साप, काठमाडौंमा सार्वजनिक शौचालय विश्राम गर्न मिल्ने नभए पनि शौचालय प्रयोग गर्दा नाक छोप्नुपर्ने बाध्यता अन्त्य होस् । शौचालय अपांग र बालमैत्री नभएको गुनासो सुनिन्छ । अब बन्ने शौचालय अपांग र बालमैत्री होस् । शौचालय फोहोर भेटिए सार्वजनिक शौचालय सञ्चालकलाई कारबाही गरियोस् । महानगपालिकाले समय–समयमा सार्वजनिक शौचालय निरीक्षण गरोस् । त्यत्तिमात्रै गर्न सके लाख हुन्थ्यो मेयर साप । 

त्यसो गर्न सके काठमाडौं कहर लोभलाग्दो सहर बन्दै जाने थियो । दुःखेसो पोख्नेक्रममा अलि बढी नै लेखें कि हजुर । बढी ठहरिएमा माफी माग्छु । गल्ती ठहरिएमा तपाईंको ‘स्मार्ट सिटी’ निवासी सम्झेर माफ दिनुहुनेछ । यसपटक यत्ति नै लेखें । बाँकी अर्को पत्रमा लेख्ने नै छु । 

उही तपाईंको ‘स्मार्ट सिटी’ निवासी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप