बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नैतिकता हराएको बीजेपी र सुष्मा स्वराजको सङ्घर्ष

आइतबार, ०६ साउन २०७५, ११ : ३४
आइतबार, ०६ साउन २०७५

‘श्रीमती स्वराजविरुद्ध हिंसाको धम्कीले हामीलाई असह्य पीडा दिएको छ । हामी उनको सम्मान गर्दछौँ र कृपया उनीविरुद्ध यस्ता शब्दहरूको प्रयोग नगर्नुहोस् । हामी राजनीतिमा पहिलो पिढी हौँ र हामीलाई उनको जीवन रक्षाबाहेक अरू केही चाहिएको छैन ।’’ 

यसरी भावपूर्ण विन्ती गर्दै ट्विट गर्ने मिजोरम राज्यका पूर्वराज्यपाल र सर्वोच्च अदालतका वरिष्ठ वकिल स्वमराज कौशल हुन् । उनलाई सामान्य नागरिक भन्न मिल्दैन किनकि उनको अझै शक्तिशाली पहिचान के छ भने उनी दक्षिण एसियाको सबैभन्दा शक्तिशाली मुलुक भारतको परराष्ट्र मन्त्री सुष्मा स्वराजका श्रीमान हुन् र उनको यो विन्ती अरू कसैका लागि होइन, बरु यो त स्वयम् परराष्ट्र मन्त्री सुष्मा स्वराजकै सुरक्षाको निम्ति हो । हालै एउटा पासपोर्टसम्बन्धी मामिलामा पीडित पक्षबाट हस्तक्षेप गरेकामा उनलाई मार्ने र अन्य धम्कीहरू लगातार आइ रहेका छन् । त्यो पनि आफ्नै पार्टीका कार्यकर्ताहरूबाट ।

को हुन् सुष्मा स्वराज
वर्तमान भारतमा सबैभन्दा शक्तिशाली मन्त्रीहरूमध्ये एकमा पर्छिन् सुष्मा स्वराज । सन् १९७७ मा जम्मा २७ वर्षको उमेरमा उनी हरियाणा राज्यको श्रम तथा रोजगार मन्त्री भएकी थिइन् । सन् १९९६ मा केन्द्रमा पहिलो पटक बनेको बीजेपी सरकारमा उनले सूचना एवम् प्रसारण मन्त्रीको पद ग्रहण गरिन र त्यसपछि बनेका सबै बीजेपी सरकारमा उनी मन्त्री भइरहिन् । अल्पअवधिका लागि उनी दिल्लीकी मुख्यमन्त्री समेत भइन् । 

तर पनि आज उनका श्रीमानलाई किन श्रीमती स्वराजको ज्यामनको चिन्ता लाग्यो ? किन उनलाई धम्की दिनेहरूमाथि कानुनी कारवाही गर्न भारत सरकार हिचकिचाइरहेको छ ? किन गृहमन्त्री राजनाथ सिंहले धम्कीलाई गलत हो भन्दाभन्दै पनि कारवाहीको आश्वासन दिन सकेनन् ?  

राजनाथ सिंहजस्तै सरकारका कुनै पनि मन्त्री र सत्ताारुढ भारतीय जनता पार्टीका कुनै पनि वरिष्ठतम नेताले समेत खुलेर श्रीमती स्वराजको पक्ष बोल्न सकेका छैनन् । हालसम्म श्रीमती स्वराजलाई ठूलो समर्थन विरोधी पार्टीहरूबाट मात्रै छ ।

बीजेपीको सोसियल मिडिया सेना
हिजोआज बीजेपीलाई भूगोलका कार्यकर्ताहरूमा भन्दा भर्चुअल कार्यकर्ताहरूमाथि धेरै विश्वास छ । उसले उत्तर प्रदेशमा मात्रै ६ लाख ‘साइबर सेना’ बनाउने बताएको छ । यस सेनाका कार्यकर्तालाई ‘योद्धा’ भनी नामकरण गरिएको छ । युद्ध मैदानका योद्धा जस्तै यी साइबर सैनिकहरूको एक मात्र उद्देश्य  विरोधीहरूलाई ध्वास्त पार्नु हो । 

साधारण बोलिचालीको भाषामा भर्चुअल योद्धाहरूलाई ‘ट्रोल’ भनिए पनि आज यी योद्धाहरू बीजेपीमा भूगोलका कार्यकर्ताभन्दा बढी शक्तिशाली देखिएका छन् । बीजेपीले नस्वीकारे पनि यी ‘योद्धा’हरू सीधा हाइकमान्डबाट निर्देशित र नेतृत्वको शीर्ष तहबाट संरक्षित रहेको बुझिन्छि । 

अझै के देखिन्छ भने पार्टीका कुनै पनि नेता अथवा मन्त्रीले यिनीहरूको काममा बाधा पु¥याउने शक्ति राख्दैनन् । भलै ती गृहमन्त्री हुन अथवा पराराष्ट्रमन्त्री । 

नरेन्द्र मोदीको बीजेपी
नरेन्द्र मोदीको काम गर्ने आफ्नै एउटा शैली छ । उनी दुईधारे तरबार चालाउँदै यहाँसम्म आइपुगेका हुन । अहिले उनी एकसाथ पार्टीभित्र र बाहिरका विरोधीहरूमाथि हमला गर्दैछन् । गुजरातमा आफ्नो एक दशकको शासनकालमा उनले समग्र पार्टीलाई आफ्नो नियन्त्रणमा राखे । 

अन्य स्थानहरूमा कमजोर हुँदै गएको बीजेपीको तत्कालीन नेतृत्वले उनलाई यसो गर्न पनि दिएकै हो । आज उनी गजरात मोडेललाई सम्पूर्ण भारतभर लागू गर्न चाहन्छन् । परिणामस्वरूप आज बीजेपी व्यक्ति केन्द्रित पार्टी भएको छ, जुन काँग्रेस र अन्य पार्टीभन्दा धैरै फरक छैन । 

किन खनिए बीजेपी योद्धा स्वराजमाथि
सन् २०१९ को आम निर्वाचन नजिक आउँदै गर्दा के कुरा छलङ्ग हुँदै गएको छ भने मोदी नेतृत्वमको वर्तमान बीजेपी सरकार अधिकांश मोर्चाहरूमा असफल सावित भएको छ । भारतीय रुपियाँ अन्तर्राष्ट्रिय बाजारमा आफ्नो न्यूनतम स्तरमा छ र बेरोजगारको सङ्ख्याले आकाश छुन लागेको छ । 

रोजगारी चाहियो भन्ने युवाहरूलाई प्रधानमन्त्रीले पकौडा बेच्न सुझाव दिएका छन् भने असमका उनका मुख्यमन्त्रीले पान पसल खोल्न अपिल गरेका छन् । हालसम्म ‘मोदी जैसा कोई नहीँ’ भन्ने बीजेपीको नारा ‘मोदी का विकल्प कौन है ?’ सम्म आइपुगेको छ । हालैको एउटा सर्वेक्षणले काङ्ग्रेस अध्यक्ष राहुल गान्धी र मोदीको लोकप्रियता झण्डै बराबरीमा पुगेको जनाएको छ । 

कार्नाटकमा बीजेपीले सरकार बनाउन नसकेपछि बीजेपीभित्रैबाट मोदी विरोधी स्वरका सङ्केत सतहमा देखिन थालेका छन् । यी कुराहरूले मोदीलाई असुरक्षित बनाएकै हो । तसर्थ मोदीका साइबर योद्धाहरू आफ्नै पार्टी नेताहरू विरुद्ध खनिएको देखिन्छ । श्रीमती स्वराज विरुद्ध हमला बीजेपीको भित्री कलहको चरम अभिव्याक्ति हो । 

साथै यो वर्तमान सरकारको शीर्षमा विजारमान नेताहरू खासमा प्रधानमन्त्री र बीजेपी अध्यक्ष अमित शाहको चाहनाको प्रतिविम्बन हो । ‘नारी सम्माान र रक्षाका लागि तीन तलाक’को विरोध गर्ने र ‘बेटी बचाओ’को नारा दिने प्रधानमन्त्रीकै शक्तिशाली मन्त्रीलाई हत्याको धम्की दिइरहँदा समेत पार्टी र सरकार नबोल्नुलाई मोदीको गुजरात मोडेलको रूपमा व्याख्या हुन थालेको छ । यो सन् २०१९ मा पार्टी पराजित नै भए पनि आफ्नो वर्चस्व कायम राख्ने लक्ष्यको रूपमा प्रयोग गरिएको हुन सक्छ । 

आज सुष्मा स्वराज पार्टीमा एक्लै परेकी छन् । उनलाई साथ दिने कोही पनि छैन । जब कि परराष्ट्रमन्त्रीको रूपमा उनको कामको स्वयम् प्रधानमन्त्रीले प्रशांसा गरेका हुन् । तर आफ्नै पार्टी समर्थकहरूबाट अपमान भोग्नुपर्दा मन्त्री मण्डलका कुनै पनि मन्त्री उनको पक्षमा नउभिँदा त्यसले उनले कस्तो अनुभूत गरायो होला ?

नयाँ बीजेपीका पुराना नेता
सुष्मा स्वपराज नयाँ बीजेपीमा पुरानो पिढीकी नेता हुन् । सन् २०१४ आउँदा आउँदै बीजेपी पार्टीको स्वजरूप र विचारधारामा पूर्ण परिवर्तन आएको कुरा यथार्थ हो । सन् २००४ देखि २०१४ सम्म सत्तामा पुग्न असफल बीजेपी राज्यसत्तामा आफ्नो वर्चस्व बनाउन मोदीलाई आफ्नो नेताको रूपमा पेश ग¥यो । 

अटल बिहारी वाजपेयीको कमजोर स्वास्थ्य र लालकृष्ण आडवाणीको स्वीकार्यता व्यापक नरहेको आँकलन स्वरूप हिन्दूवादी मतदाताहरूको ध्रुवीकरण र सन् २००२ को गुजरात दङ्गामा मोदीको भूमिकालाई नबुझेका मतदाताहरूको मोदीप्रतिको आकर्षणले नै बीजेपीलाई स्पष्ट बहुमत दिलायो । तर मोदी–शाहले बीजेपीको पुरानो परम्परालाई नै ध्वस्त पार्दै समूहिक नेतृत्वको स्थानमा व्यक्ति केन्द्रित नेतृत्वको जग हाले । त्यसैको फलस्वरूप क्रमशः पार्टीको पुरानो स्वरूप समाप्त हुँदै निरङ्कुश नेतृत्वको जन्म भयो । 

आज बीजेपीमा मोदी–शाहबाहेक कसैको स्थान सुरक्षित छैन । मोदीले सरकारमा र शाहले पार्टीमा गर्ने निर्णयमा कसैले हस्तेक्षेप गर्ने साहस राख्दैनन् । पूर्ववित्त मन्त्री तथा पार्टीका नेता यशवन्त सिन्हा अनुसार नोटबन्दीको निर्णयमा वित्तमन्त्री अरुण जेटलीलाई समेत विश्वासमा लिइएको थिएन । 

सो मौकामा अमित शाहको नेतृत्वैमा रहेको गुजरातको एउटा सहकारी बैङ्कले करोडौँ रूपियाँको हिनामिना गरेको समाचार हाल प्रकाशमा आए पनि पार्टीभित्र उनले न त स्पाष्टिकरण दिए न उनीसँग कसैले

स्पष्टीकरण लिन सक्यो ? 
बीजेपीमा पहिले कहिलै पनि यस्तो अवस्था थिएन । सन् १९९६ मा हवाला कण्डको जाँचमा आडवाणीको नाम आएपछि उनले लोक सभाको सदस्यबाट राजीनामा दिएका थिए । त्यसैगरी सन् २००१ म तत्कालीन बीजेपीका अध्यक्ष बङ्गारु लक्ष्मणले घुस रहेको भिडियो बाहिर आउनसाथ उनले पदबाट राजीनाम दिए । तत्कालीन बीजेपीमा नैतिकतामाथि अलि बढी जोड थियो, जुन आज हराएको छ ।

विगतको नैतिकताको धरातलको विपरीत आजको बीजेपी उभिएको छ । आजको नेतृत्वको सोच दीर्घकालीन नभई तत्काालीन लाभ–हानिमा केन्द्रित छ । नरेन्द्र मोदीका लागि चुनावी जित र पार्टीमा वर्चस्व सर्वोपरि हो र यसमा देखापर्ने असल वा कथित अवरोधहरू उनका लागि अक्षम्य छन् । 

यस्तै खालको असुरक्षित वातावरणमा राजनीतिक यात्रा गर्दै आज शीर्षमा पुग्न सफल नरेन्द्र मोदीका लागि पार्टीमा कुनै पनि नेताको बढ्दो कद चिन्ताको विषय हो । अब जब कि चुनाव आउनै लागेको छ, स्वराजमाथिको आक्रमण उनको यसै असुरक्षा बोधको अभिव्योक्ति हो । यस कारणले नै प्रधानमन्त्री नरेन्द्र मोदीले  स्वराजविरुद्ध अभद्र भाषा ओकल्ने आफ्ना समर्थकहरूलाई रोक्नसमेत उचित नठानेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु शर्मा
विष्णु शर्मा

विष्णु शर्मा दिल्लीमा कार्यरत पत्रकार तथा रातोपाटीका स्तम्भकार हुन् । 

Twitter : @hellovishnu

लेखकबाट थप