बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तै हो भने नेपाली भाषा पनि सङ्कटमा पर्न सक्छ : नेपाली भाषाविद् जापानी नागरिक हारुहितो नोजुसँगको कुराकानी (भिडियो)

बिहीबार, ०३ साउन २०७५, १४ : १९
बिहीबार, ०३ साउन २०७५

जापानी नागरिक हारुहितो नोजु नेपाली भाषाविज्ञ हुन् । नेपाली भाषा सिक्न झन्डै ३५ वर्षअघि उनी पहिलो पटक काठमाडौं आएका थिए । सुरुमा विश्वभाषा क्याम्पसमा र पछि त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषामा एमए गरेका नोजुले केही कृतिहरूको अनुवादसमेत गरेका छन् । केही जापानी दन्त्यकथालाई उनले नेपाली भाषामा अनुवाद गरेका छन् भने गुरुप्रसाद मैनालीको कथासङ्ग्रह नासोलाई जापानी भाषामा अनुवाद समेत गरेका छन् । बेलाबखत नेपालमा हुने भाषा साहित्यको कार्यक्रममा सहभागी हुन आउने गरेका उनी हालै सम्पन्न हिमवत खण्ड कला साहित्य सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । सोही अवसरमा रातोपाटी अनलाइन टिभीका लागि शम्भु दंगालले गरेको कुराकानीको सम्पादित अंश : 

नेपाली भाषाप्रति यहाँको कसरी प्रेरणा जागेको थियो ? 
प्रेरणाभन्दा पनि मैले नेपाली भाषा सिक्न थालेको सन् १९८३ मा हो । आजभन्दा ठीक ३५ वर्षअघिको कुरा हो, त्यो बेलामा छात्रवृत्ति दिने जापानको एउटा विश्वविद्यालयले नेपाली भाषा पढ्नका लागि छात्रवृति दिएको थियो । त्यतिखेर जापानमा नेपाली जापानी भाषाको बीचमा अनुवाद गर्नका लागि जनशक्ति थिएन । जापानमा कस्तो हुन्छ भने कुनै भाषाको विज्ञ वा दोभासे गर्ने मान्छेले त्यो देशको, त्यो संस्कृतिको बारेमा राम्रो अध्ययन गर्ने मान्छेले राम्ररी उल्था गरेर जापानीलाई जानकारी दिने, जापानमा भएका कुरालाई अनुवाद गराएर बाहिरका अरूलाई दिने भन्ने चलन छ । तर नेपाली भाषाको सन्दर्भमा कोही पनि थिएन । 

३५ वर्षअघिबाट तपाईंले नेपाली भाषा सिक्न थाल्नुभयो, कति समय लाग्यो फर्रर बोल्न ?
भाषा भन्ने कुराचाहिँ कहिले पनि सिकेर सकिने कुरा हैन । अझै पनि म सिक्दैछु, नयाँ नयाँ कुराहरू पनि आउँछन् । तर वास्तवमा भन्ने हो भने सुरुमा मैले २ वर्ष विश्वभाषा क्याम्पसमा अध्ययन गरेँ । क ख ग घ देखि सुरु गरेर पढेँ । २ वर्ष मात्र पढेर स्तरीय अनुवाद गर्न त सकिँदैन असम्भव छ । अझ उच्च शिक्षा हासिल गर्नुपर्छ भनेर जापान गएको तीन चार वर्षपछि फेरि नेपालमा आएर उच्च शिक्षा पनि हासिल गरेँ । 

नेपाली भाषा सिक्नका लागि नेपालमा कति समय बस्नुभयो ?
विश्वभाषा क्याम्पसमा २ वर्ष मात्र पढेँ । त्यसपछि जापानबाट फर्केर भाषा अनुवादको काम त सुरु गरेँ, दुई वर्ष सिकेर मात्र त पुग्दैन, जेनतेन मिलाएर काम चलाउ त हुन्छ, व्यावसायिक रूपमा गर्न त उच्च स्तरीय चाहिन्छ । त्यसको साढे ३ वर्षको अन्तरालमा नेपाल आएँ र चार वर्ष जति बसेँ । 

नेपाली भाषा जानिसकेपछि तपाईंले पहिलो काम के गर्नुभयो ? 
पढ्ने क्रमदेखि नै, बिद्यार्थी हुने बेलादेखि नै अनुवादको काम गर्न सुरु गरेको थिएँ । जापानी कथाहरू, कविताहरू फाट्टफुट्ट रुपमा यहाँका पत्र पत्रिकाहरूमा पनि प्रकाशित भएका थिए । गुरुप्रसाद मैनालीको कथासङ्ग्रह नासो जापानमा प्रकाशन गर्न पाएँ । त्यो सन् १९९२ सालतिरको कुरा थियो । नासोभन्दा पहिला जापानका केही कथा कविता पनि नेपालीमा उल्था गरिसकेको थिएँ । तीमध्ये केही सन्ध्या सारस भन्ने जापानको लोककथामा आधारित लोकप्रिय नाटक थियो । त्यसलाई नेपाली भाषामा अनुवाद गरी आरोहण भन्ने नाट्य संस्थामा काम ग¥यौँ । मेलै शुनिल पोखरेलसँग निर्देशन पनि गरेँ, मैले आज पनि अभिनय गरेँ । पछि नेपाल टेलिभिजनबाट पनि टेलिसिरियल भएर आएको थियो ।

कुनै पनि दोस्रो भाषामा दक्ष हुनका लागि भाषा सिक्नेहरूले के–के गर्नुपर्छ ? तपाईंको अनुभव कस्तो छ  ?  
जुन भाषाको विद्यार्थी हो, त्यो संसकृतिमा आफू भिज्नुपर्छ । मैले त्यही क्रममा नाटक मञ्चन पनि गरेँ । नेपाली कविले बनाएको गितलाई सङ्गीतबद्ध पनि गरेँ । भाषा सिक्ने भन्ने कुरा कक्षाकोठामा सिकेर मात्र हुँदैन । बजारमा गएर अरूले कसरी बोल्छन् त्यो पनि सुन्नुप¥यो । आफूले पनि बोल्नुप¥यो । 

अहिले जापानमा पनि तपार्इं नेपाली भाषासम्बन्धी नै काम गर्नुहुन्छ होला । के–के गर्नुहुन्छ, कसरी बित्छ तपार्इंको दिनचर्या ? 
मैले मुख्य रूपमा चाहिँ दोभाषेको काम गर्छु । जापानका सरकारी कार्यालयहरूमा पनि यसको आवश्यकता पर्छ । अहिले जापानमा नेपालीहरूको सङ्ख्या बढिरहेको छ । जापानमा ३ महिनाभन्दा बढी बस्नेहरूको सङ्ख्या ८० हजार भन्दा बढी छ । मेरो चाहिँ नेपाली र जापानी भाषाबीच विभिन्न कामका लागि दुई भाषाबीच दोभाषेको काममा आवश्यकता पर्ने गर्छ । त्यस्तो बेलामा पनि म जान्छु । त्यो सँगसगै अनुवाद पनि गर्नुपर्नेहुन्छ साथसाथै जापानीलाई नेपाली भाषा पढाउने काम पनि गर्छु । 

नेपाली भाषाप्रति जापानी नागरिकको रुचि कस्तो छ ?
भाषाप्रतिको रुचिभन्दा पनि जापानमा नेपालीको सङ्ख्या बढिरहेको छ । नेपालीसँग सम्पर्क हुने जापानीहरूको सङ्ख्या पनि पहिलाको तुलनामा धेरै बढिरहेको छ । इङ्लिस माध्यम नभई कि त नेपालीमा कि त जापानीमा कुरा गरौँ भन्ने इच्छा भएका जापानीहरूले नेपाली भाषामा पनि कुरा गर्ने गरेका छन् । 

जाइका मार्फत नेपालमा स्वयम्सेवाका लागि आउने स्वयम्सेवीहरूले पनि नेपाली भाषामा रुचि देखाउने गरेका छन्, त्यसकारणले पनि मैले यहाँलाई यो प्रश्न गरेको  ।
जापानले नेपालमा स्वयम्सेवक पठाउनुभन्दा २ महिनाभन्दा अगाडि एक ठाउँमा बसेर भाषा मात्र सिक्ने कार्यक्रम हुन्छ । नेपाली भाषा मात्र हैन जुन देशमा जाने हो त्यो देशको राष्ट्रभाषा सिक्ने गर्छन् । स्वयम्सेवा गर्ने कामका लागि जुन भाषा चाहिने गर्छ त्यो भाषा सिक्ने गर्छन् । जुन भाषा चाहिने हो त्यो भाषा २ महिनासम्म एकदम मिहिनेत गरेर एकदम सघन ढङ्गले सिक्ने पठनपाठन हुन्छ । त्यसपछि मात्र पठाउँछन् । जाइकाका स्वंयसेवकहरूले प्रायजसो गाउँमा काम गर्नुहुन्छ । गाँउमा गएपछि पुगेको दिनदेखि नै काम सुरु गर्नुपर्ने हुन्छ । त्यसका लागि भाषाको आवश्यकता त पर्छ पर्छ । 

जपानमा नेपालीहरूको धेरै सङ्ख्या बढेको पनि तपाईंले बताउनुभयो । त्यहाँ नेपाली भाषा साहित्यका क्षेत्रमा कामहरू पनि हुने गर्छन् कि ? 
हुन्छ । अन्तर्राष्ट्रिय साहित्य समाज जापान च्याप्टरको संस्था छ । केही दिनपछि जापानमा पनि भानु जयन्ती मनाउँछन् । 

तपार्इंले नेपाली भाषा सिक्ने बेला र आजभोलिको नेपाली भाषामा केही फरक पाउनुभएको छ ? 
धेरै फरक छ । पहिला यस्तो अवस्था थिएन, जुन अहिले एकदम नाजुक, जुन आफ्नो राष्ट्रभाषा सम्पर्क भाषा, सरकारी कामकाजको भाषाभन्दा विदेशी भाषालाई नै प्राथकिता दिएको जस्तो देखिन्छ । विदेशी भाषा बोल्यो भने ठूलो, विदेशी भाषा नजानेर नेपाली भाषा बोलेको छ । आफ्नो जातीय भाषा बोल्यो भने सानो भन्ने अहिले प्रवृत्ति देखिएको छ, यो चाहिँ खेदजनक छ ।

मतलब नेपाली भाषा सङ्कटतिर गइरहेको छ । भाषामा जुन विकास हुनुपर्ने, मौलिकता हुनुपर्ने, त्यो नभएको पाउनुभयो तपाईंले ? 
मौलिकता मात्र हैन, यो विकासका लागि अत्यावश्यक छ । भाषा भनेको केवल सम्पर्क गर्न मात्र हैन, भाषा भनेको संस्कृति हो । भाषा नभई धारणाहरू, विचारहरू, दर्शन पनि हुँदैन । नेपालमा जुन संस्कृति छ अर्थात यो नेपालको जुन धारण छ, दर्शन छ, त्यो नेपाली भाषाबाटै उत्पत्ति भएका चीज हुन् । यो विदेशी भाषा बोलेर, विदेशी संस्कृतिमा नेपाली भाषाको उत्पत्ति त हुँदैहुँदैन । त्यसकारण एकजना नेपालीले अर्को एकजना नेपालीलाई नेपालको बारेमा जानकारी दिन वा कुरा गर्न किन विदेशी भाषा चाहियो ? आदिकवि भानुभक्तले सुरु गर्नुभएको सुन्दर नेपाली भाषा छ, सुन्दर भाषा छँदाछँदै विदेशी भाषामा कुरा गर्न खोज्नु ठूलो हुनु एकदम अर्थहीन कुरा हो । 

यसमा नेपालीहरूलाई यहाँको के सुझाव छ ? 
किन यस्तो भइरहेको छ भन्ने पनि बुझ्छु, नबुझेको हैन तर सबैजनाले त्यो गर्ने कुरा भयो भने जातीय भाषा मात्र नभई यो नेपाली भाषा नै हराउँछ कि भन्ने पनि खताराको स्थिति छ । यस वर्षको ३ दिने साहित्यिक गोष्ठीमा सहभागी हुँदा नेपाली भाषाप्रति सजग हुनेहरू पनि पाएँ, धेरै खुसी पनि लाग्यो । यो देशको प्रधानमन्त्रीले नै यो देशको भाषामा सजग हुनुभएको थाहा पाउँदा खुसी भएँ । तर अझ पुगेको छैन्, यसलाई सुरुवात गर्नुपर्छ । नेपालमा बस्दा भन्दा विदेशमा बस्दा सुख सुविधा हुन्छ । त्यहाँ विदेशी भाषा चाहिन्छ भनेर बोलेको जस्तो लाग्छ, उहाँहरूलाई नेपालमै आकर्षित गर्नेगरी नेपालको विकास गर्नुपर्छ । 
 

नेपाली साहित्यको विकास कस्तो पाउनुभएको छ ? नेपालमा तपार्इंको सुरुवाती दिनतिरको साहित्य र अहिलेको साहित्यमा के फरक पाउनुभएको छ ?  
यसमा अन्तरभन्दा पनि म के भन्न चाहन्छु भने, मैले सुरुमा पनि भने, अनुवाद एकदम आवश्यक पर्ने कुरा हो । जापानमा विभिन्न भाषाका राम्रा साहित्यहरू जापानी भाषामा अनुवाद गरेको पाइन्छ । जापानी भाषामा संसारका जुनसुकै राम्रा साहित्य पढ्न अवसर हुन्छ । जापानका साहित्यकारहरू पनि त्यस्ता जुन साहित्य पढेर हुर्किन्छन् र आफ्नो विकास पनि गर्छन् । नेपालमा के भने बाहिरका जुन साहित्यको कस्तो गतिविधि भइरहेको छ भन्ने खासै थाहा नै हुँदैन । हुन्छ जस्तो अब अङ्ग्रेजी भाषा जानेकाहरूले अङ्ग्रेजी भाषा पढ्नुहुन्छ तर राम्रो अनुवादको कमी छ । छँदै छैन त भन्न मिल्दैन तर एकदम कम छ । गुणस्तरको दृष्टिकोणले पनि एकदम कम छ । यो सन्दर्भमा बाहिरका कुराहरू नेपाली भाषामा अनुवाद गरेर त्यो पनि उच्च स्तरीय अनुवाद गरेर नेपाल राष्ट्रभरी नै फैलाउनुपर्छ । अनि कक्षा एकदेखि उच्च शिक्षासम्म नेपाली भाषामा नै, आफ्नो राष्ट्रभाषामा नै शिक्षा हासिल गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ जस्तो लाग्छ । 

नेपालमा जापानको एउटा साहित्यिक विधा हाइकु लेख्ने चलन पनि छ । यो विषयमा तपाईंसँग कुरा गर्न मन लाग्यो । हाइकु कस्तो विधा हो, नेपालमा लेख्ने र जापानमा लेख्ने हाइकुमा के फरक छ ? 
एउटा कुरा के छ भने जापानीहरूमा अरू विदेशी भाषा राम्रोसँग जानेर विदेशी साहित्य अध्ययन गरेर आफ्नो भाषामा उल्था गर्ने, जापानी विद्यार्थीहरूलाई पढाउने चलन छ । तर कुनै एकजना नेपालीले पनि यो जापानी भाषाको अध्ययन गरेर वा साहित्यको राम्रोसँग अध्ययन गरेर जापानमै गएर जापानको वातावरणमा साहित्य सिक्ने चाहिँ एकजना पनि हुनुहुन्न । यदि त्यस्तो मान्छे भविष्यमा भयो भने सही अर्थमा जापानी साहित्यमा के भनेको छ, यो हाइकु भन्ने के हो भन्ने कुरा चाहिँ नेपालीहरूलाई एकदम राम्रोसँग जानकारी दिन सक्नुहुन्छ । त्यसकारण पनि यो अनुवाद, अनुवादक, दोभाषे भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ । अलिकति मैले पनि उल्था गर्ने कोसिस गरेको छु तर त्यो पर्याप्त छैन । यो फेरि म एकजनाले सबैकुरा त भ्याउँदिन । 

तपार्इंको एउटा हाइकु पनि सुनाउनुहुन्छ ?  
मैले सुरुदेखि नै भने आफू कवि चाहिँ हैन, खासमा म अनुवादक हो । अरूले रचना गरेका कुरा चाहिँ अर्को भाषामा छपाउने मेरो खास काम हो । जापानबाट आएको हुनाले धेरैले चाहि हाइकु सुनाइदे भन्नुहुन्छ । चन्द्रागिरीको साहित्य सम्मेलनमा जाँदा त्यहाँको रमणीय वातावरणमा विभिन्न देशबाट आउने सर्जकहरूले आफ्नो ढङ्गले साहित्य सिर्जना पनि गर्नुभएको थियो । अलिकति समय भएको हुनाले मैले पनि हाइकु जस्तो किसिमको एउटा सानो चाब्ही बनाएको थिएँ । हाइकुको शीर्षक चाहिँ हुदैन तर हाइकु लेख्नुको पृष्ठभूमिको बारेमा चाहिँ व्याख्या गरिएको पाइन्छ । त्यही क्रममा म मेरो हाइकु यस्तो छ–
कुहिरोको बीच् 
आकाङ्क्षाको टाकुरा 
नयाँ रोपवे 

कुहिरो देखिइरहेको हुन्छ, आकाङ्क्षाको टाकुरा भनेको त्यो टाकुरामा उहिलेका व्यक्ति बसेर आकाङ्क्षा गरेका थिए । त्यो आकाङ्क्षा गर्ने टाकुरा कुन हो भनेर त थाहा हुँदैन तर तेस्रो लाइनमा आएपछि नयाँ रोपवे भनेको छ, त्यसो भनेपछि त्यो चन्द्रागिरी भयो । अनि पृथ्वीनारायण शाहले आकाङ्क्षा गरेका थिए भन्ने बुझिन्छ । चन्द्रागिरी भन्ने शब्द यसमा नभए पनि त्यही हो भन्ने अनुभूति हुन्छ । 

नेपाली भाषाको क्षेत्रमा तपाईंले लामो समयदेखि काम गर्नुभयो । तपाईंलाई बुढेसकालले पनि छुन थाल्यो । यो भाषाको क्षेत्रमा के गर्न चाहना छ, के गर्ने योजना सङ्कल्प छ ? 
धेरै छन्, गर्न बाँकी भएका कुराहरू, कामहरू धेरै बाँकी छन् । मैले जति जापानीहरूलाई नेपाली भाषा पढाएँ तर उच्च स्तरीय रूपमा अनुवाद गर्न सक्ने, दोभाषे गर्न सक्ने स्थितिसम्म पुग्न त गाह्रो छ । त्यस्तो विद्यार्थी बनाउन गाह्रो छ । अझ धेरै मान्छेलाई नेपाली भाषाको विशेषज्ञ बनाउने मेरो इच्छा पनि छ । अर्को इच्छा के छ भने एउटा उपयोगी काम लाग्ने शब्दकोशको अभाव छ । त्यो शब्दकोश नभई भाषाको अध्ययन पनि हुन सक्दैन । एउटा राम्रो शब्दकोश बनाउने मेरो इच्छा पनि छ ।

नेपाली जापानी शब्दकोश ? 
जापानी नेपाली पनि, नेपाली जापानी पनि दुइटै । 
यसको काम पनि सुरु गर्नुभयो कि इच्छा मात्रै गर्नुभएको हो ? 
हालको यो व्यस्थताले गर्दा यसको सुरुवात पनि गरेको छैन । शब्दकोश बनाउने इच्छा छ, साथसाथै पाठ्यपुस्तक बनाउने पनि इच्छा छ । त्यो पनि लेखिहाल्नुपर्छ, खासमा सुरु त भएको छैन । 

भिडियाे वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप