शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी पराजयका अन्तवस्तु

आइतबार, ०१ साउन २०७४, ११ : १९
आइतबार, ०१ साउन २०७४

राजेन्द्र किराँती

पहिलो र दोस्रो चरणअन्तगर्तको स्थानीय तहको ऐतिहासिक निर्वाचन सम्पन्न भइसकेको छ । समग्रमा चुनाव सानदार र शान्तिपूर्ण तवरमा सम्पन्न भयो । वर्षायामको बीचमा भए पनि मतदाताहरूको उल्लेख्य रूपमा सहभागिता देखियो । यो सुखद र सकरात्मक पक्ष हो । यसले नयाँ संविधानको संस्थागत कार्यान्वयनसँगै जनताका अधिकारहरूलाई गाउँगाउँमा स्थापित गरेको छ । अर्थात स्थानीय तह निर्वाचनले लामो राजनीतिक सङ्क्रर्मणलाई तोड्दै नितान्त नयाँ वैधानिक प्रक्रिया आरम्भ गरेको छ । इतिहासमा यसको सर्वाधिक महत्व रहनेछ । यस अतिरिक्त सरकार चुनाव गर्न तयार छैन भनेर विपक्षीहरूले नियत र नाजायजरूपमा फैल्याएको भ्रमलाई राम्रैसँग चिर्न सफल भएको छ । 


लोकतन्त्रमा निर्वाचन भनेकै हारजितको फैसला गर्ने राजनीतिक माध्यम हो । यसमा विजय र पराजयलाई स्वभाविक रूपमा लिइन्छ । प्राविधिक र भावनात्मक रूपमा तरङ्ग सृजना गरे पनि राजनीतिक रूपमा यसलाई सहज र सामन्य मान्नुपर्छ । चुन्ने र चुनिने दुवै अधिकार उपयोग गर्न पाइने परिपाटीलाई कुनै पनि कोणबाट नकरात्मक भन्न सकिन्न । तर पछिल्लो समय चुनावी प्रक्रिया असाध्यै विकृत बन्दैगएको छ । यसले लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उब्जाएको छ । विचार, सिद्धान्त, राजनीति र एजेन्डा सही र गलतभन्दा पनि प्राविधिक र भावनात्मक पक्ष निर्णायक हुँदै गएको छ । यसैको प्राविधिक अभिव्यक्ति चुनावी परिणाममा देखिएको छ । समग्रमा राजनीतिक जित भए पनि प्राविधिक रूपमामा ओवादी केन्द्रले पराजय भोग्नु परेको छ । यस आलेखमा पराजयको कारणबारे चर्चा गरिएको छ ।

सैद्धान्तिक कारणः 
वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय अन्तरविरोध, अन्याय र विभेद नै माओवादी आन्दोलनको उर्वर भूमि हो । यस्तो सङ्गठित राजनीतिक आन्दोलन सिद्धान्त र विचारकै सेरोफेरोमा मात्र सम्भव हुन्छ । साँचो कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने कुनै पनि सङ्घर्ष सिद्धान्त र विज्ञानमा आधारित हुन्छ । यो आदिदेखि अन्त्यसम्मको पूर्ण प्रक्रियाको सेटमा हुन्छ । सङ्घर्षको प्रक्रियाको पूर्णतामा गुणात्मक परिणाम अन्तर्निहित हुन्छ । तब समानता र सामाजिक न्यायसहितको मुक्त समाज निर्माण गर्न सकिन्छ । तर क्रान्तिको प्रक्रियाको पूर्णताविना जनताले मुक्ति र न्यायको प्रत्यक्ष अनुभूति गर्न सक्दैन । हाम्रो माओवादी आन्दोलन पूर्ण भइसकेको छैन, जसलाई उत्पीडितहरूले अनुभूति गर्न बाँकी छ ।

अर्कोतिर सङ्घर्षका बलमा स्थापित परिवर्तनकारी राजनीतिक एजेन्डाहरूको सुरक्षा सङ्घर्षले मात्रै गर्न सक्दछ । यो सार्वभौम नियम हो । अर्थात सङ्घर्षको प्रक्रिया हावी हुँदा स्थापित एजेन्डाहरू रक्षात्मक हुँदा गोलचक्करमा फस्दछ । आन्दोलन कमजोर हुँदा अरू प्रतिक्रियावादी र यथास्थितिवादी हावी हुनपुग्दछन् । गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक र धर्मनिरपेक्षता जस्ता माओवादी आन्दोलनले स्थापित गरेको अग्रगामी राजनीतिक एजेन्डाहरू आन्दोलनको रक्षात्मक अवस्थासँगै कमजोर भएको छ । वर्गीय, जातीय, क्षेत्रीय तथा लिङ्गीय अन्तरविरोधका मुद्दाहरू रक्षात्मक भएको छन् । न्यायपूर्ण मानव समाज स्थापना गर्ने राजनीतिक सैद्धान्तिक कार्यदिशा बीच बाटोमै अलपत्र परेको छ । परिवर्तनको राजनीति सस्तो लोकप्रियतामा आधारित भावनात्मक र प्राविधिक राजनीतिद्वारा निर्देशित भइरहेको छ  । यो गम्भीर दुर्भाग्य र विडम्बनाको विषय हो । यसकारण पनि माओवादी पराजित हुनपुग्यो । 
 

प्राविधिक कारणः
चुनावको शास्त्रीय परिभाषामा कसैको मतान्तर छैन । यसको सैद्धान्तिक व्याख्यामा खोट लगाउने ठाउँ छैन । तर व्यवहारमा जाँदा चुनाव असाध्यै विकृत भइसकेको छ । यसमा विचार, सिद्धान्त, एजेन्डा, मूल्यमान्यता र आदर्शको कुनै स्थान हुँदैन । बरु उल्टै प्राविधिक एवं भावनात्मक पक्षहरू निर्णायक हुन्छ । साम, दाम, दण्ड, भेद, चोचोमोचो मिलान, लपनछपन, हाउभाउ र रवाफ हावी हुन्छ । सस्तो लोकप्रियतालाई एक मात्र चुनावी रणनीति बनाइन्छ, जसले मतदाताहरू माथि इमोसनल ब्ल्याकमेलिङ गर्न सकियोस् । यता पैसा सबैभन्दा आकर्षक पक्ष भएको छ । स्थानीय चुनावको खर्च अनुपात हेर्दा पाँच वर्षपछिको चुनावी खर्चको ग्राफ सोच्नै नसक्ने गरी बढ्ने देखिन्छ । चुनाव व्यावसायिक बन्दैछ । चुनावी पकड दलाल पुँजीपति वर्गमा केन्द्रित हुँदैछ । यसले राष्ट्रिय राजनीति विकृत लोकतन्त्र हुँदै चरम उपभोक्तावादतर्फ जाँदैगरेको सङ्केत गर्दछ । यस्तो वस्तुगत धरातलमा यस मातहत हुने सबै प्रक्रियाहरू उपभोक्तावादी हुन्छ । तव चुनाव अछुतो रहने कुरै भएन ।

त्यस्तै खोक्रो र भ्रामक विकासे नाराहरूको पछि लाग्ने जमात पनि ठूलै छ । यस्तो उधारो झोले र कागजे विकासे नाराहरू बाँड्ने सिलसिला नयाँ होइन । यता सामाजिक सुरक्षा भत्ताको भ्रम र अन्यौलले पनि चुनावी परिणाममा प्रभाव पारेको छ । तर सत्य के हो भने यो जुनसुकै दलले जिते पनि कटाउन सक्दैन । यो राज्यको आम नीति बनिसकेको छ । तर साधरण जनताले यस्तो ब्ल्याकमेलिङलाई बुझ्न सकेनन्, जसले भ्रम फैल्याउनेहरूलाई फाइदा पुगेको छ । यता मत हाले जागिर खुवाउने प्रतिबद्धता पनि सामन्य रह्यो । मत हाल्नेको भविष्य सुनिश्चित गरे पनि नहाल्ने सत्तरी अस्सी प्रतिशत नागरिकको विषयमा बेखबर रहेको यथार्थ बुझ्न सकेनन् । जनताको न्यून चेतनाबाट फाइदा लिनेहरूका लागि चुनाव सुनौलो अवसर हुनेगर्दछ । यस अतिरिक्त दिवा र सन्ध्या भोज भत्तेर, भावनात्मक नारा, माहौल, भ्रम र प्रचार वा विज्ञापनको प्रभाव पनि चुनावमा रामै्र पर्यो । सैद्धान्तिक एजेन्डाको पाटोमा माओवादी हावी भए पनि प्राविधिक र व्यावहारिक पक्षमा ऊ निकै कमजोर रह्यो । यसकारण ऊ पराजित भयो ।
 
आन्तरिक कारणः
माओवादी स्कुलिङ र विकृत लोकतान्त्रिक चुनावमा  सारभूत अन्तर रहेको छ । माओवादी राजनीति विज्ञानमा आधारित थियो । विकृत उपभोक्तावादी चुनाव कलामा आधारित हुन्छ । विज्ञान र कला परिपूरक भए पनि यसको द्वन्द्वात्मक समायोजन असाध्यै कठिन विषय हो । यसलाई समायोजन गर्न विज्ञान प्रधान हुनैपर्दछ । अर्थात आजको माओवादी आन्दोलनमा विज्ञान प्रमुख पक्ष छैन । माओवादी मान्यतामा विज्ञानविनाको कला आफैमा पूर्ण हुँदैन । अन्य पुरातन संसदवादी दलहरूको जन्मजात चरित्र नै कलाको लपनछपन उपयोग हो । कलात्मकताको जोड कोणबाट नै उनीहरू सफल हुँदै आएका छन् । माओवादीले चुनावमा कलात्मकता देखाउन सकेन, जुन उसको सैद्धान्तिक स्कुल अफ थट होइन । 


यता क्रान्तिको समग्र प्रक्रिया अवरुद्ध भएसँगै साङ्गठानिक संरचनाहरू पनि कमजोर भएको छ । भएको सङ्गठनमा पनि जनवादी केन्द्रीयताको साङगठानिक सिद्धान्तको व्यावहारिक प्रयोग असाध्यै कम छ । चुस्त सङ्गठन तथा कमिटी प्रणाली न्यून रहेको छ । सफलता, सम्भावना, चुनौती र समस्याहरूमा संस्थागत  एवं सामूहिक दायित्व लिने संस्कृति छैन । गाउँमुखी र जनमुखी नभएर नेता, गुट र शक्तिकेन्द्रमुखी बन्नेक्रम बढ्दोछ । घात अन्तरघात बढ्दोछ, अनि जनशैली र जनदिशा न्यून छ । कार्यकर्ताहरू बलिदानभन्दा भौतिक लाभहानिमा रुम्मलिएको छ । यता पहुँच नहुनेहरूका लागि समानुपातिक निर्वाचन प्रणाली माओवादीको बटमलाइन हो । तर प्रत्यक्ष निर्वाचन प्रणालीले स्रोतसाधन हुनेहरू मात्र सफल भएको देखिन्छ । यसले पनि माओवादीको चुनावी रणनीति रक्षात्मक हुनपुग्यो ।

 बाह्य कारणः
नेपालको राष्ट्रिय राजनीतिमा सनातनी विदेशी हस्तक्षेप कायम छ । पछिल्लो समय नवऔपनिवेशिक हस्तक्षेपलाई पनि क्यामोफ्ल्यागड गरिएको छ । राष्ट्रिय राजनीतिमा दक्षिणको कर्मचारीतन्त्र र खुफिया एजेन्सी मार्फत पश्चिमाहरू हावी रहेको छ । पश्चिमाहरूले आफू एक्स्पोज नभई साम्राज्यवादी अभिष्ट पूरा गर्नेगर्छन् । आफ्नो सबैभन्दा विश्वासिलो दल वा पात्रको फेस सेभिङका लागि दोस्रो वा तेस्रोलाई एक्स्पोज गरेर बदनाम गर्दै रणनीतिक स्वार्थ सिद्ध गर्नु उसको नवऔपनिवेशिक विशेषता हो । अझ गहिराइबाट विश्लेषण गर्दा चीन घेराउ गर्ने मूल रणनीति अन्तर्गत अमेरिकाले आवरणमा भए पनि स्वयं चीनसँगै सदासयता राख्ने भनिएका दल र नेता  मार्फत चीन विरोधी रणनीति अपनाइरहेको दाबी गरिँदैछ । कतिपय घटनाक्रमले यसलाई पुष्टि गरिरहेको छ । अर्थात अतिवादलाई उपयोग गर्नु पश्चिमाहरूको परम्परागत रणनीतिक विशेषता हो । पछिल्लो घटनाक्रमलाई नियाल्दा नेपालमा उसले पहाडे र मधेसी अतिवादी तत्वहरूलाई उपयोग गरिरहेको छ । अन्य दल र नेताहरू पनि मौसमी रूपमा उपयोग हुँदैआएको छ । धेरथोर सबै पश्चिमको प्रभावबाट अछुतो छैन । दक्षिण पनि पश्चिमकै वशमा देखिन्छ । यही जुन २६ मा प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच प्रशान्त क्षेत्रमा संयुक्त सैन्य अभियान गर्ने संयुक्त वक्तव्य जारी गरेबाट पनि यसको पुष्टि हुन्छ । अमेरिका फन्डेट एनजीओ र आईएनजीओको सहयोगमा चुनाव डलरमय बनेको चर्चा चौतर्फी भइरहेको छ । त्यसमा पनि नब्बे प्रतिशतभन्दा बढी मानव अधिकार र कानुनसँग सम्बन्धित संस्था पश्चिमाहरूद्वारा सञ्चालित रहेको छ । योजनाबद्धरूपमा पश्चिम फन्डेट संस्थाहरूले चुनावमा लगानी गरेको दाबी छ । यसकारण पनि माओवादीको पक्षमा चुनावी परिणाम आउनसकेन ।


तसर्थ, लोकतान्त्रिक चुनाव विकृत भइसकेको छ । विकृत चुनावमा सिद्धान्त, आदर्श, मूल्यमान्यताको राजनीति हुँदैन । राजनीतिक एजेन्डाको आधारमा मत खस्दैन । सही र गलत अनि अग्रगामी र पश्चगामीलाई एउटै फुर्लुङमा राखिन्छ । यसमा प्राविधिक, भावनात्मक र टिपनटापन पक्षहरू नै निर्णायक हुन्छ । भ्रम, माहौल र हल्लाखल्लामा निर्भर हुन्छ । अर्थात व्यवहारवाद हावी हुन्छ । कतिपय परिस्थितिमा बाह्य चलखेल हावी हुन्छ । यस्ता प्राविधिक पक्षहरू न त माओवादीको आधारभूत राजनीतिक लाइन हो नत उसको स्कुल अफ थटभित्र पर्दछ  । विकृत संसदीय चुनावमा विज्ञानभन्दा कला हावी हुन्छ । यसमा सिद्धान्त र एजेन्डाहरूको मूल्य नहुनु नै माओवादी पराजयको मूलभूत राजनीतिक कारण हो । साम, दाम, दण्ड र भेदको नीतिलाई कलात्मक ढङ्गले लागू गर्न नसक्नु नै हारको प्राविधिक कारण हो । किनकि समग्र माओवादी आन्दोलनको प्रक्रिया, उद्देश्य र गन्तव्य विज्ञानमा आधारित थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप