स्वास्थ्य क्षेत्रका आन्दोलन र जनस्वास्थ्य
मदनराज भट्ट
स्वास्थ्य क्षेत्रमा भएगरेका गतिविधिमा एक जिम्मेवार नागरिकको हैसियतले मेरो पनि चासो रहँदै आएको छ । देशका हरेक भागमा बसोबास गर्ने नागरिकलाई उच्चतम स्तरको स्वास्थ्य सेवा पुर्याउनु राज्यको दायित्व हो । अरू क्षेत्रजस्तै स्वास्थ्य क्षेत्र पनि विगतमा राजनीतिक अस्तव्यस्तताको शिकार भएकै हो र गर्न सक्ने सम्भावनाहरू भएर पनि गर्न नसयिकएकै हो । तथापि देशको सङ्क्रमणकालको समाप्तिसँगै देश स्थिरतातिर अघि बढिरहेको अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका लागि समयसापेक्ष नीति तथा दीर्घकालीन रणनीति तयार गर्नुपर्ने अवस्था छ । नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेबमोजिम जनमुखी कार्यक्रम तयार पार्न अहिलेको प्रमुख आवश्यकता हो । यसमार्फत जनताको गुणस्तरीय जीवन जिउने चाहनाअनुरूप अघि बढ्न अब ढिला गर्नु हुँदैन ।
नेपालमा जनस्वास्थ्यसम्बन्धी सङ्कुचित बुझाइको कारण चाहेजस्तो नतिजा हासिल गर्न कठिन भइरहेको देखिएको छ । नेपालमा स्वास्थ्य भनेपछि सबैले बुझ्ने शब्दावली भनेका औषधि, डाक्टर, नर्स, अस्पताल, स्वास्थ्य संस्था आदि मात्र हुन् । यसभन्दा बाहिर पनि जनस्वास्थ्यका विषयहरू छन् । यी विषयहरू झनै महत्वपूर्ण छन् भन्ने कुरा कमैले मात्र अनुभव गरेका विषय हुन् । संस्था खोल्नु, स्वास्थ्य सेवा दिनु, औषधि उपलब्ध गराउनु आदि कुरा रोग वा स्वास्थ्यको असामान्य अवस्थाका कारणले सिर्जित विषय मात्र हुन् । तर स्वास्थ्यमा असामान्य अवस्था आउन नदिन र हरेक व्यक्ति शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ रहन तथा सक्रिय जीवनयापन गर्न हामीले के गर्दै छौँ ? हाम्रो सरकारले के गर्दै छ ? स्वास्थ्य क्षेत्रका विज्ञहरू के गर्दै छन ? अन्तर्राष्ट्रिय जगत के गर्दै छ ? यो अहिलेको प्रमुख विषय हो ।
स्वास्थ्यलाई रोगसँगै मात्रै जोडेर तात्कालीन समस्या समाधानका सीमित मानसिकताबाट अलिकति माथि उठेर नेपाली नागरिकहरूको जीवन गुणस्तरीय बनाउनेतर्फ सोचिनुपर्छ । स्वस्थ मानव संसाधनको विकास, महिला तथा बालबालिकालाई उपयुक्त वातावरणको व्यवस्था, स्वस्थ हुनका लागि स्वास्थ्य जस्तै अरू क्षेत्रहरूको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक छ । हाम्रो भौतिक वातावरण हावा, पानी, खाना आदिलाई स्वास्थ्यवद्र्धक बनाउन आम सचेतना आवश्यक छ । मानवीय खानपान र चालचलनले स्वास्थ्यमा परिरहेको असर पारिरहेको छ । यसलाई न्यूनीकरण गर्ने सम्बन्धमा खोज अनुसन्धानमा जोड दिनुपर्छ ।
बढ्दो प्रविधि र तनावका कारण स्वास्थ्यमा परिरहेको असर परिरहेको छ । मानसिक स्वास्थ्य कमजोर हुने अवस्था र समाधानका उपायहरू खोज्नु आवश्यक छ ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आन्दोलन भइरहेका छन् । स्वास्थ्य क्षेत्र सीमित व्यक्तिहरूको मानसिकता तथा इच्छामा जेलिएर अस्तव्यस्त बन्न पुगेको छ । वर्तमान अवस्थामा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर डाक्टर गोविन्द केसीले स्वास्थ्य सेवा सुधारका लागि अगाडि सारेका माग केही उचित छन् तर यी प्रयाप्त छैनन् । स्वास्थ्य प्रणाली सुदृढीकरणका सन्दर्भमा यो विषय एउटा सानो अंश मात्र हो । सीमित विधाको सुधारका लागि सङ्घर्ष गर्नु पेसागत दायित्व हो तर यी सबै सङ्घर्षहरू राज्य संयन्त्रलाई सुदृढ गर्ने र दुरगामी महत्व बोकेको हुनुपर्दछ ।
तत्कालका लागि केही सीमित कुरा पूरा भए पनि कालान्तरमा यसले प्रणाली सुदृढीकरणमा सहयोग पुग्नुको साटो दुरगामी असर पार्न सक्छ ।
त्यसैले सबै स्वास्थ्यकर्मी, राजनीतिकर्मी, जिम्मेवार नागरिकले होसियारीपूर्वक संवैधानिक व्यवस्थालाई थप सुदृढ गर्दै स्वास्थ्य क्षेत्रका सुधारका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । अरू क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि हामीले गर्नुपर्ने कार्यहरू धेरै छन् । तर सबैभन्दा पहिलो आवश्यकता बलियो राज्यसंयन्त्र स्थापित गर्दै स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नु हो । त्यसैले विरोध, हड्ताल, आन्दोलनले मात्र होइन सहकार्य, समन्वय तथा आपसी सहयोगको माध्यमले हामी स्वास्थ्य क्षेत्रमा केही राम्रो गर्न सक्छौँ । समाजको कुनै वर्गलाई निषेध गरेर होइन, सँगसँगै हिँडाएर र सौहार्दता देखाएर मात्र सकारात्मक नतिजा हासिल गर्न सक्छौं । अहिले देखिएका समस्याभित्र चुनौती मात्र नदेखौँ, सम्भावनाहरू पनि खोजौँ ।
पाटन नगरपालिका–९, काकस्याली, बैतडी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)