बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृत्रिम आँशु लगाउँदा तपार्इंको आखाँलाई फाइदा

मङ्गलबार, ०१ साउन २०७५, १३ : २४
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौँ– अहिले आँखामा लाग्ने रोगमा निकै परिवर्तन आएको चिकित्सकहरूले बताउँदै आएका छन् ।

पहिला आँखामा लाग्ने रोगले मात्रै आँखालाई असर गर्ने गरेको थियो भने अहिले शरीरमा लागेको अन्य रोगले पनि आँखालाई प्रत्यक्ष असर गर्दै आएको छ ।

अहिले पुराना रोग निवारण हुँदै गए पनि नयाँ खालका रोगले आँखामा धेरै समस्या देखिन थाललेका छन् । आँखा स्वास्थ्यको उपचारमा आएको परिवर्तन, पछिल्लो समय के कारणले आँखामा लाग्ने रोग बढ्दै गइरहेका छन् लगायतका बारेमा डाक्टर बेन लिम्बुको अनुभव यस्तो छ । 

आँखा स्वास्थ्यका क्षेत्रमा डा. लिम्बुले १५ वर्षको अनुभव सँगालेका छन् । यस अवधिमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा निकै सुधार र परिवर्तन पाएका छन् भने रोगको प्रकृति पनि फरक भेट्टाएका छन् ।
उनका अनुसार शरीरमा लाग्ने विभिन्न रोगले पनि आँखामा प्रत्यक्ष असर पार्दै गएको छ । 

तर यस्ता रोगहरुले आँखा स्वास्थ्यमा पुरुषलाई भन्दा बढी महिलालाई समस्या पार्ने गरेको उनको बुझाइ छ ।   

अमेरिका र नेपालमा आँखा स्वास्थ्यमा फरक छैन

अन्य स्वास्थ्यको तुलनामा आँखा स्वास्थ्यमा अहिले धेरै परिवर्तन आइसकेको छ । उनले भने, ‘मैले आँखा स्वास्थ्यमा काम सुरुवात गर्दाको समयमा आँखाको शल्यक्रिया गर्दा हातले चिरेर गरिन्थ्यो । 

त्यसपछि हातले नै सानो गरी चिरेर शल्यक्रिया गर्ने प्रविधि आयो । विस्तारै मेसिनबाट आँखाको शल्यक्रिया गर्न थालियो ।

यो कुरा हाम्रोभन्दा धेरै विकशित देशहरूमा गरिने शल्यक्रिया हो । अमेरिका जस्तो देशमा आँखाको शल्यक्रिया गर्दा प्रयोग गर्ने मेसिनबाट अहिले नेपालमा पनि शल्यक्रिया गरिन्छ ।

सुरुवातको समयमा मेसिनबाट हुने आँखाको शल्यक्रिया पहुँचवाला र धनीहरूले मात्रै गर्न सक्थे । यो सन् २००३ भन्दा अघिको कुरा हो ।

प्रविधिको कुरा गर्ने हो भने अहिले अप्रेसनका लागि प्रयोग गरिने मेसिन सबै नेपालीको पहुँचमा पुगिसकेको छ ।

आँखा अस्पतालको विस्तारको पनि कुरा गरौँ । म यो क्षेत्रमा लागेको सुरुवातको समयमा ८ देखि १० वटा आँखा अस्पताल थिए भने अहिले २४ देखि २६ वटा अस्पतालहरू छन् ।  

अहिले रोगको प्रकृतिमा पनि परिवर्तन आएको छ ।

पहिले पहिले खाना अभावका कारण कुपोषण हुनेको सङ्ख्या धेरै हुन्थ्यो । प्रर्याप्त भिटामिन नहँुदा आँखा बिग्रने, चोटपटकबाट आँखा बिग्रने, इन्फेक्सन भएर जस्तै आँखा पाकेर फुलो परेर आँखा बिग्रने अत्यधिक मात्रमा हुन्थ्यो ।

आजभन्दा १५ वर्ष पहिला खस्रेरोग अर्थात ट्रकोमा रोगले पनि अन्धो हुने मान्छे धेरै थिए । अहिले आएर आँखामा देखिने यस्तो समस्याहरू कम भएको छ ।

पछिल्लो समयको कुरा गर्ने हो भने चिनीरोगले आँखा बिर्गार्ने, उमेरअनुसार आँखामा समस्या देखिने, पेसर, कोलेस्ट्रोल, थाइराइट जस्ता रोगहरूले आँखामा समस्या देखिने क्रम बढ्दो छ ।

आँखाको रेटिना बिग्रने समस्या धेरै रहेको  छ । यो अहिलेको ट्रेनिङ डिजिज हो ।     

अशिक्षाको समस्या उस्तै

नेपाली समाजमा आँखा स्वास्थ्यलाई संस्कारसँग जोडेर हेर्ने चलन छ । मेरो एउटा पीडादायी अनुभव छ । 

मकवानपुर आँखा शिवरमा जाँदा चेपाङ युवतीको एउटा आँखाको अप्रेसन गरिएयो ।

शल्यक्रियापछि उनको दृष्टि फर्कियो । संसार देख्न पाइन् साथमा उनले जन्म दिएको छोरीको अनुहार देख्न पाइनँ ।

तर उनको परिवारले उनलाई स्वीकार्न सकेनछन् ।

फेरि अर्काे शिविरमा अर्काे आँखाको अप्रेसन गर्न आउने बेलामा उनले  मसँग आँखाको शल्यक्रिया गरेकै कारण आफूले घरपरिवार त्याग्नु परेको दुखोसो पोखिन् ।

चेपाङ समुदायकी ती महिलाले आँखा शल्यक्रिया गर्नु परिवारका लागि नराम्रो भएछ । आँखामा लेन्स हाल्नु सहरियाली कुरा भएको कारण बुहारी अब गलत बाटोमा लाग्छे भन्ने उनको परिवारलाई लागेछ । उनलाई श्रीमान र उनको परिवार घरबाट निकालेछन् । काम गर्ने क्रममा त्यो मेरो एउटा दुखद् घट्ना हो ।

मैले आँखा देखाएर सही गरे या गलत ? अप्रेसनकै कारण उनको परिवारले सही तरिकाले नसोच्दा त्यो महिलाको जिन्दगी उजाडिएको छ ।

अहिले पनि आँखा शल्यक्रिया गर्ने समयमा त्यो घटनाको याद आउँछ । मैले भन्न खोजेको हाम्रो समाज अझै पनि अशिक्षामा रुमलिरहेको छ ।

भूगोल अनुसार फरक फरक रोग

नेपालमा पछिल्लो समय मुत्युपछि अङ्ग दान धेरैले गर्ने गरेका छन् । आँखा दानको सवालमा कुरा गर्ने हो भने मुस्लिम समुदायमा मृत्युपछि पनि आँखा दान गर्नुहुँदैन भन्ने चलन रहेछ ।

उनीहरू आँखा दान गर्न मान्दैनन् । शल्यक्रिया गर्दा आँखा बाहिर निकाल्छ, खसी, बोकाको आँखा हाल्छ भन्ने जस्ता शङ्का अझै पनि गर्छन् । यो अन्धविश्वास पनि बिस्तारै कम हँुदै गएको छ । पहिलेभन्दा ५० प्रतिशतको हाराहारीमा घटेको जस्तो लाग्छ । नेपालमा भूगोल अनुसार आँखामा लाग्ने फरक फरक प्रकारका रोगहरू छन् । तराईमा बाक्लो बस्ती भएको कारण आँखामा देखिने समस्या एकबाट अर्काे व्यक्तिलाई छिट्टै सर्छ ।

पहाडमा टाडा टाडा बस्ती भएका कारण मानिसको आउजाउ कम हुनेहुँदा रोग लाग्ने सम्भावना पनि कम हुन्छ । ट्रकोमा तराईको बाँके, कञ्चनपुर, कैलालीमा बढी देखिन्छ ।

महिलामा बढी समस्या  

आँखा स्वास्थ्यको सवालमा पुरुष र महिलाको बारेमा कुरा गर्ने हो भने महिलालाई बढी समस्या हुन्छ ।

महिलालाई बढी मात्रमा थाइराइड हुने र त्यसले आँखा बिगार्ने हुन्छ । मोतीविन्दुमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या केही मात्रमा बढी नै छ ।

आँसु आउने समस्या महिलामा बढी हुन्छ । अहिले पुरुषलाई मोतिविन्दु धेरै देखिएको छ । उपचार गर्नेको सङ्ख्यामा भने पुरुष नै बढी पाउँछाँै ।

आजभन्दा २० वर्षअघि आँखाको शल्यक्रिया गर्दा लेन्स राखिँदैनथियो । त्यो समयमा लेन्स विकसित देशबाट ल्याउने गरिएको थियो । एउटा लेन्सको २० देखि २५ हजार खर्च हुन्थ्यो ।

शल्यक्रियाको काम सक्दा त झण्डै ४० हजार खर्च हुन्थ्यो । महँगो भएकै कारण सबैलाई बाध्यताबस अन्धो बनाएर पठाइन्थ्यो त कसैलाई मोटो चस्मा लगाइन्थ्यो ।

 तर अहिले तिलगङ्गा प्रतिष्ठानले आँखा लेन्स उत्पादन गर्न थालेपछि धेरै सहज भएको छ ।

 हामीलेत खपत गर्दै आइरहेका छौँ भने चाइना, पाकिस्थान, भारत, भुटान, अमेरिका, युरोप, अफ्रिकामा पनि लेन्स बिक्री हँुदै आइरहेको छ । तिलगङ्गाले बनाएको एउटा लेन्सको अहिले २ सय देखि ३ सय रुपियाँमा पाइन्छ ।

चस्माको प्रयोग आँखाका लागि उपयुक्त हो ।

हामी गाउँघरमा काम गर्ने मान्छेलाई सेकेन्ड सेकेण्डमा आँखाको समस्या छ । जसका लागि तपार्इंले चस्मा प्रयोग गर्दा राम्रो हुन्छ । चस्माले कुनै पनि असर गर्दैन आँखाको सुरक्षामा मद्दत गर्छ ।

सुगर, प्रेसर, थाइराइड, टिभी, एचआईभी भएका अथवा औषधि खाने मान्छेलाई बढी समस्या देखिन्छ ।  यस्ता रोग लागेको व्यक्तिले चिकित्सकले समय समयमा आँखा जाँच गर्नु भनेको हुन्छ । कतिले खासै वास्ता गरेको पाइन्न । पछि झन् ठूलो समस्या हुनसक्छ ।  

चस्मा भनेको जाडोको ज्याकेट लगाउनु जस्तै हो । भनेको तपाईंले राम्रोसँग देख्नुभएन भने चस्माले देखाउन मद्दत गर्छ ।

चस्माको प्रयोग आवश्यकता नै हो । उमेरको कारणले पनि अविभावकले चस्मा लगाउन मान्नु हुन्न । आवश्यक छ भने लगाउनुपर्छ, जसले गर्दा बालबालिकाको विकासमा मद्दत पुग्छ । 

रोग लागेको धेरै समयपछि मात्रै अस्पताल आउने गर्छन् ।  यही अस्पतालमा उपचार गर्न आउनेको कुरा गर्ने हो भने पनि काठमडौँमा बस्ने केही औँलामा गन्न मिल्ने व्यक्ति मात्रै सचेत भएर समयमा अस्पताल आउँछन् । तर अधिकांश ढिला नै आउने गर्छन् ।

रोग नलागे पनि वर्षमा एक पटक आँखा जचाउन जानु नै पर्छ । विशेषतः ४० वर्ष उमेर कटेका व्यक्तिहरूले आँखा परीक्षण गराउनु जरुरी हुन्छ ।

बालबालिकामा चस्मा लगाउनुपर्ने समस्या आएको हुन्छ । त्यो ७ वर्षसम्ममा उपचार भएन भने भयाभह रूप लिनसक्छ । बच्चा जन्मेपछि पनि एक पटक आँखा जाँच्न सल्लाह दिन्छु । 

मोबाइल, कम्प्युटरमा काम गर्ने मान्छेलाई नजिक हेर्दा हाम्रो आँखालाई इस्ट्रेज पर्ने र साथसाथै हाम्रो मस्तिष्कमा पनि इस्ट्रेज पर्न सक्छ ।

त्यसकारण कम्प्युटर धेरै समयसम्म नचलाउनु नै राम्रो हुन्छ । २० मिनेट जति कम्प्युटर चलाएपछि २० सेकेन्ड २०  मिटरभन्दा टाढा हेर्ने बानी गर्दा राम्रो ।

धेरै कम्प्युटर चलाएपछि आँखा सुख्खा हुन्छ अहिले काठमाडौँको वातावरणमा पनि धेरै समस्या भएको कारण धेरैका आँखा सुख्खा हुने गरेको तपाईं पाइन्छ, जसका लागि तपाईंले झन्झट नमानी कृत्रिम आँशुको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।

कृत्रिम आँशु लगाउँदा तपार्इंको आखाँलाई फाइदा हुन्छ ।

 (डाक्टर बेन लिम्बु मोतिविन्दु तथा अकुलोप्लास्टिक शल्यचिकित्सक हुन् । उनी विगत १५ वर्षदेखि तिलगङ्गा आँखा अस्पतालमा कार्यरत छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप