मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

छाउपडी : हाम्रो भ्रम र वास्तविकता

सोमबार, ३२ असार २०७५, ०९ : ४६
सोमबार, ३२ असार २०७५

— रामहरी ओझा 

हाम्रो समाज अझै विभिन्न खाले विभेदबाट मुक्त हुन सकिरहेको छैन । समाजमा विभिन्न खालका कुरीति अन्धविश्वास अझै कायमै छ । यस्तै विभेदमध्येको एउटा उदाहरण हो– छाउपडी प्रथा । 

छाउपडी प्रथाको अन्त्य गर्नका लागि विभिन्न सङ्घ संस्थाहरूले मौसमी खेती गरिरहेका छन् । मौसमी खेती भन्नाले उनीहरूले दतृसंस्था भेटेपछि मात्र यस विषयमा बोल्ने गरेका छन् तर विभेद जस्ताको त्यस्तै रहेको पाइएको छ । 

सुदूरपश्चिममा छाउपडी प्रथा अझै धेरै मान्ने गरिन्छ । त्यसो त सुदूरपश्चिमका बैतडी, दार्चुला, बाजुरा, बझाङलगायतका जिल्लाहरूमा पनि डोटीकै हाराहारी वा डोटीभन्दा बढी छाउपडी प्रथा छ । डोटी सुदूरपश्चिमकै क्षेत्रीय सदरमुकाम भएका कारण यहाँका बासिन्दाहरूको चेतना स्तर माथि उठेको हुनुपर्ने, त्यो हुन सकेको छैन । 

महिनावारी वा नछुने हुनु कुनै अपराध होइन न त यो भगवानको श्राप नै हो । यो त प्रकृतिको नियम हो । किशोरावस्थामा प्रवेश गरेकी महिलाहरूमा जब मासिक श्राव सुरु हुन्छ, तब उसलाई सन्तान जन्माउन सक्षम भएकी मानिन्छ । मासिक श्राव पाठेघरको कार्य हो, जसलाई अण्डाशयको क्रियाकलापले प्रभावित गरिरहेको हुन्छ । पाठेघरभित्र रहेका रक्त तथा अन्य ग्रन्थि श्रावहरू अण्ड निसेचित नभएको अवस्थामा शरीर बाहिर उत्सर्जित हुने गर्दछ । यसैलाई मासिक श्राव वा महिनावारी भएको भनिन्छ । तर हाम्रो समाजमा यसलाई नछुने भएको भन्छन् । यो अन्यायपूर्ण र विभेदपूर्ण भाषा हो । 

‘बाहिर हेर्दा रामराम, भित्रतिर तथानाम’ भने जस्तो व्यवहार सुदूरपश्चिमका अगुवा महिलाहरू गर्ने गर्दछन् । ‘छाउपडी प्रथाको अन्त्य गर’ भनेर नारा लाउने र महिला आन्दोलनको नेतृत्व गर्ने महिलाहरू आफू मासिक श्राव हुँदा चार, पाँच दिनसम्म आफैलाई अछुत घोषणा गरेर पर बसेका घटना पनि हामीले देखेका छौँ । चार दिनसम्म अलग बस्ने कसैसँग नछुने र चार दिन भएको दिन नुहाइ धुवाइ गरेर गाईको गहुँत वा सुन पानी चाखेर शुद्ध हुने अगुवा महिलाहरू हाम्रो सुदूरपश्चिममा प्रशस्त रहेका छन् । 

गैससमा लागेका व्यक्तिहरू पुरुष हो या महिला नछुनेको भूतबाट अझै मुक्त हुन सकेका छैनन्  । भाषण गर्दा छाउपडी प्रथा अन्त्य हुनुपर्छ भन्छन् तर आफू वा आफ्नो परिवारका महिला महिनावारी भए टाढै बस्न लगाउँछन् । छाउपडीका गोठ भत्काउन गाउँ–गाउँ जान्छन् । यति छाउपडी गोठ भत्कायौँ  भन्छन् तर आफू फेरि गोठमा नै बस्छन् । गैससहरूले ब्यानर प्ले कार्ड अगाडि देखाएर, गाउँका महिलाहरू सहरमा उतारेर, नारा जुलुस गर्न लगाउँछन्, ‘छाउपडी प्रथा अपराध होइन, भगवानको देन हो’ भन्न लगाउँछन् फोटो खिच्छन् । त्यसै फोटो भजाउँछन, आफ्नो खेती चलाउँछन् । तिनै महिलाहरू जसले बजारमा नारा लगाए जसलाई छाउपडी प्रथा भनेको के हो भन्ने पनि राम्रोसँग थाहा छैन, फेरि घर गएर उही संस्कार अँगाल्छन् । कतिपय  अवस्थामा हाम्रो सामन्ति संस्कारले वा सामन्ति संस्कार बोकेको समाजले त्यसो गर्न दिँदैन । केही महिलाहरू त्यसकारणले पनि खुलेर छाउपडी प्रथाको विरोध गर्न सकिरहेका छैनन् । यो समस्या विशेष गरी ग्रामीण भेगका महिलाहरूमा बढी देखिएको छ । उनीहरू आफू यस्तो अपराधपूर्ण प्रथाको अन्त्य गर्न चाहन्छन् तर पनि समाज र घर परिवारको डरले यस्तो गर्न सक्दैनन् । 

नेतृत्व तहमा भएका अधिकांश महिलाहरू जसले महिला आन्दोलनको नेतृत्व गरिरहेका छन्, उनीहरू नारा लगाउँछन् तर पनि यो अवस्था भनेको नछुने अवस्था हो भन्ने मानसिकता बोकिरहेका हुन्छन् ।

महिनावारी भएका बेला अलग नबसेमा कुल देवता, ईष्ट देवता रिसाउँछन् । देवी देवताले श्राप दिन्छन् अनि हामी विरामी हुन्छौँ । हामीलाई अनेक रोग लाग्न सक्छ । हाम्रो भौतिक एवम् मानवीय क्षति हुन सक्छ । हामीमा  बाँझोपन आउन सक्छ भन्ने डरका कारण अझै पनि त्यही संस्कारलाई मान्न बाध्य भएका छन् । उनीहरूलाई बाहिरी रूपमा हेर्दा न त समाजको दबाब रहेको छ, न त घर परिवारको दबाब । छ त केवल सामन्ती सोचको, परम्परागत संस्कारको, देवी देवताको डरको ।

मासिक श्राव भएको बेला शारीरिक सम्बन्ध नराख्नु राम्रो कुरा हो । किनभने त्यसबेला शारीरिक सम्बन्ध राख्नाले एक त यौनरोगहरू हुने सम्भावना हुन्छ भने अर्काे कुरा महिलाको यौन अङ्गमा घाउ हुने सम्भावना बढी रहन्छ । यो वैज्ञानिक रूपले पुष्टि भएको कुरा हो । तर मासिक श्रावलाई नछुनेको संज्ञा दिएर छुनै नहुने घरभित्र प्रवेश गर्नै नहुने, आपूmभन्दा ठूलासँग बोल्नै नहुने कुराहरू सरासर गलत हुन । यस्ता कुराले स्वयम् महिलाहरूलाई नै सधँैभरी हारेर बस्नुपर्ने अवस्था ल्याउँछ ।

त्यसकारण महिला मुक्तिको आन्दोलन गर्ने नारी वा पुरुषले आजेदैखि आफूले आफैलाई सुधार गर्दै लानुपर्ने हुन्छ । छाउपडी प्रथा जो तत्कालीन सामन्तवादी सोच भएका शासक वर्गहरूले चलाएका छन्, त्यसको अन्त्य गरिनुपर्छ । यसका लगि महिलाको भलो चाहने पुरुषहरूले पनि सहयोग गर्नुपर्ने देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप