प्रहरीका ‘सई’लाई लोभमा पारेर ६० हजार दिन खोज्ने पक्राउ
काठमाडौं– महानगरीय प्रहरी वृत महाराजगञ्जस्थित मुद्धा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) टेकबहादुर कुँवरले आफुलाई घुस दिन खोज्ने अभियुक्तलाई नियन्त्रणमा लिएका छन् । शुक्रवार सामाखुसीमा झगडा गर्दै गरेको अवस्थमा पक्राउ परेका सोलुखुम्बुका विजय मगरले आईतबार म्याद नथप्न आग्रह गर्दै कुँवरलाई ६० हजार पैसा दिन खोजेका थिए ।
‘म्याद थप गर्न लैजाने क्रममा लोभमा पारेर पैसा दिन खोजेपछि उनले दिन खोजेको रकम बरामद गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले भने, ‘राष्ट्रसेवकलाई घुस दिन खोज्नेलाई कानुन अनुसार थप कारवाही गर्छौ ।’
सार्वजनिक अपराध मुद्धामा म्याथ थप गर्नका लागि जिल्ला प्रशासन कार्यालय लैजानका लागि गाडीमा हाल्दै गर्दा विजयले सई कुँवरलाई ‘अजेन्ट छ’ भन्दै कुनातर्फ बोलाएर पैसा दिएका थिए । आफुलाई लोभमा पार्न खोजेपछि सई कुँवरले उनलाई पैसासहित वृत्तका डिएसपी भेषराज रिजालसमक्ष उभ्याएका थिए ।
शुक्रवार साँझ ओखलढुंगाका रिजन सुनुवारसँग सामाखुसीमा झगडा गर्ने क्रममा विजयले आफुलाई ‘प्रहरी हुँ’ समेत भनेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी भेषराज रिजालले बताए ।