असारे विकास एउटा परम्परागत कथा
असारको महिना । कालिदासका यक्षले आफू विदेशमा रहँदा स्वदेशमा प्रतीक्षारत आफ्नी प्रियसीलाई झल्झली सम्झेको महिना । मुक्त आकाशमा मनोरम हात्ती बनेर मेघले वप्रक्रीडा गरेको महिना । यक्षले त्यसै मेघलाई विश्वस्त दूत बनाएर आफ्नी प्रियसीसमक्ष पठाएको महिना । एक काव्यमय महिना ।
हिमालको काखमा खेल्ने सुन्दरतम प्रकृतिको देश नेपाल । नेपालको द्रूततर विकासमा असार महिनाको छुट्टै महिमा छ । छुट्टै भूमिका छ । यो महिना प्रकृति स्वयम् सृजनशील बन्छिन् । सर्जकहरुमा गीत फुर्छ । कविता फुर्छ । दाहोरी फुर्छ । असारमा खेतरोपाइँ किसान समुदायका लागि भव्य सौन्दर्यको समुच्चय नै हो । ठीक यही महिना हाम्रो मुलुकमा द्रूततर विकास र समृद्धिकोे राजकीय भ्रमण हुने महिना पनि हो । कालिदासका यक्षले प्रियसी सम्झेजस्तै यो महिना हाम्रा नेपालका विकासे कर्मचारी र विकासे राजनेताहरु देशको विकास निर्माण सम्झन्छन् । अघिल्ला एघार महिनासम्म भुसुक्कै बिर्सेका विकास निर्माणका योजनाहरु सम्झन्छन् ।
क्या प्रिय र मनोरम हुन्छन् ती योजनाहरु ! प्रेमले रन्थनिदै हाम्रा विकासका अभियन्ताहरु सडक गल्लीमा ओर्लेर रातारात उपभोक्ता समिति कन्याउन पुग्छन् । उपभोक्ता त जनता हुनु पर्ने हो तर उपभोक्ता समिति जनताभन्दा माथि केहि हुन्छ । त्यसमा पदधिकारीहरु हुन्छन् । विकासभोजी उपभोक्ता समितिहरुलाई पनि असार त चाहिएकै हुन्छ । ति पनि प्रतीक्षामै हुन्छन्, प्रिय असारको । धान रोप्न होइन तत्काल खल्ती खल्तीमा उम्रने फल्ने विकास रोप्न ।
असारमा विकास र समृद्धिको राजकीय भ्रमण मुहूर्त जुराउने संस्कृति नेपालमा यद्यपि नयाँ होइन । धेरै पुरानो पनि होइन । अहिले नयाँ र उर्वर वातावरण पाएर यो संस्कति विशेष मौलाएको छ । विशेष झाङ्गिएको छ । संस्कृतिको बीज नै भाले जातको भएका कारण विकासका यी बोटहरुमा फूल भने फुल्दैन । फल पनि लाग्दैन । दिनभरी निर्माण रातभरी विनिर्माण । दिनभरी विकास रातभरी निकास । झण्डै सिसिफसको अभियानजस्तो । यस्तो हुनु यसको विशेषता नै हो । असारभरि विकासको रमझम चल्छ । साउन लाग्दा नलाग्दै निर्मूल बन्छ । भत्कनु–बिग्रनुका सारा दोष वर्सातले बोक्छ । त्यही आगन्तुक असारले बोक्छ । सर्वम् पदम् हस्तिपदे निमग्नम् । असार एउटा हात्तीको पाइला हो । यसले सबै जीवजन्तुका पाइला छोप्छ । ढाक्छ ।
पहिले पहिले असारमा विकासको मूल मात्र फुट्थ्यो । हिजोआज विकासको मूल होइन बाढी नै फुट्छ । काठमाडौं उपत्यका नै डुबाउने गरी बाढी फुट्छ । यस्तै हो भने भक्तपुरसम्म त समृद्धिको पानीजहाज नै पनि आउला कि ? हिजोआज नेपालका मूलहरुबाट आउने मामुली पानीले बाढीलाई बाटो छोडिसकेको अवस्था पनि छ । यता विकासका खहरेहरुमा बाढी आउने सर्वोत्तम महिना बनेको छ असार । शहरमा विकासको बाढी कालोपत्रे बनेर सडक गल्लीहरुमा ओर्लँदाओर्लँदै स्वागतमा धमिलो पानीको अर्को बाढी आइपुग्छ । असारमै यस्तो छ । साउनमा मनसुनका पानीको बाढी आएपछि असारे विकासका बाढी सवै पुरिन्छन् र नयाँ नयाँ विकास र्मिाणका लागि अर्को वर्षको असार कुर्न थाल्छन् विकासका अभियन्ताहरु ।
राजनीतिक व्यवस्थाको नाम जति पविर्तन होस् । जुनसुकै दलको जस्तोसुकै सरकार बनोस् । जुनसुकै दलपति प्रधानमन्त्री बनुन् असारमा विकासको बाढी दगुराउने यो प्रथा जानेवाला छैन । घोडेजात्रा जाला असारे जात्रा जाँदैन । क्रिस्चियनले क्रिस्मस छोड्लान् । हिन्दूले दशैं छोड्लान् । लामाहरुले गुम्बा छोड्लान् । नेपालका कर्मचारीले असारे विकासको शुभलाभ संस्कृति छोड्दैनन् । मुलुककमा यो संस्कृति छ र नै कुर्सीमा कर्मचारीहरु छन् । जङ्गलमा काफल पाक्छ र नै चरी कराउँछ । मन्दिरमा भक्तजन आउँछन् र नै बाँदरहरु मोटाएर बस्छन् । प्रतिवर्ष नेपालमा विकासे असार आउँछ र नै यहाँका नेता कार्यकर्ताहरुको राजनीति चलेको छ । कर्मचारीहरु हट्टाकट्टा छन् । उपभोक्ता समितिका व्यक्तित्वहरु सदाबहार छन् । यत्रतत्र बाँसघारीहरुमा सुखसमृद्धिका कोपिला लागेका छन् ।
असारमा विकास निर्माण रोप्न सजिलो छ । जसरी हिलोमा धान रोप्न सजिलो छ । जसरी असारे दबदबे हिलोमा धानका बिउबेर्नाहरु मुन्टोमात्र देखिनेगरी गाडिन्छन् त्यसैगरी असारे विकासमा उपभोक्ताहरु गाडिन्छन् । हामीले राजधानीका सडकमा यसरी गाडीहरु र पदयात्रीहरु गाडिएका दृश्य देखेका छौँ । विकासका अन्यान्य क्षेत्रहरुमा पनि प्रकारान्तरले उपभोक्ताहरु गाडिएका देखेका छौं । यसैले विकासको मर्म नबुझेकाहरु कति त असारे विकासलाई गाडेविकास पनि भन्छन् । पश्चिम नेपालमा गाडको अर्को अर्थ खोलानाला पनि हो । असारमा खोलानाला बढ्छन् ।
दिनभरि खनेको बाटो राती पहिरोले पुर्छ । दिउँसो गरेको कालोपत्रे रातभरीको पानीले हिलोमा परिणत गरिदिन्छ । दिनभरि ठड्याएको पर्खाल राती गर्लम्म ढल्छ । यसै भएर ठेकेदारका मर्का बुझेका समझदार सरकारी इन्जिनियरहरु पहिरो र हिलो हेरेरै विकास निर्माणको जाँचपास गरिदिन्छन् । ठेकेदारले समयमा भुक्तानी पाउँछ । कर्मचारीले नोटतानी पाउँछ । उपभोक्ता समितिका व्यक्त्वित्वहरुले मेजमानी पाउँछन् । यसरी रातारात सबैको भलो गर्दै असारे विकासको वार्षिक एक अध्याय टुङ्गिन्छ । अर्को अध्यायमा कुमारजी फेरि आज्ञा गर्नुहुन्छ । अर्को अध्यायमा फेरि सतीदेवीको अर्को अङ्ग पतन हुन्छ ।
यसरी हाम्रो असारे विकासको कथा पनि एउटा नयाँ स्वस्थानी व्रतकथा हो । स्वस्थानी कथाका केही अवशेष भेटिएलान् असारे विकासका अवशेष भेटिँदैनन् ।
हाम्रो असारे विकासका कथाबाट अनेकौं विनिर्माणकाव्यहरु बन्न सक्छन् । वियोगान्त नाटकहरु बन्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’