बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रलिबसको अस्थिपञ्जर र मेट्रो/मोनो रेलको सपना (फोटोफिचर)

शनिबार, ३१ असार २०७४, १७ : ०८
शनिबार, ३१ असार २०७४

काठमाडौं– शुक्रबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य राष्ट्रिय सभागृहको हलबाट काठमाडौंमा मोनो रेल, विद्युतीय सौचालय निर्माणजस्ता सपना बाँडिरहेका थिए । उता, काठमाडौंको सामाखुसीमा भिषण वर्षापछि सडकमा धराप छोडिएको ढलभित्र एक बालिका खसिन र भेलले बगायो ।
 
जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधि सपनाको खेती गरेर रिबन काट्न कैचीमा धार लगाएर बसिरहेका छन् तर सडकको पूर्वाधारको अवस्था डेन्जर जोनको अवस्थामा छ । सडकको दुरावस्थाका कारण बिहान घरबाट हिँडेको मान्छे बेलुका सकुशल फर्कन्छ कि फर्किन्न चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विकासमा नाममा भत्काइएको सडक मर्मत नगरी अलपत्र छोड्ने गैरजिम्मेवारीका कारण सर्वसाधारणले सास्ती पाइरहेका छन् । 

ट्रलिबसको अस्थिपञ्जर  

नेपालमा पनि ट्रली बस थियो र ? नयाँ पुस्ताका लागि यो एउटा आश्चर्य र किम्बदन्ती बनिसकेको बेला काठमाडौैंको मिनभवनमा अव ट्रलिबसको अस्थिपञ्जर मात्र बाँकीे छ । 

सहरमा दुर्घटनाका कारक बनिरहेका सडकका खल्टाखुल्टी नपुर्ने तर मेट्रो र मोनोरेलको सपना बाँड्नेहरुलाई भएको विकासलाई समेत जोगाउन नसकेकोमा कुनै पछुतो छैन । सबैभन्दा बढी गाली गरिएको नेपालको शासन व्यवस्था मध्येको एक पञ्चायतकालीन समयमा स्थापना भएको ट्रलिबस एकादेशको कथा बनेको छ । ट्रलीबसको अवशेषलाई अब कुनै कवाडी संकलकले ब्यवस्थापन गर्न मात्र बाँकी छ । 

झन्डै २ वर्षअघि भारतले गरेको नाकाबन्दीकाबेला इन्धन अभावमा सडकमा सवारी साधन नपाइएकाबेला धेरैले ट्रलीबसलाई सम्झिएका थिए । तर चिनियाँहरुले निर्माण गरिदिएको विद्युतीय यातायात सेवा समेत जोगाउन नसक्नु नेपालीहरुका लागि दुर्भाग्य थियो ।  

चिनियाँ सरकारको सहयोगमा भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको थापाथलीसम्म ट्रलिबस संचालन हुने गरेको थियो । २०२९ सालमा तत्कालीन राजा वीरन्द्रले चीन सरकारसँग ट्रलिबसका लागि सम्झौता गरेपछि २०३२ सालदेखि काठमाडौंमा ट्रलीबस सञ्चालन हुन थालेको थियो । काठमाडौंको थापाथलीदेखि भक्तपुरको सुर्यविनायकसम्म १३ किलोमिटर सडकमा ३२ ट्रलिबस सञ्चालनमा थिए । 

२०४५ सालसम्म नाफामा रहेको ट्रलीबस सेवामा राजनीतिक भर्तीकेन्द्र बनेपछि ओरालो लाग्न थालेको जानकारहरु बताउँछन् । ३५ सालमा १ सय ८० कर्मचारी संख्या रहेकोमा बहुदलीय ब्यवस्था आएपछि कर्मचारीको संख्या ४ सय सम्म पु¥याएर ट्रलीबसलाई आर्थिक रुपमा कमजोर पारिएपछि बिस्तारै यो सेवा थला पर्दै २०५८ सालमा बन्द हुन पुगेको थियो । 

सडकको खाल्डो र मेट्रो रेलको सपना 

स्थानीय तहको निर्वाचन पूर्व उम्मेद्धवारहरुले र निर्वाचनपछि महानगरपालिका तथा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि अर्थात प्रमुखहरुले शहरमा मोनो रेल र मेट्रो रेलको सपना बाँडिरहेका छन् । सपना बाड्नु र काम गर्नुमा धेरै फरक हुन्छ । यसका लागि स्थान, योजना र पूँजीको आवश्यकता पर्दछ । एकातिर हाम्रा शहरहरु अब्यवस्थित रुपमा निर्माण भएका छन्, शहरमा खुला स्थानको अभाव छ जसले पूर्वाधार निर्माणमा समस्या छ । 

मोनो÷मेट्रो रेल शहरलाई चाहिन्छ, तर यसको सपना देखाउनु भन्दा योजना निर्माण र अध्ययनतिर लाग्नु अहिलेको आवश्यकता हो । अझ त्यसभन्दा पहिले भद्रगोल र अब्यवस्थित भएको सडकका खाल्डो पुर्नतिर लागे दुर्घटनाको जोखिम कम हुन सक्छ । निर्माणका क्रममा अलपत्र छोडिएका सडकका ठूला ठूला खाल्डो पुर्ने अभियान शुरु गरेपछि मात्रै रेल ल्याएर अन्तर्राष्ट्रिय स्तरको शहर बनाउने सपना बाँड्दा के होला ? 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप