विद्यार्थीको हातमा नेविसंघको झण्डावाल कपी, झोलामा नेताको नाम : बाँड्ने नेकपाका अध्यक्ष !
काठमाडौँ । विद्यालय शान्तिक्षेत्र मात्रै होइन पूर्णरुपमा राजनीतिक गतिविधि निषेधित क्षेत्र हो । अवोध बालबालिकाहरुको मन–मस्तिष्कमा राजनितिक प्रभाव नपरोस् भन्नका लागि विद्यालय तहमा विद्यार्थी संगठनहरुले समेत आफ्नो संगठन विस्तार गर्दैनन् । तर, रामेछापका केही विद्यालयमा भने नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधीहरुले विद्यालयलाई नै राजनिती गर्ने थलो बनाएका छन् ।
रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा अवस्थित जलेदवी मा.वि. मा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधी भरत चौलागाई र विनिती खड्काले संयुक्त रुपमा अभ्यास पुस्तिका र झोला वितरण गरेका छन् ।
असार १० गते जलदेवी माविमा आयोजित भवन उद्घाटन कार्यक्रममा सुनापती गाउँपालिका–१ गुन्सीका चौलागाईं र सुनापति–५ डाँसेकी खड्काले नेविसंघको झण्डासहित काँग्रेसका पुराना नेताहरुको फोटो छापिएको अभ्यास पुस्तिका वितरण गरेका थिए ।
जलदेवीमा कक्षा १ देखि १० सम्म अध्ययनरत २११ जना विद्यार्थीलाई वितरण गरिएको उक्त अभ्यास पुस्तिकामा नेपाली काङ्ग्रेसको सैद्धान्तिक नाराहरु लेखिएको छ ।
त्यस्तै विद्यार्थीहरुलाई वितरण गरिएको झोलामा महाधिवेशन प्रतिनिधी भरत चौलागाईको नाम र काङ्ग्रेस पार्टीको नाम उल्लेख गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय रामेछापको सिफारिसमा आयोजना इकाईले वितरण गरेको ६ कोठे भवन उद्घाटन कार्यक्रममा काङ्ग्रेसका महाधिवेशन प्रतिनिधीहरुले उक्त प्रचार सामाग्र वितरण गरेको जलदेवीका प्रधानाध्यापक कृष्ण कुमार खड्काले बताए । रातोपाटीसँग कुरा गर्दै प्रअ खड्काले भने, ‘त्यो विषयमा हामीलाई शुरुमा थाहा भएन, अफिस सामग्री र झोला तथा कपी दिने कुरा आएको थियो । तर अन्तिममा त्यस्तो लेखिएको रहेछ ।’
‘विद्यालयलाई कुनै पार्टीको प्रचार थलो बनाउन मिल्छ र ?’ भन्ने रातोपाटीको जिज्ञासामा प्रअ खड्काले भने, ‘मिल्न त नमिल्ने, तर अब बाँडी हाले ।’
रोचक कुरा केछ भने, जलदेवी माविको भवन उद्घाटन गर्न गएका सुनापति गाउँपालिका प्रमुख धावा लामाले काङ्ग्रेसको झण्डा अंकित सामग्री वितरण गरेका थिए । लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत हुन् । उनले तत्कालिन एमाले र माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुखको चुनाव जितेका थिए ।
‘म भवन उद्घाटन गर्न गएको थिएँ,’ गाउँपालिका प्रमुख लामाले भने, ‘अचानक काङ्ग्रेसको झण्डा अङ्कित कपी र झोला बाँड्न लगाएर मलाई फसाइँयो ।’
जलदेवीमा निर्मित ६ कोठे भवन गाउँपालिका प्रमुखले उद्घाटन गरेका छन् । उक्त भवन ८५ लाख ९५ हजार लागतमा निर्माण भएको प्रअ खड्काले बताए ।
यसैबीच कांग्रेसका दुई महाधिवेश प्रतिनिधी चौलागाई र खड्काले नेपाली काङ्ग्रेसको झण्डासहितका कापी र झोला जिल्ला सद्रमुकाम मन्थलीस्थित महेन्द्रोदय उच्च मावीमा समेत वितरण गरेको पाइएको छ ।
चौलागाईले महेन्द्रोदयमा काङ्ग्रेसको प्रचार सामग्री स्कुले बालवालिकालाई वितरण गर्नका लागि काङ्ग्रेस नेता रामशरण महतलाई मन्थली लगेका थिए ।
सुनापति गाउँपालिकास्थित भुटनदेवी प्रा.वि. र प्रगती प्रा.वि. कटुन्जेमा पनि उनीहरुले स्कूले विद्यार्थीहरुको हातमा काङ्ग्रेसको झण्डा अंकित कापी र झोला थमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा