शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

गृहमन्त्री ‘बादल’ ले भने,‘भ्रष्टहरु एक नम्बरका अपराधी हुन्, अब त्यस्तालाई क्र्याक डाउन गर्नुपर्छ’

शुक्रबार, २२ असार २०७५, १३ : ५१
शुक्रबार, २२ असार २०७५

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कारागारदेखि राज्यका हरेक क्षेत्रमा भ्रष्टाचार ब्याप्त रहेको उल्लेख गर्दै भ्रष्टाचारीहरु विकासको मुल शत्रु भएको बताएका छन् ।

 शुक्रवार काठमाडौंको एक होटलमा आयोजित प्रहरी र सरकारी वकिलहरुको ३ नम्बर प्रदेश सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री थापाले तस्कर, दलाल र गुण्डाहरु भ्रष्टाचारकै अर्को नाम भएको बताए ।

उनले भने, ‘हाम्रो देशको दुस्मन भ्रष्टाचार हो, अबको हाम्रो एक्सन प्लान करप्सनलाई कसरी क्र्याक डाउन गर्ने भन्नेतिर हुनुपर्छ ।’ 

‘करप्टहरु एक नम्बरका अपराधी हुन्’ उनले भने, ‘करप्टहरुले जनता र राज्यको प्रगती चाहँदैनन्, आफ्नो मात्रै प्रगती चाहन्छन् ।’ 

पछिल्लो समय विकसित साईबर अपराधमा पनि  करप्सन र ब्ल्याकमेल हुने गरेको गृहमन्त्री थापाले बताएका छन् ।

विकास र सम्वृद्धिको लक्ष्य हाँसिल गर्नका लागि सुशासन अनिवार्य हुने उल्लेख गर्दै उनले भने, ‘अपराध निस्तेज पार्दै विकासका क्रियाकलापलाई सुरक्षित गर्न नसके हाम्रो सम्वृद्धिको लक्ष्य पुरा हुन सक्दैन् ।’ ‘प्रहरीले गर्ने अनुसन्धान प्रमाणमा आधारित हुनुपर्छ, जसले गर्दा निर्दोष फस्दैन दोषी कानुनी दायरामा आउँछ’ उनले भने, ‘त्यो न्याय हो ।’

गृहमन्त्री बादलले नेपालको सुरक्षा नीति नै बेठिक र असन्तुलित रहेको बताएका छन् ।

‘नेपालको आन्तरिक सुरक्षाको जिम्मा पाएको प्रहरीको संख्या थोरै छ, सुरक्षा नीति बेठीक र असन्तुलित छ’ उनले भने, ‘प्रहरीको अपराध अनुसन्धान विभाग र लागू औषध नियन्त्रण ब्यूरोमा दिन काट्ने काम मात्र भएको छ ।’ 

अनुन्धान गर्ने प्रहरीका लागि आवश्यक साधन स्रोत नभएको र प्रहरी कर्मचारीको संख्यामा समेत राज्यले ध्यान दिन नसक्दा समस्या सिर्जना भएको उनले बताए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशमा मान्छे बेचेर उल्टो टाउको उठाएर हिँड्नेको जमाना अब सकिएको बताए ।

‘भदौबाट नयाँ अपराध संहिता लागू भएसँगै नेपाल प्रहरीका अनुसन्धानकर्ताहरुले बयानमुखी अनुसन्धान भन्दापनि प्रमाणमुखी अनुसन्धानमा ध्यान दिनुपर्छ’ उनले भने, ‘पहिले अनुसन्धान गरेर मात्र अभियुक्तलाई कस्टडीमा लिनुपर्छ, तत्काल पक्राउ गर्दा सामाजिक प्रतिष्ठामा पनी आँच आउँछ ।’ 

आफु सुध्रिएरमात्र समाजलाई बाटो देखाउन सकिने उल्लेख गर्दै आईजिपी खनालले प्रहरी कर्मचारी ‘नन करप्ट’ भएमा प्रहरीलाई जनताले चाहेको जस्तो बनाउन सकिने बताए ।  

‘प्रहरीले अब आफुलाई लागेको काम मात्र गर्ने अवस्था छैन्’ उनले भने, ‘आचरण ब्यवहार सुधार्नुपर्छ ।’ 

इभिडेन्स बेसमा अनुसन्धान गर्नका लागि प्रहरीसँग वैज्ञानिक उपकरणको अभाव रहेको उल्लेख गर्दै खनालले त्यसका लागि आवश्यक बजेट एलोकेट गर्नका लागि गृहमन्त्री बादलसमक्ष आग्रह गरेका छन् । 

‘प्रहरीसँग आवश्यक पानीको फोहरा हान्ने मेशिन समेत छैन’ उनले भने, ‘भिड नियन्त्रण र अपराध अनुसन्धानमा आवश्यक साधान स्रोत नुहँदा अन्तर्राष्ट्रिय मानव अधिकारको अभ्यास गर्नेहरुले प्रहरीलाई त्यो कठघरामा उभ्याइरहेका छन् ।’ 

२०७५ भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध संहिता ऐन लगायत नयाँ फौजदारी कानुनको कार्यान्वयका लागि आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको उक्त सम्मेलन दुई दिनसम्म चल्ने बताईएको छ ।

सम्मेलनको बन्दसत्रमा ६६ प्रतिनिधिहरु सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप