मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

असद ओली भएका भए...

बिहीबार, २१ असार २०७५, १० : ०९
बिहीबार, २१ असार २०७५

देउवा पार्टीको रिस ओलीमाथि थोपर्छन् । पश्चिमाहरू असदलाई तारो बनाउँछन् । परिवार, देश र विश्व आखिर मानव बस्ती हो । त्यहाँ मानवीय स्वभाव प्रकट हुन्छ । जेठ १५ मा धेरैले आफूलाई गणतन्त्रवादी बताए । १९ को सन्दर्भमा धेरैले वीरेन्द्र राजालाई सम्झे । सम्झे के भनूँ, आफूलाई राष्ट्रवादी कित्तामा उभ्याउन सेतो कागजमा कालो अक्षर पोतँ । बाँचुन्जेल भद्र भनिएका राजालाई कसैले पनि टेरेनन् ।
‘लालयेत पञ्च वर्षाणि, दश वर्षाणि ताड्येत...’ बा संस्कृतको श्लोक भट्याउँदै नानीलाई क्रोधले हेर्नुहुन्छ ।

‘त्यो भनेको के हो बा ?’ म हाँसेरै स्थितिको सामान्यीकरण गर्न खोज्छु !

‘बच्चाहरूलाई पाँच वर्षसम्म मात्रै लाडप्यार गर्नु । दशपछि ठटाएर तह लगाउनु । सोह्रपछि साथीकै व्यवहार गर्नु भन्छ, नीतिले । स्मारिका आठकी भई । अब यसलाई पुल्पुल्याएर हुँदैन । काममा पनि लगाउनुपर्छ । खानुले मर्छ, कामले मर्दैन ।’ बा क्रोधाग्नि देखाउनु हुन्छ । म पनि घरको सानोतिनो काम गर्नुभन्दा पढ्नै बल गर्छु । ‘एउटा कुनामा बसेर किताबका पाना पल्टाउँदा संसार घुम्न सकिने रहेछ ।’ सगुना साहले सुनाएकी थिइन् । तर मैले गर्दा आमालाई भार पर्छ । आमाका नाममा गीत–कविता लेख्नेहरू धेरै छन् । आमालाई देख्नेहरू कमै होलान् । शब्दाडम्बरले साहित्य निकै निर्धो छ । म किताब थन्क्याएर पत्रिका टिप्छु ।
‘ढुङ्गेलको रिहाइसँगै मुलुकमा न्यायको औपचारिकताको अवसान भएको छ !’ म पढ्छु, ‘काङ्ग्रेसीहरूले नाङ्गो जुलुस गरे !’ काङ्ग्रेसीहरू कानुन पढ्दैनन् ?  मनमा प्रश्न उठ्छ । म पत्रिका मिल्काएर संविधानको पाना पल्टाउँछु । धारा २७६ मा लेखिएको छ, ‘राष्ट्रपतिले कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी वा परिवर्तन गर्न सक्नेछ !’ नेपाली काङ्ग्रेस आफूलाई कानुनको शासन मान्ने बताउँछ । कृष्णप्रसाद भट्टराई र गणेशमानसिंहले नमान्दा  नमान्दै पञ्चायती पालाको जनमत सङ्ग्रहको परिणामलाई बीपी कोइरालाले स्वीकार गरेका रहेछन् । आज आफैँले हस्ताक्षर गरेको बृहत् शान्ति सम्झौतालाई काङ्ग्रेस किन अस्वीकार गर्न खोज्दैछ ? संविधान आफ्नै नेतृत्वमा बनेको भन्न पनि काङ्ग्रेस पछि पर्दैन । सुरेन्द्र बस्नेत लेख्छन्, ‘यदि शान्ति प्रकृयालाई लत्याउने नै हो भने सबैभन्दा पहिले हालका काङ्ग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा हत्कडी लाग्छ । (यसैले) युद्ध सरदारहरूको उक्स्याहटमा लाग्नु हुँदैन ।’ 
‘दिन प्रतिदिन समय प्रतिकूल बन्दै जानु, पार्टीमा धार लगाउन नसक्नु, सत्ता पक्षको अधिकतम पेलाई, आफ्नो अस्तव्यस्त र असङ्गठित जमात... !’ नेपाली काङ्ग्रेसबारे जेठ १६ को ‘रातोपाटी’ अनलाइन खबरमा लेखको सुरुमै पुष्प न्यौपानेले लेखेका छन् ।

‘बिग्रेको मान्छे भत्केको घर, जता हे¥यो उतै दैलो...!’ नेपाली काङ्ग्रेस भत्केको घर हो । त्यसको पुनर्निर्माण आवश्यक छ । वैद्य र विप्लव संसदीय प्रणालीका विरुद्ध भए पनि बहुदलीय लोकतन्त्रको विरुद्धमा छैनन् । यसैले काङ्ग्रेस सम्हालिनै पर्छ । राम्रा मान्छे त्यहाँ पनि छन् । कूलबहादुर गुरुङ, प्रदीप गिरी, नरहरि आचार्य जिउँदै छन् । काङ्ग्रेस, उनीहरूलाई नमार । गणेशमान, कृष्णप्रसाद, शैलजा वा खुमबहादुरलाई जस्तै बिचल्लीमा नपार ।

गर्भको बात जानिँदैन भनिन्थ्यो । अहिले जानिन्छ । गर्भको बात जानेरै ‘प्रगतिशील’हरू पनि  गर्भपतनको अगतिशील बाटोमा हिँड्छन् । गर्भको भू्रण छोरी छे भने फाल्छन् ।

‘चुनाव परिणामले भन्दा नेताहरूमा देखिएको विचार शून्यता र लघुताभासले काङ्ग्रेसका कार्यकर्ता र शुभचिन्तक आहत भएका छन् ।’ होमनाथ दाहाल लेख्छन्, ‘काङ्ग्रेस पाँच महिनासम्म भारतले लगाएको नेपाली विरुद्धको त्यो कठोर नाकाबन्दीमा किन मौन बस्यो ? प्रश्न अझै गर्भमै छ !’

गर्भको बात जानिँदैन भनिन्थ्यो । अहिले जानिन्छ । गर्भको बात जानेरै ‘प्रगतिशील’हरू पनि  गर्भपतनको अगतिशील बाटोमा हिँड्छन् । गर्भको भू्रण छोरी छे भने फाल्छन् । पोखरामा अस्ति जेठ ८ गते गोकुल जोशीलाई सम्झिँदै प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मात्रिका पोखरेलले भाषण गरे, ‘परबाट हेर्दा सुगन्धित लाग्ने, नजिक हुँदै गएपछि गन्हाउने प्रवृृत्ति प्रगतिशील फाँटमा बढेको छ !’ नराम्रा मान्छे यहाँ पनि छन् ।

असल र खराब सबैतिर छन् । असलले जित्दा खराबले हार्छ । अँध्यारोमा सानै दियोले ठूलो उज्यालो पार्छ । अहिले सिरियाको अँध्यारो भविष्यबारे सर्वाधिक बोलिएको छ, लेखिएको छ । बौद्धिकहरूका अनुसार सिरिया सङ्कट विश्व शक्तिको होडबाजी हो । ऊर्जामाथिको कब्जाको लडाइँ हो । जनता बाच्छा मिचाइमा परेका छन् । निउँ एसद बनेछन् । एसद त्यहाँका राष्ट्रपति । पारिवारिक शासन हाँक्दा रहेछन् । तानाशाही लाद्दा रहेछन् । उनैलाई बर्खास्त गर्न विश्वशक्ति लागेको छ ।

नेपालमा भर्खरै प्रस्तुत बजेटलाई सबैले नरम माने । शेरबहादुर देउवाजी तानाशाहीको हल्ला पिट्थे । काङ्ग्रेसले पनि बजेटलाई सकरात्मक मान्यो । काङ्ग्रेसलाई आश्वस्त पार्न पनि होला केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार चर्कोतिर लागेन । डा. बाबुराम भट्टराईले ‘अर्थतन्त्रले छलाङ मारेन’ भने । बालकृष्ण ढुङ्गेल ‘परिपक्व उमेरमा छलाङ मारिँदैन’ भन्छन् । नरनाथ पाण्डेले ०७५ जेठ १८ को ‘रातो पाटी’ अन लाइनमा लेखे, ‘बजेटप्रति अति बढी जनअपेक्षा भएका कारण होला यस बजेटले जनताको उत्साहको सम्बोधन गर्न सकेन ।’ जेहोस बजेटलाई सबैले मलुवा माने । विश्वले त्यो देख्छ । रणनीतिक महत्वको नेपालमा अतिले खती गर्छ । एसद ओली भएका भए आज सिरियाले त्यो दुर्गति व्यहोर्नु पर्दैनथ्यो ।  ‘महाराजा’ भनिँदा केपी ओली ‘होइन, म महाराजा होइन !’ भन्दै हुनुहुन्छ । रमाइलो कुरा हाम्रा प्रधानमन्त्री साँचो अर्थको लोकतान्त्रिक मान्छे बन्दै हुनुहुन्छ । मधेसी दलहरूसितको मेल प्रधानमन्त्रीज्यूको ठूलो अक्कलको खेल हो । हामी आफ्नो कर्तव्यले आमाको मुहार हँसिलो पार्न सक्छौँ । गीत त पञ्चहरूले पनि गाएकै थिए, ‘आमा...! तिम्रो आँसु पुछेरै छोडुँला...!’ कमजोर मुद्दामा चर्को भाषण पनि गगनजीको गनगन जस्तो  सुनिँदैछ । नाङ्गो नाँच झन् अश्लील नाटक मात्रै हो । अराजनीति हो । वातावरण दिवसमा साँच्चै वातावरण सुधार्न धुर्मुस सुन्तली जस्ता अपवादका व्यक्ति लागि पर्छन् । सङ्गठितहरू अपराधमै व्यस्त छन् । ‘गोरेसँग गृहमन्त्री डराए’ मिडिया यसै भन्छ ।

सजिलोको राजनीतिले काङ्ग्रेस ससाना नानी जस्तै पुल्पुलिएको साँचो हो । अब स्वस्थ प्रतिस्पर्धा वाञ्छनीय छ । स्मार्ट मोबाइल चलाएर हाम्रा नानीहरू डल बनेका छन् । बीपी नामको चारो धेरै खाएका अधिकांश काङ्ग्रेसीजनहरू ब्वाइलर कुखुराजस्तै बनेका छन् । लोकतन्त्रमा सबल प्रतिपक्ष आवश्यक मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला न्यौपाने
निर्मला न्यौपाने
लेखकबाट थप