शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१९८६ को विश्वकप र बेल्जियमको त्यो बहादुरी !

सोमबार, १८ असार २०७५, १३ : ४४
सोमबार, १८ असार २०७५

एजेन्सी । मेक्सिको सिटीस्थित अज्टेका रंगशालामा ठूलो म्याचको तयारी चल्दै थियो । बेल्जियमको फुटबल इतिहासमा यही म्याच अहिलेसम्मको सबैभन्दा ठूलो म्याच हो । 

यो थियो, सन् १९८६ को कुरा । बेल्जियमले पहिलो पटक सेमिफाइनल खेल्दै थियो र के महत्वपूर्ण छ भने त्यो टोली निकै खतरनाक थियो । बेल्जियमको रातो रंगको जर्सी लगाएका सबैलाई अर्जेन्टिनी फुटबलका हिरो डियगो म्याराडोनासँग भिड्ने हतारो थियो । 

तत्कालीन १ करोड १० लाख जनसंख्या रहेको बेल्जियमका लागि सेमिफाइनल यात्रा साँच्चै गर्विलो थियो । जस्तो, म्याराडोना नेतृत्वको अर्जेन्टिनाका लागि थियो । बेल्जियममा  आफ्नो पुस्ताकै उत्कृष्ट खेलाडीहरु समावेश थिए । पुरै टिममाथि समर्थकहरुको विश्वास र भरोसा थियो । 

उतार चढावपूर्ण यात्रा 

विश्वकप छनोटबाटै बेल्जियमको उतारचढावपूर्ण यात्रा सुरु भइसकेको थियो । पोल्यान्डसँग गोलअन्तरमा पछि परेपछि बेल्जियमले सिधा छनोट हुने अवसर गुमाएको थियो । त्यसपछि समूहको उपविजेतता बेल्यिजमले प्ले अफमा नेदरल्यान्डस्सँग प्रतिस्पधा गर्यो । यो समय यस्तो थियो जतिबेला बेल्जियम निकै उत्कृष्ट मानिन्थ्योँ । सन् १९८० को युरोकपमा बेल्जियमले फाइनलसम्मको यात्रा गरेको थियो । 

सन् १९८२ को विश्वकप छनोटमा नेदरल्यान्डलाई नै हराएर छनोट भएको बेल्जियमले सो विश्वकपको समूह चरणमै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराएको थियो । यसरी बेल्जियमको फुटबल उचाईमा पुग्दै थियो । युवा तथा अनुभवी खेलाडीहरुको समिश्रण थियो । जियन मारिय फाफ, एरिक गिरेट र जान सिउलमन्सजस्ता अनुभवी खेलाडीसँगै इन्जो स्किफोजस्तो युवा खेलाडी टोलीमा थिए ।

छनोटको पहिलो लेगमा घरमै बेल्जियमले नेदरल्यान्डस्लाई १–० ले हरायो । तर, दोस्रा लेगमा नेदरल्यान्डले दुई गोलको अग्रता लिएपछि  बेल्जियमको विश्वकप खेल्ने आशा निराशामा परिणत हुँदै थियो । खेलको ५ मिनेट बाँकी छँदा हान्स भान ब्रिउकेलेनले गोल गर्दै बेल्जियमलार्ई २–१ को स्थितिमा ल्याए । अर्थात, अवे गोलका आधारमा बेल्जियम विश्वकपका लागि छनोट भयो । 

तर, विश्वकपको सुरुवाती खेलमा मेक्सिकोसँग पराजित भयो । दोस्रो खेलमा इराकलाई २–१ ले पराजित गरेको बेल्जियम तेस्रो तथा अन्तिम खेलमा पाराग्वेसँग दुई पटक अग्रता लिएर पनि २–२ को  बराबरीमा रोकियो । मेक्सिको र पाराग्वेले पहिलो र दोस्रो रहँदै सोझै दोस्रो चरणको यात्रा गरे । समुहमा तेस्रो स्थानमा रहेको बेल्जियम पनि दोस्रो चरणमा छानियो । २४ राष्ट्र सहभागी उक्त विश्वकपमा ६ समुहमा राष्ट्रहरुलाई बाँडिएको थियो । समूहको विजेता र उपविजेता गरेर १२ टोली तथा प्रत्येक समुहमा तेस्रो स्थानमा रहने टोलीमध्ये २ टोली दोस्रो चरणमा जान पाउँथ्यो । बेल्जियमले यही प्रावधानका कारण दोस्रो चरण पुग्यो । 

अब, दोस्रो चरणमा सेभियत युनियनसँग प्रतिस्पर्धा भयो । सेभियत युनियन पनि यतिबेला निकै उत्कृष्ट लयमा थियो । इगोर बेलानोभजस्ता त्यतिबेलाका स्टार खेलाडी सोभियत युनियनमा थिए । यस खेलअघि नै बेल्जियमका दुई खेलाडी इरविन भन्डिनववर्ग र रेने भान्डीरेक्यान घाइते भएका थिए । जसका कारण बेल्जियम समस्यामा थियो । 

खेलमा इगोल बेलानोभले सेभियतलाई अग्रता दिलाए । त्यसपछि दोस्रो माफमा मात्रै बेल्जियमले बराबरी गोल फर्कायो । खेलको ५६ औं मिनेटमा सिफोले बेल्जियमबाट गोल फर्काएका थिए  । ७० मिनेटमा बेलानोभले फेरि रुसलाई अग्रता दिलाए । ७७ औं मिनेटमा सिउलिमन्सले बराबरी गोल फर्काए । २–२ को बराबरीपछि खेल अतिरिक्त समयमा पुुग्यो । जहाँ, बेल्जियमले दुई गोल गर्दा सोभियत युनियनले एक गोलमात्रै गर्न सक्यो । 

अब पालो थियो, स्पेनसँग भिड्नुपर्ने । तर यतिबेलासम्म बेल्जियमले निकै सहजता महसुस गरिसकेको थियो । सिउलिमोन्सले बेल्जियमलाई पहिलो हाफमै अग्रता दिलाएपनि स्पेनले खेलको अन्त्यमा बराबरी गोल फर्कायो र अतिरिक्त समयमा दुबै टोलीबाट कुनै गोल हुन सकेन । टाइब्रेकरमा बेल्जियमले बाजी मार्यो । बेल्जियमबाट सबै खेलाडीले गोल गरे भने स्पेनका इलोयको प्रहारलार्ई फाफले जोगाए । 

र इतिहास रच्दै बेल्जियम सेमिफाइनल पुग्यो ।  बेल्जियमको इतिहासकै यो सबैभन्दा उत्कृष्ट समय थियो । तर, डियगो म्याराडोनाको अर्जेन्टिना सहज पक्कै थिएन । चार वर्षअघि विश्वकपमै बेल्जियमले अर्जेन्टिनालाई १–० ले हराएको थियो । त्यसपछि यी दुई टोली पहिलो पटक भिड्दै थिए । 

पहिलो हाफमा अर्जेन्टिनाले दबाब बनायो । तर, गोल गर्न सकेन । बेल्जियमले पनि काउन्टर एट्याक गरेको थियो । तर, अर्जेन्टिनालाई बलियो चुनौती दिन असफल रह्यो । दोस्रो हाफमा म्याराडोना चम्किए । उनले इङ्ल्यान्डविरुद्ध जस्तो खेलेका थिए, त्यस्तै, खेल देखाउन थाले । जर्ज बुरुचागाको क्रसलाई सदुपयोग गर्दै म्याराडोनाले शान्दार गोल गर्दा डिबक्समा रहेका ३ खेलाडी र गोलकिपरले पत्तै पाएनन् । त्यसको केही मिनेटभित्रै म्याराडोनाले अर्को चमत्कार गरे । उनले बेल्जियमका चार खेलाडीलाई मज्जाले छक्याए । त्यसपछि गोल गरे । केही दिनअघि इङल्यान्डविरुद्ध म्याराडोनाले यस्तै गोल गरेका थिए । उक्त गोलसँगै विश्वकपका उत्कृष्ट गोलको सूचीमा यो गोल पनि समावेश छ । 

यसरी अर्जेन्टिनामाथि ठूलो चुनौती नदिई बेल्जियम बाहिरियो । टोलीका अनुभवी खेलाडीहरु घाइते भएको अवस्थामा पनि युवा खेलाडीले गर्विलो यात्रा तय गरे । दुर्भाग्य मान्नुपर्छ, यसपछि बेल्जियमले अहिलेसम्म यस्तो रोमान्चक र सफल यात्रा गरेको छैन । 

यस विश्वकपपछि बेल्जियमको राम्रो यात्रा भनेकै गत संस्करणको विश्वकप हो । जहाँ, फेरि क्वाटरफाइनलमा बेल्जियम अर्जेन्टिनासँगै पराजित भएको थियो । बेल्जियमले अहिलेसम्म विश्वकपका २१ संस्करणमध्ये १३ संस्करण खेलेको छ । त्यसमध्ये ७ अवसरमा यो टोली पहिलो चरणबाटै बाहिरिएको छ । 

यस संस्कणमा भने बेल्जियमलाई प्रतियोगिताको उपाधि दाबेदार मानिएको छ । समूह चरणमा आफ्ना सबै खेल जितेर अन्तिम १६ मा आइपुगेको बेल्यिमले आज जापानको सामना गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप