शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रकारको केराखेती

शुक्रबार, १५ असार २०७५, १३ : ३३
शुक्रबार, १५ असार २०७५

गाउँका खेतबारी बाँझिन थाले । काभ्रेको मेच्छेबाट काठमाडौं, काठमाडौंबाट अमेरिका र जापानसम्म परिवार फैलिएपछि खेतबारी बाँझिने नै भए । गाउँमा कोही नभएपछि काठमाडौंमा ‘करिअर’ बनाउँदै गरेका पत्रकार जगतमान लामा दोङलाई खेतबारी बाँझिएकोमा चिन्ता लाग्न थाल्यो । काठमाडौंबाट फर्केर खेती गर्न सम्भव थिएन ।

पत्रकार दोङले साबिक मेच्छे गाउँ विकास समिति–६ टेकानपुर (हाल ः तेमाल गाउँपालिका–८) को बारीमा बुद्धचित्त लगाएको पाँच वर्ष भयो । १ सय ३० बोट बुद्धचित्तले आम्दानी दिन थालिसकेको छ । बाँकी बारी बाँझै छ । त्यसलाई व्यवस्थापन गर्नु छँदै छ । 

बाँकी बारी व्यवस्थापन गर्नुअघि उनले तेमाल गाउँपालिका–८ तिलचौरमा रहेको खेतमा १ हजार बोट केरा रोपेका छन् । तीन महिनाअघि रोपिएको केरा रहरलाग्दो देखिन थालेका छन् ।

‘तरकारी खेती गरौं मिहिनेत बढी गर्नुपर्ने,’ इन्डिजिनियस टीभी प्रबन्ध निर्देशकसमेत रहेका उनले सुनाए, ‘केराखेती अलि सजिलो लाग्यो । कृषि प्राविधिकसँग सल्लाह मागें । पाँच वर्षदेखि केराखेती अध्ययन थालें । केराखेतीसम्बन्धी योजनाबद्ध योजनाले बल्ल कार्यान्वयन गर्न सकें ।’

दस रोपनी खेतमा १ हजार मालभोग केरा रोपेका उनले फुपूको छोरा हीराकाजी घिसिङलाई रेखदेखको जिम्मा दिएका छन् । पाँचवर्षे अध्ययनपछि थालिएको केराखेती देखेर कतिपय अचम्मित छन् भने कतिपयले केराखेती गरेर उँभो लाग्न सकिन्छ र भन्ने गरेका छन् । 

पत्रकार दोङलाई केराखेती गरेर दुई छाक खानु छैन । घरबार जोड्नु छैन । न त गाडी नै किन्नु छ । ‘खेतबारी व्यवस्थापन गर्ने उपायमात्रै हो,’ उनको भनाइ छ, ‘केराखेती गरेको खेत लिजमा दिँदा वार्षिक २० हजार रुपैयाँ हात लाग्थ्यो । केराखेती गर्दा कम्तीमा ६ लाख आम्दानी गर्न सकिन्छ ।’ 

चितवनबाट केराको बिरुवा तिलचौरसम्म पुर्याउँदा प्रतिबिरुवा ३५ रुपैयाँ पर्यो । फोनबाटै काम गरेकाले ३५ रुपैयाँमा तिलचौरसम्म पुर्याउन सम्भव भएको थियो ।

रोपिएका सबै बिरुवा सर्यो । तीन महिनाअघि रोपिएका केरा मानिसको कम्मर–कम्मर आएपछि उनी त्यत्तिकै उत्साहित छन् । ‘बिरुवा, मल, विषादि र मजदुर ज्याला डेढ लाख रुपैयाँले वर्ष दिन भ्याउँछ,’ आदिवासी जनजाति पत्रकार महासंघ संस्थागत सचिव उनले औंला भाँचे, ‘अहिले लगाएको केराले पाँच वर्षसम्म धान्छ । त्यसपछि पुनः रोप्नुपर्छ । एक घरी केरामा १ सय ५५ कोसासम्म फल्ने भनिएको छ । एक कोसाको बजारमूल्य १० रुपैयाँ पर्छ । तर, बोटमै पाँच रुपैयाँमा बिक्री गर्न सके एक घरीको पाँच सय रुपैयाँ हात लाग्छ । त्यति हात लाग्यो भने डेढ लाख खर्चंदा वर्षमा ६ लाख सजिलै आम्दानी गर्न सकिन्छ ।’

काठमाडौंबाट ७० किमि दूरीमा तिलचौर पर्छ । रोशीखोलाको काखमा रहेको तिलचौरमा थालिएको केराखेती देखेर काभ्रेका कृषि प्राविधिकसमेत त्यत्तिकै खुसी छन् । स्थानीयले रोशीखोला केरा उत्पादक संघ गठन गरेर व्यावसायिक केराखेतीमा लाग्ने प्रण गरेका छन् ।  पत्रकार दोङले थालेपछि स्थानीय केराखेतीतिर आकर्षित हुन थालेका हुन् ।

उनीहरूलाई उत्साहित बनाउन कृषि प्राविधिकले हौसला दिँदै आएका छन् ।   

स्वास्थ्यका हिसाबले त्यत्तिकै उपयोगी केरालाई धार्मिक रूपमा समेत त्यत्तिकै महत्व दिइएको छ । कतिपयले केराको बोट बेचेरै जीविकोपार्जन गर्दै आएका छन् । भन्नेहरू भन्छन्, ‘घरको इशान कोणमा केराको बोट लगाउनु फलदायी मानिन्छ । केराको बोटमुनि बसेर पढ्दा चाँडो ज्ञान आर्जन गर्न सकिन्छ ।’

केराको रेशाबाट कपडा बनाउन सकिन्छ । केराको फूल (बुङ्गा) बाट अचार बनाउन सकिन्छ । केराको मःमः खानेहरू पनि बाक्लै भेटिन थालेका छन् । केराबाट ‘बनाना स्टिक’ (केराको चिप्स) बनाउन सकिन्छ । त्यतिमात्रै होइन, बनाना ससको स्वाद चाख्नेहरू भेटिन थालिएको थुप्रै भयो ।

बहुगुनकारी केराको महत्व खनिखोस्री साध्य छैन । केराको जरादेखि फूलसम्म उपयोगी मानिन्छ । केराबाट खीर, रोटी, निम्की, चुकाउनी, तरकारी, फिंगर चिप्स, वाइन, पकौडा, परौठालगायत धेरै परिकार बनाउन सकिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप