कमरेड प्रचण्डलाई खुल्ला पत्र
सरल सहयात्री
अध्यक्ष कमरेड प्रचण्ड,
नेपाली इतिहासको सम्पूर्ण कालखण्डमध्ये तपाईं एक त्यस्तो पात्र हुनुहुन्छ, जसले नेपालमा बस्ने आम मान्छेका लागि समानतावादी जनयुद्धको नेतृत्व गर्नुभयो । राज्यका सबै तह र निकायमा हस्तक्षेपकारी भूमिकाको अगुवाइ गर्दै उत्पीडित एवं सीमान्तकृत समुदाय एवं वर्गलाई राज्यको उपल्लो तहसम्म पुर्याउन ऐतिहासिक संविधान सभाको चुनाव मात्र गराउनु भएन, नयाँ संविधानमार्फत आम जनसमुदायलाई अधिकार सम्पन्न गराउने सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था प्राप्तीमा तपाईंको योगदान अतुलनीय छ । मूलतः यसकारण तपाईलाई म सदा सम्मानका साथ लाल सलाम गरिरहन्छु ।
यद्यपि शान्ति प्रकृयामा आएपछि तपार्इंका सामान्य देखिने तर दीर्घकालीन गम्भीर असर पर्ने कमिकमजोरी धेरै भएका छन् । त्यसको लेखाजोखा अब पनि हुन सकेन भने आफ्नो गौरवपूर्ण इतिहासको साथमा माओवादी आन्दोलनकै समेत अवसान हुने छ । त्यसबाट जनताले प्राप्त गरेको यो उपलब्धि केही वर्षमै कुनै सामन्त वा दलाल पुँजीपतिको हातमा पुग्ने कुरा निश्चित प्रायः छ । यसर्थ सचेत गर्न चाहन्छु ।
सङ्घर्षको रूप एघार वर्षअघि नै औपचारिक रूपमा बदलिदिनुभएको थियो । बुलेट छाडेर ब्यालेट । बुलेटभन्दा ब्यालेटको सङ्घर्ष निकै नै जालझेलपूर्ण, अप्ठ्यारो, अनिश्चत हुने सत्यप्रति सामान्य राजनीति व्यक्तिसमेत समझदार नै हुनुपर्ने हो । उतिबेला वैद्य बाका, विप्लव दाजुका, सदाबहार सत्ता निकट मानीनय कृष्णबहादुर महराका, कमरेड बादलका विभिन्न अप्ठ्याराहरू थिए । यद्यपि सबै अप्ठ्यारोलाई एकातिर राखेर ‘...हामी अब कम्तीमा २० वर्ष ब्यालेटको राजनीति गर्न तयार हुनपर्छ ।’ भनेर घोषणा गरिएको भए सम्भवतः ०६५ सालमै स्थानीय निकायको चुनाव गर्नतिर स्वयं लाग्नु हुने थियो र माओवादीले न्यूनतम ६० प्रतिशत जित हासिल गथ्र्यो । झण्डै दुई लाख कार्यकर्ताले प्रतिस्पर्धाको स्वाद चाखेर आफूलाई परिपक्व तथा संसदीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थामा समेत आफूलाई तालिमयुक्त खेलाडी बनाउन समर्थ हुन्थे । जसले कार्यकर्ता व्यवस्थापनको चर्को आवाज आजसम्म पनि गर्नेहरूमध्ये अधिकांशको मुख टालिन्थ्यो । केन्द्रमा नेताहरू जति कुस्ति खेले पनि, पार्टी फुटाएर हिँडे पनि वा बसे पनि यति काम गरिएको भए न सत्तरी सालमा माओवादी तेस्रो हुन्थ्यो न यसपालीको स्थानीय चुनावमा । धेरै तथ्यहरूमध्ये यसैले के पुष्टि गरिदिएको छ भने शान्ति प्रकृयामा आउँदै गर्दा माओवादीसँग एजेन्डाको बोकी नसक्नु भारी थियो । तर त्यसलाई व्यवस्थापन गर्ने स्पस्ट कार्यक्रम थिएन । आफ्नै भारीको पीडाले आहात भएझैँ आफ्ना एजेन्डा चुहिएर अर्काको झोलीमा पुगिरहेको प्रति चिन्ता भएन । त्यसबाहेक परिवर्तनकारी मार्गमा आफू मार्गदर्शक कसरी देखिने भन्ने कसरतमा विपक्षी पार्टीहरू सचेत हुनु सबै हिसाबले स्वभाविक थियो । जसको परिणाम आजसम्म पनि माओवादी केन्द्रले भोगिरहेको छ ।
उद्वेश्यप्रति प्रतिबद्ध हुने हो भने माओवादी सिद्धान्तका अभियन्ताको जुनसुकै यात्रा एक युद्ध थियो र हो । काधमा बन्दुक बोक्नु र विपक्षी सेनासँग भिडन्त गर्नु मात्र वर्गयूद्ध थिएन र होइन । तपाईंले पुँजीवादी मोडलकै चुनावी प्रतिस्पर्धालाई एक भिन्न वर्गयुद्ध ठान्नु भएको थियो भने यो युद्ध लड्ने सीपाईंलाई तालिम दिएको खोइ ? समस्या यहीँनिर परेको हो । आज पनि माओवादी अधिकांश कार्यकर्ताले यो चुनाव आफ्नो उद्देश्यका लागि एक महत्वपूर्ण कर्म हो भनेर दिल खोलेर भन्न सक्दैनन् । जसरी एमाले काङ्ग्रेसका कार्यकर्ताले यो प्रतिस्पर्धालाई आफ्नो महान कर्मको रूपमा लिन सक्छन् । तपाईंले रोज्नुभएको सङ्घर्षको मोडल संसदीय प्रतिस्पर्धा थियो र पढाइरहनु भएको शिक्षा क्रान्तिकारी प्रतिस्पर्धाको । डोठ्याङ अहिलेसम्म पनि यही अन्तरविरोधमा परिरहेको छ ।
आफ्नो उद्देश्यप्रति स्पष्ट भएपछि आइपर्ने घटनाअनुसार आफूलाई तयार पार्नु एक सफल नेतृत्व एवं कार्यकर्ताको जिम्वेदारी हो । माओवादी कार्यकर्ता कमजोर यसकारण छन् कि हामीले संसदीय प्रतिस्पर्धामा विशुद्ध क्रान्तिकारी चरित्र रोज्ने असफल प्रयास गरिरहेका छन् । जो यस प्रतिस्पर्धामा आइपर्ने जुनसुकै मोड पार्न गर्न तयार भएको छ, त्यो सफल भएको छ । अन्तमाः इमानदारिता र क्रान्तिकारी चरित्रको जित हुने सत्यलाई नकार्न नसके पनि वर्तमान समाजको चरित्र र विपक्षी संसदवादी पार्टीका कुटिल चालसँग ‘केवल इमानदारिता र क्रान्तिकारिता’ लगातार असफलतातिर गइरहेको खतरनाक सत्यप्रति माओवादी नेतृत्व सचेत हुन जरुरी छ ।
नेपालमा माओवादी पार्टी अहिलेभन्दा पनि कमजोर भयो भने तपाईंले यो देशको लागि विनास्वार्थ आँखा चिम्लेर अहिलेभन्दा जति धेरै काम गर्नु हुन्छ, त्यही कारण कमजोर हुन्छ । काङ्ग्रेस एमाले फस्टाए भने सिङ्गै देश र जनता बेचेर भए पनि पार्टी र पार्टीभित्रका भ्रष्टहरूलाई पोसेको कारण फष्टाउँछ । अहिले यही भइरहेको छ । एक अबिराम योद्धाको हैसियतमा म तपाईंलाई बेइमान बनेर देश बेच्न र पार्टीलाई बलियो बनाउने सुझाव दिन सक्तिन । तर तीतो सत्य के हो भने पार्टी र पार्टीको सकरात्मक उद्देश्यलाई दूर क्षितिजसम्म लैजाने कार्यकर्ता हरक्षेत्रमा कमजोर भए भने जति नै सुन्दर सपना देख्नुस, ती सारा सपना सपनामै सीमित हुने निश्चित छ ।
भर्खरैको स्थानीय तहको चुनाव हारेपछि कतिपयले दोष जनतालाई लगाउने मुर्खता गरेका छन् । कतिपयले अन्तर्घातलाई मुख्य बनाएका छन् । कतिपयले विपक्षी पार्टीले पैसाले भोट किनेर हारियो भनेर रोइलो गरेका छन् । यावत कुरा असत्य होइनन् । तर यी कुरा गरेर हारेँ भन्नु चाहिँ बेवकुफी हो । म आशा राख्छु, केन्द्रीय कार्यलयले गर्ने समीक्षामा यो विषय प्रधान नबानोस । संसारमा कुनै पनि त्यस्तो राजनीतिक पार्टी हुँदैन, जसले अर्को पार्टीको राम्रो पक्षमात्र प्रचार गरिदिएर आफु हारिराखोस । आफु जित्नको लागी साम दाम दण्ड भेद प्रयोग भएकै हुन्छ । सके आफूले पनि प्रयोग गर्ने नै हो । रुने होइन । यसकारण अर्को पार्टीलाई या विभिन्न सहायक कारणलाई प्रधान बनाएर हारिएको भन्ने विषय प्रस्तुत गर्नु चाहिँ बेतुकको कुरा हो । समीक्षासम्म गर्नु बेठिक होइन । ताकि अर्कोपटकका लागी शिक्षा बनोस ।
कमरेड, मेरो विचारमा जनता र बच्चा उस्तै हुन्छन् । जनतालाई सीमित विषयको मात्र ज्ञान हुन्छ, जसरी बच्चालाई अविभावकले सुनाइएको जति मात्रै ज्ञान जान्दछ । आफ्ना अविभावकले निकै महान मान्छे बनाइदिने सपनाप्रति विचरा त्यो बच्चालाई के मतलव हुन्छ ? निरन्तर तेल घस्ने र नियमित चक्लेट खुवाउने कोही अरू रूनै पराया भएभने उसैलाई मन पराइदिन सक्छ । माओवादी कार्यकर्ता र नेताको समस्या यतातिर पनि हो । सवैलाइ के घमण्ड छ भने, गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशि समानुपातिक व्यवस्था सवै माओवादीले ल्याएको हो । यसै मार्फत यो गर्छौ त्यो गर्छौ आदी आदी ..... । के मतलव छ सामान्य जनतालाइ यसको ?? जसरि एउटा सामान्य वच्चालाइ महान व्यक्ति हुन्छु भन्ने कुरा प्रति न कुनै ठुलो मतलव हुन्छ न पूर्ण विश्वास नै । यसकारण जनतासंग पार्टीका कार्यकर्ता नीरन्तर साथैमा भइरहने उपाय के हो ? यसको वारेमा तपाइको दिमागमा केही कुरा घुम्छन कि घुम्दैनन् आज भोलि ? यसैमा माओवादीको विजय पराजय निहित छ ।
पार्टीको सर्वोच्च नेता हुनुको नाताले माओवादी पार्टीमा जे राम्रो हुन्छ, त्यसको पहिलो जस तपाईंले पाउने हो । त्यसरी नै बिग्रँदा पनि अपजस लिन तयार हुनुपर्छ । भइरहनु भएको पनि छ । माथि भनिए जस्तो जनताकोमा जान कुनै एक अमुक नेता सम्पूर्ण सफल हुन सक्तैन । त्यसका लागि जनताको घरघरसम्म पुग्ने कार्यकर्ता चाहिने हो । कार्यकर्ता त्यस्ता चाहियो, जसले पार्टीको न्यूनतम कुरा गर्न सकोस् । जनताको घरमा दैनिक आवश्यकताको बारेमा सहानुभुति राखोस या सहयोग गर्न सकोस । पछिल्ला एघार वर्षमा यस्तो कुराको कुनै मतलव पार्टीका सिर्ष नेता कसैलाइ छैन । पार्टी सदस्य हुनुको मूल्यबोध गराउन के गर्नुपर्छ भन्ने स्कुलिङको बारेमा नेतृत्वमा भएका अधिकांश कमरेडका दिमागमा सामान्य चिन्ता पनि घुम्न छाडेको धेरै भयो । किनभने तपार्इंहरू मिलेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्ने होडबाजी चलाएझैं केन्द्रीय समितिको सङ्ख्या जति पनि बनाउन मिल्ने सङ्गठनात्मक वेइज्जतिको मार्ग अवलम्वन गर्न कुनै डर मान्नु भएन । यति धेरै रगत पसिना र आशुको मूल्यवाट निर्मित पार्टीको सङ्गठनमा आफ्नो हैसियत सडकमा भन्नुपर्दा लाजले भुतुक्क हुनुपर्ने अवस्था श्रृजना गर्दासमेत कम्तीमा तपाईलाई पनि नपोल्नु चाहिँ साह्रै विडम्बनाको कुरा भयो ।
प्रिय अध्यक्ष कमरेड, यो गलत कदमको विरुद्ध सिन्धुपाल्चोक जिल्लाले आन्तरिक विद्रोह गर्यो । सिन्धुपाल्चोक जिल्लाबाट निगाह प्राप्त नियुक्तिको खिलाफ पोलिटब्युरो र केन्द्रीय समिति गरी ७२ जना कमरेडहरूले आफ्ना केन्द्रीय पदबाट राजीनामा दिएर अध्यक्ष लगायत सिङ्गो पार्टी र कार्यालायलाई सहयोग गर्न खोज्यो । सम्भवत आन्तरिक पार्टी सङ्गठन निर्माणको सन्दर्भमा यो ऐतिहासिक कदम हो । विडम्बना यस्तो बनिसक्यो कि सिन्धुपाल्चोक जिल्लाको त्यस कदमप्रति दूरभाव राख्ने व्यक्तिहरू जो पोलिटब्युरो र सचिवालयमा बसेर वडाको चुनावमा हारेका छन तिनीहरूसँग आफू यति ठूलो पदमा बसेर पनि सानो स्थानमा हारेँ भनेर राजीनामा दिने नैतिकतासमेत छैन । मेरो प्रश्न छ कमरेड, यस कारण माओवादीले किन जित्नु पर्ने ? आज पनि तपाईं र नेतृत्वको एउटा पङ्क्तिमा जनयुद्ध र त्यसको हुण्डरीले ल्याएको ऐतिहासिक ऐजेन्डाको ह्याङओभर बाँकी नै छ । मेरो प्रश्नको खिलाफ प्रतिप्रश्न ती हरेकको मनमा उब्जिन्छ । ‘माओवादीले चाहिँ किन हार्नुपर्ने ?’ मलाई पनि लाग्छ जित्नै पर्छ । तर पशुपतिमा मारवाडीले खानेपानी बाडेझैं सीसीएम र पीबीएम बाड्नुभयो भने अर्को चुनावमा आजको पोजिसन पनि प्राप्त नहुन सक्छ ।
अध्यक्ष कमरेड, बिग्रिएको अझै पनि केही छैन । अर्को चुनाव नजिकै आएको छ । तपाइको हिम्मत मरेको छैन भने तलैसम्मको सङ्गठन निर्माणका निम्ति अहिले भएको सबै सङ्गठन भङ्ग गरिदिनुस् । २ महिनाको म्याद राखेर नयाँ सङ्गठनात्मक संरचनाका लागि तदर्थ समिति गठन गर्ने आदेश दिनुस । जसअनुसार पाँच जनाको सेल कमिटी बराबर एक जना वडा कमिटीको सदस्य हुने गरी एउटा वडामा बढीमा १३ सदसिय समिति, वडाका अध्यक्ष पदेन सदस्य हुने गरी बढीमा १९ जनाको गाउँ नगर समिति, नगर समितिका पदाधिकारी पदेन सदस्य हुने गरी ५१ जनासम्मको जिल्ला समिति, जिल्लाका अध्यक्ष पदेन सदस्य हुनेगरी प्रदेश समिति र प्रदेशका पदेन सदस्य हुने गरी केन्द्रीय समितिको सङ्गठन निर्माणको खाका बनाइदिनुस । सबै जबस मोर्चाले समेत उपयुक्त मापदण्डको चालीस प्रतिशत सर्त पूरा नगरे सो सङ्गठन निश्चित समयका लागि भङ्ग हुने अन्तरिम निर्णय गरिदिनुस् । हरेक केन्द्रका नेतालाई यसको कार्यान्वयनको ठोस ठोस जिम्मेवारी तोकेर तोकिएको काम अन्तर्गत चालिस प्रतिशत काम नगर्ने केन्द्रीय नेताको हैसियत झर्ने निर्मम निर्णय थपिदिनुस् । यसले माओवादीलाई यो देशको पहिलो पार्टी हुनको निम्ति ‘इन्द्रको वा चन्द्र’ आएपनि रोक्न सक्तैन ।