केन्द्रीय संस्करण

राजनीतिक नेतृत्वको खोजी

person explore access_timeअसार १२, २०७५ chat_bubble_outline0

विश्वको राजनीतिक रङ्गमञ्चमा नयाँ–नयाँ राजनीतिक खेलाडीहरूको जन्म भइरहेको छ । चीनमा सी जिङपिङ, उत्तर कोरियामा किम जोङ उन, अमेरिकामा डोनल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी तथा अरविन्द केजरीवाल, रुसमा भ्लादिमिर पुटिनको पुनः उदय, फ्रान्समा इम्यानुअल म्याक्रोन, अस्ट्रियामा सबास्टिन क्रुज, आयरल्यान्डमा लियो भारदकार, मलेसियामा महाथिर मोहम्मदको पुनः उदय, स्पेनमा पेड्रो सान्सेजको आगमन विश्व राजनीतिकलाई तरङ्गित बनाउने केही उदाहरण हुन् । राजनीतिमा उदाएका यी केही अनुभवी र नयाँ पात्रहरू पछिल्लो समयका राजनीतिक सेलिब्रटी नै हुन् । तिनले अहिले विश्व राजनीतिक रङ्गमञ्चमा आफ्नो फरकखाले पहिचान बनाइरहेका छन् । हामी पनि कुनै न कुनै रूपमा उनीहरूप्रति सम्मोहित छौं र त्यस्तै पात्र यो देशमा खोजिरहेका छौं ।

राजनीतिक वृत्तमा पटक पटक पुनरुदय हुनेदेखि बिलकुलै फरक पृष्ठभूमिबाट राजनीतिमा उदाएर हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेका विश्व नेताहरूलाई हेर्दा हाम्रो देशमा पनि राजनीतिक नेतृत्वको खाँचो परेको महशुस हुन्छ । यहाँ उल्लेख गरिएका नामहरूको उदयको पछाडि आफ्नै आफ्नै कथा छ र ती सबैमा समानता छैन पनि । कोही विल्कुल वैकल्पिक ढङ्गले उदाएका छन् भने कोही पुरातनपन्थलाई नै नयाँ संस्करणमा उजिल्याइरहेका छन् । जेहोस् यिनले समकालीन विश्वमा आफ्नो प्रभाव र चर्चा कमाएकै छन् । उनीहरूले चर्चा मात्र बटुलेका छैनन् देशमा कुशल राजनीतिक नेतृत्वको क्षमता पनि प्रदर्शित गर्दैछन् । 

अहिले हाम्रै मुलुकमा दुई तिहाई बढी बहुमतको सरकार छ । विकास र समृद्धिलाई मुख्य लक्ष्य बनाएर दुई कम्युनिस्ट पार्टीहरूले पार्टी एकीकरण गरी सरकार चलाइरहेका छन् । यी दुई ठूला कम्युनिस्ट पार्टीहरू पार्टी एकताको लक्ष्यसहित गठबन्धन निर्माण गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरूले राम्रै जनमत पनि प्राप्त गरे । यद्यपि देशले विकास र समृद्धिमा समर्पित हुने नयाँ नेतृत्व पाउन नसकेको आभास हुन्छ । किनकि अहिलेको राजनीतिक नेतृत्वमा तीन चार दसक राजनीतिको नेतृत्व तहमै सक्रिय भएर काम गरेका नेताहरूकै हालीमुहाली छ । उनीहरूले नै राजनीतिको अग्रस्थान ओगटेका छन् । अनि उनीहरूको विचार, चिन्तन, कार्यशैली र तौरतरिकाहरूले खासै ठूलो आकर्षण पैदा गर्न सकेको छैन । अझ पटक पटक मुलुकको नेतृत्व गरेर पनि केही परिणाममुखी काम गर्न नसकेका नेताहरूकै अगुवाइमा समृद्धिको लक्ष्य हासिल हुन्छ भनेर विश्वास गर्ने आधार पनि छैन । किनकि अहिले जुन फम्र्याटमा राजनीति चल्दैछ, त्यसको लय नै ठीक छैन ।

हामीले अहिले विकास, समृद्धि र नागरिकको प्रगतिलाई राजनीतिको नयाँ गन्तव्यको रूपमा त पहिचान गर्यौं तर त्यो नयाँ गन्तव्यमा पुग्नका लागि नयाँ विचारसहितको नयाँ नेतृत्व आवश्यक पर्छ भन्ने कुरालाई नजरअन्दाज गरिरहेका छौं । परिणामतः उही घिसिपिटी शैलीमा समृद्धिका लयात्मक गफ र कलात्मक सपनाहरू सुनिरहेका छौं । सरकारले हामीले चाहेको विकास र समृद्धिलाई आर्थिक सुरक्षण र योजनाबद्ध कार्यक्रमिक प्रस्तुति दिन सकेको छैन । हो, राजनीतिक लक्ष्य त समृद्धिमुखी भनियो तर त्यसलाई निर्णायक तहमा पुर्याउने कला र क्षमता भएको व्यक्ति नयाँ नेतृत्वमा स्थापित हुन सकेको छैन । यो नै हाम्रा लागि निकै ठूलो राजनीतिक ट्राजेडी हो । 

अब राजनीतिक नेतृत्वसम्बन्धी केही प्रश्नहरू तर्फ लागौँ–  हामीले धेरै नेता त जन्मायौं तर किन नेतृत्व जन्माउन सकेनौं ? कि नेतृत्वलाई टिकाउन नसकेको हो ? कतै आग्रह र पूर्वाग्रहकै भारी बोकेर राजनीतिक नेतृत्वको निर्माण गर्न खोज्दा त्यस्तो नेतृत्व जन्मन नसकेको त होइन ? अनि हामी आफैले नेतृत्वलाई बिगारिरहेका त छैनौँ ? हाम्रै आचरण र व्यवहारले नेतृत्व निर्माण प्रक्रिया अवरुद्ध भएको त होइन ? अनि नेतृत्व निर्माणको प्रक्रिया के हो ? यो सहयोगात्मक हुन्छ कि निषेधात्मक ? नेतृत्व आफै जन्मन्छ कि जन्माइन्छ ?
 
यी केही मूलभूत प्रश्नहरू हुन्, जुन नेतृत्व निर्माणसँगै जोडिएर आउने गर्छ । यी प्रश्नहरू गर्दैगर्दा हामीले नेतृत्वको मानक कस्तो बनाइरहेका छौं ? त्यसतर्फ पनि ध्यान दिन जरुरी हुन्छ । हामीले अहिलेसम्म देशमा विकास भएन, नेताहरू भ्रष्ट भए, राजनीति भ्रष्ट भयो, नेतामा देशभक्तिको भवना भएन भनेर गुनासो मात्र गरिरहेका छौं । त्यसो त हामीले नेतृत्वबाट अपेक्षा मात्रै गर्यौं र तिनलाई आदर्शको पर्याय मात्र बनाउन खोज्यौं । तर नेतृत्व निर्माणको प्रक्रियालाई सचेतन ढङ्गले पहल गरेनौं बरु आफ्नै स्वार्थमा रमाइरह्यौँ । 

राजनीतिकर्मीहरू आफ्नो सीमित स्वार्थको घेराबाट माथि उठ्न सकेनन् र आफ्ना दलीय अझ गुटगत स्वार्थमा अल्झिएर नेतालाई प्रयोग मात्रै गरिरहे । अनि अर्को फरक विचार राख्ने सम्भावनायुक्त नेतृत्वलाई दलीय असहमतिकै कारण सधैँ दुत्कार्ने काम मात्रै भयो । यही  प्रवृत्तिले गर्दा मुलुकमा अग्रगामी विचार बोक्ने दूरगामी राजनीतिक नेतृत्व जन्मन सकेन । जसले आजको होइन ५० वर्षपछिको नेपालको चित्र प्रस्तुत गरोस् अनि त्यो चित्र बनाउन घोत्लियोस् । 

निश्चित रूपमा संविधान बनेपछि राजनीतिक सङ्घर्षको एउटा चरण पूरा भयो भनेरै अब नयाँ राजनीतिक कोर्सका लागि उनी अग्रसर भए र त्यसै अनुसार पार्टी निर्माणमा लागे । जब राजनीतिक गन्तव्य बदलिन पुग्छ, स्वभाविक रूपमा त्यहाँ पुग्ने तरिका र सङ्घर्षका औजारहरू पनि बदलिनै पर्छ । यसका लागि राजनीतिक विचार, दृष्टिकोण, शैली, संस्कार र राजनीति गर्ने तरिका पनि बदलिनुपर्छ ।

अहिले हामी देश बनाउने कुरा गर्दैछौँ तर नयाँ नेतृत्व स्थापित गर्न सकेका छैनौँ । कहिले हामीलाई नरेन्द्र मोदीको आगमनले आकर्षित गर्छ त कहिले अरविन्द केजरीवालले । कहिले महाथिर मोहम्मदको खोजी गर्छौं त कहिले ली क्वान युको चमत्कारी शैलीबाट आकर्षित हुन्छौं । अनि कताकता डोनाल्ड ट्रम्प र सी जिनपिङले पनि सम्मोहित पार्छ । पछिल्लो समय इम्यानुअल म्याक्रोन, सबास्टिन क्रुज, पेड्रो सान्सेजले पनि तानिरहेकै छन् । अनि हामी आफैतिर फर्किएर हेर्छौं र हाम्रा नेतागणहरूमा कहिले ‘मोदी’को चामत्कारिक व्यक्तित्व खोज्छौं । कहिले ‘केजरीवाल’को आकर्षण त कहिले ‘ली क्वान’को विकास चेतना । तर अहं इतिहासका कालखण्डहरूमा ती नेतृत्व कसरी जन्मिए र तिनलाई कसरी टिकाइयो ? हामी उत्तर खोज्दैनौं । 

२०६२÷०६३ को राजनीतिक सङ्घर्षका क्रममा गिरिजाप्रसाद कोइराला सबैको स्वीकारयोग्य नेतृत्वका रूपमा स्थापित भएका थिए । उनको तत्कालीन ज्ञानेन्द्र शाहको निरङ्कुशताविरुद्धको जब्बर लडाइँ नै व्यवस्था फेर्ने आन्दोलनमा निर्णायक बन्न पुग्यो । तानाशाही व्यवस्थाविरुद्धको उनको सक्रिय लडाइँ सबैले प्रशंसा गरेकै विषय हो । उनको नेतृत्वलाई राज्यविरुद्ध हिंसात्मक युद्ध लडिरहेको नेकपा माओवादीले पनि स्वीकार गरेर शान्तिपूर्ण राजनीतिमा आएको थियो । जीपी कोइरालाको निधन भएसँगै तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा उदाउने सम्भावना बढेको थियो । तर त्यो बेला माओवादीभित्र मौलाएको अहम् र सर्वसत्तावादी सोचका कारण माओवादीले नेतृत्वको अवसर गुमाएको थियो । सम्भावनाको स्थान भयले लिँदै गयो र समाजको एउटा तप्का पूरै माओवादीविरुद्ध मोर्चाबन्दीमा उत्रियो । 

माओवादी नेतृत्वमा पनि सत्ताको उन्माद चढ्दै जाँदा नेतृत्व स्खलित हँुदै गयो । त्यहीँबाट एउटा सम्भावित नेतृत्वको विनिर्माण सुरु भयो । जसको परिणति २०७० को चुनावमा देखियो । जुन चुनावी परिणामले राजनीतिको बागडोर पुरानै राजनीतिक विरासततिर फर्काइदियो । यद्यपि २०७० को दोस्रो संविधानसभाले दुई वर्षमा नयाँ संविधान बनायो नै । जसै मुलुकमा नयाँ संविधान जारी भयो, त्यो विद्यमान राजनीतिक सङ्क्रमण अन्त्यका लागि कोशेढुङ्गा नै थियो । त्यो संविधान निर्माणमा अहोरात्र खटेर निकै ठूलो बिघ्न बाधा खेपेर निष्कर्षमा पुर्याउने पात्र थिए पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । हो, संविधान जारी गर्ने बखत उनका केही रिजर्भेसनहरू थिए ।  ती अझै पनि सुल्झिन सकेका छैनन् । यद्यपि संविधान घोषणाले मुलुकमा नयाँ राजनीतिक उभार पैदा गर्यो र मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको निष्कर्षसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पार्टी निर्माणमा अग्रसरता देखाए । 

निश्चित रूपमा संविधान बनेपछि राजनीतिक सङ्घर्षको एउटा चरण पूरा भयो भनेरै अब नयाँ राजनीतिक कोर्सका लागि उनी अग्रसर भए र त्यसै अनुसार पार्टी निर्माणमा लागे । जब राजनीतिक गन्तव्य बदलिन पुग्छ, स्वभाविक रूपमा त्यहाँ पुग्ने तरिका र सङ्घर्षका औजारहरू पनि बदलिनै पर्छ । यसका लागि राजनीतिक विचार, दृष्टिकोण, शैली, संस्कार र राजनीति गर्ने तरिका पनि बदलिनुपर्छ । नयाँ गन्तव्यमा पुग्नका लागि त्यसैअनुसारको नयाँ परिभाषा र साङ्गठनिक प्रणाली आवश्यक पर्छ । नयाँ विचार र राजनीतिक कार्यक्रम आवश्यक पर्छ भनेरै नयाँ शक्तिले विकास र समृद्धिमुखी राजनीतिक कार्यदिशा अगाडि सार्यो । एउटा निकै ठूलो जोखिम मोलेर डा. भट्टराईले वैकल्पिक राजनीतिको यात्रा प्रारम्भ गरे । पछि त्यही बुझाइलाई आत्मसात गर्दै पूर्व सञ्चारकर्मी रविन्द्र मिश्रले पनि पार्टी निर्माण गरे र वैकल्पिक राजनीतिलाई अगाडि बढाइरहेका छन् । तथापि २०७४ को निर्वाचनमा यी दुवै पार्टीले उत्कृष्ट नतिजा भने हालिस गर्न सकेनन् । तर पनि राजनीतिमा विकल्प निर्माणको सम्भावनालाई उजागर गर्न भने सफल भए । 

अहिले देशमा कम्युनिस्ट पार्टीको बलियो सरकार छ । देशमा प्रधानमन्त्री पनि छन् । नेताहरू पनि छन् । तर यो बदलिएको राजनीतिक गन्तव्यमा पुग्ने भिजन र ल्याकत भएको नेतृत्व शासनसत्तामा छैन । परिवर्तनका लागि राजनीति र राजनीतिक नेतृत्व सदैव गतिशील हुनैपर्छ । इतिहासकै शक्तिशाली भनिने सरकारले पनि मुलुकलाई गतिशील बनाउन अर्थात् मुलुकलाई ‘ज्युँदो’ भएको आभास दिलाउन सकेको छैन । सार्वजनिक खपतका लागि समृद्धिको शङ्खनाद गरिरहेको शक्तिशाली सरकारले विकास र समृद्धिको चित्र देखाउन सकेको छैन । यसरी चित्र प्रस्तुत गर्न नसक्नुको मुख्य कारण राजनीतिक जवाफदेहिता बहन गर्नसक्ने नेतृत्वकै सङ्कट हो । कुशल र भिजनरी राजनीतिक नेतृत्वविना समृद्धि र प्रगतिको यात्रा अगाडि बढ्न सक्दैन । 

manikar.nibartaman@gmail.com
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...