मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

‘ट्रान्जिट ट्रान्सपोर्ट एक्जिट प्रोटोकलमा जुलाईमा हस्ताक्षर हुन्छ : प्रधानमन्त्री

मङ्गलबार, १२ असार २०७५, १२ : १२
मङ्गलबार, १२ असार २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीन भ्रमणबारे सङ्घीय संसदलाई जानकारी गराएका छन् ।

यही असार ५ देखि १० गतेसम्म प्रधानमन्त्री ओलीले गरेको चीन भ्रममणका क्रममा भएका दुई पक्षीय सम्झौतालगायत विषयमा प्रधानमन्त्री ओलीले सङ्घीय संसदलाई जानकारी गराएका हुन् । उनले चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक रहेको पनि बताए । 

प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा उहाँले चीनको ६ दिने औपचारिक भ्रमणका बारेमा बाहिर विभिन्न ढङ्गले गरिएका टीका टिप्पणी र अनुमानले अन्यौल सिर्जना गरेको हुन सक्ने भन्दै आफूले यथार्थ सदन समक्ष राख्न जरुरी ठानेको बताए ।

सडक सुरक्षाका बारेमा बहुआयामिक सम्पर्क सञ्जालभित्र रेलवे, सडक बन्दरगाह र सञ्चार लगायत क्षेत्रमा सहयोग अघि बढाउने विषयमा सहमति भएको तथा दुई देशबीचको सम्बन्धको विस्तारमा आगामी दिशानिर्देश गर्न १४ बुँदे संयुक्त विज्ञप्ती पनि जारी भएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।

 रेलवे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारी सबैभन्दा भमहत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले यसको कार्यान्वयनबाट  केरुङ, रसुवागढी काठमाडौँ रेलमार्ग विकासका लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्यन शीघ्र सम्पन्न भई सहयोगसम्बन्धी कार्य अघि बढ्ने र यसले काठमाडौँ पोखरा लुम्बिनी रेलमार्गको आधार तयार हुने विश्वास व्यक्त गरे ।

नेपालको पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा पनि चिनियाँ नेतृत्वसँग सकारात्मक कुराकानी भएको र दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न स्थल यातायातका पूर्वाधार सुदृढ गर्न तथा उत्तर दक्षिण जोड्ने यातायात सञ्जाललाई थप सुदृढ बनाउने विषयमा पनि सहमति भएको छ ।

प्रधानमन्त्रीले भने,

यसका लागि कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर, कर्णाली आर्थिक करिडोर विकासका लागि सम्भाव्य सहयोग उपलब्ध गराउने बारे थप अध्ययन गर्ने सहमति भएको छ ।
सीधा हवाई सेवा सञ्चालनका लागि दुवै मुलुकले आआफ्ना देशका एयरलायन्स कम्पनीलाई अभिप्रेरित गर्न पनि सहमति भएको छ ।  

सीमावारपार प्रसारण लाइन निर्माणका सम्बन्धमा केरुङ रसुवागढी गल्छी रातामाटे ४०० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र चिनियाँ स्ट्रेट ग्रिड कर्पोरेसनबीच हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच पारवहन यातायात सम्झौताको शिघ्र कार्यान्वयनका लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा टुङ्गो लगाउने सहमति पनि भएको छ ।

तातोपानी खासा नाका सन् २०१९ को मे महिनासम्ममा सञ्चालन गर्ने र  रसुवागढी केरुङ नाकालाई सुव्यवस्थित सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण तथा मर्मत गर्न दुवै पक्ष सहमत भएका छौँ ।

तेल तथा ग्यास अन्वेषणको सम्भाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन पनि चिनियाँ पक्ष सकारात्मक रहेको छ ।

नेपालको मानवस्रोत विकासका लागि तालिम तथा छात्रावृद्धिको सङ्ख्या बढाउन चीन सकारात्मक देखिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चाँडै

प्रधानमन्त्रीले राष्ट्रपतिका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई र आफूले समकक्षी चिनियाँ  प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको र चीनको नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने विश्वास आफूले लिएको बताए ।

प्रधानमन्त्री ओली वर्तमान सरकारले छिमेकीहरुसँग सम्बन्ध सुधारेको बताए ।

दुई पक्षीय समझदारी र साझेदारीको वातावरण तयार पार्न सरकार सफल भएको भन्दै उनले एउटाको विरुद्ध अर्कोलाई उचाल्ने गरी तात्कालिक हितका लागि गैह्रजिम्मेवारी ढङ्गले प्रस्तुत नहुने विश्वास दिलाए ।
बडुले सोधे ‘प्रोटोकलमा हस्ताक्षर किन भएन ?’

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका दिलेन्द्रप्रसाद बढुले चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट एक्जिट प्रोटोकलमा हस्ताक्षर किन हुन सकेन ? भनी गरेको प्रश्नमा प्रधानमन्त्रीले  आउँदो जुलाईमा प्रोटोकल तयार हुने र हस्ताक्षर पनि हुने बताए ।

प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा  रेलवे, ऊर्जा लगायत विषयमा सरकारी १३ वटा र निजी ९ वटा गरी जम्मा २२ वटा सहमति भएको स्पष्ट पारे ।

उनले भ्रमणका क्रममा नेपाल र चीन पुराना मित्र देशबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, विगतका सम्झौता र सहमतिको कार्यान्वयनको ढाँचा परिर्वतन गर्ने, निर्वाचनपछि नयाँ जनादेशअनुसार गठन भएको सरकारको राष्ट्रिय एजेन्डा हासिल गर्नका लागि सहयोग तथा सहकार्य अघि बढाउने सम्बन्धमा चीन सरकार सकारात्मक रहेको बताए । भ्रमणमा चिनियाँ नेतृत्वबाट समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने आशाको साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्रीले जानकारी गराए । भ्रमणका क्रममा आफूले राष्ट्रपति, प्रधानमन्त्री, चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्षसँग, तिब्बत जनसरकारका प्रमुख अध्यक्ष लगायतसँग भेट गरेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप