सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

६८ वर्षका क्यान्सर रोगीको कथा : जसले अरू क्यान्सर रोगीलाई सहयोग गरेका छन्

मङ्गलबार, १२ असार २०७५, ११ : ०४
मङ्गलबार, १२ असार २०७५

काठमाडौँ ।

क्यान्सर !

तपाईं–हामी रोगको नामसँगै डराउँछाँै । कैयाँैले सोच्छन्, क्यान्सर लागेपछि मुत्युको विकल्प छैन । 

तर सबैलाई क्यान्सरले हराउँछ भन्ने पनि होइन ।

मूलतः क्यासरलाई जित्नेभन्दा हार्नेको सङ्ख्या धेरै भेटिन्छन् । 

देशमा नाम चलेको धेरै व्यक्तिको मुत्युको कारण पनि क्यान्सर नै बनेको छ ।  

पछिल्लो उदाहरण हुन् स्वर्गीय डाक्टर उपेन्द्र देवकोटा ।

क्यान्सरलाई बिरामीले जितेका पनि धेरै उदाहरण छन् । 

हामीले त्यस्तै एक यस्तो वृद्धा भेट्यौँ, जोसँग क्यान्सरले हार्नु पर्यो । 

क्यान्सरसँग जितेको यी व्यक्तिको कथा प्रेरणदायी छ । 

यो कथा अरू क्यान्सर रोगीका लागि एउटा साहस बन्न सक्छ ।

कथा हो, बाबुकाजी श्रेष्ठ, उमेरले ६८ वर्ष ।

उनी ललितपुर पाटनका स्थानीय बासिन्दा हुन् ।

जिन्दगी निकै सुन्दर चल्दै थियो ।

जापनिज भाषा अध्ययन गराउँथे ।

यस्तै मूर्तिकार पनि हुन् उनी । जिन्दगी चलाउन उनलाई कुनै पनि समस्या थिएन ।

रमाइलोसँगै वितेको थियो जिन्दगी ।

तर आजभन्दा ८ वर्ष पहिला उनको घाँटीमा समस्या देखियो ।

नजिकै भएको कारण पाटन हस्पिटल गए ।

त्यहाँबाट त्रिभुवन शिक्षण हस्पिटल टिचिङमा पठाइयो । उनी उतै गए ।

त्यहाँबाट रगत परीक्षणका लागि भारतको मुम्बई पठाइयो ।

उताबाट पछि रिपोर्ट आयो । 

रिपोर्टले भन्यो– क्यान्सर ।

क्यान्सर भन्ने सुनेपछि बाबुकाजी छाँगाबाट खसेको जस्तै भए ।

हात खुट्टा गले । 

बोल्न सकेनन् ।

तर आइलागेको रोगसँग लड्नुको विकल्प उनीसँग थिएन । 

क्यान्सरमा पनि घाँटीको ।

त्यसमा पनि ‘भ्वाइस बक्स’ अर्थात् आवाज निकाल्ने अङ्ग नै फाल्नुपर्ने अवस्था ।

त्यसपछि उनले जिन्दगीले अन्तिम अवस्थामा पुर्याएको महसुस गरे ।

उमेरले उनी त्यसबेला ६० वर्षका थिए ।

उमेर ढल्किँदै गयो । 

क्यान्सर जस्तो भयानक रोगले च्याप्दा निकै समस्यामा परे ।

‘भ्वाइस बक्स’ निकाल्नुभन्दा उनको उपचारको अन्य कुनै पनि विकल्प थिएन ।

अन्ततः उनको चिउँडाभन्दा मुनिको भागमा अप्रेसन गरेर ‘भ्वाइस बक्स’नै निकालियो ।

समय परिस्थितिले कसलाई कहाँ पुर्याउँछ, कसैलाई थाहा हुन्न ।

त्यस्तै भयो बाबुकाजीलाई ।

आवाज नभए पनि बाँच्न पाउँछु कि भन्ने थोरैै आशा पलायो ।

उनको अनुमतिमै अप्रेसन गरियो । 

पछि बोल्न सकेनन् ।

सधँै आवाजबाट चल्ने बाबुकाजी इसारामा बोल्न थाले ।

घाँटीमा देखिएको प्वाल अप्रेसनपछि भएको हो ।

यता उती हिँड्डुल गर्ने शरीर छ तर आवाज थिएन ।

बोलेरै उनले धेरैलाई जापान पठाएका थिए ।

आफ्नै २ जना छोरी र एक जना छोरालाई पनि जापान पठाएका थिए ।

तर उनको अन्तिम अवस्थासम्म आवाजले साथ दिन सकेन ।

शरीरको सबै अङ्ग ठीक छन् । 

सुन्न सक्छन् । 

हिँड्न सक्छन् ।

अरूले जसरी नै दैनिक काम पनि गर्थे । 

तर विज्ञान  प्रविधिको युगमा विकल्प पनि छन् । 

जसले उनलाई फेरि अलिअलि बोल्न सक्ने अवस्थामा पुर्यो । छोरीले जापानबाट एउटा मेसिन  पठाइदिएकी छिन् । 

घाँटीमा भएको प्वाँल र मुखलाई जोड्ने एउटा पाइपजस्तै देखिने साधनको प्रयोग गर्दा चाहिँ उनी अलि–अलि बोल्न सक्छन् ।  

दायाँ हातमा बोकेको पाइप उनलाई छोराछोरीले जापानबाट किनेर पठाइदिएको हो । 

बायाँ हातमा बोकेको चाहिँ उनी आफैले बनाएका हुन् ।

जापानमा निकै महँगो पर्ने भएका कारण उनले जापानको मेसिन हेरेर आफैले बनाएका छन् । 

त्यही मात्रै होइन उनीजस्तै क्यान्सरको अप्रेसन गर्दा भ्वाइस बक्स झिकेका ५ जनालाई उनले आवाज आउनका लागि यो प्रविधि पनि दिइसकेका छन् ।

उनी भन्छन्– ‘मजस्तै समस्या भएका व्यक्तिहरूले बोल्न नसक्दा पीडा बोध नहोस् भनेर मैले ५ जनालाई यो सामान दिए । उहाँहरूले मेरो मिहिनेत सम्झेर पाँच पाँच हजार पैसा पनि दिनुभएको थियो ।’

यसरी बने क्यान्सरको सिकार

पाटनको नेवार समुदायमा हुने हरेक भोज, भतेर, पार्टी, पूजामा अनेक खालका खानपिन हुन्थे । त्यसमा मदिरा पनि हुने नै भयो । बाबु काजीले पनि आफूलाई थाहा भएदेखि नै मदिरा खान थाले । उनलाई परिवारको छेकबार भएन ।

जब युवा उमेर बढ्दै जादा चुरोट पनि खान थाले ।

बानी नै भयो । 

चुरोट, रक्सी पिउनु उनको दैनिकी नै बन्यो  । 

सम्पन्न परिवार कमाउने खानेभन्दा अरू केही पनि भएन ।

भन्छन्, ‘म क्यान्सरको सिकार बन्नुको कारण धूमपान र मध्यपान हो । एकदमै बढी खान्थेँ । त्यो बेलामा मलाई सचेत गराउने कोही पनि भएनन् ।’

परिवारबाट एक्लो भएँ

अहिले बाबुकाजी पूर्णरूपमा निको भइसकेका छन् । 

तर विडम्बना उनलाई परिवारको साथ छैन ।  

बाबुकाजीले जापनिज भाषा सिकाउने क्रममा आफ्नो २ छोरी र १ छोरालाई प्रतिव्यक्ति १०, १० लाख खर्च गरेर जापान पठाए । अहिले दुई छोरीले उतै विवाह गरे, छोरा अध्ययनसँगै काम गर्दै छन् ।

तर उनलाई अहिले आर्थिक रूपमा हेर्ने कोही पनि छैनन् । उनको साथमा श्रीमती छिन् । 

भावुक हँुदै भन्छन्– ‘त्यो बेलामा मसँग ३ जनालाई जापान पठाउने पैसा थिएन् तर छोराछोरीको इच्छालाई मार्न सकिनँ र ऋण गरेर भए पनि जापान पठाएँ । त्यो बेलामा म स्वस्थ्य थिएँ तर आज मलाई सहयोग चाहिएको बेलामा छोरीछोरी मसँग छैनन् । 

उनको परिवारमा भाइबहिनी सबै छन् । 

आफूले सकुन्जेल भाइबहिनीलाई सहयोग गरेको बताए । तर क्यान्सर लागेपछि उनीहरूले पनि नहेरेको बाबुकाजीले गुनासो पोखे । 

मलिन अनुहारमा भन्छन्, ‘क्यान्सरलाई जिते, परिवारसँग टाढिए ।’

तर पनि उनले हार भने पटक्कै खाएका छैनन् । यसरी घाँटीबाट आवाज निकाल्ने साधन बनाइरहेका छन् । 

बाबुकाजीले आफूजस्तै समस्या भएका क्यान्सर रोगीलाई बोल्नका लागि सहज होस् भनेर उनी आफैँले बनाएको पाइप जस्तै देखिने मेसिन क्यान्सर पीडितलाई दिँदै आइरहेका छन् । 

कतिले उनको मिहिनेत सम्झेर एउटा मेसिनको ५ हजार दिने गरेका छन् ।

यो पाइप घाँटीको प्वाँलमा लगाउने र मुखमा राखेर बोल्न सकिन्छ ।

आफ्नो आत्मबलको लागि ठाउँठाउँमा क्यान्सर रोगीलाई भेट्न जाने गरेका छन् ।

बाबुकाजीको क्यान्सर पीडितलाई सुझाव

बाबुकाजीले आफूजस्तै क्यान्सर रोगीलाई निरास नहुन आग्रह गरे । 

उनी भन्छन्– ‘मृत्यु सबैको निश्चित छ तर रोग लाग्दैमा मरिन्छ भन्ने होइन । आत्मबल बढाउन सक्नुपर्छ । क्यान्सर रोगी पनि बाँच्न सक्छन् ।’ 

उनले स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाको उदाहरण दिँदै भने, ‘त्यस्ता ठूलाठूला डाक्टरलाई त रोग लागेको थाहा हुन्न, हामी त सामान्य मान्छे न  भयौँ ।’

डाक्टरको भनाइ

क्यान्सर अस्पताल भक्तपुरका डाक्टर सन्देश मैनालीका अनुसार बाबुकाजीलाई भ्वाइसबक्सको क्यान्सर भएको थियो । 

अप्रेसनपछि भ्वाइस बक्स झिकेर फाल्नुबाहेक अरू कुनै विकल्प नहँुदा फालेको उनले बताए । 

अहिले बाबुकाजीको क्यान्सरको सबै उपचार सकिएको मैनालीको भनाइ छ ।

उनका अनुसार क्यान्सर लागेपछि अप्रेसन गर्दा शरीरको कुनै पनि अङ्ग फाल्नुपर्ने हुँदा हतपत्त अप्रेसन गर्न मान्दैनन् बिरामी । तर बाबुकाजीले सजिलैसँग अप्रेसन गर्न मानेको र अहिले राम्रो भएको उनले प्रतिक्रिया दिए ।

यसरी नै आँटका साथ आउने हो भने धेरै क्यान्सर रोगीलाई निको पार्न सकिने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप