काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेको जीवन : भन्न नसक्दा मन परेकासँग बिहे हुन सकेन
‘समाजले असल मानिस भन्दिए पुग्छ,’ रातोपाटी डटकम कार्यालयमा भेटिएका काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘समाजसेवा गर्न पाइरहूँ । समाजले जुन स्थानमा राख्छ, मलाई मान्य हुनेछ ।’
घिमिरे राजनीतिक नेतामात्रै नभएर लेखक तथा साहित्यकारसमेत हुन् । ‘राजनीतिमा नैतिकता’, ‘संकल्प अठोट र लक्ष्य’ आलेखसंग्रह र ‘प्रतीज्ञाको पहाड’ र ‘बन्दी जीवनका अनुभूति’ कवितासंग्रहका सर्जक उनले थपे, ‘कुनै नेपाली राज्यबाट उपेक्षित हुन नपरोस् । समयानुकूल शिक्षाबाट वञ्चित हुन नपरोस् ।’ औषधोपचार गर्न नसकेर कोही पनि अकालमा मर्न नपरोस् । नेपाली घरबारविहीन हुन नपरोस् भन्ने काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
माछा–मासु, अन्डासमेत खान छाडेको १३ वर्ष भयो । शाकाहारी खानेकुरा प्राथमिकतामा पर्छन् । तारेहोटलमा सेमिनार, गोष्ठी हुँदा खान दिइएको खानेकुरा देख्दा विचित्र लाग्छ । सार्वजनिक व्यक्ति भएकाले घरबाहिर खानेकुरा खानुपर्ने बाध्यता छ । विद्यार्थीजीवनमा आफैंले पकाउँथें । त्यसपछि पकाएको छैन ।
मेरो पोसाक
विशेषतः सर्ट–पाइन्ट लगाउँछु । पोसाकमा त्यति धेरै खर्च हुँदैन । कतिपय अवस्थामा इष्टमित्र, शुभचिन्तक, साथीभाइले पोसाक उपहारस्वरूप दिन्छन् । त्यसबाहेक फेर्नैपर्ने अवस्थामा मात्रै पोसाक किन्ने गरेको छु । नीलो, कलेजी र सेतो रङको पोसाक रोजाइमा पर्छन् । प्रायः ‘रेडिमेड’ पोसाक प्रयोग गर्दै आएको छु । सिलाउनुपरे काठमाडौंको मैतीदेवीमा रहेको टेलरिङमा जान्छु । पहिले ध्यान नदिए पनि हिजोआज कपडा राम्रै लगाउनुपर्छ भन्ने मान्यतामा छु । एकताका क्याप पनि लगाएको थिएँ ।
मेरो फिटनेस
समयानुकूल हुँदा योगा गर्छु । काठमाडौंबाहिर (पहाड होस् वा तराई) रहँदा बिहान हिँड्ने कोसिस गर्छु । ‘डाइटिङ’ छैन । घरमा नभएकाले ट्रेडमिलमा दौडने बानी छैन ।
मेरो अध्ययन
‘अटोबायोग्राफी’, दर्शन र इतिहास अध्ययन गर्न असाध्यै जाँगर चल्छ । नेपालका नाम चलेका र मदन पुरस्कार पाएका लेखकका किताब अध्ययन गरेको छु । बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सरुभक्तलगायत नेपालका सिद्धहस्त लेखक मन नपर्ने कुरै छैन ।
उपन्यास लेख्दै राख्दै गरेको धेरै भयो । त्यसको पाण्डुलिपि खोज्दै छु । उपन्यास प्रकाशन तयारीमा जुटेको छु । मैले १ हजारजति किताब संकलन गरेको छु । भोक लाग्दा खाजा खानुपर्ने भए पनि राम्रो किताब भेटिए खाजासमेत खान्न ।
मेरो घुमफिर
योजनाबद्ध तरिकाले घुमफिरमा कहिल्यै निस्केको छैन । तर, घुमिरहनुपर्ने क्षेत्रमा छु । नेपालका ६७ जिल्ला पुगेको छु । २२ देश टेकेको छु । घुमेकामध्ये स्वीटजरल्यान्डको जुरिच, दक्षिण कोरियाको सोल, अमेरिकाको डिसी, चीनको सांघाई र गुइलिन मन पर्यो । नेपालको पोखरा जतिपटक पुगे पनि दिक्क लाग्दैन । पहाड जहाँ गए त्यहीं मन पर्छ । जीवनमा एकपटक मनाङ, मुस्ताङ, क्यानडा र सोभियत संघ पुग्ने धोको छ ।
मेरो फुर्सद
राजनीतिक नेता भएकाले फुर्सद निकाल्नै गाह्रो हुन्छ । दौडधुप छ । दौडधुप भएपछि शारीरिक र मानसिक थकाइ लाग्ने नै भए । थकाइ लागेपछि मोबाइल ‘स्वीच अफ’ गरेरै आराम गर्ने गरेको छु । घरपरिवारलाई समय दिन नसक्दा आफैं असन्तुष्ट छु । ठुल्ठूला नेतासमेत परिवारसँग घुमघाम र चलचित्र हेर्न गएका देखिन्छन् । तर, आफू भने पार्टी काममै केन्द्रित भएँ । परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र हलसम्मै पुगेर चलचित्र हेर्ने काम एकदमै कम छ ।
मेरो खेलकुद
खेलमध्ये फुटबल नै मन पर्छ । गल्फ र स्नुकर हेर्न अल्छी लाग्छ । एसएलसीसम्म फुटबल खेलेको थिएँ । राम्रै खेल्थें ।
मेरो मोबाइल
सामसुङ मोबाइल प्रयोग गर्दै आएको छु । यसको २७ हजार रुपैयाँ परेको थियो । काम लागुन्जेल मोबाइल परिवर्तन गर्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक बढी प्रयोग गर्छु । मोबाइलमा गेम खेल्दिनँ ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार, टक शो प्राथमिकतासाथ हेर्छु । पहिले–पहिले टेलिशृंखला हेर्थें । पछिल्लो समय हेर्न छाडिसकें । टीभी हेर्ने समय बेलुका जुर्छ । कहिलेकाहीं परिवारका सदस्य सुतेपछि एक्लै पनि हेर्छु । कहिलेकाहीं बिहान धार्मिक कार्यक्रम हेर्ने गर्छु । घरमा सोनीको ३० इन्चको लेट टीभी छ ।
मेरो चलचित्र
पछिल्लोपटक हलसम्म चलचित्र ‘डन्डिबियो’ हेरेको थिएँ । चलचित्र ‘पशुपतिप्रसाद’ टीभीमा हेरेको हुँ । विदेश गएको समय चलचित्र ‘राजनीति’ हेरेको थिएँ । हेरेकामध्ये ‘बागवान’, ‘पद्मावत’ र ‘पशुपतिप्रसाद’ असाध्यै मन पर्यो ।
भारतीय कलाकारमा अमिताभ बच्चन, आमिर खान, परेश रावल, अंग्रेजीमा लियोनार्दो, नेपालीमा राजेश हमाल, निरुता सिंहको अभिनय जीवन्त लाग्यो ।
मेरो स्वास्थ्य
उच्च रक्तचाप र मधुमेहले ‘लिमिट क्रस’ गर्न लागेको छ । अहिलेसम्म तीनपटक ‘होलबडी चेकअप’ गराएको छु । उच्च रक्तचाप र मधुमेहबाहेक ज्यानलाई ठीकठाक छ । आहारविहारमा ध्यान दियौं भने स्वस्थ रहन सकिन्छ ।
मेरो भाषणशैली
म मध्यमखालको भाषण गर्छु । सुन्नलायक नै गर्छु । भाषण गर्दा ‘चाइने’, ‘यसो भएको हुनाले’, ‘त्यसो भएको हुनाले’ र ‘म भन्न चाहन्छु’ भन्ने थेगो आफसेआफ प्रयोग गर्दोरहेछु । परिस्थिति हेरेर जस्तोसुकै भाषण गर्न सक्छु ।
भारतले नाकाबन्दी गर्दा मतमतान्तर चलिरहेको थियो । कसैले नाकाबन्दी हो भने कसैले होइन । मैले पनि नाकाबन्दी नै हो भनेर बोलें । संविधान जारी गरेकाले नाकाबन्दी गरिएको हो भन्दा केहीले त्यस्तो नबोलेको भए हुन्थ्यो भनेर सुझाए । सामान्यतया त्यो दिन बोल्ने कुरा मस्तिष्कमा खेलाउँछु ।
मेरो मापसे
जमघटमा मादक पदार्थ लिने गरेको छु । सामान्य सहभागिता जनाउँछु । सामान्यतया ह्वीस्की खान रुचाइन्छ । कहिलेकाहीं बियर पनि लिन्छु । ह्वीस्की दुईदेखि तीन पेग र बियरचाहिँ धेरैमा दुई बोटलसम्म लिएको छु । विद्यार्थीजीवनमा मादक पदार्थको मात्रा अनियन्त्रित हुन्थ्यो । विद्यार्थी जीवनमा मात लाग्ने पिएको सम्झना छ ।
मेरो संगीत
फुर्सदमा गीत–संगीत सुन्छु । नारायणगोपाल, स्वरूपराज आचार्य, अञ्जु पन्तका आवाज कर्णप्रिय लाग्छ । गीत–संगीत सुन्ने भएकाले गुनगुनाउँछु पनि ।
मेरो भूल
मानिस भएपछि जानअञ्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । कहिलेकाहीं गल्ती नगरी आरोप लाग्दा दुःख लाग्छ ।
मेरो घर
निर्माणाधीन घरमा सरेको धेरै भएको छैन । बालकोटमा निर्माणाधीन घरको दुई कोठा तयार पारेर सरेको हुँ । घर बनाउनअघिसम्म तीनवटा जग्गा किन्दै बेच्दै गरें । सात लाखमा किनेको जग्गा ४२ लाखसम्ममा बेचें । घर बनाउन कृषि विकास बैंकबाट ३० लाख ऋण लिएको छु । श्रीमतीको गहना बेचियो । त्यतिले नपुगेपछि साथीभाइसँग सहयोग लिएको छु । घरपरिवारको सहयोग पनि छँदै छ ।
घर बनाउन अहिलेसम्म ७० लाख खर्च भइसकेको छ । अब पाँच लाख रुपैयाँजतिले घर निर्माण सम्पन्न गर्न सकिन्छ । घरको डिजाइन बाकसजस्तो छ ।
मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशा हेराउने गरेको छैन । ग्रहशान्तिसमेत गराएको छैन । ग्रह र नक्षत्रको फलप्रति विश्वास लागे पनि अनुशरण गरेको छैन ।
मेरो सौन्दर्य
शुभकार्यमा जानुपर्दा कपालमा तेल लगाउँछु । फेसियल गर्दिनँ । बिहेको दिन साथीभाइले पार्लर पुर्याएर अनुहार सफा गर्न बाध्य पारेका थिए । कपालमा कहिलेकाहीं कालो मेहेन्दी लगाएको छु । साथीभाइले दिएका पफ्र्युम यदाकदा प्रयोग गर्छु । दुई/तीनपटक साउना बसेको छु ।
मेरो प्रेम
मागीबिहे गरेको हुँ । धेरैलाई मन पराए पनि भन्न नसकेर बिहे गर्न सकिएन ।
मेरो सपना
औषधोपचार गर्न नसकेर कोही पनि अकालमा मर्न नपरोस् । समयानुकूल शिक्षाबाट वञ्चित हुन नपरोस् । नेपाली घरबारविहीन हुन नपरोस् । कुनै नेपाली राज्यबाट उपेक्षित हुन नपरोस् । त्यस्तो नेपालको सपना देख्दै आएको छु ।
मलाई समाजले असल मानिस भन्दिए पुग्छ । समाजसेवा गर्न पाइरहूँ । समाजले जुन स्थानमा राख्छ, मान्य हुनेछ ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । जन्मनुअघि जीवन थिएन, मृत्युपछि पनि जीवन रहँदैन । यो अकाट्य छ । मृत्युदेखि डराउनु अस्वाभाविक होइन । मृत्यु स्वाभाविक होस् भन्ने चाहना छ । मोरङको चिसाङखोलापुलमा सडक दुर्घटना हुँदा मृत्युको नजिक पुगेको अनुभूति गरेको थिएँ । मृत्यु शानदार होस् । मृत्युमा आँसु झार्ने धेरै हून् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष