मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनी क्याम्पमा विद्रोह : अब प्रशिक्षक अधिकारविहीन, खेलाडीहरु हाबी

आइतबार, १० असार २०७५, ०९ : ५६
आइतबार, १० असार २०७५

एजेन्सी । सन् २०१८ को विश्वकपमा खराब प्रदर्शन गरिरहेको अर्जेन्टिनाको फुटबल टोलीमा खेलाडीहरुले प्रशिक्षकविरुद्ध विद्रोह गरेका छन् ।

नाइजेरियाबिरुद्ध मंगलबार हुने ‘गर या मर’ खेलअघि खेलाडीहरुले प्रशिक्षक जर्ज साम्पाओलीलाई अधिकारविहीन बनाएका हुन् ।

सन् २०१८ को विश्वकपलाई ‘लियोनेल मेस्सीको विश्वकप’ को रुपमा हेरिए पनि आइसल्याण्डसँग १–१ को बराबरी र क्रोएसियासँग ३–० को लज्जास्पद हारपछि प्रशिक्षक र टोलीका सिनियर खेलाडीहरुबीच मतभेद देखिएको छ ।

रिपोर्टका अनुसार खेलाडीहरुले यस विषयमा अर्जेन्टिनी फुटबल एसोसिएसनका म्यानेजर जर्ज बुरुचागासँग पनि छलफल गरेका छन् ।

सन् १९८६ मा विश्वविजेता अर्जेन्टिनी टोलीका सदस्य रहेका रिकार्डो जिउस्टीले बुरुचागासँग आफूले पनि कुरा गरेको र अब नाइजेरियाको खेलअघि खेलाडीहरुसँग छलफल गरिने दाबी गरे ।

जिउस्टीले भने, ‘अब खेलाडीहरुले टोलीको निर्धारण गर्नेछन् । यो सत्य हो । यदी साम्पाओली बेञ्चमा बस्न चाहन्छन् भने ठीकै छ नत्र केही फरक पर्दैन ।’

शनिबार राती साम्पाओली र अर्जेन्टिनी फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो टापियासँग छलफल गरेका थिए । 

हालका लागि उनी प्रशिक्षक पदमा कायम रहे पनि नाइजेरियाको खेलअघि उनले सम्पूर्ण निर्णय आफू लिन पाउने छैनन् । यसका लागि उनले मेस्सी र ह्याभियर मास्चेरानोसँग छलफल गर्नुपर्ने छ ।

आइसल्याण्डले क्रोएसियालाई राम्रो गोलअन्तरसहित नहराएको खण्डमा नाइजेरियालाई पराजित गरे अर्जेन्टिना समूहमा दोस्रो बन्दै अर्को चरणमा पुग्नेछ ।

क्रोएसियाविरुद्धको खेलमा हार बेहोरेपछि प्रशिक्षक साम्पाओलीले खेलाडीहरुमाथि दोष थोपरेपछि खेलाडीहरु रुष्ट बनेका छन् । सर्जियो अगुएरो त टिभीमा नै साम्पाओलीमाथि खनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप