मधेसी पहिचानमाथिको बहस
प्रत्येक व्यक्तिले आफ्नो पहिचानबाट परिचय दर्साउन चाहन्छ । त्यही समुुदायको पहिचान सामूहिक हुन्छ । व्यक्तिको पहिचानभन्दा बढी समुदायको पहिचानमाथि बहस हुनेगर्छ । नेपालमा अहिले सबैभन्दा बढी बहसको विषय सांस्कृतिक, सामाजिक एवम् भाषिक रूपमा अल्पसङ्ख्यक अथवा सीमान्तकृत समुदायको पहिचानलाई काठमाडौँ र केन्द्रीय सत्ताले जहिले पनि पराया वा विदेशिका रूपमा हेर्ने र व्यवहार गर्दै आएको छ ।
मधेसीले नेपाली बोल्दा नेपाली हो कि भन्नेसम्म व्यवहार गरिन्छ । मधेसीले आफ्नो परिचय नेपाली भनेर वा कुनै प्रमाण पत्र नदेखाएसम्म विदेसी सरह नै व्यवहार हुने गर्छ । महोत्तरीबाट गोर्खाको मनाकामना दर्शन गर्न आफ्नी छोरीसँग गएकी आमासँग नेपाली भएको कुनै प्रमाणपत्र बोकेको नहुँदा केबुलकार चढ्न विदेसी सरहको शुल्क तिर्नुपर्छ । छोरीसँग विद्यार्थी परिचय भएको कारण उसको शुल्क नेपाली सरह नै लिइएको थियो । पहाडमा बस्ने, अलिक गोरो र आफ्नोजस्तै लाग्नेहरूलाई नेपालीसरह व्यवहार गरिन्छ । त्यस्ता व्यक्तिलाई नेपाली भएको प्रमाणपत्र देखाउनुपर्ने आवश्यकता हुँदैन । पहाडीक्षेत्रमा बसोबास गर्ने जुनसुकै देशका नागरिक नेपाली र नेपालमै बसोबास गर्ने मधेसी विदेशीलाई विदेशीसरह व्यवहार हुनेगर्छ । काठमाडौँको हनुमान ढोका अथवा स्वम्भूमा कुनै मधेसी पुग्दा त्यस व्यक्तिसँग हिन्दीमा कुराकानी गरिनु, नेपाली प्रमाणपत्र नभएको अवस्थामा विदेशीसरहको शुल्क तिर्नुपर्छ ।
मधेसीलाई विदेशी सरहको व्यवहार गर्नमा मद्दत गर्ने मुख्य सूचीमा सञ्चार माध्यम पर्दछ । काठमाडौँबाट मात्र नभई पहाडी, हिमाली क्षेत्रबाट प्रसारित र प्रकाशित हुने अधिकांश सञ्चारमाध्यमले मधेसीको वास्तविक पहिचानलाई कहिल्यै स्थान नदिएको गुनासो हुनेगर्छ । नेपालको दक्षिणीक्षेत्रमा बसोबास गर्ने मानिसहरूको सांस्कृतिक र सामाजिक क्रियाकलापहरूबारे कहिल्यै पहाडी र हिमालीक्षेत्रका मानिसहरूलाई अवगत नै गराइएन । सञ्चारमाध्यमले अझै पनि एक भाषा नेपाली र एक भेष दौरासुरुवाललाई धेरैभन्दा धेरै प्रोत्साहन गरिरहेको छ । देशकै एक कुनामा बस्नेले मधेसीलाई तथा अर्का कुनामा बस्नेले पहाडी र हिमालीलाई विदेशीको रूपमा हेर्नेगर्छ । भारतीय सञ्चारमाध्यमले पहाडी र हिमालीहरूको जनजीवनबारे विभिन्न कार्यक्रम बनाई देखाउने गरेकाले मधेसीहरूले आफूभन्दा फरक अनुहार भएकालाई विदेशी सरह नै पछिल्ला समयमा व्यवहार गर्न थालेका छन् ।
मधेसको अध्ययन गर्ने अध्येता, मधेसवादी राजनीति दलहरू, मधेसी अधिकारकर्मी आदिले यस क्षेत्रको नागरिकलाई ‘आदिवासी’, ‘भूमिपुत्र’ एवं ‘रैथाने’ भनेर परिभाषित गर्दै आएका छन् । यही पहिचान स्थापित गर्न मधेसले निकै लामो सङ्घर्ष भयो । यसका साथै उनीहरूले केन्द्रीय राज्यले गरेको उत्पीडन र बहिष्करणको अन्त्यका लागि मधेसी पहिचानलाई सधँै आन्दोलनको एजेन्डा बनाउँदै आए र संविधान निर्माणदेखि संशोधनसम्म यो मुद्दा प्राथमिकताका साथ उठ्नेको थियो । संशोधनको मुद्दा अझैसम्म जीवित छ ।
मधेसीको पहिचान निर्माणमा सञ्चारमाध्यम र पुस्तक
मधेसीको पहिचानलाई सञ्चारमाध्यमले प्रचारप्रसार नगरेको आरोप एकातिर छ भने नेपाल, भारत र अन्य देशका लेखकहरूले भारतीय मूलका भनेर लेख्ने गरेका छन् । त्यस्ता लेखकहरूले भारतीय मूल भनेर लेखेको र लेख्ने गरेका कारण मधेसीहरू भारतीय नै हुन् भन्ने किसिमको सन्देश पाठकसम्म पुग्न सफल भएको हो ।
कर्कप्याट्रिकले मधेसीको छुट्टै पहिचान भएको चर्चा गरेको केही वर्षमा हेमिल्टनले मधेसीको पहिचानलाई मिथिला, अवधसहितका उपपहिचानलाई प्रचारबाजी गरेका थिए । यी पहिचान निर्माण गर्न शासकहरूले आफ्ना हरेक सञ्जालहरूको प्रयोग गरेका छन् । अझैसम्म यो क्रम जारी छ । मधेसीको पहिचानबारे राजनीतिक र समाजिक स्तरमा समेत विभिन्न बहसहरू हुने गरेका छन् । सत्तासँग निकट रहेकाहरूले मधेसीलाई ‘विदेशी’ भनेर बहसमा ल्याउने गर्छन् । यसरी मधेसीको पहिचानलाई बहसमा ल्याउनेले डा. हर्क गुरुङको संयोजकत्वमा गठित आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ सम्बन्धी २०४० सालमा प्रकाशित प्रतिवेदनलाई स्रोत पुस्तकको रूपमा विश्लेषण गर्ने गरेका छन् । त्यस प्रतिवेदनमा नागरिकता नभएका सम्पूर्ण नागरिकलाई भारतबाट आएको भनेर लेखिएको थियो । मधेसीहरू भारतीय मूलका हुन् भनेर चर्चा गरिएको थियो । हुन त मधेसीले चर्को विरोध गरेका कारण डा. गुरुङले प्रतिवेदनमा मधेसीलाई भारतीय मूल नभनिएको दाबी तत्कालै गरेका थिए ।
त्यसभन्दा अगाडि पादरी लुडविग स्टिलरले बङ्गालमा भोकमरी भएको बेला बङ्गाली र बिहारीहरू नेपालतर्फ बसाइँसरेको लेखेका छन् । भारतबाट बङ्गाली र बिहारीहरू नेपालमा आएर बसोबास गरेको तर्क स्टिलरले गरेका कारण सम्पूर्ण मधेसीलाई बिहारी भनेरै अझैसम्म अपमानजन्य व्यवहार गरिन्छ ।
नेपाली सत्ताको प्रोपगान्डालाई समर्थन गर्ने बुद्धिजीवीले मधेसीलाई भारतबाट आएको भनेर प्रवाह गरेको कथ्यलाई समर्थन गर्दै भारतीय वा अन्तर्राष्ट्रिय लेखकले मधेसीलाई भारतीय मूलको भनेर लेख्ने गरेका छन् । यसका उदाहरण स्टिलर मात्र नभई भारतीय र नेपाली लेखक तपनकुमार बोस, सोमप्रसाद निरौला, रिता मन्चन्दासहितका छन् । त्यसको देखासिकीमा नेपाली लेखक सौरभलगायतले गरिरहेका छन् । भारतीय लेखकहरूले तराईका बासिन्दा १९औं शताब्दीमा भारतबाट बसाइँ सरेर आएको कारण दोस्रो दर्जाको नागरिक सरह व्यवहार हुँदै आएको तर्क गर्दै मधेसीलाई भारतीय मूलको भनेर प्रचारप्रसार गर्नेगर्छन् ।
इतिहासकार प्रयागराज शर्माले सांस्कृतिक र राजनीतिक हिसाबले भारतमुखी भएकोले मधेसेहरूलाई पहाडेहरूले भारतीय मान्ने गरेको तर्क स्थापित गरेका थिए । त्यही अनुसन्धानकर्ता बीसी उप्रेतीले नेपालीपनले निर्माण भएको राष्ट्रियताभित्र जसरी मधेसी अटाउँदैनन्, त्यसरी नै मधेसीपन र भारतीयपनबीचको फरक रहेको तर्क अगाडि सारेका थिए । यसबारे फरक मत राख्नेहरू पनि छन् । मधेसीहरू रहे पनि मधेस नरहेको तथा थारुहरू तराईको सबैभन्दा पुरानो बासिन्दा रहेको तर्कसमेत गर्ने गरिन्छ । महाभारत पर्वतको दक्षिणतर्फको पूर्व–पश्चिम समथल भूभागलाई सम्बोधन गर्न स्टिलर, हेमिलटनसहितका पश्चिमा लेखकहरूले तराई शब्द र यहाँका बासिन्दाका लागि मधेसी शब्द प्रयोग गरेका छन् । अहिले अधिकांश लेखहरूले यस क्षेत्रलाई तराई मधेस भनेर लेख्ने गरेको पाइन्छ । यस क्षेत्रमा बसोबास गर्नेहरूको फरक फरक पहिचानसहित मधेसी, दलित, जनजाति, थारु, मुस्लिम भनेर सम्बोधन गर्ने गरिएको छ । जब कि मधेसीभित्रकै यी उपपहिचानहरू हुन् ।
अनुसन्धानकर्ताहरूले देखेको मधेस
सन् १७७३ एवम् सन् १८१४ लाई केन्द्रविन्दु बनाएर दुईजना विदेशीले नेपालबारे छुट्टाछुट्टै पुस्तक लेखे । कर्कप्याट्रिकले सन् १७७३ लाई केन्द्रविन्दुमा राखेको पुस्तक एन अकाउन्ट अफ द किङ्डम अफ नेपाउलमा सुती कपडाको उत्पादन मधेसमा भएको लेखेका छन् । दक्षिणमा रहेको तत्कालीन मकवानपुर राज्यबारे समेत लेखिए । पुस्तकमा सिम्रौनगढ र जनकपुरको चर्चा छ । तराईलाई तरियानीको रूपमा व्याख्या गर्दै यसको क्षेत्र गण्डक नदीदेखि टिस्टासम्म नदीसम्म रहेको दाबी गरियो । गण्डक पश्चिमको क्षेत्रलाई टुर्रे भनेर भनिएको छ । कर्कप्याट्रिको पुस्तकलाई समर्थन र विरोध गर्दै थप अध्ययनका साथ सन् १८१४ लाई केन्द्रविन्दु बनाएर हेमिलटनले एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल लेखे । पुस्तकमा नेपाललाई नेपालका रूपमा चित्रण गरिएको थियो । साथै दक्षिण क्षेत्रका लागि मिथिला, तिरहुत, तराईसहितका शब्दहरूको प्रयोग गरियो ।
कर्कप्याट्रिकले सिम्रौनगढ र जनकपुर लेखेकाले त्यसको थप व्याख्याका लागि हेमिलटनले मिथिला, तिरहुत, तराईसहितको शब्दहरू प्रयोग गरे । तर मधेस शब्दबारे कतै उल्लेख गरेको पाइएन । साथै मधेसको समृद्धिबारे कतै लेखिएन । साझा रूपमा रहेको मधेसी पहिचानलाई अलग अलग पहिचानसँग जोडेर मिथिला, तिरहुत, तराई, टुर्रेसहितको पहिचान दिएर समथर भूभागका बासिन्दालाई विभाजन गरेर व्याख्या गरेका हुन् । साथै दक्षिणतर्फ राज्य सञ्चालन गरिएको ब्रिटिस सरकारको क्षेत्रलाई हिन्दुस्तान भनिएको थियो । त्यतिबेलै मधेसीको पहुँच नेपाल (काठमाडाँै)मा रहेकाले पहिचानमै विभाजन ल्याउँदा समथर भूभागका बासिन्दा कहिल्यै एकमत नहुने र शासन गर्न सहज हुने अनुमानका साथ हेमिल्टनले जनकपुरलाई हिन्दुको केन्द्र र आस्था रहेको मिथिलासँग जोडेका थिए । त्यही समथर भूमिलाई तरियानी र टुर्रेलाई एकत्रित रूपमा तराई शब्दको प्रयोग गरेको बुझिन्छ । यसरी मधेसकै बासिन्दाहरूबीच पहिचानको फरक कथ्य प्रवाह गर्न पश्चिमा लेखकहरू सफल भएको मानिन्छ । फरक कथ्य भनेको एकीकृतमा बनेको मधेसी पहिचानलाई मिथिला, भोजपुरी, सिमरौन, अवधसहितका क्षेत्रहरूसँग तथा विभिन्न जातीय, धार्मिक एवम् क्षेत्रीय पहिचानसँग जोडेर नयाँ कथ्यहरू निर्माण गरिएको छ ।
फ्रेडरिक एच. गेजल सन् १९६७–६८ मा कैलाली, कपिलवस्तु– स्युराज, बारा, महोत्तरी र झापामा गरिएको स्थलगत सर्वेक्षण गरेका थिए । तराईको विस्तृत अध्ययन गरिएको भनेर अझैसम्म चर्चा यथावत छ । नेपाली अनुसन्धानकर्ताले यसलाई कोसेढुङ्गाका रूपमा मान्ने गरेका छन् । यस पुस्तकको अध्ययनपछि म एउटा कुरा के भन्न सक्छु भने यसले मधेसीलाई अल्पसङ्ख्यक बनाउन सकिने, तराई क्षेत्रबाट मधेसीलाई विस्थापित गर्न सकिने र बाध्यतावश नेपालीकरण गर्न सकिने थुप्रै सल्लाह सुझाव निष्कर्षमार्फत दिइएका छन् । सत्ताधारीकै लागि गेजले यो अध्ययन गरेको तथा पुस्तक प्रकाशनगरी मधेसी पहिचानलाई भारतीयसँग जोड्ने कथ्यहरू प्रवाह गरेको निष्कर्ष निकाल्न सकिन्छ ।
मधेसी पहिचान बनाउने र मेटाउने आन्दोलन
मध्यदेश अपभ्रंश भई मधेस भएको दाबी गर्ने गरिन्छ । ई.पू. १५०० मा मधेसदेशको स्थापना भएको तर्क गर्नेहरूले मनुस्मृतीको उदाहरण दिने गर्छन् । फ्रेन्च लेखक सिल्वा लेवीले सन् १८९५ मा काठमाडाँैको पाटनका पण्डितसँग कुरा गर्दा उनीहरू मध्यदेशबाट आएको उल्लेख गरेका थिए । त्यही पृथ्वीनारायण शाहले सन् १७७१ मा चुरेभन्दा तलको क्षेत्रलाई मधेस सम्बोधन गरी आफ्ना सैन्य अधिकारीहरूलाई पत्र पठाएको इतिहास छ । यी तर्कहरूलाई विश्वास गर्ने हो भने चुरेभन्दा दक्षिणको समथर भूभागमा बसोबास गर्नेहरूलाई मधेसी भनेर सम्बोधन गरिएको छ । सौरभसहितका केही नेपाली लेखकहरूले राहुल संकृत्यानले लेखेको मध्यदेश र गौतम बुद्धले प्रयोग गरेको मझिम देश एउटै रहेको तर्क गर्छन् ।
नेपालमा तराई र भारतमा मधेस रहेको दाबी गर्ने गरिन्छ । नेपालमा मधेसी रहेको दाबी गर्नेहरूले २००७ सालपछि पहिलो आवाज नै छुट्टै पहिचानको उठाएको थियो । आफ्नो पहिचानलाई भारतीय अथवा भारतीय मूलसँग जोडेर हेरिनु वा लेखिनुलाई मधेसलाई दुःखद् मान्ने गर्छन् । यी सम्पूर्ण आन्दोलनमा मधेसी पहिचानको मुद्दा सबैभन्दा पहिले आउने गरेको छ । राज्यले कर सङ्कलन र शासन प्रशासन सञ्चालनका लागि २०१२ सालमै मधेस गोश्वारा ऐन तथा २०१९ सालमा जग्गाहरू व्यवस्थापन गर्न कानुन निर्माण गरे पनि मधेसी पहिचानलाई स्वीकार गरेको थिएन । मधेसको नाम केवल कर सङ्कलनसँग सम्बन्धित थियो ।
बिस्तारै कर सङ्कलन गर्ने उद्देश्य गठन गरिएका मधेस शब्दलाई दक्षिणक्षेत्रका मानिसले आफ्नो पहिचानसँग जोड्न थाले । मधेस शब्द हटाउने आन्दोलन पनि उठ्न थाल्यो । खासगरी जग्गाजमिन र कर सङ्कलन गर्न वि.सं.२०४७ साल अगाडिसम्म मधेस फाँट, गोश्वरासहितको शब्द सरकारी दस्तावेजहरूमा बाक्लै पाइएको थियो । मधेस शब्दहरूको सट्टामा तराई प्रयोग गराउन बाबुराम आचार्यसहितका इतिहासकारहरू अभियान नै चलाएका थिए । भारतमा मधेसमा नरहेकाले नेपालीको दक्षिणीक्षेत्रलाई तराई भन्न उपयुक्त हुने बौद्धिकवर्गको आन्दोलन सुरु भयो । उनीहरूले तराई पहिचानका रूपमा स्थापित हुन नसक्ने ठहरका साथ प्रजातन्त्र पुनस्र्थापनापछि राणाहरूले बाक्लै प्रयोग गर्ने गरेको तराई शब्दकै पक्षमा वकालत गरेर सफल भएका थिए ।
पहिचानको आन्दोलनले अन्ततः पुनस्र्थापित प्रजातन्त्रलाई चुनौती दिँदै सुरु भएको जनयुद्धको अन्त्यमा जनआन्दोलन भयो । त्यसपछि वि.सं. २०६३ मा भएको मधेस विद्रोहले मधेसको पहिचान स्थापित गरायो भने २०६४ को आन्दोलनले उनीहरूको प्रतिनिधित्वको सवाललाई संवैधानिक रूपमा स्वीकार गर्ने अवस्थामा ल्यायो । मधेस आन्दोलनबाट बनेको पहिलो संविधान सभाले मधेसीको साझा पहिचान कायम गर्न कार्य गरेको देखिएको तर्क गर्ने गरिन्छ । तर मधेसीको पहिचानलाई एकीकृतभन्दा पहिचानको कथ्य क्षेत्रीयतासँग जोडेर ल्याएको पाइन्छ । संविधानसभा–राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिले २०६६ सालमा प्राग्– ऐतिहासिक, ऐतिहासिक, वैदिक कालखण्डहरूमा समेत रहेको विदेह, विराट, सलहेश, सिम्रौनगढ, शाक्यलगायतका गणराज्यहरूका बासिन्दाहरू कलान्तरमा मधेसी भनेर एउटा विशेष पहिचान र राष्ट्रियताको रूपमा एकताबद्ध भइरहेको समुदाय भनेर बहस गरिएको थियो । अझैसम्म यो बहसकै क्रममा छ ।
पहिचानको पीडा र समाधान
राणाकालमा मात्र नभई प्रजातन्त्र स्थापना भइसक्दा समेत मधेसीहरू काठमाडाँै आउनु परे जिल्लाको बडाहाकिमबाट इजाजत लिई चिसापानी गढी एवम् थानकोटमामा राहदानी पत्र चेकजाँच गराई मात्रै देशको राजधानीमा सहजै प्रवेश पाउने गरेको कुरा फ्रेडरिक एच गेजले समेत आफ्नो अध्ययनमा लेखेका छन् ।
इतिहासकार मोदनाथ प्रश्रितले समेत अवैदिक आर्य मूलका खसहरू पश्चिमबाट तेह्रौँ चौधौँ शताब्दीमा तथा ब्राह्मण क्षेत्रीहरू पन्ध्रौँ स्रोह्रौँ शताब्दीमा भारतको कुमाउ गढवालबाट पूर्वतर्फ सरेका अर्थात नेपालमा प्रवेश गरेको निष्कर्ष निकालेका थिए । मधेसका जानकार डा. राजेश अहिराजका अनुसार मधेसीले पहाडी बाहुन क्षेत्रीलाई भारतीय भनेर प्रचारप्रसार वा विरोध नगुर्नको मुख्य कारण सत्ताभन्दा निकै टाढा एवम् दण्ड सजायबाट जोगिनु थियो । केही मधेसी अध्ययनकर्ताहरूले पहाडी बाहुन र क्षेत्री अर्थात खसआर्य भारतबाट आएको विषय बहसमा समेत ल्याएका थिए र छन् ।
भारतबाट आएका पहाडी बाहुन र क्षेत्री नै सत्तामा रहेको कारण नेपाली भाषाको विद्यालयस्तरीय पाठ्यपुस्तकमा पहाडीहरूलाई नेपालीका रूपमा परिभाषित गर्दै नेपाली वीर, कहिले युद्ध नहारेको, कसैको गुलाम नभएकोसहितका कथ्यहरू प्रवाह गरेका थिए । त्यही मधेस र मधेसीको इतिहासबाट देशवासीलाई अनजान बनाई राखिएको थियो । अझैसम्म पहाडी एवम् हिमाली क्षेत्रका जनतामाझ केही राजनीतिकर्मी तथा सञ्चारमाध्यमले मधेसीलाई बिखण्डनकारी तथा भारतीय भनेर कथ्यहरू निरन्तर प्रवाह गरिरहेका छन् ।
विभिन्न लेखकहरूले गरेको तर्क हेरेपछि नेपालको सम्पूर्ण तराई क्षेत्र प्राग् ऐतिहासिक कालीन मध्यदेशको अङ्ग रहेको देखिन्छ भने यस क्षेत्रका बासिन्दालाई मधेसी भनिएको हो । त्यस्तै बाहिरबाट आउनेहरूले यहाँका रैथानेलाई ‘देशीया’ भन्ने गर्थे । मध्यदेशीया अपभ्रंश भई मधेसिया भई हाल मधेसी सम्बोधन गरिन्छ । अहिले पनि मधेसीलाई मधिसे अथवा मधेसिया भन्ने गर्छन् । यस किसिमको सम्बोधनले मधेसीलाई पुरानै पीडाहरू सम्झन बाध्य पारिन्छ । यस पीडाको समाधानको धेरै उपायहरू हुनसक्छन् । त्यसमध्ये मधेसीको पहिचान एवम् बसोबास स्पष्ट उल्लेख हुनेगरी प्रस्तावना तथा अन्य धारामा संविधान संशोधन आवश्यक छ ।