बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल स्वास्थ्य पर्यटनको उदाउँदो गन्तव्य

बिहीबार, ३१ जेठ २०७५, १० : ०२
बिहीबार, ३१ जेठ २०७५

नेपालमा स्वास्थ्य पर्यटनमा आधारित बहस सुरु भएको धेरै समय भएको छैन । तर अहिले आएर स्वास्थ्य पर्यटनको बारेमा विभिन्न समयमा भिन्नभिन्न प्रकारका बहसहरू सुरु भएका छन् । नेपालको पर्यटन रणनीति २०१६–२०२५ मा पनि पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डले नेपालमा स्वास्थ्य पर्यटनको प्रवद्र्धन गर्ने नीति लिएको छ ।

तर समस्या नेपालमा के छ भने सरकारी स्तरमा स्वास्थ्य पर्यटनसम्बन्धी कुनै कानुन तथा नीति बनिसकेको छैन भने बनाउने कुनै पहल भएको पनि देखिएको छैन । सिवाय समय समयमा केही नेताहरूको भाषणमा मात्र नीति बनाउने कुरा सीमित छ ।

केही समय पहिला भारत र थाइल्यान्डमा सरोगेसी पर्यटन (मेडिकल पर्यटनको एउटा भाग) मा केही नीतिगत समस्या उत्पन्न भएपछि त्यहाँको सरकारले सरकारी नीतिमा निकै कडा गरेको थियो । जसको कारण ती देशमा जाने व्यक्तिहरू नेपालतर्फ आकर्षित हुँदा नेपालमा सरोगेसीलाई नै मेडिकल पर्यटनको रूपमा बहस गरियो । जबकि नेपाल सरकारको स्वास्थ्य पर्यटन नीति नभएको अवसर छोपी केही अस्पतालले बच्चाहरूको अन्तर्राष्ट्रिय व्यापार नै सुरु गरे । अन्त्यमा सर्वोच्च अदालतको आदेशमार्फत नेपालमा सरोगेसी पर्यटन नै बन्द भएको अवस्था छ ।

अहिले नेपालमा आयुर्वेद, योग तथा सर्जरीमा आधारित स्वास्थ्य पर्यटनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा विदेशी पर्यटकहरू आउने गर्छन् । तर दुर्भाग्य यसको आधिकारिक तथ्याङ्क न त पर्यटन मन्त्रालयसँग छ न स्वास्थ्य मन्त्रालयसँग छ ।

सबैभन्दा विडम्बना यसको विकासका लागि आवश्यक नीति र रणनीति बनाउने कुरामा सरकारी पक्ष अनविज्ञ छ । यस्तो परिस्थितिमा नेपालमा स्वास्थ्य पर्यटनको विकास नहुँदै सरोगेसीमा जस्तै विकृति नभित्रिएला भन्न सकिँदैन ।

के हो त स्वास्थ्य पर्यटन ?
सामान्य भाषामा भन्दा बिरामी भएर आफ्नो स्वास्थ्यको उपचारका लागि आफ्नो देशभन्दा बाहिर जानुलाई मेडिकल पर्यटन भनिन्छ । जसमा मेडिकल सर्जरी, डेन्टल सर्जरी, कस्मेटिक सर्जरी लगायत प्रमुख पर्छन् ।
अर्कोतर्फ बिरामी नभए पनि बिरामी हुनबाट रोकथाम गर्नका लागि गरिने भ्रमणलाई वेलनेस पर्यटन भनिन्छ । जसमा योग, मेडिटेसन स्पा लागत आयुर्वेद आदि प्रमुख हुन् ।

अतः कुनै पनि रोग रोकथामको लागि तथा रोग लागिसकेपछि यसको उपचारको लागि गरिने भ्रमण नै स्वास्थ्य पर्यटन हो ।

नेपालमा मेडिकल टुरिजम 
विशेषगरी नेपालमा आँखाको उपचारका लागि सीमावर्ती अस्पतालमा हजारौंको सङ्ख्यामा भारतीय नागरिक आउने गर्छन् । खास गरी भैरहवा, विराटनगर, झापा, इटहरी, काठमाडौंसम्मका आँखा अस्पतालहरू भारतीयहरू को रोजाइमा पर्ने गरेका छन् ।

भारतीय आँखा रोगीहरूको विशेषता भनेको उनीहरू नेपालमा आँखाको उपचार मात्र नभएर, उपचारको साथसाथै नेपालका विभिन्न धार्मिक स्थानमा पनि घुम्न जाने गर्छन् । यसमा विशेष गरी लुम्बिनी, जनकपुर, मुक्तिनाथ र पशुपतिनाथ उनीहरूको रोजाइमा पर्छन् । यसरी मेडिकल र टुरिजमको राम्रो कम्बिनेसन संसारमा कमै मात्र देख्न पाइन्छ ।

धरैजसो देशमा मेडिकल टुरिजममा बिरामीहरू उपचारपछि आफ्नो देशमा फर्कने गर्दछन्, जसको पर्यटनमा कुनै योगदान नै हुँदैन । तर नेपालको परिप्रेक्ष केही फरक छ, जसले नेपालको पर्यटनको विकाशमा पनि सहयोग पु¥याइरहेको छ, जुन नेपालका लागि अवसरको रूपमा लिन सकिन्छ ।

नेपालमा आँखा उपचारको लागि भारतीय  नागरिक आकर्षित हुनुका केही कारणः
– भारतमाभन्दा नेपालमा आँखा उपचार सस्तो हुनु,

–    नेपालमा भारतमा भन्दा उपचार प्रक्रिया छिटो हुनु, अस्पतालमा उपचारका लागि धरै समय कुर्न नपर्नु ।

–उपचारपछि धार्मिक पर्यटकीय स्थलको भ्रमण गर्न पाउनु । विषेशगरी लुम्बिनी, जानकी मन्दिर, मुक्तिनाथ तथा पशुपतिनाथलगायतका धार्मिक स्थलहरू हुनु ।

नेपालको मेडिकल टुरिजममा आजभोलि नयाँ ट्रेन्ड पनि भित्रिएको छ । अहिले रोजगारको लागि संसारका धेरैजस्तो देशमा नेपालीको बसोबास रहेको छ । अमेरिका, बेलायत क्यानडा लगायत युरोप अमेरिकाका धेरै देशहरूमा दाँतको उपचारको मूल्य निकै महँगो छ भने उपचारको लागि पनि धेरै समय पर्खनुपर्ने हुन्छ । यसले गर्दा ती देशमा बस्ने नेपालीहरू पनि हालैका वर्षहरूमा उपचारका लागि नेपाल आउने क्रम बढेको देखिन्छ । यस्तो हुनुको विशेष कारणको रूपमा उपचारमा लाग्ने मूल्य र समयलाई लिन सकिन्छ ।
विविध कारणले गर्दा आँखा र दाँतबाहेकको मेडिकल पर्यटनको सम्भावना नेपालमा निकै कम देखिएको छ ।

नेपालमा वेललनेसमा आधारित स्वास्थ्य पर्यटन

नेपालमा अहिले ध्यान, योग, आयुर्वेदलगायत अन्य प्राकृतिक चिकित्साका लागि आउने पर्यटकको सङ्ख्या निकै बढ्दै गइरहेको छ । ओशो तपोवनमा संसारभरीबाट नै ध्यानका लागि आउने पर्यटकको घुइँचो हुन्छ भने डा. ऋषिराज कोइरालाको आयुर्वेद हेल्थ होममा १२० भन्दा बढी देशबाट आयुर्वेदिक उपचारका लागि पर्यटक आउने गरेका छन् । अर्कोतर्फ योगका लागि पनि वार्षिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।

विशेष गरी वेलनेस्मा आधारित स्वास्थ्य पर्यटनमा थाइल्यान्ड, भारत, फिलिपिन्स तथा हालका दिनमा श्रीलङ्का निकै अगाडि देखिएका छन् । ध्यान, योग र आयुर्वेदमा आधारित स्वास्थ्य पर्यटनमा नेपालको प्रमुख प्रस्तिपर्धीका रूपमा भारत र श्रीलङ्का रहेका छन् । यी दुवै देशको स्वास्थ्य पर्यटन समुन्द्रमा आधारित रहेको छ भने संसारमा नेपाल मात्र एउटा यस्तो देश हो, जसको स्वास्थ्य पर्यटन हिमालमा आधारित छ । नेपालमा हजारौँको सङ्ख्यामा हिमाल र पहाडहरू छन्, जुन जडीबुटीका अमूल्य स्रोत हुन् भने नेपालको प्राकृतिक सुन्दरताले पर्यटकलाई सधैँ आकर्षित गरिरहेको छ ।

अहिले नेपालमा ट्रेकिङसँग योगलाई जोडेर विभिन्न प्याकेज आइरहेका छन् भने यस्तो प्रकारका प्याकेजमा पर्यटकको रुचि पनि बढी रहेको देख्न सकिन्छ । अर्कोतर्फ ध्यान तथा आयुर्वेदमा आधारित पर्यटनमा पनि नेपालको आफ्नै विशेषता छ, जसले गर्दा विदेशी पर्यटकहरू नेपालतर्फ आकर्षित हुँदै गइरहेका छन् ।


तर नेपालको स्वास्थ्य पर्यटन क्षेत्रमा समस्या पनि धरै छन् । सबैभन्दा ठूलो समस्या त नेपालमा सरकारले नेपाली नागरिकका लागि आँखा उपचारमा अनुदान दिएको छ । जसले गर्दा उपचार खर्च कम छ, जुन सीमावर्ती क्षेत्रका भारतीय नागरिकले पनि उपयोग गरिरहेका छन् ।

यदि नेपालमा स्वास्थ्य पर्यटनको प्रवद्र्धधन गर्ने हो भने सबैभन्दा पहिला त सरकारी पोलिसी आउनु जरूरी छ । जसले विदेशबाट सस्ता पर्यटक मात्र नभएर गुणस्तरीय र खर्चालु पर्यटक भित्र्याउन मद्दत गरोस् । जसको कारण स्वास्थ्य क्षेत्र मात्र नभएर समग्र पर्यटन क्षेत्रको नै दिगो विकास गर्न सकियोस्, भने अर्कोतर्फ सरकारी लेभलबाट नै विदेशमा पनि स्वास्थ्य पर्यटनको प्रवद्र्धनात्मक कार्यक्रम गरिनु जरुरी छ । जसले विदेशी पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न सकोस् ।

नेपालमा आउने पर्यटकको बसाइ सरदर १२ दिन छ भने प्रतिदिन उनीहरूले ५० डलर को हाराहारीमा खर्च गर्ने पर्यटन मन्त्रालयको तथ्याङ्कले देखाउँछ । स्वास्थ्य पर्यटन मात्र एउटा यस्तो क्षेत्र हो, जसले नेपालमा पर्यटकको बसाइलाई लम्ब्याउँछ भने प्रतिदिनको खर्च पनि बढाउँछ । त्यसैले सरकारले यसलाई पर्यटनको नयाँ प्रोडक्टका रूपमा विकास गर्न सक्यो भने नेपाल संसारमा नै स्वास्थ्य पर्यटनको लागि उदाउँदो गन्तव्यका रूपमा विकास हुने कुरामा कसैको दुई मत नहोला ।
लेखक जापानमा स्वास्थ्य पर्यटन नीतिमा विद्यावारिधि गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल
विष्णु खनाल
लेखकबाट थप