बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२

सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोले रोहित पौडेल नेतृत्वको नेपाल निलोलाई हरायो

बुधबार, १७ वैशाख २०८२, १६ : ५६
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगिताको बुधबार खेलिएको दोस्रो खेलमा नेपाल रातोले नेपाल निलोलाई एक विकेटले हराएको छ ।

जारी प्रतियोगितामा नेपाल रातो सन्दीप लामिछाने र नेपाल निलो रोहित कुमार पौडेलको कप्तानीमा रहेको छ । यसअघि मंगलबार नेपाल रातोले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाल पहेँलो टोलीलाई आठ विकेटले हराएको थियो ।

यो प्रतियोगितामा चार वटै टोलीले चार–चार खेलिसकेका छन् । नेपाल रातो हालसम्म अपराजित छ । नेपाल रातोले तीन जित हात पारेको छ । नेपाल रातोको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । नेपाल रातो अङ्क तालिकाको पहिलो स्थानमा आसिन छ । 

नेपाल पहेँलो दोस्रो स्थानमा छ । नेपाल पहेँलोले दुई जित र एक हारको नतिजा निकालेको छ । नेपाल पहेँलोको एक खेल अनिर्णीत रूपमा सकिएको छ । नेपाल निलो तेस्रो स्थानमा छ । नेपाल निलोले एक जित र दुई हारको नतिजा निकालेको छ । नेपाल निलोको पनि एक खेल अनिर्णीत रूपमा सकिएको छ । नेपाल हरियो तीन वटा खेलमा पराजित भएको छ । नेपाल हरियोको पनि एक खेल अनिर्णीत रूपमा सकिएको छ । 

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बुधबार पहिले ब्याटिङ गरेको नेपाल निलोले ४७.४ ओभरमा अलआउट हुनुअघि दुई सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल रातोले ४९.५ ओभरमा नौ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो ।

नेपाल रातोको जितमा भीम सार्कीले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५८ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ६९ बलको सामना गरी ६ वटा चौका पनि हिर्काए । ओपनर अर्जुन साउदले पनि ३६ रन बनाए ।

अर्जुनले ४० बलमा एक छक्का र एक छक्का र चार चौका पनि हिर्काए । अर्का ओपनर तृतराज दासले पनि ४५ बलमा चार चौकाको मद्दतले ३१ रन बनाएका थिए । दुवै ओपनर ब्याट्सम्यानले ६४ रनको साझेदारी गरे ।  

कप्तान सन्दीप लामिछानेले पनि अविजित १९ रन बनाए । उनले १७ बलमा दुई चौका प्रहार गरे । प्रतिस जिसीले पनि १७ रन जोडे । शुभ कंसाकारले टोलीको खातामा १५ रन थपे । आरिफ शेखले पनि १३ रन बटुले । नेपाल निलोका बलर दीपेश कँडेल र युवराज खत्रीले तीन–तीन विकेट लिए ।

त्यसअघि, नेपाल निलोका लागि ओपनर अनिल कुमार साहले ४१ रन बनाएका थिए । उनले ६१ बलमा चार चौका हिर्काए । अर्का ओपनर सकिब हकले पनि ४४ बलमा ६ चौकाको मद्दतले ३२ रन बटुले । देव खनालले ४६ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३६ रन जोडे ।

यसैगरी, कप्तान रोहित पौडेलले ३५ रन बनाए । उनले ५७ बलमा तीन चौका पनि प्रहार गरे । सूर्य तामाङले १९, प्रज्ज्वल थापाले १३ र कुशल मल्लले ११ रन जोडे । नेपाल रातोका बलर आकाश चन्दले चार विकेट लिए । साहब आलम र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पारे । नरेन भट्टले पनि एक विकेट कुम्ल्याए । 

क्यानले लिग–२ प्रतियोगिताका प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सहभागी गराएर आन्तरिक प्रतियोगिता आयोजना गरेको हो । आन्तरिक प्रतियोगिताका लागि खेलाडीहरूलाई चार वटा टोलीमा विभाजन गरिएको छ । 

टोलीको नाम नेपाल ब्लू (निलो), नेपाल ग्रिन (हरियो), नेपाल रेड (रातो) र नेपाल यलो (पहेँलो) राखिएको छ । चार वटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । नेपाल निलो टोलीको कप्तान रोहित कुमार पौडेल, नेपाल हरियो टोलीको कप्तान आसिफ शेख, नेपाल रातो टोलीको कप्तान सन्दीप लामिछाने र नेपाल पहेँलो टोलीको कप्तान दीपेन्द्रसिंह ऐरी हुन् ।

प्रतियोगिताका खेलहरू काठमाडौँको तल्लो र माथिल्लो मुलपानी क्रिकेट रङ्गशालामा खेलिँदै छ । मे २ तारिखमा नेपाल हरियो र नेपाल रातो तथा नेपाल पहेँलो र नेपाल निलोबिच खेल हुनेछ । अन्तिम दिन मे ३ तारिखमा नेपाल हरियो र नेपाल निलो तथा नेपाल पहेँलो र नेपाल रातोबिच खेल हुनेछ ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आगामी खेलहरू नेपालका लागि निकै महत्त्वपूर्ण छ । अबको हारले नेपाली टोली अप्ठ्यारोमा पर्न सक्छ । आठ राष्ट्र सम्मिलित लिग–२ प्रतियोगितामा हालसम्म १२ खेल खेलेको नेपाल ६ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । 

नेपालले हालसम्म खेलिएको १२ मध्ये केवल दुई खेलमा जित र आठ खेलमा हारको नतिजा निकालेको छ । नेपालको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ । त्यसैले पनि बाँकी खेलहरूमा नेपाली टोली जित्नै पर्ने दबाबमा रहने छ । 

लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सिधै सन् २०२७ को आईसीसी एक दिवसीय विश्वकपका लागि हुने छनोट प्रतियोगितामा स्थान बनाउने छन् । 

बाँकी टोलीले पनि विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउन प्ले–अफ खेल्नु पर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट प्राप्त एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप