बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

खोपको दुवै डोज एउटै हातमा लगाए प्रभावकारिता बढ्न सक्छ : अध्ययन

बुधबार, १७ वैशाख २०८२, १६ : ५३
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । कुनै पनि खोपको दुवै डोज एउटै हातमा लगाउँदा खोपको प्रभावकारिता बढ्ने नयाँ अध्ययनले देखाएको छ ।  नयाँ अनुसन्धानका अनुसार यदि खोपको बुस्टर डोज पहिलो डोज दिइएको हातमा लगाइयो भने शरीरमा छिटो र धेरै रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ । 

यसबाट शरीरले चाँडै सुरक्षा विकास गर्छ । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार यो खोजले खोप रणनीतिमा सुधार ल्याउन सक्छ र भविष्यमा बुस्टर डोजको कम आवश्यकता पर्न सक्छ । 

यो अध्ययन अस्ट्रेलियाको गार्भान इन्स्टिच्युट र किर्बी इन्स्टिच्युट (न्यु साउथ वेल्स विश्वविद्यालय) ले संयुक्त रूपमा गरेको हो । अध्ययनको प्रतिवेदन सेल जर्नलमा प्रकाशित भइसकेको छ । पहिलो खोप लगाउँदाखेरि नै शरीरमा रोगसँग लड्ने कोषहरू पहिले नै तयार भइसकेका हुन्छन् । 

पहिलो खोप लगाएकै हातमा दोस्रो खोप लगाउँदा यी कोषहरू तुरुन्तै सक्रिय हुन्छन् र द्रुत रूपमा शक्तिशाली एन्टिबडीहरू उत्पादन गर्छन् । अनुसन्धानकर्ताहरूले पहिलो पटक मुसामा यो प्रभाव अवलोकन गरेका थिए । त्यसपछि उनीहरूले फाइजरको कोभिड–१९ खोप लगाएका ३० जना व्यक्तिहरूमा अध्ययन गरे ।

यस अध्ययनमा, उनीहरूले एउटै हातमा खोपको दुवै डोज लिने मानिसहरूमा विशेष गरी डेल्टा र ओमिक्रोन जस्ता कोभिड–१९ का विभिन्न प्रकारहरू विरुद्ध छिटो र बढी सुरक्षा विकास भएको पत्ता लगाए । 

यो हाम्रो रोग प्रतिरोधात्मक क्षमताले कसरी काम गर्छ भन्नेबारे एक महत्त्वपूर्ण खोज भएको गारभान इन्स्टिच्युटको प्रेसिजन इम्युनोलोजी कार्यक्रमका निर्देशक ट्राई फ्यानले भनेका छन् । तर, ४ हप्ता पछि दुवै समूहमा एन्टिबडीको स्तर लगभग बराबर थियो । 

एउटा पाखुरामा मात्र खोप प्राप्त गर्नेहरूले पहिले नै सुरक्षा पाए, जुन महामारीको समयमा धेरै महत्त्वपूर्ण छ । कसैले दुई थरी हातमा खोप लगाएको भए पनि आत्तिनु नपर्ने अध्ययनका अर्का लेखक मी लिंग मुनियरले भने । समयसँगै सुरक्षामा भिन्नता घट्दै जान्छ । तर महामारीको समयमा, केही दिन पनि धेरै महत्त्वपूर्ण हुन सक्ने उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप