सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन् ।
एक महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चरमा सास्ती भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीले बताए । मोबाइलमा नेटवर्क देखाएपनि फोन नलाग्ने, सन्देश (म्यासेज) नजानेलगायत समस्या देखिने गरेको उनको भनाइ छ ।
यतिबेला सर्केगाडमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा खोपसहित अन्य स्वास्थ्यका गतिविधि बढिरहेका बेला टेलिफोनले काम नगर्दा स्वास्थ्यकर्मीसँग जानकारी लिन नसकिएको शाखा प्रमुख बुढाथोकीको गुनासो छ । टेलिफोन नहुँदा कतै जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो भएको छ ।
इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ तथा स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिनुपर्नेमा समस्या बनाएको उनले बताए ।
टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गरे । पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताए ।
महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्कविच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेको उनको भनाइ छ ।टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।
सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा मङ्गलबार मात्रै दूरसञ्चार कार्यालय सिमकोटमा जानकारी आएको कार्यालयका निमित्त प्रमुख रञ्जीन लामाले बताए ।
त्यहाँका सेवाग्राहीले भनेजस्तो महिना होइन केही समयअघि मात्रै टावरमा खराबी आएको हुनसक्ने उनको भनाई छ । निमित्त प्रमुख लामाले सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयमा रहेको प्रणालीबाटै आउनेजाने गरेको जानकारी प्राप्त भएको बताए ।
“तत्काल समस्या समाधान नभए सिमकोट कार्यालयबाट प्राविधिक कर्मचारी पठाएर मर्मत गर्नेछौँ”, उनले भने । सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने प्रमुख लामाले बताए । केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको जनाउँदै समस्या समाधान नभए यहाँबाट कर्मचारी पठाइने उल्लेख गरे ।
सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने