बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. सुवेदीलाई ‘युगकवि सिद्धिचरण पुरस्कार’

बुधबार, १७ वैशाख २०८२, १६ : ०२
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । जापानका लागि नेपाली राजदूत एवम् साहित्यकार  डा. दुर्गाबहादुर सुवेदी  (दुबसु) क्षेत्रीलाई वि.सं. २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिने भएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् । नेपाली भाषा साहित्यको उन्नयनमा उल्लेखनीय योगदान गरेवापत डा. क्षेत्रीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रा. डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा गठित त्रिसदस्यीय छनोट समितिको सिफारिसमा पुरस्कार घोषणा गरिएको हो। समितिमा प्रा. डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य थिए ।

दुबसुका छ ६ दर्जन बढी मौलिक र सम्पादित साहित्यिक एवम् अनुसन्धानात्मक कृतिहरु प्रकाशित छन् भने उनले विभिन्न प्राज्ञिक, साहित्यिक र सांस्कृतिक संस्थाहरुमार्फत नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन दुबसुको महत्वपूर्ण योगदान छ । उनकै नाममा स्थापित दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानबाट ‘भीमसेन थापा’ खण्डकाव्य प्रकाशित भएको छ। यस खण्डकाव्यलाई उनले नै नाटकीकरण गरी बेलायतलगायत विभिन्न देशमा मञ्चन समेत गराएका थिए ।

हाल उक्त नाटकलाई चलचित्रमा रूपान्तरण गर्ने तयारीमा उनी लागिपरेका छन्। उनले युगकवि सिद्धिचरणका कविताहरू अंग्रेजी र जापानी भाषामा अनुवाद गराई प्रकाशन समेत गरेका छन् ।

नेपाल, बेलायत, जापान र अमेरिकाका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका डा. क्षेत्री लामो समयदेखि कूटनीतिक सेवामा संलग्न छन् ।

बेलायत, जापान, माल्टा, आयरल्यान्ड, बहराइन, अमेरिका, म्यान्मा जस्ता देशहरूमा राजदूत, प्रथम सचिव र महावाणिज्य दूतका रूपमा कार्यसम्पादन गरिसकेका डा. क्षेत्रीलाई प्रशासनिक भन्दा पनि साहित्यिक क्षेत्रमा बढी चिनिन्छ।

कविता, काव्य, गीत, गजल, मुक्तक तथा अनुसन्धानका क्षेत्रमा उनका ३८ वटा भन्दा बढी कृति प्रकाशित छन्। यसबाहेक उनले तीन दर्जन बढी कृति तथा पत्रपत्रिकाहरूको सम्पादन समेत गरिसकेका छन् । एक दर्जनभन्दा बढी अनुदित कृतिहरूको प्रकाशन एवं दुई दर्जन सङ्घसंस्थाहरूको स्थापना र नेतृत्वमार्फत उनले नेपाली भाषा साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

साहित्यिक क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा पुर्‍याएको कदरस्वरूप डा. दुबसु क्षेत्रीलाई युगकवि सिद्धिचरण पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय भएको हो। 

पुरस्कार आगामी जेठ ९ गते युगकवि सिद्धिचरणको ११४ औँ जन्मजयन्ती विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिए ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले  वि.सं. २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोमा आभार प्रकट गर्दै साहित्यिक क्षेत्रमा आफूले गरेको योगदानको कदर भएको राजदूत एवम् साहित्यकार सुवेदीले बताएका छन् । यसबाट आफू सम्मानित मात्र नभई नेपाली साहित्यिक क्षेत्रमा ठूलो जिम्मेवारी थपिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप